१–१५ फागुन २०६६ | 13-27 February 2010

मेरो प्यारो बाबा !

Share:
  

बाबाले हामीलाई संसारको सम्पूर्ण खुसी दिन चाहिसिन्थ्यो । सायद चाँडै छोडी जाने भएर हो कि जस्तो लाग्छ अहिले ।

बाबाले हामीलाई माया गर्दा–गर्दा कहिलेकाहीँ गृहकार्य गर्न पनि दिइसिन्नथ्यो । सानोमा गरिने ‘चकचक’ को मज्जा अनुभव गर्न हौस्याइसिन्थ्यो । मामुले आफ्नो सुरमा खाजा बनाइरहँदा बाबा झयालको तलबाट उठ्दै म्याउँ–म्याउँ गरिसिन्थ्यो । मामु लखेट्न आइसिन्थ्यो, हामी भाग्थ्यौँ । छुट्टी हुँदा हामीलाई भन्दा बाबालाई धेरै खुसी लाग्थ्यो । प्रत्येक छुट्टीमा कसलाई बोलाउने, मामाघर जाने, अन्त कतै जाने कि लङ ड्राइभमा जाने जस्ता कार्यक्रम बनाइसिन्थ्यो । हामीलाई कहिले दार्जीलिङ लगिसिन्थ्यो, कहिले सिक्किम । हामी धेरै पटक पोखरा गयौँ । कार्यक्रम नै नबनाई एक दुईघण्टाको लागि भनेर नगरकोट लगी आज यतै बसौँ है भनिसिन्थ्यो ।

कहिलेकाहीँ तीन–चार दिनसम्म घरमा नै रमाएर बस्दा मामुले ‘यसो अफिस–सफिस गइस्यो, मुद्दा–मामिला हेरेर आइस्यो, फ्रेस होइन्छ’, भन्दा ‘मलाई तिमीहरूसँग बस्दा जति आनन्द लाग्छ त्यति कहीँ पनि हुँदैन’ भनिसिन्थ्यो । नौ बजे कान्तिपुर बहसको लाइभ आउने दिन पनि पौने नौ बजेसम्म गीत गाएर भित्र–बाहिर तल–माथि गरिराखिसिन्थ्यो । म र बहिनीलाई पीङमा खेलाइसिन्थ्यो । पछि मामुले घडी हेर्दै लखेट्नुपथ्र्याे । हाम्रो बाबालाई केही कुराको पनि पत्तो हुँदैनथ्यो । ४० वटा जति त मोबाइल सेट नै हराइस्यो । बाबा घरमा हुँदा कहिले ब्याडमिन्टन कोर्टमा त कहिले जगिङमा, कहिले मेडिटेसनमा पनि होइसिन्थ्यो, कहिले गाएर बसिसिन्थ्यो । हाम्रो घरमा धेरै जसो गुरुदेवका भजनहरू बज्थ्यो । हामीहरू सबैजना भजन गाउँथ्याँै ।

किन हो कुन्नि, बाबा हामीलाई आफू अब धेरै नबाँच्ने कुरा भनी राखिसिन्थ्यो । त्यस्तो कुरा गर्दा हामी कति चोटि रोएका थियौं, अनि आफैँ फकाइसिन्थ्यो । कमल थापा, गणेश थापा अङ्कलहरू हाम्रो घरमा तिहारमा आइसेको बेला बाहिरपट्टि आँगनमा गाडीको क्यासेट बजाएर नाचगान गर्ने कार्यक्रम गरिस्यो । बुबाले माथिबाट रेडियो नघन्का भन्दा ‘अब मैले रमाइलो गर्ने धेरै दिन बाँकी छैन, म मर्छु अनि शान्तले बस्नुहोला’, भनिस्यो । त्यो दिन ‘तँ बढी नबोल्’ भनेर बुबा धेरै रिसाइसेको थियो । पछि बाबा आफूभित्र गएर मामुलाई हात समाउँदै बाहिर ल्याइस्यो र भनिस्यो ‘बूढी नाचौं, दुई दिनको जिन्दगीमा मरेर लानु के छ र ?’ अनि जम्मै जना अङ्कलहरूले ताली बजाइस्यो र मामु–बाबा नाचिस्यो । त्यो बेलामा बाबाले मलाई पनि तानिस्यो र नचाइस्यो, बहिनीलाई चाहिँ बोकेर नाचिस्यो । अहिले पो मलाई लाग्छ, बाबाले भनेको कुरा साँच्चै रहेछ । ४१ वर्ष पनि पूरा नहुँदै यस संसारलाई छाडेर गइस्यो । तर बाबालाई यस्तो कुरा कसरी थाहा भयो होला ?

बाबाले मलाई र बहिनीलाई धेरै कुराहरू सिकाइसेको थियो । सधैंभरि इमानदार हुनुपर्छ भनिसेको थियो । अनि हेर् छोरी तेरो मामु र ममध्ये एकजना त मर्नै पर्छ । तेरी मामु अघि भई भने त मेरो बिजोग नै हुन्छ, अहिले आएर मैले फेरि बिहे गर्ने कुरा सम्भव छैन । तिमीहरूले र मैले कुकुरले नपाएको दुःख पाउँछौँ । हेर, म पहिले मरें भने अलि–अलि सम्पत्ति जोडिदिएको छु, मामुले पनि दुई अक्षर पढेकी नै छ । तिमीहरूको जिन्दगी सजिलै चल्छ भन्दा मामु हजुर चुप लागिस्यो भनेर रुन थालिस्यो । म पनि धेरै रोएँ । बहिनी पनि आत्तिएर रुन थाली । बाबाले दशैंमा पनि सुष्मा, यो मेरो अन्तिम दशंै हो । फोटो खिच्न रिल लिन पठाऊ । तिमीहरूलाई चिनो हुन्छ, भनिस्यो । मामुले पहिले नै सानो बाबालाई रिल लिन पठाउन खोज्दा बाबाले रोकेर आफ्नो अन्तिम दशंै भएको भनेर पठाइसेको थियो । त्यो सम्झ्ँदा अहिले पनि हामीलाई रुन मन लाग्छ ।

हाम्रो बाबाप्रति हामी गर्व गर्न सक्छौं । हामीले इन्द्र लोहनीको छोरी हुने सौभाग्य पाएका छांै । हाम्रो घर अहिले चकमन्न भएको छ । तर आजकल पनि हाम्रा बाबाका साथीहरू बेला–बेलामा आइसिन्छ । हाम्रो मामुको टाउकोमा साह्रै ठूलो समस्या खडा भएको छ । मामुले लयरको लाइसेन्स लिएर प्राक्टिस शुरु गर्ने बाबाकै सल्लाह अनुसार त्यस दिन मामुसँग म पनि बार प्रिप्रेशन क्लासमा गएकी थिएँ, तर छताछुल्ल भयो । अहिले सबै काम मामुकै टाउकोमा परेकोले डिग्री सेकेण्ड इयरको क्लासमा पनि जान पाइसेको छैन । हाम्रो घरमाथि थोपरिएको दुःख मैले देख्न सकेकी छैन । एकदिन म पनि धेरै पढेर ठूलो मान्छे बन्नुपर्दछ भन्ने कुरा मैले बुझदै आएकी छु, मैले मेरा परिवार मामु, बहिनी र घरप्रति कन्ट्रिब्युसन गर्नुपर्छ भन्ने बुझ्ेकी छु ।

मेरो बाबाले सबैको जय होस् भनी कामना गरिसिन्थ्यो तर आज ईश्वरले बाबाको नै जय गरिदिए । बाबा हजुर जहाँ भए पनि हजुरको आत्माले शान्ति पाओस् । हजुर जस्तो बाबा यस संसारमा कसैको पनि हुन सक्दैनन् । यस जीवनमा नभए पनि अर्काे जन्ममा हामीले आफ्नो पूरा जीवन हजुर र मामु दुवैको साथमा बिताउन पाउने छांै भन्ने आशा लिएकी छु । यस कुरामा ईश्वरले साथ दिनैपर्छ । बाबा वी आर मिसिङ यु अ लट । थ्याङ्क यू !

हजुरकी प्यारी छोरी साम्राज्ञी मध्यबानेश्वर–१०, काठमाडौं

साम्राज्ञी लोहनी

(वकिल–पत्रकार इन्द्र लोहनीको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा प्रकाशित एउटा बेग्लै व्यक्तित्वः इन्द्र लोहनी स्मृति ग्रन्थबाट । यो स्मृति ग्रन्थ पाटनढोका किताब पसलमा पाइन्छ ।)(सम्पादित अंश ।)

comments powered by Disqus

रमझम