१–१५ चैत २०६६ | 14-28 March 2010

माओवादी सत्ताका लागि संसद्मा

Share:
  
- सरोज दाहाल

तस्वीरहरु: मीनरत्न बज्राचार्य
संसदीय व्यवस्थाको विरोध गर्दै र संविधानलेखनमा विवादको सूची लम्ब्याउँदै आएको एनेकपा माओवादी अन्ततः फेरि संसद्कै शरणमा पर्ने भएको छ । माओवादी संसदीय दलको २८ फागुनको बैठकमा दलका उपनेता तथा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विशेष अधिवेशन माग गर्ने र सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने जानकारी दिएपछि माओवादी संसदीय अभ्यासबाटै सत्ता प्राप्त गर्ने बाटोमा अग्रसर हुने लक्षण देखिएको हो । आफूहरूलाई अति महŒवपूर्ण काममा बाहेक उपत्यका नछोड्न निर्देशन दिइएको बताउँदै बैठकमा सहभागी एक सभासद् भन्छन्, “उपत्यकामा भएका लगभग एक सय जनाको हस्ताक्षर भयो, चार दिनभित्र विशेष अधिवेशनको लागि दर्ता गर्ने भनिएको छ ।” अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा बसेको भनिएको उक्त बैठकमा उनी र उपाध्यक्ष डा. बाबुराम भट्टराई भने अनुपस्थित थिए ।

२२ चैतमा नियमित अधिवेशन बोलाउने तयारी भइरहेको बुझ्ेको एमाओवादीले त्यसअघि नै विशेष अधिवेशनको माग गर्दै ‘राष्ट्रिय सरकारको साटो बहुमतीय सरकार’ को पक्षमा अगाडि बढ्ने निधो गरेको नाम उल्लेख गर्न नचाहने एक पोलिटब्युरो सदस्य बताउँछन् । एक चौथाइ सांसद्ले अधिवेशनको माग गरी समावेदन दिएमा राष्ट्रपतिले सभामुखको सल्लाहमा त्यसको १५ दिनभित्र विशेष अधिवेशन बोलाउनुपर्ने कानूनी प्रावधान छ ।

तीन रणनीति

२३ फागुनमा युवा दस्ता वाईसीएलको बैठकमा ‘आफूहरू चाँडै नै सरकारमा जाने अवस्था बन्दै गएको’ जानकारी दिएका माओवादी अध्यक्ष दाहालले २७ फागुनमा ललितपुरको खुमल्टारमा एमाओवादीको नेवाः राज्य समितिको प्रशिक्षणमा ‘वामपक्षधरकै बहुमत हुने गरी सरकार गठनको सम्भावना भएको’ खुलासा गरेका थिए । तर, यसरी सरकार बन्ने, नबन्नेमा ढुक्क नभएकाले होला, अध्यक्ष दाहालले सो कार्यक्रममा एमाओवादीले भन्दै आएको बहुचर्चित जनविद्रोहको सुरुआतका लागि २४ चैत, १८ वैशाख (श्रमिक दिवस) वा १४ जेठको तिथि अघि सार्दै तयारीको निर्देशन पनि दिएका थिए ।

भित्रियाहरूको भनाइमा अध्यक्ष दाहाल सरकारले संविधान नबनाएकोमा ध्यानाकर्षण गराउने नाममा विशेष अधिवेशन माग गर्ने र सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाउमा छन् । त्यसपछिको अवस्थाका लागि उनले निकटस्थहरूसँग राखेका तीन वटा विकल्पमा मधेशवादी तथा साना दलको साथमा काङ्ग्रेस र एमालेइतर गठबन्धन बनाउने, अहिलेको सरकारबाट एमालेभित्र बढेको वितृष्णाको सक्दो उपयोग गरेर कम्युनिष्ट शक्तिहरू मिल्ने बहानामा सके पार्टीलाई नभए केही सभासद्लाई लोभ्याउने तथा काङ्ग्रेसका शेरबहादुर देउवा वा रामचन्द्र पौडेलको नेतृत्वमा एमाले इतरको सरकार बनाउने कुरा छन् ।

यसअघि वर्तमान सरकार परिवर्तनका लागि अध्यक्ष दाहाल स्वयम्ले मालेका महासचिव सीपी मैनाली, एमालेका केही नेता तथा सभासद् र मधेशवादी नेतालाई छुट्टाछुट्टै भेट गरेको बुझ्एिको छ । आफूले अध्यक्ष दाहाललाई भेटेको दाबी गर्ने एमालेका एक सभासद्का अनुसार संविधान जसरी पनि बनाउने शर्तमा एमाओवादीको नेतृत्वको सरकारलाई स्वीकार्नुपर्ने बाध्यता तराई र एमालेका सभासद्लाई छ । यो कुराको पुष्टि गर्दै २८ फागुनको संविधानसभा दलको भेलामा उपाध्यक्ष श्रेष्ठले भनेका थिए, “अहिले मतदान गरेर भए पनि प्रतिवेदनहरू सबै संवैधानिक समितिमा पठाउने काम गरेर संविधान बनाउनेतर्फ अगाडि बढेको देखाउनै पर्छ ।”

एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली भन्छन्, “सरकारको कुरा एमालेले पनि खुल्ला गरेको छ । तर ऊ निशस्त्र बन्नु प¥यो, समयमै संविधान बनाउनुप¥यो भन्दा किन मान्दैन यो सबैले बुझनुपर्छ ।”


गिरिजाबाबु ! कस्तो छ ?

झण्डै सात दशकदेखि राजनीतिमा सक्रिय नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अहिले निकै बिरामी छन् । उनको उपचारमा संलग्न चिकित्सक टोलीका एक सदस्य मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीका अनुसार लामो समयदेखि दमको रोगबाट पीडित कोइरालालाई बेलाबेला अक्सिजन दिने गर्नुपर्दथ्यो, एक महिनादेखि निरन्तर दिनुपर्ने भएको छ । यसपटक उनलाई बरोबर भइरहने फोक्सोको सङ्क्रमण र अरू कुनै नयाँ समस्या छैन, बीचमा एकचोटि भएको पिसाबको सङ्क्रमण ठीक भइसकेको छ ।

८७ वर्षीय कोइराला बढ्दो उमेर र दीर्घरोगका कारण गलेका छन्, शरीर शिथिल हुँदै गएको छ । डा. केसीका अनुसार यो अवस्थामा रोगले कहिले धेरै च्याप्नु र कहिले सुधार हुनु स्वाभाविक हो । २६ फागुन दिनभर कोइरालाको अवस्थाबारे अनेक हल्ला चलिरहेको बेला उनले राष्ट्रसंघका उपमहासचिव वि लिन पास्कोसँग सात–आठ मिनेट कुरा गरेका थिए । डा. केसी भन्छन्, “त्यस दिन बिहान बोल्न सक्नुहोला जस्तो पनि लागेको थिएन, दिउँसो ओछ्यानमै बसेर राष्ट्रसंघका पदाधिकारीहरूसँग आफ्नै शैलीमा हात हल्लाउँदै कुराकानी गर्नुभयो ।”

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार कोइरालाको लागि अहिले उपयुक्त उपचार अक्सिजन र आराम नै हो । उनलाई आराम गरेर बसिरहँदा वा सुतिरहँदा खासै समस्या हँुदैन, तर कुराकानी र हिँडडुल गर्न थालेपछि गाह्रो हुन्छ । यसो गर्दा शरीरका अङ्गहरूले बढी काम गर्नुपर्ने भएकाले अक्सिजनको कमी अझ् खट्किन्छ । सङ्क्रमण हुनसक्ने सम्भावनाले डाक्टरहरूकै सल्लाहमा कोइरालाको भेटघाटलाई पनि धेरै कम गरिएको छ ।

राजधानीका सुविधासम्पन्न अस्पतालमा हुने उपचार निवासमै उपलब्ध गराइरहेका चिकित्सकहरूले कोइरालालाई अस्पताल वा विदेश लैजान आवश्यक ठह¥याएका छैनन् । कोइराला स्वयं पनि अस्पताल जान इच्छुक नभएको बुझ्एिको छ । तर परिवारका केही सदस्य र कतिपय काङ्ग्रेसी नेता–कार्यकर्ता भने उपचारका लागि बाहिर लैजान दबाब दिइरहेका छन् । कोइरालालाई दिल्ली लैजाने कुराको प्रचार पनि भयो, जुन उपचारमा संलग्न चिकित्सकहरूले समेत सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाएका थिए । महाराजगञ्ज स्रोतका अनुसार कोइराला निवासमा भएको चिकित्सकहरूको एक बैठकमा यो कुराले डाक्टर तथा परिवारका सदस्य र पार्टी नेताहरूबीच केही असहज अवस्था समेत पैदा गराएको तथा कार्यवाहक सभापति सुशील कोइराला र नेता कृष्णप्रसाद सिटौलाले गल्ती स्वीकार्नु परेको थियो ।

निष्क्रियताको असर

यसैबीच महाराजगञ्जस्थित निवासबाट कोइराला २८ फागुनमा पुत्री सुजाता निवास मण्डिखाटारमा सरेका छन् । स्रोतका अनुसार भदौ २०६५ देखि महाराजगञ्जको भाडाको घरमा बस्दै आएका पूर्व प्रधानमन्त्री कोइरालालाई ‘वृद्ध बाबुको स्याहार नपुगेको’ भन्दै सुजाताकै दबाबमा त्यहाँबाट मण्डिखाटार सारिएको हो ।

कोइराला परिवारका धेरै सदस्यहरूको चाहना उनी मण्डिखाटार नजाउन् भन्ने थियो । कारण, कोइरालाका शुभचिन्तकहरूलाई महाराजगञ्जको पहुँच जति सरल र सहज थियो, मण्डिखाटार त्यति नै कठिन हुने धेरैको आशङ्का छ । यसअघि प्रधानमन्त्री नभएका बखत महाराजगञ्जमै भतिज शशाङ्कको घरमा बस्ने गरेका कोइरालालाई त्यहाँबाट पनि सुजाताकै हठमा भाडाको घरमा सारिएको थियो । हिजोसम्म कोइरालाका निकट सहयोगी भएर काम गरेकाहरू समेत मण्डिखाटारमा आफ्नो पहुँच सहज हुनेमा विश्वस्त छैनन् ।

यसको पहिलो सिकार २९ फागुन बिहान गिरिजाबाबुलाई भेट्न सुजाता निवास पुगेका डा. रामशरण महत बनेका छन् । महाराजगञ्जमा हुँदा कोइरालासम्म निर्वाध पुग्ने नेता महतलाई मण्डिखाटारमा सुजाता निवासको मूल गेटबाट छिर्न दिइए पनि भित्र प्रवेश रोकियो । त्यसपछि उनी ‘मेरो कार्यक्रम छ’ भनेर बाहिरिए ।

आफ्नो नेतृत्वमा माओवादी हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण, संविधानसभा निर्वाचन र गणतन्त्र घोषणा गर्न सफल कोइरालाको बिगँ्रदो स्वास्थ्यबाट सिङ्गो मुलुक चिन्तित भएको छ । अझै संस्थागत हुन नसकेको शान्ति प्रक्रियाका एउटा बलियो साक्षी कोइरालाको निष्क्रियता यो प्रक्रियामा निकै खट्किने काङ्ग्रेस महामन्त्री विमलेन्द्र निधि बताउँछन् । यस प्रक्रियामा कोइरालाले पुष्पकमल दाहाल लगायत अन्य राजनीतिक नेता र शक्तिहरूसँग गरेका सहमतिबारे आफूहरू अनभिज्ञ भएको स्पष्ट गर्दै उनी भन्छन्, “उहाँको अवस्थामा सुधार आएपछि यसबारे छलफल गरिने छ ।” एमाले नेता प्रदीप ज्ञवाली पनि शान्ति प्रक्रियाका धेरै कुरा कोइरालाको अनुपस्थितिमा हराउन सक्ने आशङ्का गर्छन् । माओवादीका तीन हजार लडाकू सेनामा समायोजन गर्ने सहमति भएको गिरिजाप्रसादले खुलासा गरेपछि मात्रै थाहा भएको बताउँदै ज्ञवाली भन्छन्, “यस्ता धेरै विषय छन्, जुन जानकारीमा आउन र संस्थागत हुन बाँकी नै छ ।”

रामजी दाहाल

comments powered by Disqus

रमझम