१६–२९ माघ २०६६ | 30 January-12 Febraury 2010

हेपाहा प्रवृत्ति

Share:
  
- सन्त गाहा मगर
काठमाडौंको गोठाटारमा ६ माघमा भएको साधारण भनाभन प्रकरणमा भएको बालक सन्तोष कार्कीको मृत्युको विरोधमा स्थानीयवासीहरू ।

रासस

‘आफ्नै जग्गामा जसरी सडकमा गिटी राख्नु त भएन नि !’

‘मैले बाटोमा गिटी राख्दा तँलाई के भयो ?’

‘गाडी र मान्छेको आवतजावतमा बाधा पुग्यो ।’

‘तँलाई केको टाउकोदुखाई ? यो बाटो तेरो मात्रै हो ?’

‘होइन, बाटो सबैको हो । सार्वजनिक बाटो अवरुद्ध गर्ने गिटी हटाइहाल्नुस् !’

काठमाडौं काँडाघारीका राजाराम थापा र रत्न लामाबीच ६ माघ बिहान भएको यो भनाभन अन्ततः एक निर्दोष बालकको ज्यानै लिने अवस्थासम्म पुग्यो । थापा र लामाबीचको विवादपछि भएको गोली प्रहारबाट दोलखा शैलुङ्गेश्वर–१ का शम्भु कार्कीका १० वर्षीय छोरा सन्तोष कार्कीको अनाहकमा ज्यान गयो । उनी श्रीपञ्चमीका दिन विद्यालयमा सरस्वती पूजा गरी घर फर्कंदै थिए ।

सार्वजनिक ठाउँमा जथाभावी थुपारेका निर्माण सामग्री मानिसको ज्यानै लिने झ्गडाको बीउ बनेको उदाहरण हो यो । हिजोसम्म यस्ता विषयमा हुने भनाभन सहमतिपछि साम्य पारिन्थ्यो तर आज मानिसहरूमा सहन नसक्ने प्रवृत्तिले ज्यानै लिनेसम्मका घटना हुन थालेका छन् । सार्वजनिक ठाउँमा थुपारिएका यस्ता निर्माण सामग्री ट्राफिक जाम र सवारी दुर्घटनाको कारक समेत बनेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पङ्कज श्रेष्ठ अधिकांश दुर्घटनाको मुख्य कारण नै मानवीय त्रुटि र लापरवाही भएको बताउँछन् । महाशाखाका अनुसार कात्तिकमा २८६, मङ्सिरमा ३३३ र पुसमा ३१३ वटा दुर्घटना मानवीय कमजोरीले भएको थियो भने सोही अवधिमा यान्त्रिक कमजोरीका कारण न्यून दुर्घटना भएको थियो ।

अव्यवस्थित र मर्मत नगरिएका सडक, सार्वजनिक ठाउँमा थुपारिएका निर्माण सामग्री, पैदल यात्रुको लापरबाही, तीब्र गतिको सवारी साधन, मादक पदार्थ सेवन, ओभरलोड आदिबाट अत्यधिक दुर्घटना हुने गरेको छ । सवारी दुर्घटनाका कारण बर्सेनि सरदर १०४ जनाको मृत्यु भएको ट्राफिक महाशाखाको अभिलेखमा उल्लेख छ ।

सार्वजनिक ठाउँमा थुपारिएका निर्माण सामग्री मात्र होइन निर्धक्कसँग बाटोमै राखेर रोडा घोल्ने मेशिनले समेत दुर्घटना निम्त्याएका छन् । पेटी खाली नभएपछि पैदल यात्रुहरू सडकमा हिँड्दा हुने दुर्घटना एकातिर छ भने अर्कोतिर मूल सडक अस्तव्यस्त हुँदा हुने गरेको छ ।

समाधान कसरी

काठमाडौं महानगरपालिका (कामनपा) ले यसरी जथाभावी थुप्राइएका निर्माण सामग्री हरेक दिन १५–२० ठाउँबाट उठाउने गरेको छ । तर यो सडक अवरोधको सानो हिस्सा मात्र भएको महानगरपालिकाकै कर्मचारीहरू स्वीकार्छन् । कामनपाका नगर प्रहरी निरीक्षक धनपति सापकोटाका अनुसार यसबाट पनि समस्या समाधान नभएपछि साङ्केतिक कारबाहीका लागि कामनपाले ४०–५० जना कर्मचारी खटाएको छ ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा सार्वजनिक बाटो वा स्थान घेर्ने वा रोक्ने, आवतजावतमा अवरोध खडा गर्ने काम गरेमा त्यस्ता अवरोधका सामान हटाउन लगाई रु.१५ हजारसम्म जरिवाना गराउन सकिने प्रावधान छ । नगरपालिकाका अनुसार उठाएको रड जरिवाना तिरेर लिन आए पनि गिटी, बालुवा र इँटा लिन धेरैजसो आउँदैनन् । कतिपय जरिवाना तिर्न समेत अटेर गर्छन् । महानगरपालिकाका अधिकारीहरूका अनुसार जरिवाना नतिर्नेको विद्युत्, पानी, टेलिफोन आदि काट्ने व्यवस्था गरेमा कारबाहीमा कडाई गर्न सकिन्छ ।

थाहा नपाएर मात्र होइन, हेपाहा प्रवृत्तिका कारण कानुन उल्लङ्घन भएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठको बुझइ छ । समाजमा प्रतिष्ठित भनिएका व्यक्तिहरूले नै नियम उल्लङ्घन गरेको नगर प्रहरी निरीक्षक सापकोटा बताउँछन् । उनले हिमाल सँग भने, “त्यस्ता मानिसको सामान उठाएपछि मोबाइलमा नन–स्टप घण्टी बज्न थाल्छ ।” यसैगरी राजनीतिक दलको संरक्षणमा सवारी चालकबाट भएका गल्ती ढाकछोप गरिँदा कारबाही गर्न नसकिएको महाशाखाका अधिकारीहरू बताउँछन् ।

समस्या जटिल भएपछि ऐनमा संशोधन गरेर २०० प्रतिशतसम्म जरिवाना बढाउनुपर्ने र सवारी चालक अनुमतिपत्र खारेजीको व्यवस्था गर्न महाशाखाले ट्राफिक निर्देशनालयमा सिफारिस गरेको छ । नयाँ सवारी चालक अनुमतिपत्र वितरण प्रणालीमा प्रभावकारी सुधार गर्न, मादक पदार्थ सेवन तथा लापरवाहीपूर्वक सवारी चलाउनेलाई कडा कारबाही गर्न विद्यमान ऐनमा संशोधन गरी छुट्टै कानुनी व्यवस्था गर्न महाशाखाले सिफारिस गरेको छ ।

comments powered by Disqus

रमझम