८ बैशाख २०७० | 21 April 2013

राजनीतिमा जुडशीतल

Share:
  
- चन्द्रकिशोर
मधेशीले मनाउने जुडशीतल पर्वको भावनालाई राजनीतिमा अनुवाद गर्न मधेशी दललाई सबैभन्दा बढी आवश्यक छ।

तस्वीर: मीनरत्न बज्राचार्य
तराईतिर नयाँ वर्षमा मनाइने जुडशीतल पर्व प्रकृति, कृषि र जीवनसँग अभिन्न रूपले जोडिएको छ। यो पर्व मनाउँदा पानी भरिएको गाग्री दान गरिन्छ। सडकमा पानी छर्किइन्छभने रूखहरूमा पानी हालिन्छ। इनार र पोखरीहरूलाई सफा गरिन्छ। ठूलाबडाले सानालाई सखारैमा टाउकोमा शीतल पानी खन्याएर आशिष दिन्छन्। हिलो होली जसरी नै खेलिन्छ। सातु र गुड खाइन्छ। र, शिवलिङ्गमाथि जलाभिषेक गरिन्छ।

आज पनि देहाती जीवनमा सुरक्षित रहेको यो पर्वको सन्देशलाई समसामयिक राजनीतिक सन्दर्भमा हेर्नु र बुझनु अहिलेको आवश्यकता हो। हिलोसँग खेल्नु भनेको माटो अर्थात् आफ्नो धरातलसँग जोडिएको राजनीति, पानी छर्कनु भनेको सौम्य नाराहरूको अभ्यास, जलाशय सफाइ भनेको संयन्त्रहरूको शुद्धीकरण, सातु–गुड खानु भनेको नेतृत्वको तन्दुरुस्ती (मानसिक, नैतिक र शारीरिक) भन्ने बुझनु उपयुक्त हुन्छ।

विचार पुर्‍याउनुपर्ने विषय

मौसमसँगै नेपाली राजनीति यतिबेला तात्न थालेको छ। प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारले असारमा निर्वाचन गराउन नसकेको र मंसीरमा पनि गराउनेमा आशङ्का रहेको बेला सरकारप्रति प्रस्तावक एमाओवादीले नै असन्तुष्टि पोख्न थालेको छ। संयन्त्रमा रहेका र नरहेका सबै दलका पनि छुट्टै असन्तुष्टि छँदैछन्। यी सबै राजनीतिक घटनाक्रम र संविधान नबनाई संविधानसभा विघटन हुनुले आम जनता राजनीतिप्रति निराश छन्। पद्धति स्थापित नगरी संविधानसभा विघटन हुँदा आफ्नो स्वतन्त्रता, सम्मान र समृद्धिको चाहना सम्बोधन नभएकोले जनता निराश हुनु अस्वाभाविक पनि होइन।

त्यसैले संविधानसभाको दोस्रो निर्वाचन अहिले राष्ट्रिय मार्गचित्र हुन आएको हो। तर, विभिन्न जटिल मुद्दा निरुपण नभई संविधान बन्न सक्दैन। निर्वाचनप्रति आम मतदातालाई आकर्षित गर्न उनीहरूको रूचि र विवेकलाई विचार पुर्‍याउनुपर्छ। 'पपुलिज्म' बाट होइन, पारदर्शी, समाजशास्त्रीय तथा व्यावहारिकतामा आधारित खुला सम्वादले मात्रै जटिल मुद्दाहरूको छिनोफानो गर्न सक्छ र जनतालाई दिगो रूपले उत्साहित पार्न सक्छ।

जनतामा निराशा व्याप्त रहेको मौका पारेर पछिल्लो जनआन्दोलन र मधेश विद्रोहले खोजेको परिवर्तन संस्थागत हुन नदिन अलमलको अँध्यारो गोलचक्करमा फँसाउन खोजिएको देखिंदैछ। यस्तो बेला, जुडशीतल सान्दर्भिक हुन आउँछ। राजनीतिका इनार र पोखरीहरू सफा नपार्दासम्म स्थानीय राजनीति कब्जा गरेका माफिया, दलहरूमा रहेका बासी र गन्हाएका अनुहारबाट मुक्ति पाउन सकिंदैन। किनभने, परिवर्तनका लागि पात्र, प्रक्रिया र परिणाम सबै मत्वपूर्ण हुन्छन्। यसर्थ, चुनावी मुखमा शुद्धीकरण गर्नु चुनौतीपूर्ण भए पनि उनीहरूको तन्दुरुस्ती र जनतामा उत्साह ल्याउन यो ओखती खानुको विकल्प छैन।

जनताका लागि शीतल छहारी नबन्दा र परिवर्तनका रूखहरूमा निष्ठाको पानी नछर्कंदासम्म राजनीति सफल हुनसक्दैन। मधेश राजनीतिका लागि त यो झ्नै आवश्यक छ। संघीयता, सम्मान, समृद्धि, समावेशी र सामाजिक सद्भाव चाहेका मधेशी जनताले आफ्नो संस्कृति रक्षा गर्ने सरकार खोजेर संघीयताको दाबी गरेका हुन्। तर जनताका ती आकांक्षा परिपूर्ति गर्न मधेशी दलहरूले सकिरहेका देखिंदैन।

जुडशीतलको सार्थकता

मधेशी राजनीतिमा जुडशीतलको अभ्यास कसरी गर्ने भनेर खोजी गर्नुपर्ने बेला आइसकेको छ। जनताको आक्रोश र असन्तुष्टिको कारण खोज्दै राजनीतिप्रति उनीहरूको उत्साह र अपनत्व अभिवृद्धि गर्ने, परिवर्तनका मुद्दाहरूलाई बुझ उन मधेशमा खुला सम्वाद चलाउने, नयाँ अनुहारलाई राजनीतिसँग जोड्ने, सत्ता राजनीतिमा भएको विसङ्गत यात्राप्रति सामूहिक क्षमा माग्ने, मधेशका गैरमधेशीहरूलाई पनि आफ्नो अभीष्टप्रति विश्वस्त तुल्याउने र मधेशी जनताको प्रगति र सम्पन्नताको चाहनालाई हिमाल र पहाडसँग जोडेर त्यसको सुरुआत गर्न सकिन्छ। एकाङ्गी र चर्का नाराले राष्ट्रिय एकताको प्रतीक बन्ने गरी संविधान निर्माण गर्ने मधेशी जनताको चाहना झ्न् टाढा पुग्छ। तर, संविधान नबन्दा सबैभन्दा बढी गुमाएको मधेशी समुदायको यो उकुसमुकुसलाई अरूले बुझन सकेका छैनन्।

भूराजनीतिले अनुमति नदिने 'समग्र मधेश एउटै प्रदेश' न व्यावहारिक हो न त वैज्ञानिक नै। त्यो नाराकै निहुँमा संघीयता नै नदिने कुत्सित खेल पनि भइरहेकाले मधेशी राजनीतिक दलहरूले यो अडानलाई सफाइ गर्नु जरूरी छ। सफा इनारको पानी मात्र सबैले पिउने हुँदा मधेशी दलहरूले नयाँ वर्षसँगै त्यो नारा छोड्नुपर्छ। अनि, मधेशकेन्द्रित प्रदेशको सिमाङ्कनबारे स्थानीय चाहना अनुसारको विचार अघि सार्नुपर्छ।

पानी छर्किने कि आगो लगाउने? मधेश राजनीतिले बुझनुपर्छ। नभए, आँपको रूखमा फलेको 'टिकोला' फल्नुअघि नै वैशाखे आँधीहुरीले खसाली दिने हुँदा अहिले आगो प्रयोग गर्नु आत्मघाती हुनसक्छ। रूख हुर्काएर त्यसको फल पाउन थोरै पानी हालेर पुग्दैन र धैर्य पनि त्यतिकै चाहिन्छ। मधेशले खोजेको संघीयता पाउनु भनेको रूख हुर्काउनुजत्तिकै दुरुह हो। त्यसैले, 'मधेशले खोजेको संघीयतामा सबैको सहभागिता, सहअस्तित्व, सामूहिक समृद्धि र सबल राष्ट्रियता हुन्छ' भन्ने बुझाउन सक्दा मात्र संघीयता प्राप्ति र संविधान निर्माणको बाटो सहज हुन सक्छ। अनि, मात्र जुडशीतलको सार्थकता प्रकट हुन्छ।

comments powered by Disqus

रमझम