१–१५ चैत २०६६ | 14-28 March 2010

त्रासदीका महानायक गिरिजाप्रसाद कोइराला

Share:
  
- सीके लाल
पञ्चायतको विकृत राजनीति व्यहोरेका झण्डै दुई पुस्ताका नेपालीहरूको मानसिकता अझै अविकसित वा अपाहिज अवस्थामै छ । त्यसैले गिरिजाप्रसाद कोइरालाको राजनीतिक उँचाइलाई स्वदेशीभन्दा विदेशीले राम्ररी आकलन गरेका छन् ।

फागुनको अन्तिम बतासे बुधबार गिरिजाप्रसादको स्वास्थ्य स्थितिबारे आशङ्कायुक्त अफवाहहरू चैते हावा सरी फैलिए । दिनभर समाचारकर्मी तथा सार्वजनिक जीवनमा भएका वा रुचि राख्ने व्यक्तिहरूको फोनको घण्टी निरन्तर जस्तो बजी नै रह्यो । लाग्दथ्यो, नेपालको सम्भ्रान्त समुदाय आफ्नो सम्भाव्य दुर्दिन वा विमोचनमध्ये जे भए पनि निरुपाय भएर राष्ट्रिय जीवनको एउटा अध्यायको समापनका लागि मानसिक रूपले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको छ ।

अपराह्नतिर कोइरालालाई भेटेर निस्केपछि संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव वी लिन पास्कोले आभारयुक्त प्रतिक्रिया दिएः ‘कोइराला नेपालको शान्ति प्रक्रियाका महानायक हुन् ।’ एकथरी नेपाली अभिजात्य तथा सर्वहारा अधिनायकवादका केही अभियन्ताहरू तुरुन्तै हतास भए । राष्ट्रिय राजनीतिमा कोइरालाका विचारहरूको व्यापकता यतिविघ्न विस्तृत भइसकेको छ, तिनलाई बेवास्ता गरेर प्रतिरोधको रणनीति पनि चल्न सक्ने अवस्था छैन । कोइरालाको राजनीतिक जीवनको सफलता एवं असफलता दुवै उनको शान्ति प्रक्रियारुपी प्रयोगसँगै जोडिएको छ । र, शान्ति प्रक्रिया असफल हुनु राष्ट्र असफल भएको ठहरिने छ । त्यसैले कोइरालाका आनुवंशिक शत्रुहरू समेत उनको स्वास्थ्य लाभ एवं राजनीतिक सफलताका लागि प्रार्थना गर्न बाध्य छन् ।

जीवन, मृत्यु एवं नियति; व्यक्तिको नियन्त्रण बाहिरका कुरा हुन् । तर त्यस परिधिभित्रका छनोटहरूले भने व्यक्तिलाई व्यक्तित्वमा रुपान्तरण गर्दछ, नियति पात्र बन्न सघाउँछ । कोइरालाको जीवनका वेदना तथा आनन्दहरू एवं प्रयत्न र उपलब्धिका कथाव्यथा कुनै पनि ग्रीक त्रासदी भन्दा कम लोमहर्षक लाग्दैनन् । उनी दक्षिण एसियाली नेतृत्व पङ्क्तिको प्रयोगधर्मी राजनीतिकर्मीहरूको पुस्ताका सम्भवतः अन्तिम प्रतिनिधि हुन् ।

स्वप्नदर्शी पुस्ता

गजबका थिए ती स्वतन्त्रता सेनानी । त्यो एउटा यस्तो पुस्ता थियो जो स्वतन्त्रताको चाहनाले उद्वेलित थियो, आधारभूत मूल्य–मान्यताहरूको छनोट सावधानीपूर्वक गर्ने गर्दथ्यो एवं तिनको बारेमा कुनै सम्झैता गर्न तयार हुँदैनथ्यो । सरसल्लाहमा खुलापन, तर व्यक्तिगत निर्णय त्यस सङ्घर्षशील पुस्ताका राजनीतिकर्मीहरूको विशेषता थियो । प्रयोगमुखी दृष्टिकोण भएका ती नियति पात्रहरू असफलतालाई सहर्ष स्वीकार गर्ने, तर सफलतालाई अनन्तयात्रातर्फको थप पाइला भन्दा बढी केही नमान्ने अनौठा जीव थिए । तिनको सबभन्दा असहज स्वभाव जिद्दीपना हुने गर्दथ्यो । गलत–सही जे भए पनि एक पटक निर्णय लिइसकेपछि त्यसमा अडिग हुने तिनको चरित्रले गर्दा नै दक्षिणएसियाको समसामयिक भूगोल र इतिहास निर्माण भएको हो ।

महात्मा गान्धी नभइदिएका भए तत्कालीन भारत सम्भवतः अहिलेको उत्तरी अफ्रिकाको जस्तो नियति भोग्न बाध्य हुन्थ्यो । कायदे–आजम जिन्ना विनाको पाकिस्तान वा बंगबन्धु मुजिब बेगरको बङ्गलादेशको कल्पना गर्न सकिँदैन । ती त प्रतिनिधिपात्र मात्र हुन्, स्वाधीनताप्रेमी पुस्ताका । अनेकौं अरू दक्षिण एसियाली व्यक्तिहरू युरोपेली उद्बोधन एवं विश्वयुद्धका विभीषिकाहरूबाट पाठ सिकेर भयमुक्त समाज निर्माण गर्न प्रतिबद्ध थिए । नेपालमा बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि एवं शेख इद्रिशलाई त्यसै कोटिमा राख्न सकिन्छ । तर, ग्रीक त्रासदीका महानायकहरू जस्तै भारतमा जवाहरलाल नेहरूदेखि जयप्रकाश नारायणसम्मको अन्तिम परिणति कष्टप्रद अवनतिमा रुपान्तरित भयो ।

बीपी कोइरालाको परिवार पनि नियतिका खेलहरूबाट मुक्त रहन सकेन । कुनै व्यक्ति, संस्था वा राष्ट्र भन्दा पनि इतिहाससँग सङ्घर्ष गरिरहेका गिरिजाप्रसाद सम्भवतः सबभन्दा बढी आफ्ना ‘आदर्श पात्र’ गणेशमानलाई सम्झ्ँिदा हुन् । नियति पात्रले उत्तराधिकारी भेट्टाउँदैनन् । अधुरा जिम्मेवारीहरू अलपत्र छोडेर हिँड्नुपर्ने बाध्यता प्रत्येक ऐतिहासिक व्यक्तिको अन्तिम परिणति हुने गर्दछ ।

अधुरा कार्यसूची

ग्रीक त्रासदीका महानायकहरू मिश्रित भाव उत्पन्न गराएर विलीन हुन्छन् । सबभन्दा पहिले तिनका अन्तरनिहित कमजोरीहरू देखिन्छन् अनि लाग्छ तिनको अवनति निश्चित छ । त्यसपछि अख्खडपना उत्पन्न हुन्छ । हो, ‘के नै हुन्छ र मैले जे गरे पनि !’ भन्ने जस्तो लापरबाही । पतनोन्मुख स्वभाव प्रदर्शित हुन थाल्दछ । अनि त पालो आउँछ एउटा यस्तो दुर्भाग्यपूर्ण परिस्थितिको जसबाट जोगिनै सकिँदैन । अन्ततः पाठक वा दर्शक करुणा वा भय मिश्रित प्रभावले अभिभूत हुन्छन् । त्रासदीको महानायकले सार्वजनिक काल्पनिकीमा निरन्तरता पाउँछ ।

बीपीको जीवनकालमा गिरिजाप्रसादको भूमिका सहयोगी पात्रमा सीमित रह्यो । विकल्प गणेशमान वा सुवर्ण शमशेर जस्ताले प्रस्तुत गर्दथे, निर्णय बीपीको हुन्थ्यो । २०१७ सालपछि दिल्ली र दरबार दुवै विपरित भएका वेला काङ्ग्रेसलाई जोगाउने जुझरुपन बाहेक अरू कुनै बाटो थिएन । बीपीको अवसानपछि भने गिरिजाप्रसादले व्यावहारिक राजनीतिको स्वतन्त्र बाटो पहिल्याउन शुरु गरे । गणेशमानको नाम र उपस्थिति मात्र पर्याप्त थियो, सङ्घर्षका लागि । कृष्णप्रसाद भट्टराई भक्तियोगका अनुरागी थिए, र; राजनीतिको अर्थ, धर्म र नीतिअनुसारको वक्तव्य जारी गर्नु हो भन्ने धारणा राख्दथे । काङ्ग्रेसलाई गाउँ–गाउँमा पु¥याउने जिम्मा गिरिजाप्रसादले आफ्ना सेनामेनाका साथ सम्हाले । २०४६ को जनआन्दोलन सम्भवतः शीतयुद्ध समाप्तिका असरहरूले गर्दा पनि छोटो अवधिमा सफल भएको हो । तर, त्यसपछि २०४८ सालको निर्वाचन परिणाम गिरिजाप्रसादको अथक् राजनीतिक परिश्रमको उपलब्धि थियो । त्यसैले उनी प्रधानमन्त्री भए । र, उजागर हुन शुरु भए उनका अन्तरनिहित दुर्बलताहरू ।

स्वजनवाद पनि राजनेताहरूका लागि विनाशकारी नै ठहरिने गर्दछ । भाइ, भतिजा वा भान्जाभान्जीहरू आफ्नो फाइदाका लागि घरमूलीको नाम वा प्रभाव भजाउन कत्ति पनि धक मान्दैनन् । तर, घरमूलीको पतनले तिनको आफ्नो समेत अहित हुने हुँदा मर्यादाका सम्पूर्ण सीमारेखाहरू सामान्यतः नाघ्दैनन् । आसेपासे एवं चाटुकारहरू भने जे पनि गर्न तयार हुन्छन् । मूल पात्रले आफ्नो स्थान वा शक्ति गुमायो भने तिनलाई नयाँ आश्रयदाता खोज्न गाह्रो हुँदैन । गिरिजाप्रसादको सबभन्दा ठूलो कमजोरी नै के रह्यो भने उनले आफन्त भन्दा आसेपासेलाई बढी पत्याए । उनी चाटुकारहरूको मोहाविष्टमा परे र आफ्नो आदर्श व्यक्ति गणेशमानसँग टाढिन पुगे । नियतिले कोइरालासँग कठोर बदला लिएको छ । उनलाई गणेशमानसँग टाढा पु¥याउने कोही पनि अहिले उनीसँग छैनन् ।

गणेशमानका राजनीतिक मान्यताहरू सहज बुद्धिमा आधारित थिए— प्रजातन्त्र जोगाउन आर्थिक विकास हुनुपर्दछ । त्यसका लागि शान्ति चाहिन्छ । त्यसैले ‘सस्तो भाउमा बिक्न तयार हुने’ नेपालका वामपन्थीहरूसँग सङ्घर्ष गर्नुभन्दा तिनलाई लोभ्याएर कज्याउन सजिलो हुन्छ । नेपालको जातीय विविधता एवं उत्पीडनको प्रकृतिले गर्दा समावेशी नीतिवेगर राजनीतिक स्थायित्व सम्भव छैन । त्यसैले खासगरेर उत्पीडित जातीय समुदायहरूको प्रतिनिधित्व एवं उपस्थितिलाई बढाउँदै लैजानुपर्दछ । जे जस्तो प्रलोभन पाए पनि दिल्ली र दरबारलाई कुनै हालतमा पत्याउन हुँदैन । तर, लोकादेश र राज्यशक्तिको उन्मादमा कोइरालाले गणेशमानका सहज पाठहरू आत्मसात् गर्न सकेनन् र संसदीय प्रजातन्त्रको दोस्रो प्रयोग दुई–तीन वर्षभित्रै असफल भयो । मध्यावधि निर्वाचनपछिका राजनीतिक प्रहसनहरूले अति दक्षिणपन्थी एवं उग्रवामपन्थी दुवैथरिलाई हौस्याउनु स्वाभाविक थियो ।

भनिन्छ, चौबाटो नाघेपछि जीवन सजिलो बन्न पुग्दछ । प्रतिक्रियावादीहरूको घेरामा बिताइएको प्रजातन्त्र पुनस्र्थापनापछिको तेस्रो निर्वाचन सम्पन्न गराएर सम्भवतः कोइरालाले गम खाए । त्यो बाटो उनको रोजाइको थिएन । तर, त्यस बेलासम्म धेरै ढिला भइसकेको थियो । गणेशमान बितिसकेका थिए । र, राजा वीरेन्द्रको वंशनाशपछि त राष्ट्रको स्वतन्त्र अस्तित्व नै सङ्कटमा पर्ने अवस्था आयो । त्यसबेलाको सचेत नियतिबोध (सेन्स अफ डेस्टिनी) ले गर्दा कोइरालाले अन्ततः युगनेतामा रुपान्तरित हुने अभूतपूर्व अवसर भेट्टाएका हुन् ।

तीन दशकसम्म पञ्चायतको विकृत राजनीति व्यहोरेकाले झ्ण्डै दुई पुस्ताका नेपालीहरूको मानसिकता अझै पनि अविकसित वा अपाहिज अवस्थामै छ । त्यसैले गिरिजाप्रसादको राजनीतिक उँचाइलाई स्वदेशीहरू भन्दा विदेशीहरूले राम्ररी आकलन गरेका छन् । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले त उनलाई आफ्नो ‘हिरो’ नै भने । ज्ञानेन्द्र जस्तो व्यापारिक पृष्ठभूमिका सैनिक शासकलाई सामान्य नागरिकमा तह लगाउने एवं पुष्पकमल दाहाल जस्ता निर्नैतिक राजनीतिक उद्यमीहरूलाई लोकतन्त्रको सीमारेखामा राख्ने उनको जोखिमलाई दुस्साहस भने पनि फरक पर्दैन । त्यही प्रयोगको नियति उनको अवनतिमा प्रकट भएको हो । अधुरो कार्यसूचीले महात्मा गान्धीको ज्यान लियो, बीपी विरक्तिएर बिते र अहिले गिरिजाप्रसाद कोइराला आफ्नो ‘शान्ति प्रक्रिया र संविधान’ रुपी कार्यसूचीलाई अलपत्र बनाइएको दुर्दान्त नियतिका मूक साक्षी भएर बाँच्न अभिशप्त छन् ।

नयाँ सुरुआत

५ मङ्सिर २०६३ मा शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्र.म. गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ।
नियतिले इतिहास बनाउने दोस्रो मौका थोरै मात्र व्यक्तिलाई दिन्छ । शान्ति प्रक्रिया सफल भयो भने कोइरालाको गणना विन्स्टन चर्चिल वा इन्दिरा गान्धी जस्ताहरूको कोटिमा हुनेछ । तर, केही गरी विद्यमान राजनीतिक अन्योल लम्बियो भने पनि कोइरालाका निर्णयहरूको प्रभाव दीर्घकालसम्म रहनेछ ।

काला, सेता, राता वा पहेँला बाबाहरूले जति नै ‘जादू–टूना’ गरे पनि नेपाल अब सांसारिक राज्य भइसक्यो, त्यसलाई राज्यप्रबद्र्धित साम्प्रदायिकतातर्फ फर्काउन सकिँदैन । कोइरालाले गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा मधेशीमूलको व्यक्तिलाई निर्वाचित गराउन सक्ने हिम्मत र हैसियत देखाएकाले राजतन्त्रको पटाक्षेप त भयो नै, राष्ट्रिय एकता समेत मजबूत भयो । माओवादी अध्यक्ष दाहाल वा मधेशीवादी राजनीतिक उद्यमी उपेन्द्र यादव धम्की दिन त सक्षम छन्, तर तिनको व्यक्तिगत एवं समूहगत स्वार्थ पनि अब शान्ति प्रक्रियाको नियतिसँगै जोडिएको छ । त्यसैले ढिलो–छिटो जे जस्तो भए पनि नेपालका सबै खाले राजनीतिकर्मीहरू अन्ततः कोइरालाले पहिल्याएको गोरेटोलाई पछ्याउन बाध्य हुनेछन् । बरु उनको अभिभावकीय भूमिका समाप्त भएपछि स–साना कुरामा बाझबाझ् गर्ने पञ्चायतकालमा दीक्षाप्राप्त गरेका राजनीतिकर्मीहरू जिम्मेवार व्यवहार प्रदर्शन गर्न बाध्य हुनेछन् ।

दार्शनिक अरस्तुका अनुसार ग्रीक त्रासदीका महानायकहरू न त पूर्णतः सफल हुन्छन्, न पूरै बेकम्मा; न तिनको क्षमतालाई दोष दिन मिल्छ, न त इच्छाशक्ति कमजोर थियो भन्न सकिन्छ । परिस्थितिले भने तिनका कमजोरीलाई उजागर गरेको हुन सक्दछ । गलत निर्णय लिन बाध्य तुल्याएको हुन सक्छ । त्यसैले तिनको पतन पनि उत्थान जस्तै नियतिको खेल नै हो । त्यस्तो भवितव्यबाट भगवान नमान्ने गिरिजाप्रसाद पनि मुक्त छैनन् । सम्भवतः युरोप–अमेरिका पढेका ‘टेक्नोक्र्याटहरू’ को लहलहैमा लागेर राजनीतिबाट खारिएका जैविक बुद्धिजीवीहरू (अर्गानिक इन्टेलेक्चुअल) को बेवास्ता गर्नु उनको प्रारम्भिक भूल थियो । आयातीत अर्थ राजनीतिका सिद्धान्तहरू आँखा चिम्लेर पछ्याएकाले नेपालमा गरिखाने र हुनेखाने वर्गबीचको असमानता एसिया महादेशमा सबभन्दा बढी छ । गाउँहरूको बेहाल छ, सम्पत्ति जति राजधानीलगायतका शहरहरूमा थुप्रिएको छ । नेपाली काङ्ग्रेसले समाजवाद शब्दको उच्चारण समेत गर्नु क्रूर ठट्टा जस्तो बन्न पुगेको छ ।

कोइरालाको दोस्रो कमजोरी उनका सहयोगीहरूको छनोटबाट उजागर भयो । उनले अगाडि बढाएका सबै सहयोगीहरू उनलाई अप्ठ्यारो पर्दा प्रतिद्वन्द्वी भइसकेका थिए । जिन्दगी दिएको राजनीतिक दलभित्र अन्ततः यसरी एक्लिनुपर्ने अवस्था कमै मात्र राजनेताले व्यहोर्नुपर्ने हुन्छ । एउटा उदाहरण भारतको आपतकालीन अवस्थापछि जयप्रकाश नारायणको एक्लोपनामा भेट्टाउन सकिन्छ ।

मार्च १९७९ तिरको कुरा हो । बम्बईको जसलोक अस्पतालमा उपचार गराइरहेका जयप्रकाश नारायणको देहावसान भएको चर्चा चल्यो । तत्कालीन प्रधानमन्त्री मोरारजी देशाइले संसद्मा जयप्रकाशको मृत्युको बारेमा वक्तव्य दिए । प्रसङ्ग थाहा पाएपछि भनिन्छ जेपीको छोटो प्रतिक्रिया थियो, “उपयोगिता समाप्त भएपछि अब म सत्तासीन गठबन्धनका लागि बाधा बन्न पुगेको रहेछु । त्यसैले सबै व्यग्रताका साथ मेरो मृत्युको प्रतीक्षा गरिरहेका छन् ।”

ऐतिहासिक पात्रहरूको मूल्याङ्कन भावी पुस्ताले गर्दछन् । कोइरालाको सान्दर्भिकता अझ्ै समाप्त भएको छैन । उनी १२ बुँदे नयाँदिल्ली समझ्दारीबाट अझ् एक कदम अगाडि बढेर माओवादीहरूलाई सभ्य र शान्तिपूर्ण राजनीतिमा बाँध्ने अन्तिम प्रयत्न गर्न सक्षम छन् । तर राजनीतिक लाभका लागि लोकतन्त्रका आधारभूत मान्यताहरूका बारेमा पनि सम्झैता गर्न धक नमान्ने काङ्ग्रेस वा एमालेका पञ्चायत पुस्ताका नेताहरूमा त्यस्तो ‘बाघको सवारी’ गर्ने हिम्मत छैन । उनका जुत्ताभित्र खुट्टा हाल्न हानाथाप गरिरहेकाहरूले २०६२ सालको शंखघोष सम्झ्े हुन्छः ‘समझ्दारी जोसँग पनि हुन सक्छ, सम्झैता अब कसैसँग हुँदैन ।’

राजनीतिक अडानका आख्यान लेख्नेहरूले आजकलका पिपलपाते नेताहरूभन्दा गिरिजाप्रसादलाई फरक ढङ्गले सम्झ्निे छन् । ग्रीक त्रासदीका नायकहरू जस्तै उनी इतिहासभन्दा पनि सार्वजनिक सम्झ्नामा सम्भवतः यसरी स्थान पाउने छन्ः “एकातिर हृदयहीन सम्राट, अर्काेतिर भावशून्य बन्दूके विद्रोही, जसले दुवैथरीको दुस्साहसी प्रगोगबाट एउटा मुलुकको स्वतन्त्र अस्तित्वलाई जोगायो । नियति, ऊ स्वयं भने त्यसपछिको विवादको हँुडरीबाट जोगिन सकेन ।” अवनति नै अन्ततः महानायकहरूको अन्तिम नियति हो । गिरिजाप्रसादका अनुभवहरूले एउटा पुरानो उक्तिलाई पुनः सावित गरेको छ, “हे ईश्वर, मलाई मेरा मित्रहरूबाट जोगाऊ, शत्रुहरूलाई म आफैँ सम्हाल्न सक्छु ।”

comments powered by Disqus

रमझम