१ वैशाख २०७० | 14 April 2013

चुनाव हैन चामल

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
बाजुरा र मुगुका गाउँमा मानिसलाई चुनाव भन्दा पनि चामलको पर्खाइ ज्यादा छ।

आफ्नो उमेरभन्दा करीब दोब्बर तौलको फलामको पाइप बोकेर लखतरान परेका मुगु कोटडाँडाका धनबहादुर कार्की।
दुःखीको घरमा मात्र, तेरो बास हुने भए

हे ईश्वर दया राखी, मलाई अझ् दुःख दे!

स्थलगत रिपोर्टिङका क्रममा १४–२० चैतमा सुदूरपश्चिमको बाजुरा र मध्यपश्चिमको मुगुका गाउँहरू डुल्दा बालकृष्ण समका यी हरफहरूको स्मरण भयो। डेढ वर्षअघि रिपोर्टिङका क्रममा सुदूरपश्चिमको डडेल्धुरा, डोटी र अछाम पुग्दा त्यस क्षेत्रका बासिन्दाको भुक्तमानको साक्षी भए पनि यस पाला जति स्तब्ध हुनुपरेको थिएन। गरीबी र अशिक्षाका कारण एचआईभी/एड्सको चपेटामा परेका ती जिल्लाका नेपालीको तुलनामा बाजुरा र मुगुका दुर्गम गाउँघरको अवस्था झ्नै पीडादायी रहेछ।

बाजुराको कोल्टी विमानस्थलमा हवाईजहाजबाट ओर्लनुअघि देखिने मनोरम फाँटले मोहित नपार्ने मानिस शायदै होलान्। तर, ओर्लिसकेपछि जुन वास्तविकता अगाडि आउँछ, त्यो बडो स्तब्धकारी छ। सदरमुकाम मार्तडीबाट १२ कोस (एकदिन पैदल) टाढाका कोल्टीवासीलाई स्थानीय उत्पादनले ६ महीना पनि पुग्दैन रहेछ। छिमेकका मुगु र हुम्ला जिल्लाबाट समेत बाक्लो आउजाउ हुने ११ गाविसको केन्द्र कोल्टी बजारमा जताततै कैयौं दिनदेखि ननुहाएका बालबालिका र फाटेर टालेका लुगा लगाएका मानिसहरू देखिन्छन्। त्यो दृश्य देख्दा म आफैंले हिमाल मा गरेको 'चिनियाँ सरसामानको सुलभताले नेपालमा फाटेका कपडा लगाउने मानिस देख्न छाडिएको' रिपोर्टिङ सम्झिएर लज्जित भएँ।

कोल्टीबाट पूर्वतिर कर्णालीको तीरैतीर मुगुका गाउँहरूमा पूर्वी नेपालका पहाडी कन्दरामा नभएका दुःखहरू देखिन्छन्। मुगुको श्रीकोटको बाटोमै राडी बुन्दै गरेका नन्दुश्वर थापा (५५) ले 'हामी त दुःख पाउनै जन्मेका रहेछम्' भन्दा मलाई अत्यास लागेर आयो। मुगुको माझ्चौरमा भेटिएका ५५ वर्षीय धनबहादुर कार्कीको पिठ्युँमा उनको उमेरभन्दा करीब दोब्बर फलामे पाइपको भारी (हे.तस्वीर) देख्दा मलाई उकुसमुकुस भयो। खत्याड क्षेत्रमा राराको पानीले सिंचेको लोभलाग्दो खेत भए पनि त्यही ठाउँमा धेरै गरीबको भोकको कहालीलाग्दो कथा सुन्नुपर्‍यो।

४–११ चैतको हिमाल खबरपत्रिकाको आवरणमा छापिएको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको तस्वीर चिन्ने मानिस बाटामा कोही भेटिएनन्। सिमीसँग चामल साट्न बाजुराको मार्तडी हिंडेका हुम्लाका अजवीर फडेराहरूको कुरा डायरीमा टिपिरहँदा 'हाम्रो दुःख सुनिदिन टाढाबाट आएका रहेछौ, अब हामीले के पाउँछम्?' भनेर सोधिंदा म निरुत्तर भएँ। बाजुराबाट मुगु जाँदा भेटिएकी कोटडाँडाकी रेउली कार्की (५९) ले पनि नन्दश्वरले झै आफूहरू दुःख पाउनैका लागि मात्र जन्मिएको बताइन्। त्यस्तो कुनै मानिस भेटिएन जसलाई वैशाखे पानी, खाद्यको चामल किन्ने पैसा र रोग लागे उपचार नपाइने चिन्ताले नसताएको होस्। सबैले चामलकै माग गरे, जुन सुन्ने फुर्सद चुनावको चर्चामा डुबेको काठमाडौंलाई छैन।

यस क्षेत्रमा राज्यको उपस्थिति भनेको ४/५ प्रहरी चौकी, खाद्य संस्थानको डिपो, सरकारी विद्यालय र डाक्टर–स्वास्थ्यकर्मी विनाका स्वास्थ्यचौकीहरू मात्र हुन्। गम्था–४ मुगुका नन्दबहादुर बुढा थापा (४०) ले एमालेका चन्द्रबहादुर शाही सांसद् र नेपाली कांग्रेसका हस्तबहादुर शाही मन्त्री भएको तर, आफूहरू भोकाको भोकै रहेको बताए। सरकारले गाउँसम्म गाडी ल्याइदिए जीवन फेरिन्थ्यो कि भन्ने आशा उनले व्यक्त गरे। ढुवानीमा करोडौं खर्चेर वर्षेनि चामल पठाउन उद्यत सरकारले भने कर्णालीमा सडक निर्माण, रोजगारी सिर्जना र शिक्षा विस्तारतिर भने त्यति ध्यान दिएको छैन।

जति नै दुःख भए पनि, खानै नपाए पनि आगन्तुकलाई हाँसेर स्वागत गर्ने हूलले भने आनन्दको अनुभूति गराइरह्यो। हातमा चकलेट राखिदिंदा केटाकेटीहरूको अनुहारमा तैरने अपार खुशीलाई शब्दमा व्यक्त गर्नै सकिन्न। जति नै दुःख भए पनि मानिसलाई स–साना खुशीहरूले आशावादी बन्ने शक्ति दिंदोरहेछ। मेरा लागि अर्को उत्साहको कुरा भयो, गाउँका स्कूलहरूमा बढेको छात्राहरूको संख्या। शैलेश्वरी मावि, रुंगिनका प्रधानाध्यापक पर्शुराम मण्डरले बाजुराको धिम गाउँको बडीमालिका विद्यालयमा २०४२ सालमा १५० विद्यार्थीमध्ये चार जना छात्रा रहेको, पाण्डुसेनको सत्य माविमा २०४७ मा २५० विद्यार्थी रहेकामा ७ छात्रा र अहिले शैलेश्वरीमा ३३९ विद्यार्थीमा आधाभन्दा बढी छात्रा रहेको बताउँदा म थप आशावादी हुँदै फर्किएँ।

comments powered by Disqus

रमझम