१६–२९ माघ २०६६ | 30 January-12 Febraury 2010

जेपी जोशी हत्या प्रकरणः जाँचबुझ आयोग छानबिनमा

Share:
  
- रामजी दाहाल

पत्रकार जेपी जोशीको हत्याको छानबिन गर्न गठित जाँचबुझ् आयोगले सरकारी राजस्वबाट रु.३१ लाख खर्च गरेर अख्तियारको दुरुपयोग गरेको भन्दै १४ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ । अख्तियारका अनुसार पत्रकार जोशीका भाइ पुष्पराज जोशीले गरेको सो उजुरीको दर्ता नं १९३२ छ । उजुरीमा भनिएको छ, “घरको सदस्य गुमाएको अवस्थामा हाम्रो परिवारमा राहत दिनेतर्फ कुनै सरोकार नराखी उल्टो सरकारी ढुकुटीलाई समाप्त पार्ने गरी अख्तियारीभन्दा बाहिर गई सरकारी खर्चलाई मितव्ययी ढङ्गले खर्च गर्नुको साटो फजुल खर्च गरेकाले आयोगमा संलग्न व्यक्तिहरूलाई कारबाही गरी पाऊँ ।”

१५ दिनभित्र काम पूरा गर्ने म्याण्डेटसहित माओवादी नेतृत्वको सरकारले १८ मङ्सिर २०६५ मा गठन गरेको आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि पटक पटक म्याद थप्दै एघार महिनामा करिब रु.३१ लाख खर्चेर प्रतिवेदन तयार पारेको तथ्य १–१६ माघको हिमाल मा सार्वजनिक भएको थियो । हिमाल मा रिपोर्ट छापिएपछि नेपाल पत्रकार महासंघले सरोकार राखेको थियो भने सुदूरपश्चिमका पत्रकारहरू प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई राहत दिनुपर्ने, आयोगका नाममा भएको खर्चको छानबिन गर्नुपर्नेलगायतका मागहरू राखी आन्दोलित भएका थिए ।

यसैबीच १३ माघको मन्त्रिपरिषद् बैठकले पत्रकार जोशीको परिवारलाई रु.१० लाख राहत दिने निर्णय गरे पनि प्रतिवेदन अझ्ै सार्वजनिक गरेको छैन । त्यसअघि १० माघमा पत्रकार महासंघका प्रतिनिधिसँगको भेटमा गृहमन्त्री भीम रावलले प्रतिवेदन तत्काल सार्वजनिक गरिने प्रतिबद्धता जनाउनुका साथै आयोगका नाममा भएको खर्चको बारेमा समेत छानबिन गरिने आश्वासन समेत दिएका थिए । ११ महिना लगाएर तयार पारेको प्रतिवेदन आयोगले १५ कात्तिकमा प्रधानमन्त्री माधवकुमार नेपाललाई सिंहदरबारमा सुटुक्क बुझइएको थियो ।

पूर्ववर्ती माओवादी नेतृत्वको सरकारले १५ दिनभित्र काम पूरा गर्ने गरी अधिवक्ता उमेशप्रसाद गौतमको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ् आयोग गठन गरेको थियो । आयोगमा अधिवक्ता शालिकराम सापकोटा र पत्रकार महेन्द्र बिष्ट सदस्य थिए भने पछि एसएसपी राजबहादुर बिष्टलाई सदस्यमा नियुक्त गरिएको थियो । पत्रकार जोशीको हत्यापछि आयोगका सदस्यहरू कैलाली पुगेर घटनाबारे अध्ययन अनुसन्धान गरेका थिए । आयोगका सदस्यहरूले दुई साता बसेर घटनास्थलको अवलोकन तथा राजनीतिक दल, प्रहरी, प्रशासन, सञ्चारकर्मी, मानवअधिकारवादी र नागरिक समाजसँग घटनाबारे जानकारी लिएका थिए । आयोगले घटनास्थलमा दुई पटक गएर अनुसन्धान गरेको बताए पनि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष दीर्घराज उपाध्यायका अनुसार आयोगको टोली एक पटक मात्र कैलाली पुगेको थियो । एक पटक मात्र पनि यस कार्यका लागि आयोगले भ्रमण खर्च शीर्षकमा रु.२ लाख ७ हजार ४२५ खर्च गरेको छ । (हे.तालिका)

पत्रकार जोशी क्रान्तिकारी पत्रकार संघ कैलालीका अध्यक्ष तथा पार्टीको जिल्ला कमिटी सदस्य समेत थिए । २२ असोज २०६५ देखि कैलालीको अत्तरियाबाट बेपत्ता पारिएका जोशीको शव १३ मङ्सिर २०६५ मा कैलालीको मालाखेती गाविसको चौकीडाँडा महिला सामुदायिक वनको गोदावरी नदीकिनारमा फेला परेको थियो ।

रामजी

comments powered by Disqus

रमझम