१–१५ फागुन २०६६ | 13-27 February 2010

भारुको अभाव, सुनको तस्करी

Share:
  

एकाएक बढेको भारुको माग धान्न नसकेपछि नेपाल राष्ट्र ब्याङ्कले यसको सटहीमा तगारो उत्पन्न गरेको भन्दै जनकपुरस्थित सटही व्यवसायीहरूले अनिश्चितकालका लागि सटही कारोबार बन्द गरेका छन् । जनकपुर मनिचेन्जर व्यवसायी संघका अध्यक्ष रवीन्द्र सिंहले २७ माघमा पत्रकार सम्मेलनमा राष्ट्र ब्याङ्कले पछिल्लो समयमा उपलब्ध गराउँदै आएको प्रतिसंस्था भारु २५ हजारबाट बजारको माग धान्न नसकिएको, ग्राहकको मोबाइल नम्बर, नागरिकता नम्बर जस्ता सूचनाहरू बुझउनुपर्ने भन्ने प्रावधान व्यावहारिक नभएको भन्दै सटही कारोबार नै बन्द गर्ने निर्णय सुनाए ।

यसअघि अत्यधिक मागकै कारण राष्ट्र ब्याङ्कले भारुको सटहीमा कडाइ गर्दै सर्वसाधारणलाई प्रतिव्यक्ति भारु १५ सयसम्म र मनिचेन्जरहरूका लागि भारु २५ हजारसम्मको सटही सुविधाको नीति लिएको थियो । राष्ट्र ब्याङ्कका जनकपुरस्थित कार्यालय प्रबन्धक भीष्मराज ढुङ्गानाका अनुसार मङ्सिर र पुसमा दैनिक औसतमा भारु १५ लाख सटही हुने गरेकोमा १५–२२ माघको अवधिमा मात्रै दैनिक औसतमा भारु २५ लाखसम्म पुगेको थियो । राष्ट्र ब्याङ्कले ब्याङ्क ग्यारेण्टीमा सुन ल्याउन नपाउने नीति जारी गरेपछि सीमावर्ती नेपाली बजारहरूमा बढेको सुन तस्करी तथा नेपाली रुपैयाँ अवमूल्यन हुने हल्लाले भारु साट्नेहरूको सङ्ख्या ह्वात्तै बढाएपछि यी क्षेत्रमा भारुको अभाव देखिएको हो । मुलुकको शोधनान्तर स्थिति ऋणात्मक हुनुको एउटा प्रमुख कारण आकासिएको सुन आयात पनि भएको ठहर गर्दै राष्ट्र ब्याङ्कले २४ पुसमा ब्याङ्क ग्यारेण्टी वा प्रतीतपत्र (एलसी) मार्फत सुन आयात गर्दा ४० प्रतिशत नगद जम्मा गर्नुपर्ने व्यवस्था हुँदै माघको पहिलो साता ब्याङ्क ग्यारेण्टीबाट सुन आयातमा रोक लगाएको थियो ।

उता नेरु अवमूल्यनको हल्लाकै कारण नेपाली रुपैयाँ चल्ने कतिपय भारतीय बजारमा नेरु लिन छाडिएको छ भने सीमामा सटहीको व्यापार गर्ने भारतीय सटहीकर्ताहरूले सटही मार्जिन उच्च राखेर कारोबार गर्न थालेका छन् । त्यस्तै स्थानीय वाणिज्य ब्याङ्कहरूले पनि आफूकहाँ खाता नभएकाहरूलाई ड्राफ्ट बनाउन छाडेका छन् । जसको एकमुष्ठ असर भारु सटहीका लागि बढ्दो लाइनमा परेको देख्न सकिन्छ ।

मौकाको फाइदामा मनिचेन्जर

भारुको बिक्री कम होस् भन्नका लागि राष्ट्र ब्याङ्कले सटहीमा गरेको सीमा निर्धारणले सटही सुविधा लिनेहरूको सङ्ख्या नै बढाइदिएको छ । एकै व्यक्तिलाई कम सटही सुविधा दिएका कारण सुन तस्करीमा संलग्न तथा मनिचेन्जरहरूबाट हुने अवैध सटही प्रयोजनका लागि भाडाका मानिसहरू लगाएर भारुको सटही भइरहेको स्थानीय एक व्यापारी बताउँछन् । भारुको बढ्दो मागसँगै मनिचेन्जरहरूले आफूले पाएको सुविधाको दुरुपयोग गरिरहेका छन् । सर्वसाधारणका लागि भनी पाउने सम्पूर्ण रकम उनीहरूले बढी दरमा जसले किन्छ उसैलाई उपलब्ध गराइरहेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारी भन्छन्, “जनकपुरका ५० भन्दा बढी मनिचेन्जरहरूले सटहीका लागि पाएको भारु सुन तस्करीमा संलग्नहरूलाई नै उपलब्ध गराइरहेका छन् । जसको अनुगमन राष्ट्र ब्याङ्कले गर्न सकेको छैन ।”

अजय अनुरागी, जनकपुर

comments powered by Disqus

रमझम