१–१५ फागुन २०६६ | 13-27 February 2010

केही उपलब्धी, केही निराशा

Share:
  
- सुरेशराज न्यौपाने

१४ माघमा आकर्षक अक्वाटिक शो र आतिशबाजीबीच बंग्लादेशकी प्रधानमन्त्री हसिना वाजेदले ढाकास्थित बंगबन्धु रंगाशालामा उद्घाटन गरेको दक्षिण एसियाली खेलकुद (साग) को ११ औं संस्करण किर्तिमानी प्रदर्शन, दुर्घटना, खेलाडी–रेफ्रीबीचको घम्साघम्सी र विवादास्पद निर्णयहरुबीच २६ माघमा सम्पन्न भयो । सागमा सहभागी विभिन्न २३ खेलमा प्रतिस्पर्धा गर्न ढाका पुगेका २७८ खेलाडी सम्मिलित नेपाली टोलीले ८ स्वर्ण, ९ रजत र २० कास्य जित्न सफल भयो । समापनको अघिल्लो दिनसम्म पनि पदक तालिकामा अफगानिस्तानभन्दा तल छैठौं स्थानमा रहेको नेपाल अन्तिम दिनमा कुल ३७ पदकसहित पाँचौ स्थानमा उक्लियो । पदकको हिसाबले एघारौं साग नेपालका लागि विदेशी भूमिको सबैभन्दा सफल प्रतियोगिता बन्न पुग्यो । यसअघि श्रीलंकामा सम्पन्न दशौं सागमा ७ स्वर्ण, १५ रजत र ३० कास्यको जीत नेपालको यसभन्दा अघिको सबैभन्दा राम्रो प्रदर्शन थियो । बंग्लादेशमा यसअघि सम्पन्न दोस्रो र छैठौं दक्षिण एसियाली खेलकुदमा नेपालले १–१ वटा स्वर्ण मात्र जित्न सकेको थियो । काठमाडौंमा सम्पन्न आठौं सागदेखि नै दक्षिण एसियाली खेल महोत्सवमा नेपालको साख जोगाउँदै आएको मार्शल आर्टसका खेलहरुको यसपटक पनि विशेष योगदान रह्यो । यसपटक नेपालले प्राप्त गरेका ८ स्वर्णमध्ये ७ मार्शल आर्टस्का कराते, उस्सु र तेक्वान्दोमा हासिल भएका हुन् । प्रतियोगिताको दशौं दिन ४४ केजी थाई–चाई स्पर्धामा भारतकी सानोतोजी सानुलाई पराजित गर्दै विनिता महर्जनले नेपाललाई पहिलो स्वर्ण दिलाइन् ।

व्यक्तिगत प्रदर्शनका हिसाबले तेक्वान्दोका दिपक विष्ट र धावक राजेन्द्र भण्डारीको प्रदर्शन ऐतिहासिक बन्न पुग्यो । ८ औं सागदेखि लगातार स्वर्ण जित्दै आएका दिपकले लगातार चौथौं संस्करणमा समेत स्वर्ण जित्दै दक्षिण एसियाकै उत्कृष्ट खेलाडी बन्न सफल भए । प्रतियोगिता शुरु हुनुअघिसम्म पनि खुट्टाको चोटका कारण चौथो स्वर्णबाट बञ्चित भइन्छ कि भन्ने आशंका स्वयं दिपकमा समेत थियो । तर अनुभव र मेहनतले प्रतिफल दिएको बताउने सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको विछुवामा जन्मेका ३३ वर्षीय दीपक भन्छन्, “मेरो यो सफलताले नयाँ पुस्तालाई निरन्तरको मेहनत र परिश्रमले उपलब्धी हासिल हुन्छ भन्ने सन्देश दिएको छ ।”

त्यसैगरी भारतको मद्रासमा सम्पन्न सातौं सागपछि राजेन्द्र भण्डारीले नेपाललाई दिलाएको म्याराथनको स्वर्ण पनि ऐतिहासिक बन्न पुग्यो (हे. बक्स) । एघारौं सागमा महिला फुटबल, टेबलटेनिस, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, ह्याण्डबल र बक्सिङको प्रदर्शन निकै आशलाग्दो देखियो । टेबलटेनिसमा महिला एकल स्पर्धामा मुना बासुकलाले क्वाटर फाइनलमा श्रीलंकाकी एक नम्बर खेलाडी इशारा मधुरङ्ग्ली दर्शिललाई ४–० सोझे सेटमा हराएर सबैलाई आश्चर्य पारिन् । टिम स्पर्धातर्फ देशभित्र खासै चर्चा र सुविधा नपाएका महिला फुटबल टोलीले ढाकास्थित बंगबन्धु रंगशालाको मैदानमा देखाएको खेल कौशलले सबैलाई मन्त्रमुग्ध पा¥यो । सागमा पहिलो पटक समावेश गरिएको महिला फुटबलमा नेपालले आयोजक बंग्लादेशलाई १–०, पाकिस्तानलाई ७–०, श्रीलंकालाई ८–० ले हराएर उत्साहजनक संकेत दिएको थियो । यद्यपि, विवादास्पद निर्णयबीच सम्पन्न भारतविरुद्ध भएको फाइनलको मध्यान्तरसम्म १–० ले अघि रहेर पनि नेपाली महिला टीमले रजतमै चित्त बुझाउनु प¥यो । तर पनि खेलाडीहरुको प्रदर्शनबाट दङ्ग प्रशिक्षक ध्रुव केसी भन्छन्, “अन्तर्राष्ट्रिय अनुभवको कमी र दुई महिनाको छोटो प्रशिक्षण भए पनि खेलाडीहरुले बडो सुझ्बुझ्का साथ खेल्दै महिला फुटबलमा नेपालको भविष्य उज्जवल रहेको संकेत दिएका छन् ।” यस टोलीमा निरु थापा, जमुना राई, अनु लामा र प्रमिला राईको प्रदर्शन उल्लेख्य रह्यो । त्यसको विपरीत अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रत्यक्ष निगरानीमा वर्षेनी करौडौंको खर्च गरिरहेको पुरुष फुटबलले भने निराश मात्रै पारे । अनिल गुरुङ र जुमानु राईको अग्र पंक्ति प्रभावहीन देखियो । नेपाली पुरुष फुटबल टिमले एक मात्र सान्त्वना जित भुटान विरुद्ध हासिल गरेको थियो । खेल कौशलको अभावसँगै खेलाडीहरुले खेलको सामान्य अनुशासन समेत पालना गरेको देखिएन । खेल पदाधिकारीहरुको निर्देशनमा नेपाली फुटबल खेलाडीहरु रेफ्रिमाथि हातपात गर्न समेत पछि परेनन् ।

विदेशी भूमिको सबैभन्दा सफल सहभागिता हुँदाहुँदै पनि ढाका पुगेका १२ खेलका ११३ नेपाली खेलाडीहरु रित्तो हात फर्कनु प¥यो । दक्षिण एसियाली खेलकुदकै इतिहासमा पहिलो पटक नेपालले भारोत्तोलनमा कुनै पदक हासिल गर्न सकेन, जबकि भारोत्तोलन नेपाललाई दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी पदक दिलाउने खेलमा पर्छ । दशौं सागका स्वर्ण विजेता कमलबहादुर अधिकारी तीनजना मात्र खेलाडी रहेको ६९ माथि तौलसमूहमा क्लिन एण्ड जर्कको तीन प्रयासमा समेत १५२ तौल उठाउन असमर्थ भएपछि डिसक्वालिफाइ भए । पौडीमा नेपालका किर्तिमानधारी खेलाडीहरु करिष्मा कार्की, नयना शाक्य, शैलेश राणा र शैला राणा लगायतका पौडीवाजहरु प्रायः सबै स्पर्धामा पुछारमा रहे ।

कबड्डीमा महिला तथा पुरुष दुवै स्पर्धामा पदक हात पारे पनि कबड्डी संघको विवाद ढाकामा समेत सार्वजनिक भयो । कबड्डी सघंका अध्यक्ष सुनिल राज कर्णिकारले आयोजकसँगको आफ्नो पहुँचलाई प्रयोग गर्दै राखेपले सिफारिश गरेका रेफ्री दिनेशबहादुर पाललाई सहभागी हुन नदिएपछि खेलस्थलमै हातपातको स्थितिसमेत सिर्जना हुनपुग्यो । त्यसै गरी शुटिङ, गल्फ, साइक्लिङ र स्कावशमा नेपाली खेलाडीहरुको प्रदर्शन उल्लेख्य रहेन ।

विवादास्पद निर्णयहरुका कारण एघारौंं साग नेपालीहरुका लागि नमिठो अनुभव हुनपुग्यो । स्वदेशी खेलाडीहरुको पक्षमा एकलौटी निर्णय सुनाइँदा अन्य राष्ट्रका सहभागीहरु पटकपटक निरिह देखिन्थे । स्वर्ण पदकका प्रबल सम्भावना बोकेका तेक्वान्दोका यानकुमारी चौलागाई र मनिता शाहीले निविर्वाद विजेता देखिए पनि आयोजक पक्षीय निर्णायकहरुका सामु निर्णय स्वीकार्नु बाध्य थिए । तेक्वान्दोमा यान कुमारी चौलागाई र बंग्लादेशी सरमिन फर्जाना रुमी बीचको सेमिफाइनलमा आयोजक पदाधिकारीहरु नै स्कोरबोर्ड छेकेर हुटिङ गरिरहेका थिए । बक्सिगंको फाइनलमा बंग्लादेशी प्रतिस्पर्धीमाथि लगातार धावा बोलेका अजित गुरुङले पनि त्यस्तै नियति भोग्नु प¥यो ।

हकीमा भने यसअघिको ५४ गोलको लज्जास्पद रेकर्डलाई बढाएर ७९ गोल खान पुग्यो नेपालले । स्वदेशमा सामान्य खेल मैदान समेत नभएका नेपाली खेलाडी एक्कासी एस्ट्रो टर्फमा उत्रिनु पर्दा विपक्षीका सामु निरीह देखिन्थे । यसले सम्भावना बोकेका खेलहरुलाई विशेष ध्यान दिँदै बाँकीमा न्यूनतम पूर्वाधार तयार पार्न सम्बन्धित निकायहरु गम्भीर हुनुपर्ने देखाएको छ । अन्यथा आगामी दिनहरुमा पनि अधिकांश खेलाडीहरु निराश फर्कनुपर्ने अवस्थाले निरन्तरता पाउने पक्का छ ।

डाक्टरहरुको लापरवाही

सागमा सहभागी खेलाडीहरुको ‘फिटनेस’ र स्वास्थ्य उपचार गर्ने उद्देश्य सहित तीन डाक्टर, दुई थेरापिष्ट र एक नर्ससहितको ७ सदस्यीय नेपाली स्वास्थ्य टोली ढाका पुगेको थियो । तर, खेलस्थलमा समयमै उपलब्ध नहुँदा ह्याण्डबलका पद्म बहादुर नेपालीले घाइते भएको आधा घन्टासम्म पनि उपचार नपाएर छटपटाउनुप¥यो । १ फेब्रुअरीमा बंग्लादेशविरुद्धको म्याचका दौरान खेल शुरु भएको १५ मिनेटमै उनी घाइते भएका थिए । तर, नेपाली स्वाथ्यकर्मी करीब आधा घन्टापछि मात्र खेलस्थल पुगेका थिए । त्यसदिन ह्याण्डबल नै नेपालको पहिलो प्रतिस्पर्धा भएपनि अन्य खेलहरुमा जानुपरेकाले चिकित्सकहरु आउन नसकेको राखेप अधिकारीहरुको भनाइ थियो ।


कमजोर व्यवस्थापन

उद्घाटन र समापन भव्य भए पनि ११ औ सागको कमजोर व्यवस्थापन हरेक खेलस्थलमा छताछुल्ल देखिन्थ्यो । प्रतियोगिताको अन्तिम स्वर्णका लागि भएको म्याराथनमा त हदैसम्मको लापरवाही भयो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार म्याराथनको दूरी ४२.१९५ किमि हुनुपर्नेमा आयोजकको कमजोरीका कारण उक्त दूरी ३८.५९५ किमि मात्र भएको तथ्य दौड सकिएपछि मात्र थाहा भयो । आठ राष्ट्रका खेलाडी र पदाधिकारी गरी उपस्थित करीब २५११ जनाका लागि बसोबासको व्यवस्था चित्तबुझदो थिएन । अधिकांश खेलाडीहरुलाई मुख्य आयोजना स्थल बंगबन्धु रङ्गशाला छेउको होटल इम्पेरियलमा राखिएका थिए । त्यही होटलको लिफ्ट चुँडिएर भारोत्तोलन र जुडोका नेपाली खेलाडीहरु घाइते भएका थिए । कतिपय खेलस्थलमा प्रतियोगिता शुरु भइसक्दा समेत निर्माण कार्य जारी थिए ।

आयोजनास्थल बंगबन्धु रंगशालामा एथ्लेटिक्सका विभिन्न स्पर्धाहरु भइरहँदा पदाधिकारी र कर्मचारीहरु जथाभावी ट्र्याकमा हिँडिरहेको दृश्य सामान्य जस्तै भएको थियो । हाइजम्पको प्रतिस्पर्धा चलिरहँदा रंगशालामा फुटबल पनि खेलाइएकाले श्रीलंकाकी प्रियङ्गिका मधुमन्ती अन्तिम जम्प गर्ने तयारी गरिरहेका बेला उनकै सामुे फुटबल खसेको थियो । त्यो दृश्यबाट आठौं दक्षिण एसियाली खेलकुदमा काठमाडौं समेत आएका श्रीलंकाका प्रशिक्षक पीडी डी वायद्यातलिकर आयोजकको लापरवाही प्रति निकै रुष्ट देखिन्थे । “खेलकुदको सामान्य व्यवस्थापकीय नियमहरुलाई पनि पालना गरेको देखिएन, यहाँ त जथाभावी भइरहेको छ, यो त सागकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा कमजोर व्यवस्थापन हो”, उनले भने । त्यस्तै गरी कँराते र ह्याण्डबलका खेलस्थलमा नेपाली झ्ण्डा उल्टो फहराइएको थियो । त्यस्तै प्रतियोगिता शुरु हुनु अघि गरिने झ्ण्डोत्तोलन, ब्याडमिन्टन र तेक्वान्दोको उद्घाटन कार्यक्रममा पुरानै राष्ट्रिय गान बजाइएको थियो ।


सँधै चर्चामा

“ममाथि लागेको जहाँ दाग लागेको थियो, त्यहीँ मेटाएको छु”, ढाकामा म्याराथनमा स्वर्ण जितेका राजेन्द्र भण्डारीले भने । भण्डारीका लागि साग खेलकुदको सहभागिता सँधै चर्चामा पर्ने गरेको छ । श्रीलंकामा सम्पन्न दशौं सागमा ३ हजार मिटर स्टेपलचेज र ५ हजार मिटर दौडमा दुई वटा स्वर्ण जितेर एकाएक चर्चाको शिखरमा पुगेका राजेन्द्रले दुई महिना नबित्दै ती पदक गुमाउनुप¥यो । प्रतिबन्धित शक्तिबद्र्धक औषधी सेवन गरेको प्रमाणित भएपछि उनलाई दुई वर्षसम्म कुनै पनि प्रतियोगितामा सहभागि हुन प्रतिबन्ध लगाइएको थियो । तर, तनहुँ निवासी भण्डारीको दृढता सामान्य खेलाडीभन्दा फरक देखियो । मध्यम दूरीका खेलाडी भण्डारीले अनपेक्षित रुपमा दुई वर्ष काठमाडौंमा सम्पन्न म्याराथनमा पहिलो स्थान हासिल गरेर आफूलाई प्रमाणित गरिसकेका थिए ।

नेपाली सेनामा सुबेदार पदमा कार्यरत दुई सन्तानका पिता भण्डारीको दृढता र चर्चाले ढाकामा पनि निरन्तरता पायो । उनले १ घन्टा ५९ मिनेट ४७ सेकेण्डमा म्याराथन दौड पूरा गरेर स्वर्ण जिते पनि आयोजकको कमजोरीका कारण उनको समयले आधिकारिता पाउन सकेन । उनले भने, “दुरी पुरा भएको भए विश्व किर्तिमान भन्दा पनि बैकुण्ठ दाईको रेकर्ड चाहिँ तोडिने थियो ।” यसअघि नेपालका चर्चित धावक बैकुण्ठ मानन्धर भारतको कलकत्तामा सन् १९८७ मा सम्पन्न तेस्रो दक्षिण एसियाली खेलकुदमा बनाएको २ घन्टा १५ मिनेट ३ सेकेण्डको रेकर्ड अद्यापी कायमै छ ।

comments powered by Disqus

रमझम