८ बैशाख २०७० | 21 April 2013

गाडी र गोर्खापत्र

Share:
  
- दीपक अर्याल
आज मध्यमवर्गको आवश्यकता बनेका मोटरगाडी १०० वर्षअघि उच्चवर्गको विलासका लागि भित्रिएका थिए।

सौजन्यः मपुपु
वि.सं. २००८ सालमा काठमाडौं आएका फोटोग्राफर ह्यारोल्ड लायल दुजेनबेरी (सन् १९०७–१९९१) ले त्यही वर्ष चित्लाङको आसपास यो तस्वीर खिचेको अनुमान छ।
वि.सं. १९५८ मा पहिलोपटक काठमाडौं उपत्यकामा कार भित्रिएको, १९७८ मा गोपाल खोपासेले सवारी लाइसेन्स लिएको र २००३ सालदेखि रजिष्ट्रेशनको काम शुरू भएको जानकारी ट्राफिक प्रहरीको वेबसाइटले दिन्छ। यसरी ११० वर्ष पहिले उपत्यका छिरेका गाडीहरू केहीका लागि सानका विषय थिए भने धेरैका लागि आश्चर्यका जिनिस्। राजा–महाराजाका लागि बग्गी चल्ने काठमाडौंमा त्यसरी भित्रिएका मोटरगाडीहरू आज पैसा हुने सबैले किन्ने साधन बनेको छ।

पहिले काठमाडौंमा जति गाडी छिरे, ती सबै भीमफेदी, मार्खु, चित्लाङ र थानकोटको बाटो हुँदै मान्छेकै काँधमा बोकिएर आए। (हे. तस्वीर) वि.सं. १९८६ मा अमलेखगञ्ज–भीमफेदी ४२ किमी सडक बनेपछि मोटरगाडी नेपाल भित्रनलाई केही होलो भयो, तर गुडेरै काठमाडौं छिर्न भने २०१० तिर बनेको त्रिभुवन राजपथ कुर्नुपर्‍यो। त्यसअघि नै काठमाडौंमा मोटरगाडीको माग र यससँग सम्बन्धित व्यापारिक काम बढिसकेको थियो।

मोटरगाडीका विषयमा गोर्खापत्र दैनिकले वि.सं. १९७९ मंसिर ५ गते सोमबार विज्ञापनको शैलीमा ठूलै सामग्री छापेको पाइन्छ। हेनरी फोर्ड र फोर्ड मोटर कम्पनीका विषयको अनूदित उक्त सामग्रीले फोर्ड गाडी निर्माण, कम्पनी स्थापना, खर्च आदिको विवरणसँगै कस्ता र कति गाडी उत्पादन गर्छ अनि मूल्य कति–कति पर्छ भन्नेसम्मको जानकारी दिएको छ। लेख भन्छ– 'मिष्टर फोर्ड आफूले बनाईयेको मोटरमा बसेर साथीहरूका माझ् भोजनालयहरूमा जान्थे। सो मोटरको रहर पुगिसकेपछि ईनले विचार गरेकी यदि दुई सिलेण्डरको मोटर तैयार भये वढिया होला। यो विचारमा ईनको मन दौडेपछि ईनको वर्कशापमा दुई सिलेण्डरको मोटरकारको परीक्षण प्रारंभ भयो। आठ वर्ष सम्ममा सो मोटरकारको परीक्षणमा लागिरहनुपर्‍यो। सन् १९०१ को वसन्त ऋतुमा उनको २ सिलेण्डरको मोटरकार तैयार भयो।'

६ असोज १९८२ सालको गोर्खापत्रमा प्रकाशित मोटरगाडीको विज्ञापन।

गोर्खापत्र ले त्यो अङ्कमा फोर्ड कम्पनी र यसका मालिकबारे पूरा एक पृष्ठको सामग्री छापे पनि त्यसलाई कम जस्तो मानेर अर्को अङ्कमा दुई पेज छुट्यायो। त्यसमा कम्पनीलाई कति टन स्टील चाहिन्छ, गाडीमा कति कपडा प्रयोग हुन्छ तथा बत्ती, सिसा, तामा र तारहरू कति खर्च हुन्छ भन्ने कुराको विस्तृत जानकारी दिएको छ। लेखले मजदूरका लागि कम्पनीले गरेको राम्रा कामको नालीबेली पनि दिएको छ। गोर्खापत्र का यी दुई अङ्कका सामग्री फोर्ड कम्पनीको आफ्नै बुलेटिन जस्तो लाग्छ। कम्पनीले दिएको सेवाका विषयमा पत्रिका लेख्छ– 'मजदूरका सुविस्ताका निमित्त स्टोर भण्डार खोलियेको छ अन्यत्र भन्दा सो ठाउँमा मजदूरले सस्तो माल पाउँछन्। कार्खानामा काम गर्ने मानिसहरूलाई मन आनन्द गराउनका निमित्त असल २ बगैंचा आदि स्थान पनि बनाइ दियेका छन्।'

यो लेख प्रकाशित भएको तीन वर्षपछि ६ असोज १९८२ सालको गोर्खापत्र मा मोटरगाडीको विज्ञापन देखा पर्‍यो। नेपालमा कसले कुन मोटर लिएको छ भन्ने जानकारी समेत दिएको विज्ञापनमा मोटरगाडी अर्डर गरेको चार महीनामा कलकत्ता वा रक्सौल र पाँच महीनामा नेपालमा डेलिभरी दिनसक्ने प्रतिबद्धता छ। त्यो विज्ञापनले नेपालमा यस साधनको माग बढेर व्यापार हुन थालेको सङ्केत गर्छ। मोटरगाडी, साइकल र बग्गीका पुर्जा, पेट्रोल, मोबिल, पोलिस, टायर–ट्युब जस्ता आवश्यक सामान पाइने जानकारीसहित कुलबहादुर नेपाल मोटर वर्क्स, लाजिम्पाट, काठमाडौंले प्रकाशित गरेको त्यो विज्ञापनले मोटरगाडीको मूल्यको भने जानकारी नदिए पनि सरकार, मोहनशमशेर र बडागुरुज्यूहरूले हड्सन कार तथा सम्मरशमशेरले फोर्ड कार यसै एजेण्टमार्फत झ्िकाएको जानकारी दिन्छ। गोर्खापत्र मा १४ वैशाख १९८३ मा प्रकाशित नयाँ विज्ञापनले भने कुन कार कहाँसम्म ल्याउँदा कति रकम लाग्छ भन्ने जानकारी दियो। यसले मोटरकारहरूको तुलना गर्न सहयोग पुग्यो।

comments powered by Disqus

रमझम