१–१५ फागुन २०६६ | 13-27 February 2010

‘विकल्प छन्, लिन आऊ’

Share:
  
- रामेश्वर बोहरा
प्रमाणीकरणमा योग्य नठहरिएपछि शिविरबाट बाहिरिएका पूर्व माओवादी लडाकूलाई राष्ट्रसङ्घको पुनस्र्थापना प्याकेजले भविष्यप्रति केही हदसम्म सुनिश्चित बनाउन खोजेको छ ।

– माओवादी विद्रोहमा ‘जनसेना’ भएका बैतडीका नरेन्द्रसिंह धामीसँग १६ माघमा कैलालीको तालबन्दस्थित लडाकूको सातौं डिभिजनबाट बाहिरिँदा रु.२२ हजार बाटोखर्च बाहेक ‘अयोग्यता’ को परिचय र अन्योलपूर्ण भविष्य मात्रै थियो । उनी भन्दै थिए, “१० वर्ष लडाइँमा बितायौं, अब घर फर्केर के गर्ने ? बाँकी जीवन कसरी बिताउने ?”

– २० माघमा सुर्खेत–दशरथपुरको छैटौं डिभिजनबाट बाहिरिएका दाङका ‘दिवस’ ले राष्ट्रसङ्घका प्रतिनिधि र आफ्नै नेताका सामुन्ने प्लास्टिकका कुर्सी भाँचेर आक्रोश पोखे । जीवन सुखमय बनाउने सपना साँचेर माओवादी बनेका पूर्व कमैया परिवारका दिवस रित्तोहात फर्किनुपर्दा सम्हालिनै सकेनन् । उनी भन्छन्, “आमाबुबा अर्काको घरमा काम गर्न बसेका छन्, म यत्रो वर्ष जनयुद्ध लडेर अयोग्य कहलिएँ । अब कहाँ जाने ?”

कलेन्द्र सेजुवाल
सुर्खेतको दशरथपुर शिविरबाट काखे सन्तानसँग बाहिरिंदै कृष्ण परियार र कृष्णा मगर ।
संयुक्त राष्ट्रसङ्घीय मिशन (अनमिन)को प्रमाणीकरणमा योग्य नठहरिएपछि शिविरबाट बाहिरिएका लडाकूहरू भविष्यप्रतिको यस्तै चिन्ता र अन्योलमा छन् । हिजोसम्म समायोजनपछि राष्ट्रिय सेना हुने, नभए पार्टीले केही राम्रो व्यवस्था गर्ने सपना देख्दै आएका उनीहरूमध्ये कतिपयलाई टेक्ने ठाउँ नै भासिए जस्तो भएको छ । जिन्दगीको महŒवपूर्ण कालखण्ड ‘जनसेना’मा बिताएर खालिहात घर फर्कन बाध्य सबै एउटै प्रश्नको जवाफ खोज्दैछन्— अब के गर्ने ? कहाँ जाने ?

माओवादी नेताका हातबाट अबिर र फूलमाला पहिरिएर बिदा हुँदा पूर्व लडाकूहरू केही न केही सहयोग लिएर जान पाइयोस् भन्ने चाहन्थे । सरकार र अनमिनप्रति उनीहरूको रोषको अर्थ पनि यही थियो । दशरथपुर शिविरबाट एकमहिनाको काखेबच्चा च्यापेर बिदा भएका कृष्ण परियार र कृष्णा मगरले जाँदाजाँदै सरकार र अनमिनसँगै आफ्नै पार्टीप्रति पनि आक्रोश पोखे, “ज्यान हत्केलामा राखेर हिँडेका हामीलाई यो हालतमा घर फर्काइयो, अब हाम्रो जीवनको ग्यारेन्टी कसले लिने ?” यो जोडीसँगै शिविरबाट बाहिरिएकी जाजरकोट, सक्लाकी तुलसी केसीको ‘हामीलाई अनमिनले अयोग्य बनायो, अब उसैले जहाँ राख्छ त्यहीँ बस्ने’ भन्ने आक्रोशमिश्रित स्वरले पनि शिविर छाडेका लडाकूहरूले सहयोग खोजिरहेको देखाउँछ ।

कतिपय पूर्व लडाकूहरू युद्धमा लाग्दा रोकिएको पढाइ अगाडि बढाउन चाहन्छन् । कैलाली, वनबेहडाकी पूर्णिमा बिसी भन्दै थिइन्, “पढाइ छाडेर सेना भएँ, अब सेना नरहेपछि घर फर्केर पढाइ अघि बढाउँछु ।” डडेल्धुराका तेजबहादुर रावलले पनि नेपाली सेनामा जागिर खाने सपना तुहिएकाले घर फर्केर पढ्न शुरु गर्ने बताए । चार कक्षा पढ्दापढ्दै बन्दुक समाएकी बर्दिया, तारातालकी मीना थारू पनि अब कलम समात्न चाहन्छिन् । “हाम्रो आफ्नै जग्गा छैन । बाबुआमा अर्काको जग्गामा बटैया गर्छन् । अब घर गएर उनीहरूलाई सघाउँछु”, बाबुआमाकी एक्ली सन्तान मीनाले भनिन्, “पढ्न र समाजमा समायोजन हुन सरकार, पार्टी र अनमिनको सहयोग चाहिन्छ ।”

विकल्प छन्

‘हामीले के पायौं र !’ भन्दै खालिहात फर्किएका पूर्व लडाकूहरूको अन्योल र अनिश्चिततालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले ल्याएको पुनस्र्थापना प्याकेजले केही हदसम्म चिर्न र सुरक्षित भविष्यतर्फ डो¥याउन सक्छ । पूर्व लडाकूहरूले प्याकेजमा प्रस्तुत औपचारिक शिक्षा, लघु उद्यम, सीपमूलक तालिम र स्वास्थ्यक्षेत्रमा रोजगारी (हे.बक्स) छानेर जीवनलाई उत्पादनशील कार्यमा लगाउन सक्छन् । तर आफ्नै पार्टी एनेकपा माओवादीको ‘बन्देज’ र ‘बहिष्कार’का कारण शिविरबाट बाहिरिँदा उनीहरूले यी विकल्प रोज्न पाएका छैनन् ।

पार्टीले सहयोग बहिष्कार गर्न लगाएपछि यसबारे जानकारी नै नपाएका कतिपय पूर्व लडाकूले आफूलाई ‘अपमान गर्ने प्याकेज’ सम्म भने । कैलालीको तालबन्दबाट बाहिरिने धेरै लडाकूहरूले यसबारे अनभिज्ञता दर्शाउनुले उनीहरूलाई यसबारे जानकारी नै नभएको देखाउँछ । माओवादी पोलिटब्युरो सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ एक–दुई हप्ताको तालिमबाट केही उपलब्धि नहुने भएकाले त्यतातिर ध्यान नदिएको बताउँछन् । २५ माघमा शान्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङले भने, “वहिर्गमनमा परेका लडाकूलाई दिइने पुनस्र्थापना सहयोग बहिष्कार गर्न प्रोत्साहित गरेर माओवादीले नै उनीहरूको भविष्य अनिश्चित बनाइदिएको हो । गाउँ फर्केर बेरोजगार हुँदा उनीहरूको बिचल्ली त हुन्छ नै ।”

शिविरबाट बाहिरिएकाहरूलाई आफ्नो अद्र्धसैन्य दस्ता वाईसीएलमा लगाउने रणनीतिक स्वार्थ अनुरुप माओवादीले पुनस्र्थापना प्याकेज अस्वीकार गरेको देखिन्छ । यो कुरा माओवादी नेताहरू र धेरैजसो पूर्व लडाकूले खुल्लमखुल्ला बताइरहेबाटै स्पष्ट हुन्छ । पार्टीको नियन्त्रणभन्दा बाहिर जान नदिन यसो गरिएको बताउँदै माओवादीका एक नेता भन्छन्, “सरकारले दिएका विकल्पमा सहभागी भएमा उनीहरू आफ्नै काममा व्यस्त हुनेछन् र पार्टीलाई बिर्सने छन् ।” स्मरणीय छ, गएको १ पुसमा सरकार, माओवादी र राष्ट्रसङ्घका प्रतिनिधिबीच भएको सहमतिमा उनीहरू कुनै सैन्य÷अद्र्धसैन्य निकायमा संलग्न हुन नपाउने व्यवस्था छ ।

अनमिनको प्रमाणीकरणमा योग्यता नपुगेका लडाकूहरूको वहिर्गमन प्रक्रिया २३ पुसमा सिन्धुलीको दुधौलीबाट शुरु भएर २५ माघमा रोल्पाको दहवन पुगेर टुङ्गिएको थियो । यस क्रममा अनमिनले दुई चरणको प्रमाणीकरणबाट १८ वर्ष उमेर र शान्ति सम्झैताअघि भर्ना भएको प्रमाण पु¥याउन नसकेका भनी ‘अयोग्य’ घोषणा गरेका ४००८ लडाकूमध्ये २३९४ जनाले मात्रै औपचारिक वहिर्गमन प्रक्रियामा भाग लिए, बाँकी १६१४ जनाले पहिल्यै शिविर छाडिसकेको बताइयो । तर, सहयोग प्याकेजमा भने पहिल्यै शिविर छाडेका लडाकू समेत सहभागी हुन पाउने र सबैले एक वर्षसम्म व्यक्तिगत सम्पर्कका आधारमा यो विकल्प रोज्न सक्ने व्यवस्था गरिएको छ ।

माओवादीले आफ्ना योद्धाको अपमान गर्ने भनिरहेको प्याकेज सहयोगबारे राष्ट्रसङ्घसम्बद्ध एक अधिकारी भन्छन्, “यसले उनीहरूको जीवनमै चामत्कारिक परिवर्तन ल्याइहाल्छ भन्ने त होइन, तर बाँच्ने एउटा आधार भने तयार गरिदिन्छ ।”

साथमा कलेन्द्र सेजुवाल सुर्खेत र दीर्घराज उपाध्याय धनगढी


के–के छ पुनस्र्थापना प्याकेजमा ?

शैक्षिक सहयोग

– औपचारिक शिक्षा लिन चाहनेलाई सीधै स्कूल र अनौपचारिक शिक्षा लिनेलाई एक वर्षको कक्षापछि प्राथमिक वा निम्नमाध्यमिक विद्यालयमा भर्ना भएर पढ्न र त्यसपछि उच्च मावि तहमा अध्ययन गर्न सहयोग गर्ने ।

– नियमित विद्यालय जान नसक्नेले देशभरका कुनै पनि परीक्षा केन्द्रबाट कक्षा ८ र १० का परीक्षा दिनसक्ने ।

– शैक्षिक सहयोग लिनेहरूलाई मासिक भत्ता र महिलालाई आफ्नै समुदायमा उच्च माध्यमिक शिक्षाको सुविधा नभएको अवस्थामा छात्रावास सुविधाको व्यवस्था गर्ने ।

नयाँ उद्यम शुरु गर्न सहयोग

– खानेकुरा प्रशोधन, फलफूल प्रशोधन, जुस उत्पादन, बाँसको हस्तकला, धुप, कपाल कटाइ, ब्रिकेट निर्माण, सिमेन्ट ब्लक र छत निर्माण, सिलाइ, वायरिङ, भारी र हल्का सवारीचालन, साइकल–रिक्सा मर्मत, पङ्खा तथा वाटर पम्प मर्मत, फलामको काम, खाना क्याटरिङ, ग्याँस चुल्हो मर्मत, मसला पिँध्ने, डोरी बनाउने जस्ता लघु र साना उद्यम शुरु गर्न चाहनेलाई दुईदेखि आठ महिनाको तालिम दिने ।

– उद्यम शुरु गर्न आवश्यक केही औजार, उपकरणको व्यवस्था गर्न, कार्यशाला बनाउन, ठाउँ भाडामा लिन, कच्चा पदार्थ उपलब्ध गराउन सहयोग गर्ने ।

– तालिम अवधिभर खान, बस्न र आधारभूत खर्चका लागि तालिममा उपस्थितिका आधारमा भत्ता दिने । उद्यम शुरु गर्न आवश्यक शैक्षिक योग्यता नपुगे पढाइको समेत व्यवस्था गर्ने ।

– उद्यमका लागि लघु वित्तीय सेवामा पहुँच सुनिश्चित गर्न सहयोग गर्ने तथा बजारीकरणको अवसरसम्बन्धी परामर्श सेवा दिने । लघु उद्यमसम्बन्धी कार्यक्रम सरकार तथा यूएनडीपीको ‘लघु उद्यम विकास कार्यक्रम’ मार्फत पाँचै विकासक्षेत्रमा प्रदान गरिने व्यवस्था गरिएको छ ।

व्यावसायिक सीप सिक्न सहयोग

– वेल्डिङ, बिजुली मिस्त्री, सटरिङ सिकर्मी, मेशन, टाइल मिस्त्री, प्लम्बर, मोटरसाइकल मर्मत, बार बेन्डर, स्काफोल्डर, भारतीय र चिनियाँ खानाको कुक, होटलको खाना र पेयपदार्थ सेवा, होटल हाउसकिपर, हेरचाह गर्ने व्यक्ति, दन्त प्रयोगशाला मेकानिक, कपाल काट्ने, नर्सरी सहायक, पुष्प व्यवसाय सहायक लगायतका विषयमा तीनदेखि आठ महिनाको तालिम दिने ।

– तालिम अवधिभरका लागि खान, बस्न र आधारभूत खर्चका लागि भत्ता दिने ।

– तालिमका लागि शैक्षिक योग्यता नपुग्नेलाई समायोजन शिक्षा उपलब्ध गराउने ।

– कार्य अनुभव तालिम (अन द जब ट्रेनिङ) का रूपमा रहेको यस तालिमपश्चात् आधारभूत औजार, आवश्यक पर्ने स्रोतमा पहुँचका लागि सहयोग, रोजगारीका अवसरसम्बन्धी सूचना र रोजगारीमा संलग्न हुनका लागि सहयोगसमेत उपलब्ध गराउने ।

– देशका पाँचवटै विकासक्षेत्रका सरकारी र गैरसरकारी तालिम संस्थाहरूमार्फत प्रदान गरिने व्यावसायिक सीपको प्याकेजमा वैदेशिक रोजगारीमा संलग्न हुन चाहनेहरूका लागि रोजगारदाताहरूसँग सम्पर्क गराउन सहयोग गर्ने ।

स्वास्थ्यसेवा रोजगार तालिम

– सामुदायिक स्वास्थ्य सहायक (सीएमए), स्वास्थ्य प्रयोगशाला सहायक, सामुदायिक स्वास्थ्य कार्यकर्ता (सीएचडब्लु) वा मातृ तथा बाल स्वास्थ्य कार्यकर्ता

(एमसीएचडब्लु) सम्बन्धी तीनदेखि १५ महिनाको तालिम दिने । यीमध्ये सीएमए र स्वास्थ्य प्रयोगशाला सहायकका लागि एसएलसी उत्तीर्ण र अन्यका लागि आठ कक्षा उत्तीर्ण हुनुपर्नेछ ।

– प्रवेश परीक्षा उत्तीर्ण गरी सहभागी हुन सकिने तालिम अवधिभर मासिक रूपमा खान, बस्न र आधारभूत खर्चका लागि भत्ता दिने ।

– पाँचवटै विकासक्षेत्रमा सरकारी र गैरसरकारी तालिम केन्द्रमार्फत दिइने तालिमपछि रोजगारीको अवसर खोज्न सहयोग गर्ने ।

(राष्ट्रसङ्घले प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी लडाकूहरूको पुनस्र्थापनाका लागि ल्याएको सहयोग प्याकेजको सम्पादित अंश । यी विकल्प रोज्न चाहने पूर्व लडाकूहरूले राष्ट्रसङ्घको पैसा नलाग्ने टेलिफोन नम्बर १६६०–०१–७७८८८ मा सम्पर्क गरी विस्तृत जानकारी हासिल गर्न सक्ने छन् ।)

comments powered by Disqus

रमझम