१–१५ चैत २०६६ | 14-28 March 2010

बि–बोइङको बहार

Share:
  
- सुमित्रा राई
ज्यान बनाउन युवाहरू डान्स सेन्टरतिर आकर्षित हुन थालेका छन् ।

तस्वीरहरुः मीनरत्न बज्राचार्य
काठमाडौं बसन्तपुरका विकास मोक्तान (१९) एक प्रकारको ब्रेक डान्स ‘बि–बोइङ’ गर्न नेपाल स्पोर्टस् डान्स ट्रेनिङ सेन्टर, दरबारमार्ग जान थालेको नौ महिना भयो । यसअघि उनी फिटनेस सेन्टर जान्थे । सोख फेर्नुको कारण खुलाउँदै उनी भन्छन्, “बि–बोइङले फिटनेस सेन्टरमा गर्न पाइने जिमसँगै डान्सको मज्जा पनि दिँदो रहेछ ।”

हो, राजधानीमा हिजोआज इयरफोन लगाएर अङ्ग्रेजी सङ्गीतको तालमा खुट्टा हल्लाउँदै हिँड्ने युवाहरूको आकर्षण बि–बोइङतिर बढ्दो छ । अरू नाचभन्दा नयाँ, फरक र शारीरिक व्यायामसमेत हुने भएकाले युवाहरूबीच यो नाच लोकप्रिय भइरहेको विकास बताउँछन् । सन् १९६० को दशकतिर सडकमा मानिसहरूलाई मनोरञ्जन दिएर पैसा माग्ने केही अश्वेत अमेरिकी युवाले प्रदर्शन गरेका खुट्टाको विभिन्न हाउभाउ नै अहिले बि–बोइङको रूपमा चम्केको छ । जी–टीभीबाट प्रसारित ‘डान्स इन्डिया डान्स’ मा बि–बोइङ प्रस्तुत गरेर नेपाली मूलका भारतीय साजन सिंह खुबै चर्चित भएका छन् (हे.बक्स) ।

कतिपयले हिपहपमा आधारित ब्रेक डान्स पनि भन्ने गरेको बि–बोइङ सङ्गीतको तालमा कम्मर मर्काउने, हात र टाउको टेकेर उभिँदै ‘बडी फ्रिज’ गर्ने, टाउकोमा अडिएर फनन घुम्ने आदि शैलीमा विकसित भएको छ । मादलको ताल र सारङ्गीको धुनमा पनि बि–बोइङ हुन्छ । सङ्गीतमै पक्ष–विपक्षबीच प्रतियोगिता हुन्छ । गत वर्षदेखि लहरै आएको बि–बोइङको प्रवद्र्धनका लागि स्पोर्टस् डान्स ट्रेनिङ सेन्टरले ‘ब्याटल अफ द इयर नेपाल’ आयोजना गर्दैछ । बि–बोइङको लत बसेका विकास मोक्तान १० जना साथीका साथ ‘हेल्दी युथ, न्यु हेल्दी नेपाल’ कार्यक्रम लिएर काठमाडौंका विभिन्न स्थानमा यो नाचको प्रचार गरिरहेका छन् ।

प्रशिक्षक दीपेन्द्र शाही ठकुरी मनोरञ्जनसँगै व्यायाम हुने भएकाले बि–बोइङ नेपाली युवामाझ् कम समयमै लोकप्रिय भएको बताउँछन् । बि–बोइङ गर्ने युवाहरू मनोरञ्जनसँगै दैनिक कार्य क्षमता र शारीरिक लचकता बढेको सुनाउँछन् । उनीहरूका अनुसार यो नाच नाचेपछि शरीरका मांसपेशी र जोर्नीहरू बलिया हुन्छन् । स्वस्थ रहन बि–बोइङ सिकेकी काठमाडौं नयाँसडककी जेनिसा डङ्गोल (१८) अन्य साथीहरू हेरी आफू फिट भएको बताउँछिन् । नियमित बि–बोइङ गर्दा हुने हात, खुट्टा, पेटको व्यायामले मोटोपनको चिन्ता नरहने उनी बताउँछिन् ।

लाजिम्पाटकी एलिना पाख्रिन (२०) लाई बि–बोइङले योग र एरोविक्सले दिने फाइदा दिएको छ । नेपालमा डान्स सेन्टर धाउने युवा–युवतीमध्ये करिब ७० प्रतिशत विदेशी नाच सिक्छन्, जुन नेपाली नाचभन्दा महँगो छ । यस्तोमा साल्सा, साम्वा, ट्याङगो, रुम्वा, हिपहप डान्स बढी चलेको साल्सा एकाडेमीका सञ्चालक विनायक श्रेष्ठ बताउँछन् । सन् २००८ मा बेलायतका अनुसन्धानकर्ताहरूले गरेको सर्वेक्षणबाट अन्य युवाको तुलनामा साल्सा गर्नेहरूमा मानसिक तनाव कम हुने गरेको निष्कर्ष निस्केको थियो ।

नेपालमा स्वास्थ्यकर्मीहरूको परामर्शमा साल्सा डान्स गर्नेहरू पनि छन् (हे.बक्स) । फिजिसियन डा. राजेन्द्र पन्त युवा वर्गमा अहिले बढ्दै गएको मधुमेह, उच्च रक्तचाप र मानसिक तनाव नियन्त्रणका लागि डान्स एउटा सजिलो माध्यम बनेको बताउँछन् । उनका अनुसार दैनिक १० देखि १५ मिनेट पसिना निस्कने गरी डान्स गर्दा स्वास्थ्यलाई प्रत्यक्ष फाइदा पुग्छ । यसरी डान्स गर्नेहरूलाई अन्य किसिमको शारीरिक व्यायाम आवश्यक पर्दैन । डा. पन्त भन्छन्, “पसिना निकाल्ने व्यवस्थित डान्सले पाचन क्षमता, श्वासप्रश्वास प्रणाली र हाडजोर्नी बलियो बनाउनुका साथै मानसिक तनाव समेत घटाउँछ ।”

यिनै फाइदा देखेर ६ महिनादेखि रेज फिटनेस सेन्टरले साल्सा सिकाउन थालेको छ । कडा व्यायाम जस्तै भएकाले साल्सा सिक्न आउनेमा युवाहरू बढी छन् । जोडी मिलेर गर्नुपर्ने साल्सा डान्स थाल्नुअघि हात, खुट्टाको सामान्य कसरत गर्नुपर्छ । सङ्गीतको सुरमा होसियारी भएन भने हातखुट्टा भाँचिन सक्छ । रेज फिटनेसका सञ्चालक सन्देश पालुङ्वा साल्सा र बि–बोइङ डान्स गर्नेहरूको दैनिक भोजन पनि सन्तुलित हुनुपर्ने बताउँछन् । डान्सपछिको थकानबाट पुनर्ताजगी पाउन लामो समय लागेमा खाना सन्तुलित नभएको वा नपुगेको थाहा पाउनुपर्छ । यी नाच नाच्नेले धेरै चिल्लो, गुलियो नभएको प्रोटिनयुक्त खाना र ग्लुकोज पानी खानुपर्छ ।

यस्ता नाचमा सामाजिक अनुशासनलाई निकै महŒव दिइन्छ । बि–बोइङ गर्दा एकअर्कालाई छुनुहँुदैन । अहिले १० देखि ३२ वर्ष उमेर समूहका युवालाई व्यावसायिक रूपमा बि–बोइङ सिकाइरहेको नेपालको पहिलो बि–बोइङ डान्स सेन्टर नेपाल स्पोर्टस् डान्स ट्रेनिङ सेन्टरका सञ्चालक उषा गुरुङ यसलाई गाह्रो कला भन्छिन् ।


डीआईडी मा नेपाली

भारतको जी टेलिभिजनबाट प्रसारण हुने नृत्य प्रतियोगिता डान्स इन्डिया डान्स (डीआईडी) को दोस्रो संस्करणमा नेपाली मूलका साजन सिंह (१९) बि–वोइङ कला देखाउँदै उत्कृष्ट १० मा पुगेका छन् । पंजाब निवासी साजनले दाजुले डान्स गरेको देखेर घरैमा ५ वर्षदेखि बि–वोइङ सिक्दै आएका थिए । पञ्चाबका बि–वोइङ स्टार मानिने उनले प्रतियोगितामा बि–वोइङ र हिपहपसँगै सबै किसिमका डान्समा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । नेपालीहरुको एसएमएस भोटिङले इण्डियन आइडलमा प्रशान्त तामाङले पाएको विजयकै कारण पनि उनले नेपाली भाषामै भोट मागेर नेपाली दर्शकको ध्यान तान्दै आएका छन् ।


‘साल्साबाट स्वस्थ’

– अनुराधा तुलाधर

म काठमाडौंको लाजिम्पाटमा बस्छु । मैले भाटभटेनीको साल्सा एकाडेमीमा डान्स सिक्न थालेको ६ महिना भयो । मधुमेह र उच्च रक्तचाप भएकी मलाई एक स्वास्थ्यकर्मी साथीले डान्स गर्ने सल्लाह दिएपछि ४४ वर्षको उमेरमा साल्सा सिक्न थालेकी हुँ । शुरुमा त डान्सले रोग निको होला जस्तो लागेको थिएन, तर तीन महिनापछि विस्तारै परिवर्तन आउन थाल्यो । अहिले एकदम स्वस्थ्य छु । म त यसलाई चमत्कार नै भन्छु । अहिले घरबाट हिँडेरै भाटभटेनी पुग्छु र दैनिक एक घण्टा नाच्छु । बेलैमा नाचमा नलागेको भए यतिखेर औषधि खाँदै अस्पतालको बेडमा लडिरहेको हुन्थें होला ।

comments powered by Disqus

रमझम