१ वैशाख २०७० | 14 April 2013

ढिला नगरौं

Share:
  
- मोहन ओझा
कुनै पनि संस्थाको स्थायित्वका लागि मानव संसाधन सबैभन्दा ठूलो पूँजी हो, जसबाट लगानी खेर जाँदैन प्रतिफल बढी आउँछ।

आर्थिक उदारीकरणपछि नेपालमा बहुराष्ट्रिय कम्पनीको आगमन तथा निजी क्षेत्रको लगानीमा भएको वृद्धिसँगै पछिल्लो समय मानव संसाधनप्रतिको चासो बढेको छ। बहुराष्ट्रिय कम्पनीले मानव संसाधनलाई दिएको महत्वको नक्कल गरेरै भए पनि स्थानीय कम्पनीहरुले यसको विकासमा केही हदसम्म भूमिका खेलेका छन्। नेपालीहरूको अन्तर्राष्ट्रिय पहुँचले व्यावसायिक र सामाजिक क्षेत्रमा मानव संसाधनको महत्वलाई बुझ्न थप मद्दत गरेको छ। यद्यपि यसको विकासमा सरकारी पहल भने सुस्त छ।

अझै पनि कतिपय संस्थामा मानव संसाधन विभाग छैनन्। गठन भएका संस्थामा पनि ती विभाग कर्मचारी भर्ना छनोटका क्रममा आवेदन संकलनमा सीमित छन्। यसबाट ती संस्थाले आफ्नै मानव संसाधन विभागको अवमूल्यन गरेको प्रष्ट हुन्छ। छनोट प्रक्रियादेखि कर्मचारीको वृत्तिविकास, व्यवस्थापन र भावी रणनीतिक योजनामा मानव संसाधन विभागको भूमिकाप्रति जति सचेत हुन सक्यो संस्था त्यति नै सबल र सक्षम हुनेछ। हाम्रोजस्तो श्रम समस्या भोगिरहेको मुलुकमा मानव संसाधनलाई अवमूल्यन गर्नु राम्रो पटक्कै होइन। श्रम समस्याको सम्बोधन र व्यवस्थापनको जिम्मा पनि मानव संसाधन अन्तर्गतकै हो भन्ने कुरा आत्मसात नगरिएसम्म समस्या यथावत रहन्छ।

ढिला नगरौं

मानव संसाधन विभागलाई रणनीतिक योजना तर्जुमा गर्नेसम्मको जिम्मेवारी नसुम्पनुको मुख्य कारण दक्ष जनशक्ति अभाव नै हो। तर यसैलाई कारण देखाएर पन्छन भने मिल्दैन। किनकि अनुसन्धानमा आधारित भएर मानव संसाधनको विकास गर्न सक्ने जिम्मेवार मानव संसाधन विभाग तयार गर्ने दायित्व संस्थाकै हो। विभागको पहिलो उद्देश्य कार्यसम्पादनका लागि सही ठाउँमा उपयुक्त कर्मचारी छनोट गर्नु हो। कुनै पनि संस्था कसरी अघि बढ्छ भन्ने कुरा जिम्मेवार कर्मचारीको कार्य कुशलतामा भर पर्छ।

अधिकांश संस्थामा मानव संसाधनको काम प्रशासनिक विभागले गरेको पाइन्छ। बढ्दो प्रतिस्पर्धासँगै कम लगानीमा बढी उत्पादकत्व हासिल मानव संसाधनको कुशलता विना सम्भव हुँदैन। जबकि प्रशासनिक र मानव संसाधन विभागको कार्यक्षेत्र, उद्देश्य र रणनीति फरक हुन्छ। यस्तोमा एउटा विभागलाई धेरै र अनावश्यक जिम्मेवारी सुम्पने तथा गर्नुपर्ने काम र उद्देश्यका लागि आवश्यक विभाग नै नराख्ने वा राखे पनि पूर्ण जिम्मेवारी नदिने प्रवृत्तिले संस्थाको प्रगतिमा बाधा पुग्छ।

मानव संसाधनको विकासका लागि निजी क्षेत्रबाट संचालित केही संस्थाको पहल र गतिविधिले पछिल्लो समय व्यापकता पाएको छ। यसरी संचालित संस्थाले निजी व्यावसायिक प्रतिष्ठानदेखि सरकारी तथा सार्वजनिक संस्थासम्म मानव संसाधनको महत्व बुझ्ााउन विभिन्न कार्यक्रम चलाइरहेका छन्। जबकि सरकारी तवरबाटै मानव संसाधनको महत्व बुझ्ोर ठोस प्रयास भएको खण्डमा यसले विकासको ढोका खोल्नेछ। मानव संसाधनप्रति गम्भीर नबनेसम्म सरकारी काम कारबाही तथा सेवा प्रवाह चुस्त र छिटोछरितो हुनै सक्दैन।

(ओझा मानव संसाधन विकासमा सक्रिय कम्पनी ग्रोथसेलर्सका प्रबन्ध निर्देशक हुन्।)

comments powered by Disqus

रमझम