१–१५ फागुन २०६६ | 13-27 February 2010

राष्ट्रपतिको तीर्थयात्रा

Share:
  
- सीके लाल
आफ्नो पहिलो विदेश भ्रमणमा जाँदै गरेका राष्ट्रपति यादवको सबभन्दा महत्वपूर्ण जिम्मेवारी भारतमा अत्यावश्यक भन्दा बढी केही नबोल्नु नै हुनेछ ।

मीनरत्न बज्राचार्य
केही दिन अगाडिको कुरा हो । शीतलनिवासको झ्किझ्काउ पटाङ्गिनीमा काठमाडौंको सम्भ्रान्त राजसी ठाँटबाटका साथ एउटा सुपरिष्कृत समारोहमा उपस्थित थियो । वक्ताहरूको भाषणले लाग्दथ्यो, नेपाली भाषामा क्रियापद भन्दा विशेषण पक्कै पनि धेरै बढी हुनुपर्दथ्यो । अवसर थियो, हिमालय शम्शेरको पुस्तक सम्झ्ना र चिन्तन को औपचारिक विमोचन कार्यक्रम ।

सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति रामवरण यादवले धेरै कुरा भने । पूर्व शाही चिकित्सक मृगेन्द्रराज पाण्डेलाई आफ्नो अग्रज पेशाकर्मीको रूपमा पहिचान गरे । रामशरण महत सम्मानित सहकर्मी रहिसकेको खुलासा गरे । र, बोल्दै जाँदा के पनि उद्घोष गरे भने कुलचन्द्र गौतम जानेको भन्दा बढी अभिव्यक्त गर्न सक्दछन् ।

तर, हिमालय शम्शेर लेखेको भन्दा धेरै बढी जानकार व्यक्ति हुन् । राष्ट्रपति यादवलाई राम्रोसँग चिन्नेहरू भन्छन्, उनको सहजता अत्यन्त सावधानीपूर्वक प्रस्तुत गरिएको छवि हो । उनले बोल्दै जाँदा प्रसङ्गवश जस्तो गरी निस्किएका वाक्यहरूमा पनि प्रायशः गहिरो अर्थ लुकेको हुन्छ । गौतमलाई होच्याउने उनको कुनै मनसाय नरहेको हुन सक्दछ । कुनै बेला नेपाली काङ्ग्रेसका सदस्य रहिसकेका शम्शेरलाई भने राष्ट्रप्रमुखले सम्मानित गरेको कुरालाई पनि अस्वाभाविक मान्न मिल्दैन । तर त्यस सभाको सबभन्दा मुखर सन्देश के देखिन्थ्यो भने नेपालको सम्भ्रान्त समुदायले अन्ततः राष्ट्रपति यादवलाई ‘आफ्नो’ सदस्य बनाइसकेको रहेछ । काठमाडौंको सामाजिक, सांस्कृतिक वृत्तमा अब उनको हैसियत मुगाली थापा सूर्यबहादुर वा डडेलधुराका क्षेत्री शेरबहादुर देउवाभन्दा कुनै किसिमले कम रहेन । जति पटक प्रधानमन्त्री भए पनि गिरिजाप्रसाद कोइरालालाई नेपाली अभिजात्यले त्यस्तो सम्मान प्रदान गर्न पटक्कै मानेन । प्रधानमन्त्री माधवकुमार नेपालले त शायद अहिल्यै त्यस्तो स्वीकृति प्राप्त गर्न सकिने अपेक्षा पनि राखेका छैनन् ।

नेपाल मात्र होइन, प्रायशः सबै जस्तो पारम्परिक मुलुकहरूमा औपचारिक शक्ति जसले सञ्चालन गरे पनि सत्ता भने निरन्तर केही सीमित परिवारले नियन्त्रण गरिरहेका हुन्छन् । संस्कृति, पूँजी र अन्तर्राष्ट्रिय सम्पर्कलाई प्रयोग गरेर यो समूह आफ्नो स्वार्थ अनुकूल शक्ति सञ्चालकहरूलाई परिचालन गर्ने गर्दछ । अनन्य भए पनि यस समूहको सदस्यता बन्द भने हुँदैन । बिहेवारी वा व्यापारिक साझ्ेदारीमार्फत नयाँ सम्भ्रान्त बनिरहेका हुन्छन् । संरक्षण एवं सहयोजन (प्याट्रोनाइजेशन एण्ड कोअप्टेशन) प्रक्रियाद्वारा कहिले तिरस्कृतलाई परिस्कृत बनाइन्छ भने कुनै बहिष्कृत समुदायको व्यक्ति विशिष्ट कहलिने मौका पाउँदछ । लोकतान्त्रिक गणतन्त्रको प्रथम राष्ट्रपति भए तापनि महामहिम यादवले अथक् प्रयत्नबाट मात्र नेपाली सम्भ्रान्तको स्वीकार्यता प्राप्त गरिसकेपछि दक्षिण छिमेकीको मान्यता स्वभावतः उनको तेस्रो प्राथमिकतामा पर्ने भयो । तर, त्यसपछि उनले यो सम्मानित शक्ति कुन उद्देश्यका लागि प्रयोग गर्नेछन् भन्नेमा शायद भारतीयहरू आश्वस्त हुन चाहन्छन् । झ्निोमसिनो आर्थिक सहयोगका योजनाहरू औपचारिकता मात्र हुन् । राष्ट्रपति यादवको भारतको राजकीय भ्रमण मूलतः राजनीतिक तीर्थयात्रा नै हुनुपर्दछ ।

एसियाली शीतयुद्ध

राष्ट्रपति यादवको प्रारम्भिक राजनीतिक प्रशिक्षण साम्यवादविरोधी नेकाको समाजवादी परम्परामा भएकाले नयाँदिल्लीमा उनले आफूलाई ‘परिचित भए पनि अनौठो’ परिवेशमा पाउने छन् । भारतीय सत्ता पहिलेभन्दा अझ् बढी साम्यवादविरोधी भइसकेको छ । तर, समाजवाद समेत अब नयाँदिल्ली सम्भ्रान्तहरूमाझ् स्वीकार्य शब्द रहेन । कुनै बेला भारत सरकारले उद्योग र व्यापार चलाउने गर्दथ्यो । अब उद्योगी–व्यापारीद्वारा स्वीकार्य व्यक्तिहरू सरकार चलाउँछन् । राजनीतिक रूपमा सबै देशका छुट्टाछुट्टै राजधानी हुने भए तापनि विश्व पूँजीवादको केन्द्र अझ्ै पनि न्युयोर्क एवं लण्डनबाट बाहिरिनसकेको छैन । भएको खालि के हो भने एसियाली विशाल खेलमैदानमा अब युरोप र अमेरिका मैत्रीपूर्ण प्रतिस्पर्धामा छन् ।

चीनको सबभन्दा ठूलो ऋणी भएकाले बाध्यतावश अमेरिका बेइजिङलाई दक्षिणएसियामा निम्त्याउन चाहन्छ । एक्लै सारा संसार हाँक्न असमर्थ बन्दै गएको वाशिङ्टन संस्थापनका लागि अफगानिस्तान–पाकिस्तान–इरान एवं कोरियाली प्रायद्वीपमा चीनको सहयोगी भूमिका महŒवपूर्ण ठहरिन सक्दछ । युरोपेलीहरू त्यति सजिलै सम्पूर्ण एसियालाई अमेरिकाको पोल्टामा हाल्न तयार देखिँदैनन् । आसन्न प्रतिस्पर्धामा भारतीय अर्थ–सञ्जालको महŒवपूर्ण हिस्सा युरोपको पछिलाग्न सक्नेछ । नेपालको जलस्रोत क्षमतालाई उपयोगमा ल्याउन भारतीय रणनीतिकारहरूको छनोटमा युरोपेली लगानीकर्ता एवं प्रविधि पर्न सक्छ । त्यस्तो अवस्था सुनिश्चित गर्न नेपालमा अमेरिकीहरूको प्रभावलाई नियन्त्रणमा राख्न जरुरी हुनेछ । जानिफकारहरूको आकलनमा त्यो काम सजिलो भने छैन । जवाहरलाल नेहरूले सन् ’५० तिर नै चिनियाँ प्रधानमन्त्री चाउ एन लाईसँग कुरा गर्दा भनेका थिए अरेः “नेपालमा अमेरिकीहरूसँग सतर्क रहनुपर्दछ । नेपालीहरू रिश्वत पाए जे पनि गर्न तयार हुन्छन्” ‘हिन्दी–चिनी भाइ–भाइ’ दशकमा चिनियाँहरूलाई प्रदान गरिएको भारतीय प्रधानमन्त्रीको सल्लाहलाई समयानुकूल परिमार्जनसहित बेइजिङका रणनीतिकारहरूले प्रयोग गरिरहेका भए आश्चर्य मान्नुपर्दैन ।

सतहमा हेर्दा ठूला राष्ट्रहरूको भूराजनीतिक खेलबाट नेपाल मुक्त रहनुपर्ने हो । तर, युद्ध उष्ण होस् वा शीत, त्यसको प्रभावबाट जोगिन सानो राष्ट्रलाई पनि मुश्किल पर्दछ । त्यो कुरा राष्ट्रपति यादव एवं उनको टोलीले भारत यात्रामा पटक–पटक महसुस गर्ने अवस्था आउन सक्दछ ।

भूगोलको बन्दी

नेपालका राजनीतिक महारथीहरू सामान्यतः भारत भ्रमणमा जाँदा हीनभावले ग्रस्त हुन्छन् । यथार्थ हो, नयाँदिल्लीको सदासयता बेगर नेपालको सत्तावृत्तमा जतिसुकै शक्तिशाली राजनीतिकर्मी पनि लामो अवधिसम्म टिक्न सक्दैन । तर त्यो नै सम्पूर्ण वास्तविकता भने होइन । जति नै भारत–आश्रित भए पनि नेपालको अन्तर्राष्ट्रिय हैसियत एवं भूमिकालाई साउथ ब्लकका नोकरशाहहरूले भुटानसँग दाँज्न खोज्नु कूटनीतिक अर्घेल्याइँ मात्र हो । नेपालको सम्पर्क चीनसँग मात्र होइन, बेलायत–अमेरिकासँग पनि बेवास्ता गर्न सकिने किसिमले कमजोर छैन ।

काठमाडौंको परम्परागत सम्भ्रान्त ऐतिहासिक रूपले बेलायतसँग नजिक छ, र भारतीय प्रभुत्वशाली समूहलाई आफ्नो ठान्दछ । तर, सन् ६० को दशकपछि नेपालको अर्थ–राजनीतिमा क्रमशः आफ्नो प्रभाव फैलाउँदै गएको उदीयमान नेपाली मध्यमवर्गको सम्बन्धका तारहरू युरोप भन्दा अमेरिकासँग जोडिएका छन् । पूर्वसचिवका छोरानातिहरू नयाँ संसारका बासिन्दा भएका छन् । प्रतिभाशाली पेशाकर्मीहरूमध्ये कतिले उतै घरजम गरिसकेका छन् भने धेरैको बाक्लै आवतजावत छ । यस सामाजिक अवस्थाको असरबाट नेपालको कूटनीति मुक्त रहन सक्ने कुरा भएन । बेलायतसँगको शताब्दी पुरानो सम्बन्धका बाबजुद नेपाल–अमेरिका सम्बन्ध त्यसभन्दा कति पनि कम प्रगाढ हुन सक्दैन ।

भारतीय मध्यमवर्गको हालीमुहाली चल्दो हो त भारतीय संस्थापनद्वारा त्यहाँका नक्सलपन्थी (माओवादी) विरुद्ध उहिल्यै सेना परिचालन भइसक्ने थियो, र मुसलमान एवं इसाई अहिलेभन्दा पनि बढी रक्षात्मक अवस्थामा हुन्थे । भाग्यवश लोकतन्त्र अहिलेसम्म क्रियाशील छ, र अल्पसङ्ख्यक भारतीयहरू सम्मानको जीवन खोज्न अद्यापि स्वतन्त्र छन् । नेपालमा अल्पसङ्ख्यकहरूप्रतिको नीति बरु अझ् बढी सहिष्णु होला तर भारतभन्दा सङ्कुचित भने कदापि हुन सक्दैन । त्यो कुरा बीपीका अनुयायी राष्ट्रपति यादवले हिन्दूवादी अभ्यर्थीहरूलाई कुरा नचपाई भन्न उचित हुनेछ ।

राष्ट्रप्रमुख भइसकेपछिको अवस्था भनेको इतिहासप्रति जिम्मेवार हुनु हो । शासनको दाउपेच, शक्तिको जोडघटाउ वा सत्ताको होडबाजीले समेत अब राष्ट्रपति यादवलाई दिनसक्ने कुरा केही बाँकी छैन । गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल जस्ता दावेदारलाई उछिनेर प्रारब्धले गर्दा उनी राज्यको सर्वाेच्च पदसम्म पुग्न सफल भएका हुन् । उनको पहिलो विदेश भ्रमणमा सबभन्दा महŒवपूर्ण जिम्मेवारी अत्यावश्यक भन्दा बढी केही नबोल्नु नै हुनेछ । हुन त राष्ट्रपति यादवले धोती लगाउन छोडिसकेका छन्, तर गम्छा सम्हाल्न पनि उत्तिकै सतर्कता चाहिन्छ ।

काठमाडौंको सम्भ्रान्त समुदायमा उनको परीक्षणकाल बल्ल शुरु हुँदैछ । सरकारप्रमुख राज्य सञ्चालनको सफलता–असफलताबाट इतिहासमा ठाउँ पाउँछन् । राष्ट्रप्रमुखको परीक्षण वैदेशिक सम्बन्धमा गरेको योगदानबाट हुन्छ । ‘जानेको भन्दा बढी बोल्ने वा लेख्ने’ व्यक्तिहरूको अभिलेखले लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको मूल्याङ्कन त्यसरी नै गर्न सक्ने छ जसरी अहिले हिमालय शम्शेरले राजा महेन्द्र वा बीपी कोइरालाका कामहरूलाई आफ्नो पुस्तकमा गरेका छन् ।

comments powered by Disqus

रमझम