१–१५ फागुन २०६६ | 13-27 February 2010

अपुतालीको आश !

Share:
  
- सरोज दाहाल
परिवर्तनकारी तथा लोकतान्त्रिक दलहरूबीचको बढ्दो असमझदारी तथा आन्तरिक द्वन्द्वका बीच पूर्व राजावादी दलहरू राजनीतिक लेखाजोखासहित एक भएका छन् ।

सरोज दाहाल
हिजोसम्म दरबारको इच्छा र इशारासँग आफ्नो स्वार्थ जोडेर जुट–फुटको राजनीति गर्दै आएका पूर्व पञ्चहरूका दुई पार्र्टी फेरि एक भएका छन् । २३ माघको पत्रकार सम्मेलनमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले सङ्क्रमणकालमा बलियो प्रजातान्त्रिक मोर्चाको आवश्यकता देखेर यो कदम चालेको स्पष्ट गरे । पार्टी एकतालाई त्यसबेला थापाले ‘शक्ति–सञ्चय गर्न’ र राणाले ‘प्रजातान्त्रिक शक्तिको बृहत् एकताको नेतृत्व गर्न’ भनेर अथ्र्याएका थिए ।

दुवै अध्यक्षले देशमा राजनीतिक सन्तुलन बिग्रिएको र क्रान्तिकारिताको नाममा एनेकपा माओवादीको उग्रवामपन्थी धार बलियो भएको अवस्थामा प्रजातान्त्रिक धारको सन्तुलन मिलाउन एकताको घोषणा गरेको दाबी गरेका छन् । थापा भन्छन्, “देशमा राजनीतिक सन्तुलन बिग्रिएको छ र बिग्रिएको सन्तुलनलाई हाम्रो जस्तो एकताले मिलाउने काम गर्छ ।” एक राजनीतिक विश्लेषकका अनुसार पञ्चायतका कुशल खेलाडी थापा राजनीतिक परिवर्तनलाई गहिरो गरी बुझने मात्र होइन, आफ्नो भूमिका कति बेला आउँछ भन्नेसम्मको हेक्का राख्ने गर्दछन् । २०४६ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा गोलबन्द भएका र देशमा भएका राजनीतिक परिवर्तनको सेरोफेरोमा फुट्ने–जुट्ने गर्दै आएका पूर्वपञ्चहरू परिवर्तनको आन्दोलनप्रति अनुदार देखिए पनि, भएका परिवर्तनलाई तत्काल स्वीकार्ने क्षमता चाहिँ राख्छन् । त्यसैले त हिजोसम्मका राजावादी राणा भन्छन्, “गणतन्त्रलाई बढी सफल पार्न हाम्रो भूमिका महŒवपूर्ण हुनेछ ।”

राप्रपाभित्र फुट ल्याउन सत्ता र शक्तिले जन्माएको दम्भले काम गरेको पाइन्छ । अहिले ‘राष्ट्रिय आवश्यकता’ले गर्दा भएको एकताले पनि त्यो कुण्ठा र दम्भलाई छोड्न सकेको छैन । दुवै पार्टीको नाम, नेतृत्व र झ्ण्डा यथावत् राख्नु, तर दुवैको नाम जोडेर बलजफ्ती ‘राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी’ भन्ने नयाँ नाम जुराउँदै तेस्रो व्यक्तिलाई नेता बनाउनु त्यसैको उपज हो । राणा र थापाका अनुसार एक वर्षसम्म दुवै पार्टी आ–आफ्नो हैसियतमा क्रियाशील हुनेछन्, तर संविधानसभा र व्यवस्थापिका–संसद्भित्र कुनै विषयमा मत दिनु प¥यो भने एउटै आवाज हुनेछ । यसको तात्पर्य अरूभन्दा पनि दुई पार्टीका ११ सभासद्लाई एकजुट देखाएर हैसियत बढाउनु भए झैं लाग्छ ।

लक्ष्य १४ जेठ !

प्रमुख दलहरू नयाँ संविधान जारी हुने १४ जेठपछिको अवस्थालाई लिएर विभिन्न अड्कलबाजीमा लागेका बेला अध्यक्ष थापा भन्छन्, “संविधान जारी भएन भने आकासै खस्छ जस्तो गर्नुपर्दैन, एउटा निकास आइहाल्छ नि !” थापा निकट एक नेताका अनुसार तोकिएको समयमा संविधान जारी नहँुदाको अवस्थालाई थापाले आफ्नो अनुकूल देखेका छन् । त्यसैले एकता प्रयासको क्रममा राप्रपा अध्यक्ष राणाको अडानलाई गाल्न अध्यक्ष थापाले भनेका थिए, “तपाईंले बुझनुभएन, हामीलाई छिट्टै ‘राजनीतिक अपुताली’ पर्नेवाला छ ।” देशमा उग्रवामपन्थीको बोलवाला बढेको स्वीकार गर्ने एमाले नेता प्रदीप ज्ञवाली भन्छन्, “यस्तो बेलामा दक्षिणपन्थीहरू उत्साहित हुनु अस्वाभाविक होइन ।”

माओवादीले जसरी राष्ट्रियता गम्भीर खतरामा परेको ठहर गरेर आन्दोलन जारी राखेको छ, त्यसमै स्वरमा मिसिने गरी राप्रपा र राजपाले पनि ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको विषय गम्भीर एवं संवेदनशील’ भएको निष्कर्ष निकालेर एकता गरेको बताएका छन् । यसलाई काङ्ग्रेसका सभासद् राधेश्याम अधिकारी ‘दुई धारको नेतृत्व गर्छु भन्नेहरूको स्वर मिल्नु स्वाभाविक हो’ भनेर टिप्पणी गर्छन् ।

समान विचार राख्ने दुई पार्टीबीचको एकता हुनु नौलो होइन, यद्यपि अहिलेको राजनीतिक समीकरणमा यो एकताले संसद्भित्र वा बाहिर कुनै अर्थ भने राख्दैन । तर एमाले नेता ज्ञवाली नेपाली राजनीतिमा सङ्क्रमणकालको नाममा अस्थिरतालाई स्वीकार्ने बाध्यात्मक परिस्थिति नजिर बनिसकेको अवस्थामा राजनीतिक विचार मिल्ने दल एक हुनु ठीक भए पनि त्यो गठबन्धन केप्रति लक्षित छ भन्ने चाहिँ महŒवपूर्ण हुने ठान्छन् । ज्ञवालीको यो कुरालाई समर्थन गर्ने काङ्ग्रेस सभासद् अधिकारी तोकिएको मितिमा संविधान बन्दैन भन्ने अड्कलका साथ दुई अतिवादी शक्ति बलियो हँुदै गएको बताउँछन् ।

त्यसै पाकेन खिचडी

थापाले जुन जोशमा पाँच वर्षअगाडि जनशक्ति पार्टी बनाएका थिए, त्यस्तै जोश अनि बदलिँदो राजनीतिक परिस्थितिप्रति होश पु¥याएर राप्रपासँग एक हुने अवस्था पनि बनाएका छन् । त्यसैले हुनसक्छ, २३ माघ शनिबार मध्यान्ह साढे बाह्र बजे दुई पार्टीको एकताको निर्णय सार्वजनिक गर्न आयोजित समारोहमा राप्रपा अध्यक्ष राणाको दाँजोमा थापा बढी उत्साही र हँसिलो देखिएका थिए । उनले दुई दलबीचको विमतिको सङ्केत नै दिएनन्, जति राणाले दिएका थिए । थापाले यो एकतालाई ‘प्रजातान्त्रिक शक्तिको प्रादुर्भाव’ सम्म भनेका थिए ।

राजनीतिमा आफूलाई कुनै हैसियतमा चिनाइराख्ने थापाले संविधानसभाको चुनावमा बेहोरेको हारपछिलगत्तै २०६५ जेठमा राप्रपासँग एकताको लागि पाइला चालेका थिए । तर संविधानसभामा थापाको भन्दा पाँच जना बढी सभासद् बनाएका राणाले पार्टीको नाम, चुनाव चिन्ह, झ्ण्डा र अध्यक्ष पद केही नछोड्ने अडान लिएपछि एकताको कुरा त्यत्तिकै सकियो । पहिलो गाँसमै ढुङ्गा खाएका राजपा अध्यक्ष थापाका लागि आफ्नो विश्वासिलो पात्र बुद्धिमान तामाङले १८ जना केन्द्रीय सदस्यसहित २३ माघ २०६५ मा राप्रपामा प्रवेश गर्दा एकता झ्न् आवश्यक भएको राप्रपाका एक नेता बताउँछन् ।

त्यही आवेगमा थापाले भारतीय राजदूत राकेश सुदसम्मलाई दुःखेसो गरेपछि सुदले दुवै अध्यक्षलाई भेटेर मिलेर जान सल्लाह दिएको र फेरि एकताको कुरा जोडिएको स्रोतको दाबी छ । तर अध्यक्ष, पार्टी नाम र चुनाव चिन्हमा राणाले राखेको अडानका अगाडि थापालाई कुनै पनि सम्मान अर्थपूर्ण लागेन र २०६६ जेठपछि एकता प्रयास फेरि तुहियो । एक नेताका अनुसार, राष्ट्रिय राजनीतिमा आफू ओझ्ेलमा परेको अनुभव गरेका थापाले भारतसँगको सम्बन्धलाई प्रयोग गरेर एकताको कुरालाई पुनः ब्युँताए । त्यस क्रममा लण्डनमा रहेका राणा दिल्ली आए भने काठमाडौंमा रहेका थापा १९ असोजमा दिल्ली पुगे । भारतीय काङ्ग्रेस पार्टीका नेता तथा नेपालका शाह परिवारका नातेदार करन सिंहले दुवै अध्यक्षलाई २३ असोजमा भेटेर “तपाईंहरू मिल्नुभएन भने ‘पियन’ पद पनि पाउनुहुन्न, मिलेर जानुभयो भने सत्ताप्राप्तिको सम्भावना छ”, भनेपछि उनीहरूले प्रक्रिया पूरा गरेर मिल्ने बताएको राणा निकट एक नेता बताउँछन् ।

तिहारपछि भएको दुई नेताको भेटमा अध्यक्ष पद तीन–तीन महिनामा फेरिरहने थापाको प्रस्तावलाई राणाले अस्वीकार गरेपछि फेरि एकता रोकिएको भारतले थाहा पायो, जुन थापाका छोरा सुनिलमार्फत पुगेको स्रोतको दाबी छ । यही कुरालाई लिएर भारतीय राजदूत सुदले २४ पुसमा एकै दिन दुवै अध्यक्षलाई भेटे । राप्रपा स्रोत भन्छ, “त्यसैको कारण तीन कुरामा अडान लिएका राणाले अध्यक्ष र झ्ण्डा आफूसँग राखेर पार्टीको नाममा थोरै लचकता देखाएको मौका छोपी थापाले पनि आफूलाई अध्यक्ष पद मागेका थिए, जुन कुरा भुईंमा खस्न नपाउँदै राणाले फिर्ता गरिदिए ।”

अन्ततः माघको पहिलो हप्ता भएको बैठकमा एकताका लागि तीन महŒवपूर्ण निर्णय भएको थियो— पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी रहने, अध्यक्षसहित दुवैतर्फका केन्द्रीय कार्यसमिति महाधिवेशनसम्म कायम हुने र स्थानीय तहबाट अधिवेशन गर्दै आएर एक वर्षभित्र राष्ट्रिय महाधिवेशन गर्ने । यो सहमतिको खुसियालीमा थापाले घरमै राणालाई दिवाभोजमा बोलाएका थिए । निर्णयलाई औपचारिकतामा ढाल्नको लागि १५ माघमा याक एण्ड यती होटलमा दिवाभोजसहित भएको बैठकले बिहिबारसम्म पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने निर्णय ग¥यो, तर राजपा अध्यक्ष थापाले पाटनका ज्योतिषी सिद्धार्थराज जोशीसँग साइत हेराइ उनैको सल्लाहमा २३ गते शनिबार मध्यान्ह ठीक साढे बाह्र बजे एकता प्रक्रियाको घोषणा गर्ने जानकारी गराए । र, २१ माघमा दिवाभोजसहित राप्रपा अध्यक्ष राणाको निवासमा दुवै पार्टीको कार्यसम्पादन समितिको अन्तिम बैठक बसेर सबै सहमतिलाई औपचारिकता दिएको थियो भने अरू दिन बोलाइएको समयभन्दा ढिलो शुरु हुने राप्रपा–राजपाको २३ माघको कार्यक्रम ठीक १२.३० बजे शुरु भएको थियो ।

एकता प्रक्रियाको सुरुआत गरेको पाँच दिनपछि २८ माघमा राप्रपा अध्यक्ष राणा भारततर्फ लागेका छन् भने ज्ञानेन्द्र शाहका मित्र प्रभाकर शम्शेर राणाले २७ माघ बिहान १० बजेदेखि एक घण्टाको भेटमा थापासँग एकताको विषयमा खुसी मात्र साटेनन् पूर्व राजा ज्ञानेन्द्र पनि ज्यादै खुसी भएको सन्देश पु¥याएको स्रोतको दाबी छ ।


माघे एकता !

– २०४६ सालको परिवर्तनपछि २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) को नाममा बहुदलीय राजनीतिमा प्रवेश गरेका पूर्व पञ्चहरू २०४८ सालको निर्वाचनमा नमीठो हार बेहोरेपछि २१ माघ २०४८ मा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’को नाममा एकीकरण ।

– २०५१ को मध्यावधि निर्वाचनमा २० सिट जितेर संसद्को तेस्रो ठूलो दलका रूपमा स्थापित राप्रपा २०५२–०५४ सालको अवधिमा कहिले काङ्ग्रेस त कहिले एमालेसँग मिलेर सरकारको नेतृत्व गर्ने क्रममै २०५४ मा राप्रपाबाट फुटेर लोकेन्द्रबहादुर चन्दको सक्रियतामा राजेश्वर देवकोटाको अध्यक्षतामा ‘राप्रपा राष्ट्रवादी’को गठन ।

– २०५६ को आमनिर्वाचनमा राप्रपा ११ सिटमा र राप्रपा–राष्ट्रवादी शून्य सिटमा सीमित भएपछि माघ २०५६ मा पञ्चहरूको पुनः मिलन ।

– २०५९ को पोखरा अधिवेशनमा नेतृत्वबाट बाहिरिएका सूर्यबहादुर थापाद्वारा ३० फागुन २०६१ मा राष्ट्रिय जनशक्ति पार्टीको गठन ।

– १९ माघ २०६१ को ‘कु’ पछि पार्टीभित्र बढेको विवादकै बीच ५ पुस २०६२ मा कमल थापाको अध्यक्षतामा राप्रपाबाट फुटेर राप्रपा नेपालको जन्म ।

– २३ माघ २०६६ मा मुलुकमा विद्यमान सङ्क्रमणकालीन अवस्थाको फाइदा पाउने अपेक्षामा ‘राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी’को नाममा राप्रपा र राजपाद्वारा एक वर्षभित्र पार्टी एकीकरण गरिसक्ने घोषणा ।

comments powered by Disqus

रमझम