नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कृषि वनस्पति महाशाखाका वरिष्ठ वैज्ञानिक हरिकृष्ण उप्रेती पनि पौडेलसँग सहमत छन् । पानी परेपछि उत्पादन बढ्ने मात्रै होइन दाना पोटिलो समेत हुने हुँदा किसानहरू लाभान्वित हुने उप्रेतीले बताए । पहाडी भेगमा गहँु फुलेको र तराई मधेशमा दाना लाग्ने बेलामा पानी परेकाले उत्पादन वृद्धि हुन मद्दत पुगेको उनी बताउँछन् । उप्रेतीका अनुसार हिउँदमा लगाइने सबै बालीका लागि अहिलेको पानी पर्याप्त भने होइन । गहुँ मात्रै नभई मकै, आलु, करेला, तर्बुजा, गोलभेंडा, भेडेखुर्सानी, प्याज, ब्रो–काउलीलगायतका खाद्यान्न तथा तरकारी बालीलाई पनि अहिलेको पानीले फाइदा गरेको छ । माघमा परेको पानी चैते धानको ब्याडलाई समेत उपयोगी हुन्छ ।
हिउँदे झ्रीले खानेपानी र विद्युत् उत्पादनमा समेत राहत मिलेको सम्बद्धहरू बताउँछन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उप–प्रबन्धक तिलकमोहन भण्डारीले हिउँदे वर्षाले करिब एक हप्ता भए पनि राहत मिलेको बताए । पानी सङ्कलनको उपयुक्त व्यवस्था नहुँदा भने यस्तो राहत धेरै दिन टिक्न नसकेको भण्डारीको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता दण्डपाणि बस्यालका अनुसार खानेपानीमा जस्तै विद्युत् उत्पादनमा पनि यसबाट छोटो अवधिको लागि मात्रै फाइदा पुगेको छ । नदीको पानी छिट्टै घट्ने र गर्मी लागिसकेकाले हिउँ पनि चाँडो पग्लिने भएकाले विद्युत् उत्पादनमा बढी लाभ लिन नसकिएको हो । नियमित र लामो हिउँदे झ्रीले मात्रै लोडसेडिङ घटाउन सक्ने प्रवक्ता बस्याल बताउँछन् ।
देशैभरी वर्षा
पानी पार्न आवश्यक चिसो बादल अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु–काश्मिरहुँदै नेपाल भित्रिएपछि वर्षा भएको वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ बताउँछन् । उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण पानी परेको हो । हिउँदे झ्री नेपालको पश्चिम भागबाट पूर्वतर्फ क्रमशः कम हुँदै जान्छ । यस पटक भने मुलुकभरी नै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बझङ, डोटीलगायतका जिल्लामा १२ वर्षयता पहिलो पटक हिउँ परेको छ । महाशाखाका अनुसार दुई दिनमा विभिन्न ठाउँमा सामान्यभन्दा बढी नै पानी परेको छ । फेब्रुअरी महिनाको सामान्य वर्षा ६०.७ मिलिमिटर रहेको डडेलधुरामा ७१.७ मिलि तथा २८.४ मिलि रहेको धनगढीमा ४९.० मिलि र ४०.५ रहेको जुम्लामा ६५.५ मिलि वर्षा भयो । त्यसैगरी १७.५ मिलि रहेको काठमाडौंमा २१.५ मिलि र १७.७ मिलि रहेको नगरकोटमा २३.४ मिलि वर्षा भयो ।