१–१५ फागुन २०६६ | 13-27 February 2010

गाउँकै सेवा गर्छौं

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
डाक्टर–नर्सको अभावमा बिरामीले भोग्दै आएको समस्या बुझ्ेर अनमि पढिरहेका दुर्गम पहाडी र हिमाली क्षेत्रका किशोरीहरू गाउँकै स्वास्थ्य सेवामा लाग्न चाहन्छन् ।

केही गर्ने अठोटः ८ माघमा फाप्लुको सोलुखुम्बु प्राविधिक शिक्षालयमा भेटिएका हुम्लाकी छिरिङ याङ्जिन, रसुवाकी प्रमिला तामाङ, सोलुखुम्बुकी तिर्सना राई र कालीकोटकी सरिताकुमारी सुनार (बायाँबाट क्रमशः)
रसुवा, धुन्चे–८ की १७ वर्षीया प्रमिला तामाङ एक वर्षदेखि फाप्लुको सोलुखुम्बु प्राविधिक शिक्षालयमा अनमि (असिस्टेन्ट नर्स मिडवाइफ) को डेढवर्षे कोर्स गरिरहेकी छन् । चार महिनामा पढाइ सिद्धिएपछि आफ्नै गाउँ फर्केर स्वास्थ्य सेवामा लाग्ने उनको इच्छा छ । उनी भन्छिन्, “मेरो गाउँमा डाक्टर, नर्स त के एक जना अनमि पनि छैनन् । गाउँमा गर्भवती महिलाहरूले स्वास्थ्य सेवा नपाएको देखेर यो विषय पढ्न मन लागेको हो । त्यसैले आफूले सिकेको कुरा गाउँमै लगाउँछु ।”

हुम्लाको सिमीकोट–८, भुराउँसेकी २० वर्षीया छिरिङ याङ्जिन लामा, कालीकोट, दाहा–१ की १८ वर्षीया सरिताकुमारी सुनार, सोलुखुम्बु, छेस्काम–७ की १७ वर्षीया तिर्सना राईसहित सोलुखुम्बु शिक्षालयको २०६५–६६ समूहका चालीसै जना छात्राको चाहना आफ्नो गाउँघर फर्केर स्वास्थ्य सेवामा लाग्ने छ । तिर्सना जति पैसा पाए पनि गाउँ छाडेर शहरमा काम गर्न नजाने बताउँछिन् । उनले भनिन्, “मेरो गाउँ पुग्न सदरमुकामबाट दुई दिन हिँड्नुपर्छ, गाउँमा चेतना र शिक्षाको अभाव छ, औषधिको नाममा जीवनजल समेत पाउन गाह्रो छ । त्यसैले पनि म गाउँमै केही गर्न चाहन्छु ।” गाउँमै हुर्के–बढेकी र गाउँको समस्यालाई नजिकैबाट नियालेकी सरिता पनि आफूले पाएको ज्ञान र सीप गाउँमै लगाउन चाहन्छिन् । छिरिङ भन्छिन्, “डाक्टर, नर्सहरू गाउँमा बस्न चाहँदैनन् । धेरै गर्भवती महिलाले स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाइरहेका छन् । पैसाभन्दा ठूलो मान्छेको ज्यान जोगाउनु हो, त्यसैले म गाउँमै बस्छु ।”

हिमाली हेल्थ एण्ड एजुकेशन (एचएचई), काठमाडौंले २०६४ सालदेखि सोलुखुम्बुको फाप्लुमा सञ्चालन गरेको प्राविधिक शिक्षालयबाट पढाइ पूरा गरेका २०६४–६५ को पहिलो समूहका ४० छात्रा आ–आफ्नो कार्यक्षेत्रमा गइसकेका छन् भने २०६५–६६ र ०६६–६७ को दोस्रो र तेस्रो समूहका ८० जना हाल अध्ययन गरिरहेका छन् । पहिलो समूहका ४० मध्ये सोलुखुम्बुकै ३४ जना थिए भने दोस्रो समूहमा रसुवा, महोत्तरी, रुकुम, डोल्पा, हुम्ला, जुम्ला, बझङ, बाजुरा, कालीकोटका ३२ र सोलुखुम्बुका आठ जना छन् । तेस्रो समूहमा ३३ जना सोलुखुम्बु र सात जना हुम्ला, संखुवासभा, रामेछाप, खोटाङ र ओखलढुङ्गाका छन् ।

एचएचईका अध्यक्ष ङिग्मा तेण्डुप शेर्पाका अनुसार गाउँको स्वास्थ्य क्षेत्रमा योगदान पुगोस् भनी धेरै स्वास्थ्य समस्या भोगिरहेका पूर्वदेखि सुदूरपश्चिम सबै क्षेत्रका दुर्गम पहाडी र हिमाली क्षेत्रका छात्राहरूलाई अनमि शिक्षा दिन एकैथलोमा भेला गरिएको हो । प्रतिस्पर्धाका आधारमा छात्राहरू छनौट गर्दा दलित, जनजाति र दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै शेर्पा भन्छन्, “गाउँका विद्यार्थीहरू शहरमा गएर पढ्दा गाउँ फर्कन नसक्ने र शहरतिरै भुलिने भएकाले गाउँमै शिक्षा दिँदा गाउँमै सेवा गर्ने भावना बढी हुने रहेछ ।” पहिलो समूहमा अनमि पढेका सोलुखुम्बुका करिब २५ छात्रा सदरमुकाम र दुर्गम गाउँहरूमा कार्यरत रहेको उनले बताए ।

शिक्षालयले विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृसंस्थाबाट सहयोग जुटाएर दोस्रो समूहको लागि प्रति–विद्यार्थी मासिक रु.३५०० जति लाग्ने खाने, बस्ने र पढ्ने सबै खर्च निःशुल्क गरेको छ । गरिब परिवारकी तिर्सना निःशुल्क पढ्न पाएकोमा भाग्यमानी ठान्छिन् । सरिताले त सुदूरपश्चिमको मान्छे सोलुखुम्बुमा पढ्न आइएला भनेर सोच्दै नसोचेको बताउँदै भनिन्, “निःशुल्क पढ्ने अवसर पाएका छौं । यसको गुन हामीले गाउँमा सेवा गरेर चुकाउनुपर्छ ।” तेस्रो समूहलाई भने पर्याप्त सहयोग जुटाउन नसकेर अध्ययन मात्र निःशुल्क गरी बस्ने–खाने व्यवस्था आफैं गर्न भनिएको छ ।

शिक्षालयमा दुई पूर्णकालीन शिक्षक छन् । सोलुखुम्बु जिल्ला अस्पतालका डाक्टर, नर्स र स्वास्थ्य सहायकहरूले पनि पढाउनुका साथै छात्राहरूसँग अनुभव आदान–प्रदान गर्ने गरेका छन् । शिक्षक डीबी तामाङ गाउँगाउँमा मातृ शिशु मृत्युदर घटाउन ठूलो भूमिका अनमिहरूकै हुने बताउँदै सोलुमा पढेका अनमिहरू धेरै जिल्लाका गाउँगाउँमा स्वास्थ्य सेवामा खटिएका बताउँछन् ।


‘काम गर्न के को लाज’

तस्बिरहरूः डम्बरकृष्ण श्रेष्ठ
कामको मोहः ९ माघमा फाप्लुमा निर्माणाधीन सीपमूलक तालिम केन्द्रको भवनमा काम गरिरहेका स्थानीय दीपक श्रेष्ठ र लाक्पा छिरिङ विक ।
हाल भाडाको घरमा सञ्चालन भइरहेको सोलुखुम्बु प्राविधिक शिक्षालयको नजिकैको डाँडामा आफ्नै भवन बन्दैछ । केही महिनापछि तयार हुने भवनको निर्माणमा स्थानीय जनजाति उच्च माविका ११ कक्षाका विद्यार्थी पनि डोकोमा ढुङ्गा बोकिरहेका थिए ।

अनमिसँगै युवाहरूलाई हस्तकला, कुकिङ, सिलाई–बुनाई, प्लम्बर, सिकर्मी, डकर्मी, काष्ठकला, ब्युटिशियन, कम्प्युटर इलेक्ट्रिसियनलगायतका १७ वटा विषयमा प्राविधिक तथा व्यावसायिक शिक्षा दिने थलोको रूपमा निर्माण भइरहेको भवनमा काम गर्न पाउँदा स्थानीय विद्यार्थी दीपक श्रेष्ठ खुसी देखिन्थे । काम गरेबापत विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) नेपालको सहयोगमा दिनको चार केजी चामल र आधा केजी दाल पाउँदै आएका श्रेष्ठ भन्छन्, “आफैंले काम गरेर कमाएको बस्तुको महŒव बुझ्निे रहेछ । त्यसमाथि प्राविधिक शिक्षालय बनेपछि यसको फाइदा हामीले नै पाउने भएकाले पनि काम गर्दा लाज होइन खुसी लागेको छ ।” जनजाति उच्चमाविमै पढिरहेका लाक्पा छिरिङ विकसहित २५ जना विद्यार्थी १५ दिनदेखि विद्यालय बिदाको समय काम गरेर सदुपयोग गरिरहेका छन् । लाक्पाले भने, “तालिम केन्द्रले भोलि हामीलाई नै रोजगारका नयाँ अवसरको ढोका खोल्नेछ भन्ने आशा छ ।”

गाउँका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को मान्यता भएको प्राविधिक तालिम दिएर रोजगारमूलक सीप प्रदान गर्ने उद्देश्यले एचएचईले निर्माण गरिरहेको यो भवनमा सञ्चालन हुने ब्यावसायिक तालिम केन्द्रबाट हरेक वर्ष पाँच सयभन्दा बढी विद्यार्थीले सीपमूलक तालिम पाउने अध्यक्ष ङिग्मा तेण्डुप शेर्पा बताउँछन् । भवन निर्माणका क्रममा डब्ल्युएफपीको कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सोलुखुम्बुका सल्लेरी, बेनी, तामाखानी, गार्मा, काकु र वासा गाउँका द्वन्द्वपीडित, दलित, महिला, जनजातिहरूलाई निर्माणको काममा लगाइएको छ । भवन निर्माण भइसकेपछि पनि शिक्षालयमा ३८ दक्ष र ३१० अदक्ष कामदारले रोजगारी पाउने छन्, जसका लागि डब्ल्युएफपीले २९७.२५ टन चामल र ३७.१६ टन दाल उपलब्ध गराउँदै आएको छ । भवनका आठ ब्लकमध्ये पाँच वटा तयार भइसकेका छन् । तालिम केन्द्र २०६७ माघदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

comments powered by Disqus

रमझम