८ बैशाख २०७० | 21 April 2013

लाचार नेतृत्व

Share:
  

हिमाल (१ वैशाख) मा प्रकाशित 'अन्तर्वार्ता' मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले लोकतन्त्रका पक्षमा आफू स्पष्ट रूपले प्रतिबद्ध हुँदा कार्यकर्ता भड्किने भएकाले आफ्नो कुरा खोलेर भन्न नसकेको बताएका छन्। यसबाट उनी मनका कुरा खोलेर नभन्ने कुटिल नेता भएको प्रष्ट हुन्छ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४६ सालमा सशस्त्र क्रान्ति र साम्यवादको नीतिबाट दीक्षित पार्टीलाई एकै झ्ट्कामा लोकतान्त्रिक पद्धतिमा ढालेका थिए। उनले हिम्मतका साथ 'जनताको बहुदलीय जनवाद' नामक नयाँ नीति लिएर आए। एमालेलाई फरक धारमा लैजाने उनको नीति लोकप्रिय भयो, कार्यकर्ता भड्किएनन्। जिब्रो नचपाई स्पष्ट कुरा गर्दा कार्यकर्ता घट्दैनन् भन्ने कुरा प्रचण्डले बुझन सक्नुपर्छ। कार्यकर्ताले साथ छाड्ने डरले विवेकले देखेको कुरा भन्न नसक्नु लाचारी हो, नेतृत्व क्षमता होइन।

मुना आचार्य, विराटनगर– ११

हाम्रा पीडा सुनियोस्

कर्णाली कर्णालीतिर, भेरी भेरीतिर

म एक्लो डाँडाको मृग, कोही नाइँ मेरी तिर।

बाजुराको पूर्वी र मुगुको पश्चिमी क्षेत्रको स्थलगत भ्रमण गरी तयार पारेको हिमाल खबरपत्रिकामा प्रकाशित 'न भात न उपचार' शीर्षकको समाचार र तस्वीर हेर्दा माथिको देउडा गीत स्मरण हुन्छ। नयाँ नेपाल बनाउने भन्दै तिनै गरीब र सीमान्तकृत समुदायको दुहाई दिएर व्यक्तिहत्या गर्ने तथा आर्थिक, सामाजिक रूपान्तरणका नाममा खर्बौंको खोलो बगाउने नेता नायक होइनन्, खलनायक हुन्।

हराभरा भविष्य बनाउने उमेरमा भात खान दशौं दिन गधा झै जोतिनुपर्ने, बिरामी हुँदा सामान्य ओखतीमुलो नपाएर अकालमा मर्नुपर्ने अवस्थाको समाचारले नीतिनिर्माताहरूलाई लाज लाग्नुपर्ने हो। भात खान संघर्ष गर्नुपर्ने कर्णाली तथा सुदूरपश्चिमवासीलाई संविधानसभा चुनावको नारा 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' जस्तै भएको छ। कर्णालीका गरीब निमुखा जनताको नाममा राजनीति र विकासको व्यापार गर्ने नक्कली सुकिलामुकिलाहरूले न्यायको कठघरामा ढिलै भए पनि एक दिन उभिनै पर्नेछ।

ई. वलिराज मल्ल, सेरी–८, मुगु

धनुषावासी साक्षी छन्

हिमाल (२५ चैत) को आवरण 'मिथिलामा माफियाराज' प्रति मेरो गम्भीर असहमति छ। समाचारमा भनेजस्तो मेरो परिवारको आर्थिक स्थिति कमजोर होइन, ब्यापारी बुबाबाट प्रभावित भएर मैले पहिलेदेखि नै व्यापार शुरू गरेको हुँ। यसैगरी, मलाई दुई जनाको हत्या अभियोगमा फँसाइए पनि मैले अदालतबाट सफाइ पाइसकेकाले त्यो विषय उचालिरहनु उपयुक्त हुँदैन। गत संविधानसभा चुनावमा 'मनी' र 'मसल' प्रयोग गरेर नभई जनमतबाट विजयी भएको स्वयं धनुषावासी साक्षी छन्।

विगत कैयौं वर्षदेखि धनुषामा माफियाराज चलाइरहेका जिविस धनुषाका भ्रष्ट सहलेखापाल जीवनाथ चौधरीसँग मलाई दाँजेर समाचार बनाइएकोमा मेरो गम्भीर आपत्ति छ। डेढ दशकदेखि जिल्लाको विकास बजेटमा मनपरी गरेका चौधरीको विरोध गर्दै आएको मलाई उनी जस्तै देखाउन खोज्नु भ्रष्टाचार विरोधी मेरो अभियानलाई कमजोर बनाउने चालबाजी सिवाय अरू केही होइन।

सञ्जय साह, पूर्व राज्यमन्त्री तथा सभासद्, धनुषा

comments powered by Disqus

रमझम