१–१५ फागुन २०६६ | 13-27 February 2010

पाहुना पर्खंदै

Share:
  
‘आउ है माया पञ्चासे मेला । मनको कुरा खोलौंला त्यै बेला ।’

पर्वतको चित्रे गाविसको ओढारे गाउँमा पुग्नासाथ स्थानीय आमा समूहका सदस्यहरू गलाभरी माला लगाइदिएर यही गीतबाट स्वागत गर्छन् । आन्तरिक र बाह्य पर्यटकलाई सामूहिक रूपमा स्वागत गर्ने चित्रेवासीहरू आफ्नो गाउँलाई ग्रामीण पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटेका छन् । आसपासका भदौरे, आर्थर आदि ठाउँका बासिन्दाहरू पनि आ–आफ्नो गाउँलाई ग्रामीण पर्यटकीय गन्तव्य बनाउने अभियानमा छन् ।

जैविक विविधता, ऐतिहासिक–धार्मिकस्थल तथा प्राकृतिक दृश्यावलोकनका लागि पनि उपयुक्त पञ्चासे कास्की, स्याङ्जा र पर्वतको सिमानामा पर्छ । बाक्लो गुरुङ बसोबास रहेको पञ्चासे गाउँ पदयात्रा र ग्रामीण पर्यटनका लागि स्याङ्जाको सिरुवारी र लमजुङको घलेगाउँकै हाराहारीमा छ । गुरुङ संस्कृतिको नाचगान, खानपान, न्यानो सत्कार अनि जति हेरे पनि नअघाइने हिमाली र पहाडी दृश्य पञ्चासेका विशेषता हुन् ।

पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा र त्यसपछि तीन–चार घण्टा पैदल हिँड्नुपर्छ । कास्कीकै लुम्ले, काँढे, भदौरे र देउरालीहुँदै तीन घण्टा तथा पर्वतको कुस्मा र आर्थरहुँदै दुई घण्टा हिँडेर पनि पुग्न सकिन्छ । हिउँदमा स्याङ्जाको फेदीखोला, आरुखर्क हुँदै पञ्चासे भञ्ज्याङसम्मै जीप चढेर जान पनि सकिन्छ । मोटरको सुविधा भए पनि पदयात्राको आकर्षण बेग्लै छ । धेरैजसो पदयात्रीहरू पोखराको लेकसाइडबाट पामे, घाँटीछिनासम्म गाडीमा गएर सिदानेहुँदै हिँड्छन् । चराको चिरबिर र घाँसदाउरा गर्ने गाउँलेहरूको सुरिलो भाखाका गीतबीच बाटो कटेको पत्तै हुँदैन ।

पर्यटकको स्वागत ।
हिजोआज हिमाल, पहाडी गाउँबस्ती, वनजङ्गल, वन्यजन्तु र प्राकृतिक सौन्दर्य अवलोकन गर्न विदेशी मात्र होइन, स्वदेशीहरू पनि प्रशस्तै आउन थालेका छन् । एक पटक आएका विदेशीहरू तीन–तीन महिनासम्म बसेका उदाहरण भेटिन्छन् । एकान्तमा बस्न र डुल्न मन पराउने जापानी, इजरायली, जर्मन, रूसी पर्यटकहरू स्थानीय बासिन्दाका घर, भञ्ज्याङका होटलमा तथा क्याम्पसाइटमा पाल टाँगेर बस्ने गर्छन् ।

बाग्लुङ, पर्वत र स्याङ्जाको सदरमुकाम देखिने यहाँको भ्यू टावरबाट पोखराको फेवाताल र त्यसको किनारमा रहेको लेकसाइड राम्रैगरी, रातमा त अझ्ै सुन्दर र मोहक देखिन्छन् । स्थानीयवासीहरूको सक्रियतामा रु.१ करोडको लागतमा अर्को भ्यू टावर पनि बन्दैछ । स्वच्छ र सुन्दर पञ्चकोसी ताल पञ्चासेको अर्को रमणीयस्थल हो । तालको छेउमा वाराही मन्दिर छ । २०० मिटर लामो र ७५ मिटर चौडा यो तालमा पानीको मूल र निकास देखिँदैन । गुर्जादेखि गणेश हिमालसम्म देखिने पञ्चासेबाट धौलागिरि, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ र गणेश हिमाल लहरै देखिन्छन् । माछापुच्छ«े र अन्नपूर्ण त नाकैमा ठोकिने हुन् कि जस्तो हुन्छ ।

मनोरम हिमपात ।
पञ्चासेको आफ्नै ऐतिहासिक र धार्मिक महŒव पनि छ । पाँच पाण्डवहरू गुप्तवासमा रहँदा बसोबास गरेको ओडार, बाईसे–चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य त्यस्ता प्रसिद्ध दर्शनीय स्थल हुन् । श्रवणकुमार कुवामा पानी लिन जाँदा मृगको आवाज आएको ठानी राजा दशरथले हानेको बाणबाट उनको मृत्यु भएको पौराणिक कथासँग जोडिएको स्याङ्जाको बाङ्गसिङ्ग गाविसको ध्याङ्गसिरी पञ्चासेको बाटोमै पर्छ । यो कुवाको पानी रातो देखिन्छ । बालाचतुर्दशीमा सतवीज छर्नेहरूको घुइँचो लाग्छ ।

जैविक विविधताको खानी पनि हो— पञ्चासे । ११३ प्रजातिका सुनगाभा भेटिएको छ, पञ्चासेमा । आँधीखोला, सेतीखोला, जरेखोला, रतिखोला, हर्पनखोलाको उद्गमस्थल तथा जलाधार रहेको पञ्चासे क्षेत्रसँग फेवातालको अस्तित्व समेत गाँसिएको छ । यो महŒवपूर्ण जलाधार क्षेत्रको संरक्षण गर्न पञ्चासेको ५५०० हेक्टर वन क्षेत्रमध्ये १७०० हेक्टर सामुदायिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा ५८९ किसिमका फूल, १५० औषधिजन्य जडिबुटी, ५६ जङ्गली च्याउ, ९८ उन्यू र आठ रेसादार प्रजातिका वनस्पति पाइन्छन् । दर्जनभन्दा बढी खर्क रहेको यहाँ चराचुरुङ्गी र दुर्लभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् ।

पञ्चासे ताल ।
गुरुङ, मगर, बाहुन, क्षेत्री, विश्वकर्मा, परियार जस्ता विविध जातिको मिश्रित बसोबास रहेको पञ्चासे पर्यटकीय गन्तव्य बन्दै गएपछि यहाँ बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइएको छ । माछापुच्छे« विकास सङ्घले पर्यटन मन्त्रालयको सहयोगमा एकीकृत विकास गर्न १८ वर्षको लागि रु.६३ करोडको बृहत् गुरुयोजना बनाएको छ । कास्की, स्याङ्जा र पर्वतको सेरोफेरोमा चक्रपथ गोरेटो तथा आर्थर, भञ्ज्याङ, आहालडाँडा र पञ्चकोसी सरोवर जाने १२ किमी पक्की सिँढीसहितको बाटो बनाइएको छ । पञ्चासेमा पर्यटकीय स्थल, धार्मिक क्षेत्र, गाउँबस्ती र जैविक विविधताको भौगोलिक सूचना प्रणाली तयार गरिएको छ । लेकमा भ्यू टावर, स्वयम्भू चैत्य र मन्दिरको निर्माण भएको छ । पाहुनाघर निर्माण र विद्युतीकरणका कामहरू पनि हुँदैछन् ।

पर्यटकहरूलाई खानेबस्ने व्यवस्थाका लागि कास्कीको भदौरे र पर्वतको चित्रेमा होम स्टे सेवा शुरु भइसकेको छ भने आर्थरमा छिट्टै शुरु हुँदैछ । घरमै स्थानीय परिकार ख्वाएर पर्यटकहरूलाई गाउँघरको संस्कृति देखाउने व्यवस्था पनि छ । यस क्षेत्रका झ्ण्डै २० हजार घरमा घरैपिच्छे एक–दुई पर्यटक राखेर ग्रामीण संस्कृति देखाउन सकिनेमा पञ्चासेवासी विश्वस्त छन् । पञ्चासे भञ्ज्याङका चार होटलमा ६० शैøया छन् । लेकमा धर्मशाला छ । पोखरा घुम्न गएकाहरूले एक दुई दिनको यात्रा लम्ब्याएर पञ्चासे पुग्न सके साँच्चै आनन्दको अनुभूति गर्ने छन् ।

शब्द/तस्वीरः दुर्गाप्रसाद शर्मा, पर्वत

comments powered by Disqus

रमझम