१–१५ चैत २०६६ | 14-28 March 2010

हिमालले आवाद देश यो हिंसाले बर्बाद छ

Share:
  

यताउता जताततै दङ्गा छ, फसाद छ

हिमालले आवाद देश यो, हिंसाले बर्बाद छ ।

गम्भीर यक्ष प्रश्न छ मेरो, प्रिय जनता जवाफ दिनुस्

मर्ने नेपाली मार्ने नेपाली, फेरि कसको जिन्दावाद छ ?

हिमालले आवाद देश यो, हिंसाले बर्बाद छ ।

खान गोली, हान्न गोली, लाशसँगै छितरेका गोली

गोली–गोली–गोली–गोली, जताततै आजभोलि

साउनको वर्षा झैं गोली, गोलीका लागि पनि गोली

शान्तिको पनि रित्तियो झेली, क्रान्तिको पनि च्यात्तियो सोली

गोली हान्न गठन छ टोली, खेलिरहेका रगतको होली

गोली हान्नु भयो ठट्यौली, जस्तै उनको हक पुख्र्यौली

गम्भीर यक्ष प्रश्न छ मेरो, प्रिय जनता जवाफ दिनुस्

मर्ने नेपाली मार्ने नेपाली, फेरि कसको जिन्दावाद छ ?

हिमालले आवाद देश यो, हिंसाले बर्बाद छ ।

सत्तावादले यहाँ सबैलाई, लाग्यो सत्ता स्वाद छ

बुद्ध, सीताको जन्मथलोमा, यो कस्तो आर्तनाद छ

भष्मासुर हामी स्वयं भयौं किन, कसको आशीर्वाद छ

गम्भीर यक्ष प्रश्न छ मेरो, प्रिय जनता जवाफ दिनुस्

मर्ने नेपाली मार्ने नेपाली, फेरि कसको जिन्दावाद छ ?

हिमालले आवाद देश यो, हिंसाले बर्बाद छ ।

लक्ष्मण नेवटिया

comments powered by Disqus

रमझम