१–१५ फागुन २०६६ | 13-27 February 2010

उरापबारे एउटा तुच्छ कुरा

Share:
  
- ऋतुराज

तामेलीमा रहेको उपराष्ट्रपति पद आखिर सक्रिय भइछाड्यो । यसबीच नेपाली नजात्रे उपराष्ट्रपति (उराप) महोदयले नेपालीको ‘क्र्यास कोर्स’ लिए शायद र नेपालीमा लेखिएको पदको शपथ पढ्न सक्ने भए । त्यसका साथै उनलाई हठात् आफ्नो मातृभाषा मैथिली याद भयो र उनले त्यस भाषामा शपथ खाने मनसुवा देखाए ।

पदको शपथ खुवाउने राष्ट्रपति मिथिला प्रदेशका मैथिलीभाषी । पदको शपथ लिने उराप पनि त्यसै प्रदेशका मैथिलीभाषी । फरक कति भने राष्ट्रपति यदुवंशका वंशधर परे भने उराप महोदय आख्यान प्रसिद्ध पुरुष गनु झका वंशज । यदुवंशी रामवरणले लबेदा सुरुवाल लगाएर नेपालीमा शपथ खाए, कुरा सिद्धिहाल्यो । गनु झका वंशज परमानन्दले भने लफडा उठाए धोती–कुर्ता लगाएर हिन्दीमा शपथ लिइदिनाले ।

उराप महोदयले उसैबेला फटाफट मैथिली र नेपालीमा शपथ लिइदिएका भए शायद कसैले आपत्ति पनि गर्ने थिएनन् । अहिले लबेदा–सुरुवाल लगाउनेले राष्ट्रपतिले झैं उसैबेला लगाइदिएका भए यो झ्मेला आइपर्ने थिएन र उनको हुर्मत पनि जाने थिएन । तर कसको बुद्धिले गर्दा हो कुत्रि उनलाई मैथिलीशरण गुप्तको बिँडो थाम्ने सुर चल्यो र खुदा न खास्ता हिन्दीमा शपथ खाइदिए । हिन्दी भाषाप्रतिको निष्ठालाई जोड दिन उनले पहिरन पनि धोतीकुर्ता रोजेका थिए । यद्यपि हिन्दी बोल्नेले धोतीकुर्ता लगाउनुपर्छ भत्रे छैन र धोतीकुर्ता लगाउनेले हिन्दी बोल्नैपर्छ भत्रे छैन । त्यो उनको सोचाइ थियो र त्यस सोचाइले एउटा काण्डको सुरुआत गरिदियो ।

झ्ण्डा, सुरक्षा गार्ड खोसिएर महिनौं निश्चेष्ट बसेपछि बल्ल उराप महोदय फेरि सक्रिय हुन पाएका छन् । यो राम्रो हो उनका लागि र अरूका लागि पनि । अर्को कुरा, उनको पद बौरिनाले कथम् राष्ट्रपति केही गरी आफ्नो पदभार सम्हाल्न असमर्थ हुने अवस्था आएमा पर्न सक्ने संवैधानिक सङ्कटको जुन डर थियो त्यो भने अब हटेको छ । त्यसलाई सन्तोषको विषय मानौं ।

यति भनिसकेपछि अब एउटा तुच्छ कुरा गरौं । यतिका महिना केही नगरी ‘हातमा हात धरेर’ बसेका उराप महोदयले त्यस अवधिको तलब–भत्ता चाहिँ एकमुष्ट पाउलान् हगि !

खोइ ‘ड्युटी–फ्री’ ?

अरब खाडीको कुनै मुलुकबाट आएका थिए क्यारे तिनी र अन्य धेरै यात्रुका हातमा ‘ड्युटी–फ्री’को सपिङ–ब्याग देख्दा अनि विमानस्थलको आगमन कक्षमा ‘ड्युटी–फ्री’ पसल नदेख्दा जिल्लिएका थिए । टाढाबाट हातमा झेला के झ्ुन्ड्याइहिँड्ने बरू आफ्नै देशमा पुगेर ‘ड्युटी–फ्री’बाट मदिराका एक–दुई बोतल किनौंला भनेर आएका रहेछन् । तर त्यहाँ पहिलेको जस्तो विदेशी चुरोट, रक्सी, चकलेट, अत्तर आदि कित्र पाइने कर मिनाहा गरिएको पसल नदेख्दा तिनलाई उदेक साथै थक् थक् लागेको थियो । माओवादीको नेतृत्वमा नौ महिना चलेको सरकारले चालेको विमानस्थलमा कर मिनाहा पसल बन्द गर्ने ‘क्रान्तिकारी कदम’बारे ती तन्नेरी अन्जान रहेछन् ।

‘यहाँको पसल कहिलेदेखि बन्द भएको ?’ भत्रे तिनको प्रश्नको जवाफमा कसैले ‘माओवादीको पालामा’ भत्रे जवाफ दियो । तर ‘किन बन्द गरेको ?’ भत्रे दोस्रो प्रश्नको जवाफ भने अध्यागमन काउन्टरअघिल्तिर लाम कसेर बसेका कुनै नेपालीहरूबाट तिनले पाएनन् । यही कारणले उसबेलाको सरकारले यसो गरेको हो भत्रे थाहा भए पो जवाफ दिउन् । नेपालीहरू असलमा घरमै पारेको अत्रको रक्सी खान अभ्यस्त छन् जसलाई ठाउँहेरी खाजा, तीनपाने, खोयाबिर्के, वासा, ठर्रा अनेक नामले पुकारिन्छ । जनताले यही घरेलु मार्काको मदिरा सेवन गरुन् वा खुबै भए खुकुरी रमसम्म खाउन् भनेर उसबेलाको सरकारले यसो गरेको होला । यसैमा खाँट्टी नेपाली राष्ट्रियताको सम्बद्र्धन निहित छ भनेर नै विदेशी मुद्रामा खरिद गर्नुपर्ने विमानस्थल रहेको कर–मिनाहा गरिएको पसल डामडुम बन्द गर्ने निर्णय गरेको होला । नत्र संसारको एक मात्र हिन्दू राष्ट्र रहँदा समेत निर्विघ्न चालु रहेको यस व्यवस्थालाई धर्मसितको सापेक्षता त्यागेर आधुनिक बनेको नेपालमा खारेज गर्नुपर्ने विवेकसम्मत कारण के थियो होला ?

नयाँ नेपालको थोत्रो एयरपोर्ट

अमेरिका, अष्ट्रेलिया, जापान वा युरोपका विकसित मुलुक जस्ता टाढाका ठाउँबाट आउनै पर्दैन । हङकङ, सिङ्गापुर र ब्याङ्कक पनि पुग्नुपर्दैन । त्यहीं नजिकको दिल्ली पुगेर फर्कंदा पनि काठमाडौंमा रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको असलियत छर्लङ्ग हुन्छ । नामका अघिल्तिर अन्तर्राष्ट्रिय राखेर के गर्नु ! त्यस नामलाई सार्थक बनाउन चाहिने सर–सुविधा र सेवाको स्तर भने हामीकहाँ नदारत छ ।

दरिद्रता, पछौटेपन र अव्यवस्थाको समग्र प्रतीक जस्तो देखिन्छ हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । हामी गरिब छौं, पछौटे छौं, लथालिङ्गे छौं र सदाकाल यस्तै रहने कसम खाएका छौं भने झैं लाग्छ हाम्रो तथाकथित अन्तर्राष्ट्रिय विमानस्थलले । अँध्यारो, उदासी र अकर्मण्यता स्वागतमा पर्खिरहेका हुन्छन् नेपाल भित्रने यात्रुहरूलाई । घिच्रामा नामको बिल्ला झ्ुन्ड्याएर उभिएका धेरै मनुवाहरू देखिन्छन् । तर तिनलाई कुनै हतारो या चटारो भएको पाइँदैन । कतिको त निश्चित काम पनि देखिँदैन । कसैलाई सहयोग वा मर–मद्दत गर्नमा पनि उनीहरूको सरोकार देखिँदैन । क्वारक्वार्ती, ट्वालट्वाल्ती हेर्दै यत्रतत्र उनीहरू त्यसरी उभिएका हुन्छन् मानौं ‘गोदोको प्रतीक्षामा’ छन् । जो काममा खटिएका छन् तिनलाई सजिलै चित्र सकिने एकनासको पहिरन छैन । ढिलासुस्ती र असहयोगी भावना देखाउनमा होडबाजी गर्छन् । यन्त्रलाई भन्दा दुई हात चलाएर गरिने छामछुमलाई महŒव दिन्छन् ।

शौचालयको सरसफाइदेखि हरेक वस्तुले गुणस्तरहीनता र अकर्मन्यतालाई प्रमाणित गरिरहेका हुन्छन् । यस्तै थोत्रो एयरपोर्ट राखेर बन्छ एक्काइसौं शताब्दीको नयाँ नेपाल ?

comments powered by Disqus

रमझम