१ वैशाख २०७० | 14 April 2013

सगरमाथामा फेरि उड्दा

Share:
  

तस्वीर: कुन्द दीक्षित
सन् १९३३ मा सगरमाथामाथि पहिलो पटक जहाज उडाएका डगलस डगलस–ह्यामिल्टनका नातिले ८० वर्षपछि त्यसैगरी उडेर हजुरबुबालाई सम्झिए। ऊ बेला सगरमाथाको चुचुरोलाई स्कटल्याण्डमा बनेका दुईवटा 'वेस्टल्याण्ड–वालेस' विमानले फन्को मारेका थिए। ती विमानका पाइलटमध्ये एक ह्यामिल्टनका नाति चार्ल्स यती एयरको जेटस्ट्रिम–४१ मा २१ चैत, बुधबार काठमाडौंबाट सगरमाथासम्म उडे।

सन् १९३३ मा खुल्ला ककपिट भएका 'वेस्टल्याण्ड–वालेस' विमानहरु बिहारको पूर्णियाबाट उडेर ८८४८ मिटर अग्लो चुचुरोको फन्को मारी फर्किएका थिए। सगरमाथाको उत्तरपश्चिम आकाशमा ती विमान उड्दै गरेको तस्वीर त्यसबेला उड्डयन र पर्वतारोहणका क्षेत्रमा प्रतीक बनेको थियो। त्यो ऐतिहासिक उडान 'पावर्ड फ्लाइट' आविष्कार भएको करीब ३० वर्ष अनि जर्ज मेलोरी र एन्ड्रयु स्याण्डी अरभाइन सगरमाथामा हराएको ९ वर्षपछि गरिएको थियो। ह्यामिल्टनको काम मेलोरी र अरभाइनले सगरमाथाको सफल आरोहण गरे वा गरेनन् भन्ने पुष्टि गर्नु पनि थियो। त्यो उडानले धेरै माथिबाट विमान उडाउँदा आवश्यक तापमान, अक्सिजन र प्रेसराइजेशनबारे नयाँ अनुभवका साथै हिमालयको नक्सांकनमा समेत सहयोग पुर्‍याएको थियो।

अमेरिकी पाइलटहरुले उत्तरी र दक्षिणी ध्रुवमा उडान भरिसकेको त्यो बेला बेलायतलाई उड्डयन क्षेत्रमा नयाँ रेकर्ड कायम गर्नु महत्वपूर्ण थियो। सगरमाथाको फन्को लगाउने दुईवटा ब्रिटिस विमानलाई अधिक उचाइमा उड्नका लागि परिष्कृत गरेपछि पानीजहाजबाट कराँची (हाल पाकिस्तानमा) सम्म ल्याइएको थियो। त्यसबेला बनाइएको साहसिक उडानको श्यामश्वेत फिल्ममा अक्सिजनको कमि भए, विमानको इञ्जिनको तामक्रम स्थिर राख्ने प्रणालीमा खराबी आएमा के गर्ने र प्यारासुट सँगै लग्ने कि नलग्ने भन्नेबारेको संवाद रोचक छ। आखिरमा उनीहरूले विमानको तौल नबढाउन प्यारासुट लगेनन्।

मौसम ठीक होउञ्जेलसम्म पर्खेका चालक दलका सदस्यहरूले १०० नटिकल माइल गतिको पश्चिमी हावा छिचोल्दै सगरमाथा नजिकै पुग्दा माइनस ५० डिग्री सेल्सियस तापक्रम मापन गरेका थिए। पश्चिमबाट फन्को मार्दै विमानलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर माथिसम्म पुर्‍याउँदा पाइलटहरूले मेलोरीको कुनै निशान देखेनन्। आखिरमा अक्सिजन ट्युब र सर्वेक्षण क्यामराले काम नगर्ने भएपछि ती साहसी पाइलटहरू लण्डनको निर्देशन उल्लंघन गर्दै फेरि अर्को फन्को लगाएर फर्किएका थिए। उनीहरूले खिचेको सगरमाथाको दक्षिणी पाटोको तस्वीरले त्यसको २० वर्षपछि एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पालाई सगरमाथाको टाकुरा पुग्न सजिलो बनायो।

अहिले यती एअरलाइन्सले उडाउने ३० सीटे बीएई जेटस्ट्रिम–४१ विमान ह्यामिल्टनले सगरमाथा उडानबाट फर्केपछि स्कटल्याण्डको ग्लास्गोमा स्थापना गरेका प्रेस्टविक कम्पनीमा निर्माण भएका हुन्। २१ चैतमा चार्ल्स ह्यामिल्टनलाई माउण्टेन फ्लाइटमा लिएर गएको यतीको उडानमा भने खुल्ला ककपिट थिएन। आधुनिक जेटस्ट्रिम विमानमा प्रेसर, अक्सिजन र हिटिङ व्यवस्थाको चिन्ता पनि थिएन।

कुन्द दीक्षित


यस वर्ष सगरमाथा सम्बन्धी तीन उत्सव

सगरमाथामाथि विमान उडेको ८०औं वार्षिकोत्सव

सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सव

अमेरिकी नागरिकले सगरमाथाको सफल आरोहण गरेको ५०औं वार्षिकोत्सव

comments powered by Disqus

रमझम