१–१५ फागुन २०६६ | 13-27 February 2010

नपत्याउँदो गरी बढ्दैछ कान नसुन्ने रोग

Share:
  
- सुमित्रा राई
वंशाणुगत, विभिन्न रोगव्याध र हेलचेक्र्याइँका कारण बालबालिकाहरूको श्रवणशक्ति नपत्याउँदो गरी कमजोर हुँदै गएको छ ।

कानको परीक्षण गराउँदै गृष्मा ।
नखिपोट, ललितपुरमा २–३ माघमा आयोजित निःशुल्क श्रवण परामर्श शिविरमा कान जँचाउन आएका १९० बालबालिकामा ९० जनाको कान कम सुन्ने वा नसुन्ने समस्या देखियो । तीमध्ये धेरैको जन्मँदै र विभिन्न रोगका कारण श्रवणशक्ति गुमेको थियो । नेशनल हेयरिङ एण्ड स्पिच रिसर्च सेन्टरका अध्यक्ष तथा बीएण्डबी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. काशीराज ज्ञवालीको भनाइमा जन्मँदै वा सानो उमेरमा बच्चाहरू कान नसुन्ने भएको अभिभावक र कतिपय चिकित्सक–स्वास्थ्यकर्मी समेतले समयमै थाहा पाउन नसकेर समस्या गम्भीर बन्दै गएको छ । छोरा संयोगको उपचार गराउन अल्का अस्पताल गएकी काठमाडौं, स्वयम्भूकी सरला शाक्यले छोराले कान नसुनेको कुरा विद्यालय गएपछि मात्र थाहा पाएकी थिइन् । पाँच वर्षको छोरा ऋषपको कान जँचाउन शिविरमा आएका ललितपुर, लुँभूका देवेन्द्रमान र रमिता सिंहले जन्मेको दुई वर्षपछि मात्र छोराले कान नसुनेको थाहा पाएका थिए ।

त्यसैबेलादेखि उपचारका लागि विभिन्न अस्पताल धाउँदै आएका सिंह दम्पतीलाई शिविरमा छोराको कान परीक्षण गरेर नाक, कान, घाँटी विशेषज्ञ डा. ज्ञवाली र भारतको मिनाक्षी स्पिच एण्ड हेयरिङ क्लिनिककी श्रवण तथा वाक विशेषज्ञ मिनाक्षी बधेराले उपचार गर्न रु.११ लाख खर्च हुने बताउँदा उनीहरू छाँगाबाट खसे जस्तै भए ।

छोरी गृष्माले कान नसुनेको शङ्का लागेर ६ महिनाकी छँदै अस्पताल लगेका टीका अधिकारीलाई चिकित्सकले ‘केही छैन, बेला भएपछि सुनिहाल्छे नि’ भनेर त्यत्तिकै फर्काइदिए । अहिले उनलाई सुन्नसक्ने गराउन चाहिने खर्च जुटाउन नसकेर अधिकारी परिवार बिलखबन्दमा परेको छ भने ६ वर्षकी यी कल्कलाउँदी बालिकाले कान सुन्न नसक्ने पीडा लिएर जीवन बिताउनुपर्ने सम्भावना बढेको छ । डा. ज्ञवालीका अनुसार कान कम सुन्नेलाई श्रवणयन्त्र (हेयरिङ एड) राखेर र सुन्दै नसुन्नेलाई शल्यक्रिया गरी कख्लियर इम्प्लान्ट भनिने उपकरण राखेर सुन्ने बनाउन सकिन्छ, जसका लागि कानको अवस्था हेरेर रु.१० हजारदेखि रु.१८ लाख खर्च लाग्न सक्छ ।

“सुन्ने र बोल्ने शक्ति व्यक्तिको बाहिरी संसारलाई बुझने र बुझउने महŒवपूर्ण क्षमता हो । सुन्ने शक्ति विकास नभएसम्म बोलीको पनि विकास हुँदैन”, डा. ज्ञवाली भन्छन्, “बच्चाहरूले दुई वर्षको उमेरभित्रै बोल्ने क्षमताको ९० प्रतिशत पूर्वाधार विकास गरिसक्नुपर्ने हुनाले त्यस अवधिभित्र राम्रो सुन्न पनि सक्षम भइसक्नुपर्दछ ।” त्यसैले सुन्ने क्षमताको समयमै पहिचान र केही समस्या भए त्यसको उपचार गर्नु आवश्यक भएको हो । उमेर छँदै उपचार हुन नसकेमा सुन्न सक्ने भए पनि बोल्ने क्षमता विकास हुन गाह्रो पर्ने गर्छ । यस्तोमा ‘स्पीच थेरापी’ ले केही मद्दत गर्न सक्ने डा. ज्ञवाली बताउँछन् ।

छोरा ऋषपलाई लिएर शिविरमा आएकी रमिता सिंह ।
कान कम सुन्ने र सुन्दै नसुन्ने कानका प्रमुख समस्या हुन् । केही बालबालिकामा यो वंशाणुगत समस्याले हुन्छ भने केहीमा गर्भावस्थामा आमाले खानपान र स्वास्थ्य अवस्थामा ध्यान नदिँदा, असुरक्षित तवरले सुत्केरी गराइँदा, जन्मिएपछि हुने विभिन्न रोगको सङ्क्रमणले पनि हुने गर्दछ । डा. ज्ञवाली भन्छन्, “आमाले मद्यपान, धुमपान, गर्भावस्थामा बच्चालाई हानि गर्न सक्ने औषधिको सेवन र विकिरणबाट नजोगिने गरी एक्सरे गर्दा पनि बच्चाको श्रवणशक्ति गुम्न सक्छ । राम्रोसँग सुत्केरी नगराएमा, जन्मिएपछि जन्डिस, दादुरा, कान पाक्ने, कानको जालीमा पानी जम्ने समस्याहरूको यथासमय उपचार नगरेमा पनि श्रवणशक्ति गुम्छ ।” आमाको गर्भमा रहेको तीन महिनादेखि नै बच्चाको शरीरका सबै अङ्गहरू बन्ने र सात महिनादेखि उसले सुन्न थाल्ने भएकाले आमाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार चल्नुपर्ने धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारको भनाइ छ । उनका अनुसार नेपालमा १५ प्रतिशत नवजात शिशु अस्वस्थ जन्मन्छन् र तीमध्ये कानको समस्या भएका पनि उल्लेख्य छन् ।

ब्रिटेन–नेपाल ओटोलोजी सर्भिसले सन् १९९१ मा गरेको एक सर्वेक्षणले नेपालमा कान कम सुन्नेहरूको सङ्ख्या कुल जनसङ्ख्याको १६.६ प्रतिशत देखाएको थियो । आधिकारिक तथ्याङ्क नभए पनि यसबीच यो सङ्ख्या अझ् बढेको हुनुपर्ने जानकारहरू बताउँछन् । अल्का अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. दीपेन्द्र श्रेष्ठ उपचारमा आएका बालबालिकामध्ये ६ वर्षसम्मका २५ प्रतिशतमा कान कम सुन्ने समस्या छ । उनी भन्छन्, “गर्भावस्थामा आमालाई न्यूमोनिया, पिसाबको सङ्क्रमण, मलेरिया, क्षयरोग भएमा दिइने सुईले बच्चाको श्रवण क्षमतामा असर पु¥याउन सक्ने कतिपय ओटोटक्सिक औषधिको सेवनले पनि बालबालिकाको सुन्ने क्षमतामा कमी आएको हो ।” डा. ज्ञवालीका अनुसार वंशाणुगत, विभिन्न रोग र हेलचेक्र्याइँका कारण नेपालका करिब ३५ प्रतिशत बालबालिकामा कान कम सुन्ने समस्या छ ।

तस्वीर सौजन्यः डा. काशीराज ज्ञवाली
कान नसुन्ने समस्या थाहै नभई र पत्याउनै नसकिने गरी बढिरहेको छ, त्यसमा पनि खासगरी बच्चाहरूमा । नाक, कान, घाँटी रोग विशेषज्ञहरूको विचारमा यसको निराकरण गर्न देशका सबै प्रसूति अस्पतालमा जन्मने बच्चाहरूको ‘ओटोएकुस्टिक एमिसन्स्’ प्रविधिबाट कानको सुन्ने क्षमता अनिवार्य परीक्षण गरेर मात्र घर पठाउने व्यवस्था गर्नुपर्दछ । गर्भावस्थादेखि जन्मेको तीन वर्षसम्म बालबालिकाहरूको कान जोखिममा हुने भएकाले यो समयमा पनि ६–६ महिनामा बालबालिकाको नियमित कान जाँच गराउने व्यवस्था गर्न चिकित्सकहरू जरुरी ठान्छन् । यसबाट कानको सुन्ने क्षमता नभएको पहिचान भएमा ‘अडिटोरी ब्रेनस्टेम रेस्पोन्स’ (एबीआर) भनिने थप परीक्षण गरेर कानको सुन्ने क्षमतासँग सम्बन्धित के कुरा कति बिग्रेको छ पत्ता लगाउन र अवस्थाअनुसार श्रवणयन्त्र वा कख्लियर इम्प्लान्ट लगाएर सुन्ने बनाउन सकिन्छ ।

भारतको आन्ध्रप्रदेश राज्यमा जन्मिने हरेक बच्चाको सरकारले नियमित कान परीक्षण गरेर नसुन्नेहरूको निःशुल्क उपचार गर्दै आएको छ । सम्बन्धित चिकित्सकहरू नेपालमा पनि सरकारले यस्तै व्यवस्था गरेमा कान नसुन्नेको बढ्दो सङ्ख्या घट्ने विश्वास व्यक्त गर्छन् । नाक, कान, घाँटी विशेषज्ञ र श्रवण तथा वाक विशेषज्ञहरू संलग्न नेशनल हेयरिङ एण्ड स्पिच रिसर्च सेन्टरले बालबालिकालाई नै लक्षित गरेर श्रवणशक्ति परीक्षण र वाक तालिम दिँदै आएको डा. काशीराज ज्ञवाली बताउँछन् । उनी भन्छन्, “यससँगै बालबालिकाहरूको कानको अवस्था र सुन्ने क्षमताको विषयमा आमाबाबु, विद्यालय, समुदाय र आम चिकित्सक एवं स्वास्थ्यकर्मीमा चेतना जगाउन पनि एकदमै जरुरी छ ।” नेशनल हेयरिङ एण्डस्पिच रिसर्च सेन्टरले मिनाक्षी स्पिच एण्ड हेयरिङ क्लिनिकसँग मिलेर आयोजना गरेको नखिपोट शिविर पनि यसैको लागि भएको थियो । भारतीय श्रवण तथा वाक विशेषज्ञ मिनाक्षी बधेराले पाँच वर्षदेखि हरेक वर्ष नेपाल आएर सयभन्दा बढी बालबालिकालाई श्रवण तथा वाक क्षमता अभिवृद्धिको प्रशिक्षण दिँदै आएकी छन् ।

comments powered by Disqus

रमझम