८ बैशाख २०७० | 21 April 2013

बाल्यकालमै आमा हुनेहरू

Share:
  

तस्वीरः छेटु शेर्पा
नुम–४, संखुवासभाका बालआमाहरु बच्चा खेलाएर बस्दै। १६ वर्षीया सीता बिक (बायाँ)
तीन वर्षअघि विवाह बन्धनमा बाँधिएका संखुवासभाको नुम गाविस―४ का सीता बिक (१६) र लीलाबहादुर (१४) को १४ महीनाकी छोरी छिन्। ३ कक्षा पढ्दापढ्दै विवाह भएपछि स्कूल जान छाडेकी उनी अहिले छोरी सदीक्षाको स्याहारसुसारमा लागेकी छिन्। केटाकेटी उमेरमै विवाह गरेर छोराछोरी स्याहारिरहेका सीता जस्तै आमा बनेकाहरू यो गाविससँगै जिल्लाका जलजाल, वाला, सिसुवा, ताम्कु, माङतेवा र याफुमा अत्यधिक भेटिन्छन्।

नुम गाविसका ८०२ जना महिलामा १० वर्षदेखि १९ वर्षका महिला ५१९ जना छन्। जसमा, विवाहितको संख्या ४०० भन्दा बढी छ। यो तथ्याङ्कले त्यो क्षेत्रको बालविवाहको डरलाग्दो तस्वीर देखाउँछ।

काम लिन विवाह

बुहारी ल्याउँदा खेतालालाई दिने ज्याला जोगिने भएकाले केटी भेट्नासाथ छोराको विवाह गरिदिने गरेको बताउँछन्, नुम–४ का भीम बिक। जसले भर्खरै १४ वर्षीय छोराको विवाह गरेर बुहारी भित्र्याएका छन्। त्यहींकै सामाजिक कार्यकर्ता तारा गुरुङ छोरीलाई अरूको घरमा पठाउने जात मानेर जतिसक्दो छिटो बिदा गर्न चाहने सामाजिक संस्कारलाई बालविवाह कायम रहनुको अर्काे कारण मान्छन्। यो गाविसमा तामाङ, क्षेत्री, बाहुन, राई र गुरुङ जातिको बसोबास छ।

जिल्ला सदरमुकाम वरपर महिला अधिकार र महिला स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाहरूको चहलपहल देखिए पनि निमसहित बालविवाहको प्रकोप रहेको यो क्षेत्रमा तिनीहरू कोही नआएको बताउँछन्, उनै गुरुङ। महिला अधिकारकर्मी तथा राष्ट्रिय महिला आयोगकी जिल्ला प्रतिनिधि केशकुमारी कार्कीको भनाइ छ, जिल्ला शिक्षा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले त्यो क्षेत्रमा कार्यक्रम लिएर जानुपर्छ। जिल्लाकै महिला अधिकार अनुगमन सञ्जालका अध्यक्ष तथा बरुण बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्ररेखा अधिकारी पनि जनस्वास्थ्य कार्यालयले स्वास्थ्य शिक्षाको बजेटबाट ती गाउँमा कार्यक्रम लैजानु पर्ने बताउँछिन्। तर, महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख भीमा थापाको भनाइ भने अलि भिन्न छ। उनी आफ्नो कार्यालयले महिला सशक्तिकरण र बालबालिकाको क्षेत्रमा सकेको काम गरिरहेको दाबी गर्छिन्।

छेटु शेर्पा, संखुवासभा


नेपालकै गहिरो गुफा

बैतडीको वासुलिङ र भूमेश्वर गाविसको सिमानामा रहेको भुवनश्वेर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा भएको विदेशी विज्ञले बताएका छन्। इन्टरनेशनल सेन्टर फर द एक्सप्लोरेसन अफ द हिमालयज्का अध्यक्ष रहेका गुफा विशेषज्ञ मोरिस दुसेनले गुफाको यकिन गहिराइ, लम्बाइ र अन्य विवरण भने अहिले नै बताउन नसकिने बताए। द्वापर युगमा पाण्डवहरू यही गुफा भएर पाताल गएको जनविश्वास छ। स्कन्द पुराणमा पाताल भुवनेश्वर गुफाको चर्चा गरिएको स्थानीय रघुनाथ भट्ट बताउँछन्।

दुसेनले गुफाकोे करीब ८०० मिटरभित्र पुगेर फर्केपछि पाताल भुवनेश्वर नेपालको सबभन्दा गहिरो हुनसक्ने बताए। उद्धार टीमको अभावमा ८०० मिटर भन्दा भित्र जान नसकेका दुसेनले आगामी डिसेम्बरमा आएर सबै कुरा पत्ता लगाउने बताए। अहिलेसम्म तनहुँको सिद्ध गुफा (६५ मिटर) लाई नेपालको सबभन्दा लामो गुफा मानिंदै आएको थियो। दुसेन अहिलेसम्म १२०० भन्दा बढी साना–ठूला गुफाको अध्ययन–अन्वेषण गरिसकेका विज्ञ हुन्। १० चैत बिहान ८ बजे गुफाभित्र पसेको दुसेनको टोली सवा चार घण्टापछि बाहिर निस्किएको थियो।

दीर्घराज उपाध्याय, बैतडी


राजधानीमा मेडिकल टीमसहितका एम्बुलेन्स

हृदयघात भएका, प्रसूति व्यथाले च्यापेका महिला र सडक वा अन्य दुर्घटनाका सिकिस्त घाइतेलाई तत्काल अस्पताल पुर्‍याउन आपतकालीन उपचार सेवा–सुविधासहितका पाँच एम्बुलेन्स वैशाख २०६८ देखि काठमाडौंमा संचालित छन्। गैरनाफामूलक गैरसरकारी संस्था नेपाल एम्बुलेन्स सेवा (नास) बाट सञ्चालित ती एम्बुलेन्समा चारजनाको मेडिकल टीम सधैं तयारी अवस्थामा रहन्छ। जसले सिकिस्त बिरामीलाई आपतकालीन उपचार गर्दै अस्पताल पुर्‍याउँछ। प्रसूति व्यथा लागेका महिलालाई प्रसूति सेवा दिने सुविधायुक्त यी एम्बुलेन्समा कैयौं महिलाले सुरक्षित रूपमा बच्चा जन्माएका छन्।

यी एम्बुलेन्स सातदोबाटो, गौशाला, महाराजगञ्ज, त्रिपुरेश्वरस्थित प्रहरी कार्यालय परिसर र सीतापाइलास्थित सैनिक ब्यारेकमा हुन्छन्। जसलाई बोलाउन १०२ मा डायल गर्नुपर्छ। “सिकिस्त बिरामीलाई आपतकालीन र अस्पताल पुग्नुअघिको उपचार सेवा नभएकाले सहयोग उठाएर दुइटा एम्बुलेन्स किन्यौं, तिनलाई आपतकालीन उपचार गर्न सक्ने गरी उपकरणयुक्त बनायौं र मेडिकल टीमलाई ट्रेण्ड गरी यो सेवा शुरू गर्‍यौं” नासका संस्थापक महासचिव तथा कार्यकारी निर्देशक महेश नकर्मी भन्छन्।

अमेरिकाबाट आएका प्रोफेसरबाट तीनमहीने आपतकालीन उपचार तालीम पाएका मध्ये उत्कृष्ट ५० जना यी एम्बुलेन्समा 'मेडिकल टीम' का रूपमा परिचालित छन्। कार्यकारी निर्देशक नकर्मी आर्थिक सहयोग जुटेमा यी एम्बुलेन्समा हृदयघात भएका बिरामीका निम्ति 'कार्डियोलोजी' सेवा दिन सकिने जनशक्ति राख्ने योजना रहेको बताउँछन्।

यी एम्बुलेन्सले अहिलेसम्म ६,९९२ जना सिकिस्त बिरामीलाई सेवा दिइसकेका छन्। तिनमा ललितपुरको ग्रामीण क्षेत्रका र बाहिरी जिल्लाबाट हवाइमार्ग हुँदै काठमाडौं ल्याइएका बढी छन्।

धान्न गाह्रो

उपचार प्रविधिसहितको यस्तो एउटा एम्बुलेन्सको मासिक खर्च रु.१ लाख ८ हजार हुन्छ, कर्मचारी–चालकको तलबसहित। बिरामी ओसार्दा प्रतिकिमी रु.२५ का दरले शुल्क लिइन्छ, जुन ट्याक्सी भाडाभन्दा कम हो। सरदर एउटा बिरामीलाई अस्पताल पुर्‍याउँदा रु.६५० जति लाग्छ। सहयोग गर्न चाहनेहरूले गरेको सहयोग र संस्थाको सदस्यता शुल्कबाट संकलित रकमले खर्च धान्न गाह्रो भएको नकर्मी बताउँछन्।

पछिल्लो समय केही अस्पतालले यो अभियानमा मिसिन चासो देखाए पनि सरकारबाट सहयोगको वचन समेत नपाएको तीतो अनुभव उनीसँग छ। “कतैबाट सहयोग जुट्यो भने राजधानीमा यही वर्ष पाँच एम्बुलेन्स थप्ने र अन्य शहरमा सेवा विस्तार गर्ने योजना छ” नकर्मी भन्छन्, “एम्बुलेन्स ल्याउन गाह्रो नभए पनि खर्च धान्न गाह्रो छ।”

रामेश्वर बोहरा


सद्भाव डाँडा

राधाकृष्ण मन्दिर अगाडि, किराँतेश्वर मन्दिर पछाडि, उक्त मन्दिरहरुको उत्तरमा नजिकै सेमिच्योङ् भवन पनि छ।
गुम्बामा बौद्ध प्रवचन चलिरहँदा नजिकैको राधाकृष्ण मन्दिरमा भक्तजनहरू भजनमा व्यस्त हुन्छन् भने गुम्बा र मन्दिरको त्यही परिसरमा किराँतीहरू साकेला नाचिरहेका देखिन्छन्। एउटै डाँडामा बहुजातीय संस्कृतिको यस्तो अभ्यास उदयपुरको कटारी–२ राजावासमा भइरहेको छ। कटारी गाविसका पूर्व अध्यक्ष रामकुमार राई भन्छन्, “पहिलेको चिहानडाँडालाई धार्मिक–सांस्कृतिक सङ्गमस्थल बनायौं।”

यो डाँडामा किराँतेश्वर मन्दिर, साङ्गेछोयलिङ गुम्बा, राधाकृष्ण मन्दिर, भूमे स्थानका साथै किराँत राई र मुस्लिम समुदायहरूको समाधिस्थल छ। यसको पूर्वपट्टि नजिकै रक्तकाली मन्दिर छ, जहाँ वालाचतुर्दशी, एकादशी जस्ता अवसरमा भव्य मेला लाग्छ। यसरी पर्यटनस्थल बनेको यो क्षेत्रमा टाढाटाढाबाट मानिसहरू आउन थालेका छन्। “विभिन्न धर्मावलम्बीहरूको यस्तो सांस्कृतिक समायोजनले सामुदायिक सद्भाव बढाएको छ”, गाविसका पूर्व अध्यक्ष राई भन्छन्, “सिद्धिचरण राजमार्गले छोएको र सशस्त्र प्रहरीको बेसक्याम्प पनि रहेकाले आउजाउको सुविस्तासँगै सुरक्षा पनि छ।”

ऋषि राई, कटारी, उदयपुर


समाचारले बनाएको अस्पताल

जापानबाट प्रकाशित हुने दैनिक पत्रिका माइनिची सिम्बुन ले १५ वर्षअघि 'हिमालयको फेदीमा बच्चाहरूको अकालमा मृत्यु' समाचार छाप्दै त्यहाँका नागरिकसँग आर्थिक सहयोग आह्वान गरेपछि उठेको रकमले बुटवलमा 'सिद्धार्थ बाल तथा महिला अस्पताल' (आम्दा) बनेको १४ वर्ष पुगेको छ। बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघको पनि सहयोग रहेको यो अस्पतालले अहिलेसम्म ९ लाख ८० हजार ३३३ जना आमा र बच्चाको उपचार गरिसकेको छ।

अस्पतालले आमा र बच्चाहरू बचाएर नेपालको मातृ मृत्युदर घटाउन उल्लेखनीय सफलता हासिल गरेकोमा अस्पताल निर्माण गर्न सहयोग पुर्‍याएको आम्दा इन्टरनेशनलका अध्यक्ष प्रा. डा. शिगेरु सुगानामी खुशी छन्। “अस्पतालले बुद्ध जन्मस्थल लुम्बिनीको काखमा धेरै आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाएकोमा जापानी जनता खुशीले गद्गद् छन्” आफ्नो सहयोगमा भर्खरै बनेको अस्पतालको अर्काे भवन उद्घाटन गर्न १ चैतमा आएका डा. शिगेरुले भने “यो अस्पतालको कार्य क्षमता विस्तारमा जापानी नागरिकको सहयोग जारी रहनेछ।” तीन वटा ठूला भवन पहिल्यै भएको यो अस्पतालमा आम्दा र जापान सरकारको सहयोगमा रु.५ करोड १२ लाख खर्चमा बनेको नयाँ भवन प्रसूतिका लागि प्रयोग गरिनेछ। यो भवन प्रयोगपछि अब एकै पटकमा पाँच जनाले प्रसूति सुविधा पाउनेछन्। यसअघि यो अस्पतालसँग एक पटकमा एक जनालाई मात्र प्रसूति सेवा दिने क्षमता थियो।

बुद्धभूमिसँगको माया

जापानीहरू बुद्धको जन्मस्थललाई असाध्यै माया गर्ने भएकाले यहाँको विकास निर्माणमा आफ्नो भावना जोडिएको बताउँछन्, अस्पताल निर्माणमा सहयोग गरेको आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरु। बुद्धको नाम जोडिएको भारतको बोधगयामा मुटु अस्पताल बनाउन लागेको उनले बताए।

बुटवलको यो अस्पताल स्थापना गर्ने अभियान चलाएको माइनिची सिम्बुन को सिटी न्यूज डिपार्टमेन्टका प्रमुख सम्पादक केन फुजीवाराले त्यो बेला अस्पताललाई पठाएको सन्देशले पनि जापानीहरूको नेपालीप्रतिको माया देखाउँछ। त्यो सन्देशमा भनिएको छ, “जापान र नेपालमा नागरिक समाजको शक्ति र दृढ लगनको यौटा विशिष्ट नमूनाको उदाहरणस्वरुप उदाएको युगान्तकारी प्रतीक हो― सिद्धार्थ बाल तथा महिला अस्पताल।” अस्पतालले जापानीहरूको त्यो भावनालाई व्यवहारमा उतारेकोमा खुशी देखिएका अस्पतालका निर्देशक डा. विनोद पराजुली भन्छन्, “सहयोगी जापानी जनताले जे देख्न खोजेका थिए, त्यही सुखद् परिणाम हासिल भइरहेको छ।”

देश विदेशबाट पाएको सहयोगले यो अस्पतालको क्षमता निरन्तर विस्तार भइरहेको छ। ५० शैच्चया क्षमताबाट शुरू भएकोमा छिट्टै २०० शैच्चया क्षमताको हुँदैछ भने रेफरल सेन्टर, नर्स र डाक्टरहरूलाई तालीम सेवा, अत्याधुनिक बिरामी कुरुवा भवनलगायत सेवा पनि थपिंदैछन्। स्टाफ नर्स कलेज स्थापना र आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजना अस्पतालका निर्देशक पराजुलीले सुनाए।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम