८ बैशाख २०७० | 21 April 2013

'युवा र प्रविधिलाई जोडौं'

Share:
  

२७ चैतमा काठमाडौंमा शुरू भएको पाँच दिनसम्म चल्ने 'सामसुङ ग्यालेक्सी ग्राण्ड आईसीटी इलेक्ट्रोनिक्स ब्राण्डिङ एक्स्पो' को आयोजक सूचनाप्रविधि संघका अध्यक्ष शिशिर उपाध्याय भन्छन्, “सरकार र निजी क्षेत्रको संयुक्त प्रयास विना सूचनाप्रविधिमा फड्को मार्न सकिंदैन।”

क्स्पो आयोजना गर्नुको उद्देश्य के हो?

विभिन्न ब्राण्डको प्रमोशन गर्नु एक्स्पोको मुख्य उद्देश्य हो। सूचनाप्रविधिबारे आम मानिसलाई जानकारी गराउने र सामान बिक्री गर्ने त छँदैछ।

यो एक्स्पोका विशेषता के हुन्?

युवाहरूलाई सूचनाप्रविधिबारे 'टच एण्ड फिल' गराउने लक्ष्य राखेर एसएलसी दिएका विद्यार्थीलाई निःशुल्क प्रवेश दिएका छौं। युवा पुस्तालाई प्रविधिसँग जोड्ने हाम्रो उद्देश्य हो। एक्स्पोमा नयाँ–नयाँ मोडलका ल्यापटप, मोबाइल, पावर सोलुसन, मोनिटर, प्रोजेक्टर, इन्टरनेट सेवा, नेटवर्क सिस्टम, सेक्युरिटी सिस्टमका स्टल छन्।

स्टक रहेका सामान बेच्न एक्स्पो गरिएको भनिन्छ नि!

सोह्रै आना गलत। वस्तु आयात गरेर बेच्ने हामी जस्ता व्यापारीले कुनै पनि सामान लामो समयसम्म राख्दैनन्। अहिलेका सचेत उपभोक्तालाई स्टकको सामान बेच्न सम्भव पनि हुँदैन।

एप्पललगायतका कम्पनीको आधिकारिक डिलर यहाँ नहुँदा समयमै नयाँ प्रविधि प्रयोग गर्न उपभोक्ता वञ्चित भइरहेका छन् भनिन्छ, हो?

एप्पल र सफ्टवेयर कम्पनीहरूको नेपालमा आधिकारिक डिलर नभएकाले रिसेलरले तिनका सामान बेच्छन्। तर, सामान ढिलो आउनुमा व्यापारीहरू भन्दा सरकार नै बढी जिम्मेवार छ। कम बिजकीकरण भयो भनेर भन्सारमा सामान धेरै समय अल्मल्याउने परम्परा छ।

सूचनाप्रविधिको क्षेत्रमा नेपाल पछि परे जस्तो लाग्दैन?

नयाँ रणनीति र योजनासहित अगाडि नबढेसम्म सूचनाप्रविधिमा विकसित देशसँग प्रतिस्पर्धा गर्न सकिंदैन। त्यसका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास अनिवार्य हुन्छ। हामीले दिएका यस्ता सुझाव सरकारले अहिलेसम्म मानेको छैन।

comments powered by Disqus

रमझम