चित्लाङ बजारदेखि अलि तल मार्खुको सिरानीमा सरकारले एउटा बाख्रा फार्म सञ्चालन गरेको छ । पाँचसय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको यो फार्म पूर्वाधार, चरन क्षेत्र आदिका दृष्टिले एक हजार जति भेडा–बाख्रा पाल्न सकिने भए पनि साढे दुई सय पालेर चलिरहेको छ । तर, गाउँमा यही फार्मको प्रेरणा र केही सहायताका साथै फ्रान्सेली दूतावासलगायत विभिन्न संस्थाको सहयोगमा चित्लाङका अशोकसिंह ठकुरीले बाख्रा पालेर चिज उत्पादन गरिरहेका छन् । फ्रान्सबाट बाख्राको चिज उत्पादनको तालिम लिएर आएका उनी वार्षिक १५०० देखि १८०० केजी चिज उत्पादन गर्छन् । आम्दानी राम्रै छ— प्रतिकेजी हार्ड चिजको रु.२२०० र सफ्ट चिजको रु.१२५० ।
ठकुरीद्वारा उत्पादित चिज याक एण्ड यति, समिट, ¥याडिसन, अर्गानिक भिलेज, हर्मन बेकरी, युरोपियन बेकरी, डेलिसियस गर्मेट, पम्पर निकेल, डोल्से भिटा, रोडहाउस क्याफे जस्ता काठमाडौंका महङ्गा होटल, रेस्टुरेण्ट, बेकरी आदिमा पाइन्छ । “विदेशमा पनि जर्मनी, फ्रान्स पठाइएको नमुना स्वीकार गरेर किन्ने अर्डर आइसक्यो । जर्मनीको एउटै फर्मले वर्षमा पाँच हजार केजी मागेको छ । तर, उत्पादन गर्न सके पो !” उनी भन्छन् । ठकुरीले चित्लाङ दूध उत्पादक सहकारी संस्था खोलेर सारा गाउँलाई बाख्रा पाल्न प्रेरित गर्दै चिज उत्पादन बढाउने काम पनि थालेका हुन् । “सरकारी फार्मले पनि मन लगाएर काम गरिदिएको भए उन्नत जातका बाख्राको विकास र बाख्रापालनमा विस्तार हुन्थ्यो होला”, उनी भन्छन्, “तर फार्मको प्रायः जागिर मात्रै पकाउने प्रवृत्तिले गाउँवासीलाई ठूलो स्तरमा बाख्रापालनमा आकर्षित गर्न सकेन । अहिले मेरो प्रयासमा आफ्नै ५० वटा र गाउँघरका अरू केही बाख्राको दूधबाट हुने उत्पादनमा मात्र सीमित छ ।”
यसरी उच्च मूल्य भएका कृषि उपजहरूको नयाँ–नयाँ प्रयोग र उत्पादनमा लागेको चित्लाङलाई हरियो जङ्गल, पानीको स्रोत, मनोरम वातावरण र राजधानीसँगको छोटो दूरीले पनि अनुकूल बनाएको छ । कुलेखानी आयोजना क्षेत्रमा परेको हुनाले लोडशेडिङ पनि नहुने चित्लाङ कृषि र पर्यटन उद्योगको लागि समेत अनुकूल देखिन्छ । चिज उत्पादक ठकुरी गाउँलाई कृषि र पर्यटन केन्द्र बनाउन चाहन्छन्, जसको सुरुआत उनले आफ्नै र गाउँका अरू केही घरमा स्वदेशी–विदेशी आगन्तुकहरूका लागि ‘होम स्टे’को सुविधाबाट गरिसकेका छन् ।