२०४७ मा नारायण संगीत प्रतिष्ठान स्थापना गरेर नेपाली शास्त्रीय संगीतको श्रीवृद्धिमा लागेकी सरिताले हरेक १ गते शास्त्रीय संगीत कार्यक्रमको मेसो बसाइन्, देशव्यापी प्रशिक्षण/प्रतियोगिताहरु आयोजना गरिन् र गुरुहरुलाई अभिनन्दन गर्ने चलन झिकिन्। पशुपतिमा किराँतेश्वर संगीत आश्रम स्थापनामा पनि उनको विशेष भूमिका रह्यो। उनी अहिले पनि त्यसको महासचिवको रुपमा क्रियाशील छिन्। नेपाली शास्त्रीय संगीतको प्रबर्द्धनमा किराँतेश्वर आश्रमको योगदान भनिरहनुपर्दैन।
गएको चार वर्षदेखि उनी द्वन्द्वपीडित/बेसहारा बालबालिकालाई निःशुल्क संगीत शिक्षा दिइरहेकी छन्, नाद संगीत पाठशालामार्फत। गौरीघाटस्थित नाद चेली सांगीतिक समूहले संचालन गरेको हो, जसको अध्यक्ष सरिता हुन्। नादमा अहिले ७० जना बालबालिकालाई ६ वर्षसम्म संगीत प्रशिक्षण दिने व्यवस्था छ। सरिता भन्छिन्, “त्यसपछि उनीहरु आत्मनिर्भर बन्न सक्छन् भन्ने सोच हो।”
नाद संगीत पाठशालामा डा. रीता थापा, रवीन्द्र पुरी, निश्चल राज पाण्डे, अञ्जना पौडेल, विमल फुयाल, संगीता लामा, रम्यता लिम्बू, चन्द्र माला शर्मा लगायतले व्यक्तिगत र संस्थागत सहयोग गरेको सरिताले बताइन्। यो स्कूलमा अन्य इच्छुकहरुका लागि सशुल्क संगीत कक्षा पनि संचालित छ, तर शनिबार–शनिबार मात्र। “पैसाको पछि लाग्ने हो भने म म्युजिक स्कूल खोलेर प्रशस्तै कमाउन सक्छु” पद्मकन्या क्याम्पसमा संगीतकै अध्यापन गरिरहेकी सरिता भन्छिन्, “तर मलाई यो क्षेत्रमा केही गर्नु छ।”
सरिताका अनुसार, शास्त्रीय संगीत सबैखाले गीत/संगीतको आधार मात्र नभई आत्मा र परमात्माबीचको पुल पनि हो। तर, आत्मरञ्जना र गुणस्तर हासिल गर्न साधना अनिवार्य छ। यसको गहिरो साधनाबाट राम्रो गीतसंगीत सिर्जना हुन्छ। “तर अहिले विना साधना तल्कालै चर्चा खोज्ने बजारमुखी प्रवृत्ति हावी छ”, सरिताको भनाइ छ, “परिणाम नेपाली गीतसंगीतमा कालजयी सिर्जनाहरु आउन सकेका छ्रैनन्।”