१–१५ फागुन २०६६ | 13-27 February 2010

सङ्क्रमणमा पोखरा

Share:
  

पोखरा उप–महानगरपालिका–७ घारीपाटनमा एभियन इन्फ्लुएञ्जा भाइरस (वर्ड–फ्लु) भेटिएपछि सरकारले २२ माघदेखि सो क्षेत्रलाई सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गरेको छ । घारीपाटनका ज्ञानबहादुर खड्काले पालेका २२ वटा हाँस ९ माघमा एकैदिन मरेपछि नमुना सङ्कलन गरी केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाको नमुना परीक्षणमा एच फाईव एन वन भाइरस पोजेटिभ भेटिएपछि बेलायतमा पठाई थप परीक्षण गर्दा पुष्टि भएको थियो ।

वर्ड–फ्लु सरुवा रोग भएकाले नियन्त्रण गर्न सङ्क्रमणग्रस्त क्षेत्रको ४ किलोमिटर वरपरका सबै पक्षीहरू नष्ट गरिएको छ । साथै पक्षीजन्य वस्तुहरू आयात÷निर्यात गर्न र पाल्न समेत सङ्क्रमित क्षेत्रमा तीन महिनासम्मका लागि रोक लगाइएको छ । सङ्क्रमणग्रस्त क्षेत्रको १० किमीमा उच्च सावधानी अपनाउँदै वर्ड–फ्लू नियन्त्रण गर्न पोखरा भित्रिने सम्पूर्ण सवारी साधनको चक्कामा स्प्रे गर्न थालिएको छ । क्षेत्रीय पशु सेवा निर्देशनालयका अनुसार वर्ड–फ्लु नियन्त्रणका लागि घारीपाटनमा खटिएको टोलीले पहिलो चरणमा १० हजार २ सय २९ पक्षी नष्ट गरेको छ ।

सङ्क्रमित क्षेत्रमा पक्षीहरू नष्ट गर्न नभ्याउँदै पोखराको बुद्धचोक, छिनेडाँडा, ड्यामसाइट, खपौदी तथा लेखनाथको तल्लो गगन गौंडामा पनि वर्ड–फ्लुका लक्षण देखिएका छन् । अन्यत्र फैलन नदिन पूर्व सतर्कता अपनाइएको वर्ड–फ्लु नियन्त्रण कक्षका जनसम्पर्क अधिकृत डा. अमर साहले बताए । वर्ड–फ्लु नियन्त्रणका लागि काठमाडौंबाट खटिएको टोलीले दोस्रो चरणमा सो क्षेत्रमा खोर सरसफाई अभियान चलाउने छ ।

पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अशोककुमार चौरसियाका अनुसार यस रोगका जीवाणु र रुघाखोकी लागेको मानिसको जीवाणुबीच मिलन भएमा नयाँ जीवाणु बन्छ, जसले मानिसलाई खतरा हुने हुँदा वर्ड–फ्लु लागेका पक्षीहरू नष्ट पारिएको हो । पक्षीहरू नष्ट गर्दा सरकारले राहतस्वरुप प्रति पक्षी रु.१००, अण्डाको ५० पैसा दिने गरेको छ । व्यवसायीहरूले भने राहत कम भएको गुनासो गरेका छन् । पोखरामा ३ सय ५० किसानले व्यावसायिक कुखुरापालन गरेका छन् । वर्ड–फ्लुको भाइरस पानीमा एक महिना र कुखुराको सुलीमा तीन महिनासम्म बाँच्न सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । यसको भाइरस ७० डिग्री तापक्रममा नष्ट हुने भएकाले मासु राम्ररी पकाएर खान सकिने चिकित्सकले सल्लाह दिएका छन् ।

क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार कास्की, रुपन्देही, नवलपरासी र कपिलवस्तु पनि वर्ड–फ्लुको उच्च जोखिममा छन् । उनले कास्कीका तालमा विभिन्न ठाउँबाट चराचुरुङ्गीहरू आउँदा वर्ड–फ्लु भित्रिएको हुनसक्ने बताए ।

बिक्रीसँगै मूल्य घट्यो

वर्ड–फ्लुपछि यहाँ पक्षीको मासु बिक्री मात्र होइन मूल्यमा पनि निकै गिरावट आएको छ । जिल्ला कुखुरा पालक किसान संघका अध्यक्ष मधुसूदन कोइरालाका अनुसार पोखरामा दैनिक १२ हजार केजी पक्षीको मासु खपत हुने गरेकोमा अहिले मुस्किलले दुई हजार केजी मासु खपत भएको छ ।

कोइरालाका अनुसार पोखरामा वर्ड–फ्लु देखापरेपछि मासु उत्पादनमा पनि कमी आएको छ । प्रतिकेजी रु.३०० को हाराहारीमा बिक्री भएको कुखुराको मासु अहिले प्रतिकेजी रु.११० मा बिक्री भएको अध्यक्ष कोइरालाले बताए ।

दीनानाथ बराल

comments powered by Disqus

रमझम