लुकेर लाएको माया खुलेर आउन थाल्यो
छोपिरहेछु भन्थें सर्वत्र छाउन थाल्यो...
धेरै दिन लुकीचोरी पछ्याएर पनि नपुगेपछि उनले सुषमाकै साथीमार्फत प्रेम प्रस्ताव पठाए । तर, सुषमाले रुचि देखाइनन् । लडाइँमा गएपछि युद्ध जितेरै फर्कने सैनिक मानसिकताका विकासले हार खाएनन् । सुषमाको मन जित्न उनलाई एक वर्षै लाग्यो । त्यसपछि त दुवैको मुटु एकैसाथ धड्कन थाले, भेटघाट बाक्लिँदै गयो ।
दुवै एकअर्कासँग खुसी थिए । लुकेर लाएको माया सर्वत्र छाउन थालेपछि बनेको सुन्दर संसार बसाउने सपनामा दुवैका परिवार पर्खाल बनिदिए । अन्तरजातीय जोडी परिवारलाई स्वीकार्य थिएन । तर, दुवै यति आत्मीय भइसकेका थिए, परिवाररुपी पर्खालले छेक्ने कुरै थिएन । बाजा बजाएर सुषमालाई भिœयाउने धोको पूरा नहुने देखेपछि सुटुक्कै घरजम गर्ने योजना बन्यो । पहिले काठमाडौं जिल्ला अदालतमा दुवैले ‘कोर्ट म्यारिज’ गरे अनि श्रीपञ्चमीको साइतमा गुह्येश्वरीमा नजिकका साथीसँगी र भगवानलाई साक्षी राखेर विकासले सुषमाको सिउँदो सजाइदिए ।
दुवैका परिवार यसबाट बेखबर थिए । बिहे त भयो तर अब कहाँ जाने ? त्यसबेला ललितपुरको लगनखेलस्थित राजदल गुल्मका लप्टन विकासले दुलहीलाई सैनिक ब्यारेकमा लैजाने कुरै भएन । तर, जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै ब्यारेक नजिकैको एउटा घरमा भर्खरै बिहे गरेका एकजना ‘क्याप्टेन साहेब’ को ‘फ्ल्याट’ मा मासिक रु.१५० बहालमा एउटा कोठा पाए । दुलही भिœयाउने घर त फेला प¥यो तर भोलिपल्टैदेखि विकासलाई आर्थिक अभावले गाँज्न थाल्यो । त्यसबेला उनको मासिक तलब रु.५६५ थियो । कोठामा भाँडाकुडा, लत्ताकपडा, फर्निचर केही थिएनन्, न दाल, चामल, तरकारी, नुनतेल नै थियो । विकास भन्छन्, “जुन सपना र आत्मविश्वासले बिहे गरेँ र बिहेपछि उनलाई खुसी, सुखी राखुँला भन्ने सोचेको थिएँ, आर्थिक रूपमा सबल नहुँदा गाह्रो हुने रहेछ ।” सम्पन्न घर–परिवारमा हुर्केका दुवै केटा–केटीले जीवन देखिसकेकै थिएनन् ।
बिहेलाई स्वीकारै नगर्ने घर–परिवारलाई गुहार्न विकासको मनले मानेन, बरू गुल्मपति कर्णेल रघुचन्द्र बहादुर सिंहसँग आफ्ना व्यथा पोख्न तयार भए । ‘बिहे गरेर ल्याएँ, आर्थिक समस्या प¥यो सर...’ भनेपछि गुल्मपतिले सोधे ‘कति पैसा चाहिन्छ ?’ उनले सबै प्राथमिक आवश्यकताका सरसामान सम्झ्ँदै रु.२५०० भए पुग्ने बताएपछि कर्णेलले लेखापाल सुवेदार मेजर ओतमानसिंह थापालाई बोलाएर ब्यारेकको सञ्चित कोषबाट तलबमा काट्दै जाने गरी मागेजति रकम दिलाए । रकम हात परेपछि अब चाहिँ केही हुन्छ भन्ने उनलाई लाग्यो र ब्यारेकबाट सामान किन्न सीधै पाटनको मङ्गलबजारतिर हान्निए । खाना पकाउने भाँडा–कुडा, स्टोभ, ओढ्ने–ओछ्याउने, पर्दा, कार्पेट, साधारण फर्निचर र चामल, तरकारी किन्दा त्यति रकम तीन दिनमै सकियो ।
यता चित्त दुःखाएका दुवैका बाबुआमाको मन केही दिनपछि पग्लिन थाल्यो । नवदम्पतीलाई स्वीकार्न उनीहरू तयार भए । विकासका बाबु देवेन्द्र जबरा आफूले पनि शेरचनसँग बिहे गरेकाले अन्तरजातीय विवाहप्रति उदार थिए । तर आफ्नो घर बसाउन निकै सङ्घर्ष गरेकी उनकी आमा कुलदेवी राणालाई आफन्तले के भन्छन् भन्ने पीर थियो । विकास भन्छन्, “बुबाले आमालाई हामी जङ्गबहादुरका सन्तान हौं भने बज्राचार्य पनि त गौतम बुद्धका सन्तान हुन् भनेर सम्झउनुभएछ ।”
डेढ महिनापछि विकासको घरबाटै कोठाको बहाल तिर्ने पैसा आउन थालेकाले आर्थिक अवस्था केही सहज भयो । एक वर्षपछि दुवैको जीवनमा नयाँ खुसी लिएर जेठा छोरा सौरभ आए । लगनखेलबाट नयाँ बजारको आफ्नै घरमा सरिसकेकाले आर्थिक सङ्कट र बासको समस्या भएन । विकासमा परिवारको सुन्दर भविष्य बनाउने र आफ्नै प्रयासले केही गरेर देखाउने उत्कट चाहना भने सल्बलाइरहेकै थियो ।
एकपछि अर्को सफलता
१८ वर्षमै सेनामा भर्ती भएका विकास अलग्गै पहिचान बनाउँदै अघि बढेका थिए । घोडचढी, माउण्टेन वारफेयर, प्यारा जम्प हरेकमा उनी अब्बल थिए । धेरै पुरस्कार पनि पाए । बिहे गरेको एक वर्षपछि नै उनी शान्ति सेनामा छनोट भएर विदेश गए । फर्केर तीन वर्ष आर्मी एकेडेमीमा प्रशिक्षक भए । पछि इण्डियन एयर फोर्सको दुईवर्षे पाइलट कोर्ष अध्ययन गर्न भारत गए ।
पाइलट भएर फर्केपछि करिअरले नयाँ मोड लियो । साढे १८ वर्षपछि सैनिक जीवनबाट मेजर पदबाट स्वेच्छिक अवकाश लिँदा उनीसँग नौ वर्ष सेनामा पाइलटको रूपमा काम गरेको अनुभव थियो, निजी हेलिकोप्टर कम्पनी नेपाल एयरवेजमा अपरेशन डाइरेक्टरको जिम्मेवारी पाए । १२ वर्षअघि फिस्टेल एयर नामक आफ्नै हेलिकोप्टर चार्टर कम्पनी खोले । एउटा हेलिकोप्टरबाट शुरु गरेको फिस्टेल एयर अहिले पाँच हेलिकोप्टर सहितको ठूलो हवाईसेवा कम्पनी भएको छ ।
फिस्टेल एयर, इम्पेरियल डेभलपर्स, शिखर इन्स्योरेन्स, मार्वलस् रेमिटलगायतका आधा दर्जन व्यावसायिक फर्मका अध्यक्ष राणाका कम्पनीहरूले वार्षिक अर्बौंको कारोबार गर्छन् । यो सबै विकासको मेहनत र सङ्घर्षको प्रतिफल थियो, जसमा सुषमाले हरपल साथ दिएकी थिइन् । भन्छन्, “हामीले घरको सम्पत्ति लिएनौं, जे छ आफ्नै सङ्घर्ष र मेहनत हो ।”
३० वर्षअघिका अभावग्रस्त दिन सम्झ्ँदा राणा दम्पती आज पनि रोमाञ्चित हुन्छन् । तर, विगतमा अभाव र सङ्घर्षका कहालीलाग्दा र कठिन दिनमा पाएको सानोतिनो खुसीबाट हुने जस्तो आत्मसन्तुष्टि अहिले महसुस हुँदैन । बिहे गरेको दुई वर्षपछि सेकेण्ड ह्याण्ड मोटरबाइक किन्दा जति आत्मसन्तुष्टि विकासलाई दुई साताअघि सिङ्गापुरबाट नयाँ हेलिकोप्टर किनेर ल्याउँदा पनि भएन ।
गायनमा जम्यो जोडी !
सुषमा भने सानैदेखि गीत गाउँथिन्, कविता लेख्थिन् । चन्दन श्रेष्ठसँग डेढ वर्ष सङ्गीत प्रशिक्षण लिएर पनि घर व्यवहारमै सीमित सुषमालाई गीत रेकर्ड गर्न र अल्बम निकाल्न विकास हौस्याइरहन्थे । नातेदार महेश राणाले नै सङ्गीतकार आलोक श्रीसँग भेट गराइदिए । गत वर्षको एक मध्यान्ह सुषमाको स्वर सुनेपछि आलोकले राम्रो गाउन सक्ने पाश्र्व गायिकाको जस्तै स्वर भएको बताउँदा सुषमाले ‘उहाँले पनि गाउनुहुन्छ...’ भन्दै विकासलाई गाउन जोड गरिन् । राम्रा सङ्गीतकारको राम्रै प्रतिक्रिया सुनेपछि दुवै हौसिए । महेश राणा र आलोक श्रीले गीत–सङ्गीत जुटाएपछि केही महिनाको अभ्यासमा रेकर्डिङ शुरु भयो । कार्यालयको कामले कहिल्यै घरमा सुषमासँग बसेर गीतको अभ्यास नगरे पनि विकासले स्टुडियोमा भने मज्जैले गाए । र, सुषमाको अल्बम निकाल्न हौसिएका उनी आफैं पनि गायक बन्न पुगे । पाँच वटा म्युजिक भिडियोसहित बजारमा आएको अल्बमले छोटो समयमै राम्रो ‘रेस्पोन्स’ पायो । सीआरबीटी डाउनलोडमा समेत नाम चलेका गायक–गायिकाको हाराहारीमा पुगेपछि राणा दम्पतीको उत्साह थपिएको छ । विकास र सुषमाको जीवनमा बितेका तीन दशकमा धेरै कुरा बदलिएका छन् । परिवार दुईबाट चार भएको छ । छोराहरू सौरभ (२८) र अभिनव (२४) बाबु–आमाकै काँधमा काँध मिलाउन थालिसकेका छन् । लुकेर माया लगाउँदा र भागेर बिहे गर्दा टाढा भएका आफन्तहरू उनीहरूसँगै छन् ।
पछिल्ला वर्षहरूमा नेपाल पनि १४ फेब्रुअरीमा भ्यालेण्टाइन डेको रङमा रङ्गिन थालेको छ । तर, राणा दम्पतीलाई यो दिनले खासै महŒव राख्दैन । भन्छन्, “माया–प्रेम कुनै पर्व, उत्सव र दिनले निर्देश गर्दैन, हाम्रो लागि सधैँ भ्यालेण्टाइन डे ! एक अर्काप्रतिको प्रेम र समर्पण एकदिन मात्रै भएर हुँदैन, हरेक दिन हुनुपर्छ ।” उनीहरूले भने जस्तै आज पनि विकास र सुषमाको जोडी ३० वर्षअघिकै जस्तो छ । त्यसैले त दुःख र सुखका दिनहरूमा हरपल एकसाथ जीवन यात्रा बढाइरहेको यो जोडीले महेश राणाको शब्द र आलोक श्रीको सङ्गीतमा एकसाथ गाएका छन्–
तिम्रो आगमनले जीवनमा,
हरपल उमङ्ग छाउन थाल्यो ...