१–१५ फागुन २०६६ | 13-27 February 2010

किन आफ्नै ज्यान लिन्छन् महिला

Share:
  
एक दशकअघिसम्म प्रजनन्योग्य महिलाहरूको १० प्रतिशत मृत्युको कारण रहेको आत्महत्या अहिले १६ प्रतिशत पुगेको छ ।

दशैँ सकिएको सात दिनपछिको साँझ् । आरती शर्मा आमाबाबुसँगै धोबीचौरको डेरामा थिइन् । सधैं झैं आमाले परिवारलाई खाना बनाएर खुवाइन् । आरती खाइवरी सुत्ने तरखरमा थिइन्, अचानक आमाको मुखबाट फिँज आयो । आमाले विष खाएको थाहा पाएर आरतीले उनलाई वीर अस्पतालको इमर्जेन्सी कक्ष लगिन् । कीटनाशक औषधि सेवन गरेकी विमला गौतमको १२ दिनपछि मृत्यु भयो । उनी ३८ वर्षकी थिइन् ।

परिवार स्वास्थ्य विभागको अध्ययन अनुसार प्रजनन्योग्य उमेरका महिलाहरूको मृत्युको एउटा प्रमुख कारण नै बनेको छ— आत्महत्या । १५ देखि ४९ वर्षका महिलाहरूको लगभग १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गरेको छ । सन् १९९८ सम्म यो उमेर समूहका महिलाहरूको मृत्युमध्ये १० प्रतिशत मात्र आत्महत्याको कारणले हुन्थ्यो ।

प्रहरीको तथ्याङ्कले सन् २००८ मा पछिल्लो चार वर्षको तुलनामा आत्महत्या ४० प्रतिशतले बढेको देखाउँछ । कुनै कुनै वर्ष त द्वन्द्वका कारण भन्दा आत्महत्याका कारण बढी मानिसको मृत्यु भएको देखियो । आत्महत्या गर्नेहरूमा पनि पुरुषभन्दा महिला बढी छन् । महानगरीय प्रहरी कार्यालयले हरेक हप्ता बुझने १० देखि १५ वटा नयाँ आत्महत्याका घटनामध्ये अधिकांशमा महिलाकै मृत्यु भएको प्रहरीहरू बताउँछन् ।

किन महिलाहरू यस्तो डरलाग्दो दरमा आफ्नो ज्यान लिइरहेका छन् ? विमला गौतमले एक्लै परिवार पाल्नुपथ्र्यो । उनका पति प्रायः रक्सीले मात्तिएका हुन्थे । भर्खरका छोरीहरू र श्रीमान्लाई पाल्न उनी अनेकन् काम गर्थिन् । प्रहरी रिपोर्टमा छोरी आरतीले भनेकी छन्, “घरमा कमाइ गर्ने कोही नभएको, छोरो जन्माउन नसकेको र सबै आर्थिक भार आफूमाथि आइलागेको कारणले गर्दा सहन नसकी पीर तथा औडाहाले गर्दा आमाले विष सेवन गरेको हुनुपर्छ जस्तो लाग्छ ।”

नेपालमा आत्महत्याका कारणहरूको ठोस अध्ययन भएको छैन । तर कतिसम्म चाहिँ थाहा छ भने, पुरुषको तुलनामा महिलाले सामना गनुपर्ने कतिपय भिन्न सामाजिक र मानसिक अवस्थाले उनीहरूलाई यस्ता कठोर कदम चाल्न बाध्य बनाउँछन् । सन् २००८ मा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(युएनएफपीए) र काठमाडौंको एक गैरसरकारी संस्था साथीले सुर्खेत र दाङमा लैङ्गिक हिंसाको अवस्थाबारे गरेको अध्ययनमा ८० प्रतिशतभन्दा बढी महिला उत्तरदाताले पति र परिवारका अन्य सदस्यबाट घरेलु हिंसा भोगेको तथा ७४ प्रतिशतले सहमतिविनाको यौन (वैवाहिक बलात्कार) का लागि बाध्य हुनुपरेको बताएका थिए । “समूह छलफल र व्यक्तिगत अन्तर्वार्तामा अधिकांश महिलाले आत्महत्या गर्न मन लागेको बताए”, अनुसन्धानको नेतृत्व गर्ने साथीकी अध्यक्ष बन्दना राणा भन्छिन्, “मैले प्रयास नै गरें भन्ने चाहिँ कम, तर मलाई मर्न मन लाग्यो भन्ने धेरै थिए ।” घरेलु हिंसालाई आत्महत्यासँग जोड्ने निश्चित तथ्याङ्क त छैन । तनाव, चिन्ता र अन्य मानसिक रोगहरू घरेलु हिंसापछि प्रायः हुने मानसिक असर हुन् । युएनएफपीएका लैङ्गिक कार्यक्रम अधिकृत मिचियो यामादा भन्छिन्, “घरमा हुने मानसिक हिंसामा कुनै दयामाया पलाउन लगभग असम्भव हुन्छ । यसले लाचार महसुस गराउने र कठोर कदम चाल्न डो¥याउने अनुमान गर्न सकिन्छ ।”

घरेलु हिंसा पीडितहरूलाई न्याय दिलाउने कानुनी उपायहरू पनि पर्याप्त छैनन् । सरकारले महिलालाई हिंसाबाट जोगाउने गम्भीर कानुनी व्यवस्था गरेको छैन, न उनीहरूको रक्षा गर्ने र पीडकलाई सजाय दिने अन्तर्राष्ट्रिय दायित्व नै पूरा गरेको छ । प्रधानमन्त्री माधवकुमार नेपालले आपतमा परेका महिलालाई सहयोग गर्न गरेको घोषणाअनुरुप आफ्नो कार्यालयमा बल्ल हटलाइन फोन लाग्ने भएको छ । तर त्यसमा महिलाहरूलाई सन्देश छोड्न भनिन्छ, तिनको व्यथालाई ध्यानपूर्वक सुनिँदैन ।

युएनएफपीएकी लैङ्गिक सल्लाहकार किरण भाटिया आत्महत्याको बढ्दो प्रवृत्ति रोक्न सकिने बताउँछिन् । उनी भन्छन्, “हरेक आत्महत्या सहयोगका लागि मागिएको गुहार तथा हिंसा, दुव्र्यवहार र पक्षपात सहन नसक्ने अवस्थामा पुगेकी महिलाको लागि गरिनुपर्ने तत्काल हस्तक्षेपको माग पूरा गर्न नसक्नुको परिणाम हो । उनको सुरक्षा गर्न र अस्तित्व जोगाउन तत्काल सहयोगको खाँचो हुन्छ ।”

इन्दु नेपाल

(पीडित र परिवारका सदस्यहरूको नाम परिवर्तन गरिएको छ ।)


सबै कुरा दुःखद् छैनन्

परिवार स्वास्थ्य विभागले प्रकाशन गरेको ‘मातृ मृत्युदर र नवजात शिशु मृत्युदर अध्ययन’ को शीर्षक दुःखलाग्दो भए पनि सबै विवरण त्यस्ता छैनन् । सन् १९९८ मा प्रतिलाख ५३९ रहेको मातृ मृत्युदर अहिले २२९ मा झ्रेको छ भने गर्भधारणको कारण हुने मृत्यु पनि सन् १९९८ को २१ प्रतिशतबाट ११ प्रतिशतमा झ्रेको छ । तर यसमा केही दुःखलाग्दा तथ्याङ्क पनि छन् र त्यो आत्महत्यासँगै जोडिन आउँछ । १५ देखि ४९ वर्ष उमेरका महिलाहरूको १६ प्रतिशत मृत्युको कारण आत्महत्या नै छ भने त्यो पनि १८ वर्ष र त्यसभन्दा मुनिका युवतीहरूको हकमा २१ प्रतिशत छ । मातृ मृत्युदर विभिन्न जातीय समूहमा पनि भिन्न देखिन्छ । मुसलमान, तराईवासी÷मधेशी र दलितहरूमा यो दर उच्च छ । सन् १९९८ मा ४१ प्रतिशत मातृ मृत्युको प्रमुख कारण रहेको रक्तश्राव २४ प्रतिशतमा झ्रे पनि अझ्ै प्रमुख कारण छँदैछ ।

गर्भावस्थासँग सम्बन्धित अधिकांश मृत्यु बच्चाको जन्म हुनुभन्दा अगाडिको अवधिमा भएका छन् । धेरैको मृत्यु अनिच्छित गर्भधारणको कारण पनि भएको देखिन्छ । यसले गर्भको अवस्थाले पनि महिलालाई बढी जोखिममा पारेको देखाउँछ ।

comments powered by Disqus

रमझम