१ वैशाख २०७० | 14 April 2013

मिसन वर्ल्डकप

Share:
  
नेपाली क्रिकेट टीमसँग अब हुने दुई प्रकारका वर्ल्डकप खेल्ने सम्भावना छ।

तस्वीर: विकास द्वारे
आउँदो १५ वैशाखमा बर्मुडामा शुरू हुने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ खेल्न जाँदा नेपाली क्रिकेट टीमको मनोबल उच्च हुनेछ। २१ चैतमा काठमाडौंमा सम्पन्न एसीसी ट्वान्टी–ट्वान्टी एलिट कप क्रिकेट प्रतियोगिताको उपविजेता बन्दा ट्वान्टी–ट्वान्टी फर्म्याटको क्रिकेटमा बलिङ र ब्याटिङमा देखाएको स्तरीय प्रदर्शनले नेपाली टीमको आत्मविश्वास उच्च बनाएको हो।

सेमिफाइनल पुगेपछि नै अर्को वर्ष बङ्गलादेशमा हुने ट्वान्टी–ट्वान्टी क्रिकेट वर्ल्डकपका लागि आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) मा हुने छनोट चरणमा पुग्ने लक्ष्य नेपालले भेट्टाइसकेको थियो। त्यसपछि सेमिफाइनलमा युएईसँग अरू परिष्कृत खेल देखाएको नेपालले फाइनलमा अफगानिस्तानसँग पराजित भए पनि आफूमा टीमवर्क रहेको प्रमाणित गर्‍यो। युवा खेलाडीहरूको सुधारिएको प्रदर्शन नेपाली क्रिकेटका लागि अर्को आशलाग्दो पक्ष हो।

लक्ष्य वर्ल्डकप

गत भदौ २०६९ मा मलेसियामा सम्पन्न आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–४ को उपाधि जित्दै नेपालले विश्वकप खेल्ने सपना जीवितै राखेको थियो। अबको तीन सातापछि बर्मुडामा हुने डिभिजन–३ मा नेपाल, इटली, युगाण्डा, ओमानसहित ६ राष्ट्रको सहभागिता रहनेछ र तीमध्ये शीर्ष दुईले सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गर्ने वान डे क्रिकेटको छनोट चरणमा खेल्न पाउनेछन्। अब नेपालले त्यहाँको परीक्षा पास गर्नुपर्नेछ।

वान डे वर्ल्डकपमा टेस्ट मान्यता प्राप्त १० र आईसीसीका एसोसियट सदस्यमध्ये ४ राष्ट्रले मात्र भाग लिन पाउने हुँदा नेपाललाई त्यो परीक्षामा उत्तीर्ण हुन भने अहिले कठिन छ। तर, ट्वान्टी–ट्वान्टी वर्ल्डकपमा खेल्ने बाटो त्योभन्दा धेरै फराकिलो बनाएको छ, यो पटकको प्रतियोगिताले। आगामी नोभेम्बरमा युएईमा हुने आईसीसी ट्वान्टी–ट्वान्टी वर्ल्डकपको छनोट खेल्ने १६ टीममध्ये शीर्ष ६ मा पर्नासाथ नेपाल ट्वान्टी–ट्वान्टी विश्वकपमा पुग्नेछ। राष्ट्रिय टीमका प्रशिक्षक पुवुदु दासानायके भन्छन्, “अबको लक्ष्य भनेकै ट्वान्टी–ट्वान्टी वर्ल्डकप खेल्ने हो।”

निरस वातावरण

नेपालभन्दा धेरैपछि मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सदस्य बनेको, युद्धले जर्जर र अहिले पनि खेल्ने वातावरण नभएको अफगानिस्तानले वान डे मान्यता पाइसक्यो भने ट्वान्टी–ट्वान्टी वर्ल्डकप पनि खेलिसक्यो। १९९४ मा एसीसीमा आबद्ध नेपाल १९९६ मै आईसीसीको सदस्य बनेपछि मात्र अफगानिस्तान २००१ मा आईसीसी सदस्य बनेको हो।

खेलकुदमा राज्यले लगानी नगर्दा क्रिकेटमा नेपालको विकास गति अफगानिस्तानको भन्दा मन्द बनेको देखिन्छ। राज्यले लगानी नगर्दा खेलाडीले यसैलाई करिअर बनाउन नसकेको धारणा राख्ने नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का भन्छन्, “जित्दा सबैले प्रशंसा र सम्मान गरे पनि खेलाडीलाई कसैले इन्सेन्टिभ दिएका छैनन्।” उनी अरू क्षेत्रमा जस्तै क्रिकेटमा पनि लगानी गर्दा मात्रै परिणाम आउने बताउँछन्।

नेपाली कप्तान जस्तै विचार राख्ने अफगानी टीमका प्रमुख प्रशिक्षक कबिर खानले हिमाल सँग भनेका छन्, “हामी उक्लँदै गर्दा केही राम्रा खेलाडी गुमाइने हो कि भन्ने चिन्ता थियो, त्यसैले योजना बनायौं, समूह चरणका प्रतियोगिता शुरू गर्‍यौं र युवाहरूलाई टीममा ल्याउन थाल्यौं। मेरो टीममा भएका युवा खेलाडीहरूले राष्ट्रिय टीममा आउने मौका नपाएको भए उनीहरू खेल्न छाडिदिन्थे र देशले गुमाउँथ्यो।”

रामेश्वर बोहरा

comments powered by Disqus

रमझम