८ बैशाख २०७० | 21 April 2013

सफल सञ्चारक

Share:
  

तस्वीर: विक्रम राई
७ फागुन २०४९ मा कान्तिपुर दैनिकको प्रकाशन शुरू भएको केही दिनमै त्यसका प्रकाशक श्याम गोयन्काबाट 'पत्रिका छाप्न कागज किन्ने पैसा छैन' भन्ने सुनेपछि 'पत्रिका बन्द गर्नुहुँदैन' भन्दै कैलाश सिरोहिया अघि नसरेका भए शायद अहिले त्यो पत्रिका बन्द भएर विस्मृतिमा पुगिसकेको हुनेथियो। तर, कार्पेट व्यवसायबाट केही कमाएका हिम्मतिला सिरोहियाले त्यो बेला गोयन्कालाई ढाडस मात्र दिएनन्, प्रकाशक बन्ने जोखिम समेत मोले। त्यसैको परिणाम जनकपुरका सिरोहिया अहिले नेपालकै ठूलो सञ्चारगृह कान्तिपुर का अध्यक्ष भएका छन्।

भारतको चण्डीगढबाट एमबीए सकेपछि थप अध्ययन गर्ने मन हुँदाहुँदै दाइको फर्निचर उद्योग रेखदेख गर्न काठमाडौं आएका सिरोहियाले २०४५ देखि रु.५ लाखको लगानीमा कार्पेट व्यवसाय शुरू गरे। त्यो व्यवसाय चलिरहेको बेला जनकपुरकै गोयन्कामार्फत कान्तिपुर को व्यवस्थापनलाई भित्री सहयोग गर्न पुगेका उनी आर्थिक अभावले कान्तिपुर व्यवस्थापनबाट गोयन्का अलग्गिएपछि प्रकाशक बने।

निजी क्षेत्रबाट मिडियामा ठूलो लगानी नभइरहेको बेला पूँजी डुब्ने खतरा हुँदाहुँदै कान्तिपुर मा लगानी गर्न सिरोहियालाई त्यो बेला आँट दिने एउटै कुरा थियो, २०४६ को राजनीतिक परिवर्तनपछि राज्यले अवलम्बन गरेको खुल्ला नीति। उनी भन्छन्, “राज्यले त्यो नीति नलिएको भए कान्तिपुर जन्मिँदैनथ्यो।”

२०४७ को संविधानले निजी क्षेत्रलाई प्रोत्साहन गरे पनि त्यो अनुसारका कानून थिएनन् भने कर्मचारीतन्त्र पुरानै मानसिकतामा थियो। त्यसैले, कान्तिपुर को त्यो बेलाको यात्रा अहिले सोचे जस्तो सहज रहेन। एक लाइन टेलिफोन र एउटा फ्याक्स जोड्न संघर्ष गर्नु परेको सम्झँदै सिरोहिया भन्छन्, “सञ्चार निर्देशिकामा ठेक्कापट्टाको सूचना गोरखापत्र मा प्रकाशित भएको यति दिनपछि भन्ने व्यवस्थाले त्यस्ता विज्ञापन छाप्न निजी पत्रपत्रिकाले पाउँदैनथे।” तर उनी जस्ताको प्रयासले त्यस्ता सूचना अहिले निजी क्षेत्रका पत्रपत्रिकाले छाप्न पाउने भएका छन्।

निजी क्षेत्रका लागि अनुकूल वातावरण बन्दै गएपछि अरू मिडिया आउने क्रम बढ्यो भने कान्तिपुर र द काठमाडौं पोष्ट बाट शुरू भएको त्यो प्रकाशनगृह विस्तार भएर आधा दर्जन विभिन्न पत्रिका निकाल्न सक्ने बन्यो। यसरी, रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजन मा पनि लगानी गर्दै नामसँगै दाम कमाएका सिरोहिया भन्छन्, “माओवादी द्वन्द्व नभएको भए मुलुक धेरै अघि बढिसक्थ्यो।”

रामजी दाहाल


सराहनीय उडान

तस्वीर: मीनरत्न बज्राचार्य
२५ असोज २०५४ मा १८ सीटे एउटा 'बी १९०० डी' जहाजबाट उडान सेवा शुरू गरेको बुद्ध एअरसँग अहिले तीन वटा १६ सीटे, तीन वटा ४२ सीटे र तीन वटा नै ७२ सीटे गरी ९ जहाज छन्। जमिन धितो राखेर ३६ प्रतिशत व्याजमा रु.३६ लाख ऋण लिएर शुरू भएको यो कम्पनीको सम्पत्ति अहिले रु.८ अर्बभन्दा धेरै पुगेको छ भने वार्षिक कारोबार मात्रै रु.४ अर्बको छ। ७५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

निजी क्षेत्रबाट नेपाली हवाई सेवा क्षेत्रलाई डेढ दशकमै यो आकारमा फैलाउन सफल बुद्ध एअरका प्रमुख वीरेन्द्रबहादुर बस्नेत (४८) का उपलब्धि अरू पनि धेरै छन्। मोरङमा जन्मेका उनले गृहजिल्लासहित सुनसरी र झापाको कृषिमा यान्त्रिकीकरण अभियान चलाएका छन्, जसमा १० हजार बिघा जमिन जोत्ने किसानहरूको ५० सहकारी २०७० सम्ममा सहभागी हुनेछन्। उनको त्यो अभियानले ती जिल्लामा चुपचाप कृषि क्रान्ति नै चलाएको मानिएको छ।

पूर्व मन्त्री सुरेन्द्रबहादुर बस्नेतका छोरा वीरेन्द्रको बुबामा जस्तै कृषिमा रुचि थियो। त्यही भएर भारतको बनारसमा अध्ययन गर्दा उनले कलकत्ता गएर माछाका भुरा उत्पादन सम्बन्धी तालीम पनि लिए। बुबा चाहिं २०४२ को त्यो बेला मोरङको डागीहाटमा आधुनिक प्रविधि अपनाएर खेती गर्दैथिए। भारतबाट फर्केपछि वीरेन्द्र पनि माछा खेतीमा लागे। जुन बेला उनले ५६ पोखरी खनेर वर्षमा ६० लाख भुरा बिक्री गरे।

स्नातकोत्तर पढ्न काठमाडौं आएपछि भने उनी गाउँ फर्केनन्। त्यसपछि लामो व्यावसायिक फड्को हानेका वीरेन्द्र भन्छन्, “चुस्त व्यवस्थापन, कडा मिहिनेत र धैर्यले म र बुद्ध एअरलाई यहाँसम्म पुर्‍याएको हो।”

२०४६ को राजनीतिक परिवर्तनपछि नियन्त्रित 'लाइसेन्स सिस्टम' र ब्यांकिङ असुविधा हटेर व्यवसाय गर्न सहज भए पनि राजनीतिक अस्थिरता बाँकी रहँदा निजी क्षेत्रले क्षमता अनुसार प्रगति गर्न नसकेको बताउने वीरेन्द्र भन्छन्, “चुनाव हुने र राजनीतिक अस्थिरता समाप्त हुने हो भने बुद्ध एअरले छिट्टै अन्तर्राष्ट्रिय उडान पनि शुरू गर्नेछ।”

डम्बरकृष्ण श्रेष्ठ


'रेमिट्यान्स म्यान'

तस्वीर: ऋषिराम कट्टेल
मुलुक खुल्ला अर्थतन्त्रमा नहेलिएको भए यतिबेला चन्द्र ढकाल (४७) को दिनचर्या राष्ट्रिय वाणिज्य ब्यांकको एउटा सामान्य कर्मचारीको रूपमा बितिरहेको हुने सम्भावना धेरै थियो। तर, अहिले उनी सफल व्यवसायीको कोटिमा छन्। यो सफलतामा उनले २०४५ देखि पाँच वर्षसम्म वाणिज्य ब्यांकको विशालबजार शाखामा काम गरेका अनुभवको योगदान अवश्य छ।

त्यसो त ढकालले २०४८ सालमै कार्गो र ट्राभल्स एजेन्सी शुरू गरिसकेका थिए। २०५० मा जागिर छाडेर व्यवसायमा पुर्णकालीन भएका उनले २०५६ मा आईएमई सेवा शुरू गरे। वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई हुण्डीको चर्को सेवाशुल्कबाट बचाउँदै ब्यांकिङ च्यानलमार्फत मुलुकमा रेमिट्यान्स भित्र्याउने श्रेय उनैलाई जान्छ। माओवादी द्वन्द्वका कारण पर्यटन व्यवसायसँगै निर्यात व्यापार पनि ठप्प भएको बेला ब्यांकिङ च्यानलबाट आएको रेमिट्यान्सले मुलुकलाई टाट पल्टिनबाट जोगाएको ढकालको भनाइ छ। उनको बुझाइमा, यो सबै २०४६ को राजनीतिक परिवर्तनपछि राज्यले अँगालेको खुला आर्थिक नीतिको परिणाम हो। “ब्यांक र फाइनान्स क्षेत्रले व्यापकता पाएको त्यसपछि नै हो”, बाग्लुङका ढकाल भन्छन्, “अर्थतन्त्रको गतिलाई माओवादी विद्रोहले अवरुद्ध नपारेको भए स्थिति योभन्दा धेरै फरक हुन्थ्यो।”

मुलुक हिंसात्मक द्वन्द्वमा फँसेको बेला आईएमई ब्राण्डले यति व्यापकता पायो कि आज 'रेमिट्यान्स भनेकै आईएमई' सरह भएको छ। ढकालले अहिले नेपाली पुगेका प्रायः सबै मुलुकबाट आईएमईमार्फत सीधै रेमिट्यान्स भित्र्याउने व्यवस्था मिलाएका छन्। उनले ग्लोबल आईएमई ब्यांक, माउण्ट पुमोरी एयर कार्गो, अक्रस ट्राभल्स, एलिट क्यापिटल, अक्सिजन ग्यास उद्योगलगायत आधा दर्जन कम्पनीको नेतृत्व सम्हालेका छन्। ग्लोबल ब्यांक–आईएमई फाइनान्स मर्जरबाट बनेको ग्लोबल आईएमई ब्यांकले ६३ शाखामार्फत देशभर सेवा पुर्‍याएको छ। यो निजी क्षेत्रका ब्यांकको सबभन्दा ठूलो सञ्जाल भएको ढकालको दाबी छ। गत असारमा उत्कृष्ट १० मा परेको यो ब्यांकले आगामी असारमा थप तरक्की देखाउने उनी बताउँछन्।

हात हालेका सबै क्षेत्रमा सफल ढकाल सवा दुई अर्बको लगानीमा थानकोट–चन्द्रागिरि केबुल कार सञ्चालनको तयारीमा छन्। उनको केबल कार परियोजनामा फन पार्क, भ्यू टावर र रिसोर्ट पनि जोडिएको छ।

रामजी दाहाल


कृषिमा क्रान्ति छर्दै

'निम्बस' शब्द 'निम्बस्ट्रेटस' बाट आएको हो, जसको अर्थ हुन्छ– पानी पार्ने बादल। देशमा प्रजातन्त्र पुनःस्थापना भएपछि व्यवसाय थालेको निम्बस समूहले गर्जिन र पानी पार्न थालिसकेको छ। नेपाल उद्योग वाणिज्य महासंघको प्रशासनिक नेतृत्वमा काम गरेका जगदीश अग्रवालको छत्रछायाँमा छोरा आनन्द बगरियाले शुरू गरेको यो उद्योग अहिले वार्षिक रु.७ अर्ब कारोबार गरिरहेको छ। पशुपन्छीको दाना, भटमासको तेल, पीना र केमिकल्सहरू उत्पादन गर्ने निम्बसको प्याकेजिङ र ग्याँस उद्योगहरू पनि छन्।

औद्योगिक इन्जिनियरिङ पढेका बगरिया आफूले हाँकेको व्यवसायको रथ लोकतन्त्रले फराकिलो पारेको सडकमा निर्धक्क कुदिरहेको बताउँछन्। भारतमा अध्ययनपछि नेपाल फर्किएर डट्पेन उद्योग शुरू गर्दा उनले मात खाए। त्यसपछि बहुराष्ट्रिय कम्पनीका कृषिजन्य वस्तुको आयातमा हात हाले। त्यसमा सफल हुँदै गएपछि उनी आफैंले कृषिको व्यवसायीकरणका लागि उत्पादन शुरू गरे। समूहका अध्यक्ष अग्रवाल त्यसक्रममा व्यवसायमा प्रजातन्त्रको प्राणवायु पर्न थालेको अनुभव सुनाउँछन्।

उत्पादनमूलक कृषि उद्योगको शेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिरहेको निम्बसका प्रबन्ध निर्देशक बगरिया पारदर्शिताले दिगो समृद्धि ल्याउने विश्वास राख्छन्। केही लाखको पूँजीबाट व्यवसाय शुरू गरेको निम्बसले कारोबार दुई दशक नपुग्दै अपत्यारिलो सफलता हात पारेको छ, त्यो पनि अरूले नपत्याएको कृषि क्षेत्रमा। समूह अबको तीन वर्षमा रु.१० अर्ब वार्षिक कारोबार पुर्‍याउने लक्ष्यमा छ। केही महीनामै निम्बस ब्राण्डमा एकै थलोबाट गुणस्तरीय तरकारी, फलफूल, मासु र दुग्धपदार्थ बिक्री गर्ने ५०० आउटलेट खोल्ने तयारी भइरहेको छ।

कृषिकै ब्याकवार्ड–फरवार्ड बजारको आधुनिकीकरण, पेट्रोलियम पदार्थको कारोबार र शिक्षामा लगानी बढाउने योजना बनाइरहेको निम्बस राजनीतिक स्थिरताको व्यग्र प्रतीक्षामा छ। लोकतन्त्रको उदार आर्थिक नीतिले व्यवसाय प्रवर्द्धनमा प्राणवायुको काम गरे पनि राजनीतिक अस्थिरता विषको भूमिकामा रहेको बगरियाको अनुभव छ। लगानी वातावरण सुनिश्चित बन्दा निजी क्षेत्र ह्वात्तै विस्तार हुने र त्यसको लाभ देशलाई जाने उनी बताउँछन्।


रिटेल व्यापारका स्टकिस्ट

तस्वीर: मीनरत्न बज्राचार्य
२०४१ मा नेपाल ब्याङ्कमा जागिर खाँदै काठमाडौं भाटभटेनीको कोल्ड स्टोर खोल्दा खोटाङका मीनबहादुर गुरुङ (५५) ले तीन दशक नपुग्दै यत्रो फड्को मारुँला भन्ने सोचेका थिएनन्। तर, श्रीमतीको गहना बेचेर शुरू गरेको त्यो पसलले उन्नति गर्ने छाँट देखाएपछि २०५१ मा उनले अधिकृतको जागिर नै छाडेर रु.२५ लाखको लगानीमा दुईतले घरमा 'भाटभटेनी सुपरमार्केट' खोले। त्यही सुपरमार्केट अहिले काठमाडौंका पाँच र पोखराको एक ठाउँमा विस्तार भएको छ भने वार्षिक कारोबार रु.५ अर्ब ५० करोडभन्दा धेरै पुर्‍याएको छ।

२५ सयभन्दा धेरैलाई रोजगारी दिएको मीनबहादुरको भाटभटेनी अहिले मुलुकको सबैभन्दा धेरै खुद्रा सामान व्यापार गर्ने पसल बनेको छ। जसलाई उनी 'राजादेखि रंकसम्म' को किनमेल गर्ने थलो भन्न रुचाउँछन्। उनी भन्छन्, “मुलुकमा खुलापन नआएको भए यो व्यवसाय यत्रो हुने थिएन।”

आगामी पाँच वर्षभित्र भाटभटेनीको शाखा विस्तार गरेर ५० वटा पुर्‍याउने योजना बनाइरहेका मीनबहादुर विदेशमा लगानी गर्न नपाउने अहिलेको बन्देज हटे यसलाई अन्तर्राष्ट्रिय चेन सुपरमार्केटमा परिणत गर्ने अर्को महत्वाकांक्षी सोचमा छन्। भाइ पहल र बेलायतबाट 'रिटेल सप्लाई म्यानेजमेन्ट' मा मास्टर्स गरेर फर्किएका छोरा कल्याणको सहयोगमा व्यवसाय गरिरहेका उनी भन्छन्, “तर, करका नाममा व्यवसायीलाई नियतवश दुःख दिने क्रम र सरकारी पक्षको लापरबाहीले व्यवसाय गर्न अप्ठ्यारो भइरहेको छ।”

'सामाजिक उत्तरदायित्व' अन्तर्गत मीनबहादुरले स्वास्थ्य क्षेत्रमा गरेको लगानी पनि उल्लेखनीय छ। त्रिवि शिक्षण अस्पतालमा रु.१० करोडभन्दा बढीको लगानीमा आकस्मिक उपचार भवन बनाएका उनले पाटन अस्पतालमा वर्षेनि ग्रामीण क्षेत्रका दुई जना विद्यार्थीलाई चिकित्साशास्त्र पढ्न खर्च दिइरहेका छन्।


हण्डरबाट सफलता

तस्वीर: देवयानी सिवाकोटी
पर्वतको कार्कीनेटामा जन्मेका हरिभक्त शर्मा (५०) ले गाउँमै एसएलसी गरेर त्रिवि शिक्षण अस्पतालमा 'सर्टिफिकेट अफ जेनेरल मेडिसिन' पढे। त्यसपछि एमबीबीएसतिर नलागी व्यवस्थापनमा एमबीए सकेर अमेरिकामा डेढ वर्षको विशेष कोर्ष गरे। त्यसपछि २०४२ सालमा देउराली जनता फर्मास्युटिकल्स खोल्न लाइसेन्सका लागि निवेदन दिए, तर स्वीकृति पाउन २०४५ सम्म पर्खनुपर्‍यो, पञ्चायतको काइदा त्यस्तै थियो।

उद्योगले विदेशबाट आधुनिक प्रविधि आयात गर्दा लगानी थप्नु परेपछि साझेदारले २०५१ मा कम्पनी छाडे। उनलाई एक्लै पैसा हाल्न कठिन थियो, उद्योग चलाउनुको विकल्प पनि थिएन। २०५५ देखि उद्योगबाट स्तरीय उत्पादन बजारमा जान थाले। शर्माका अनुसार, नेपालमा अत्याधुनिक प्रविधिबाट औषधि उत्पादन गर्ने देउराली जनता मात्र हो। रु.५० लाख लगानीमा स्थापना भएको उद्योग अहिले धापासीको २५ रोपनी जमिनमा फैलिएको छ। पूँजी क्षमता रु.७० करोड हाराहारी पुगेको छ भने ३५० जनाले काम पाएका छन्।

नेपालको करीब रु.१२ अर्बको औषधि थोक बजारमा देउराली जनताले ५ प्रतिशत हिस्सा ओगटेको छ। २० प्रतिशत माग धान्ने क्षमता भए पनि आयातमुखी नीति बाधक रहेको बताउने शर्मा भन्छन्, “नेपालमा लोकतन्त्र नआएको भए आज यति पनि हुने थिएन। अब राजनीति गर्नेले हरेक मुद्दाको छिनोफानो सडकबाट गर्न नखोजे कमसेकम काम गर्नेको बाटो छेकिने थिएन।”


प्रजातन्त्रको देन

तस्वीर: ऋषिराम कट्टेल
छड र सिमेण्ट उत्पादनमा कहलिएको सौरभ समूहको व्यवसायको पृष्ठभूमि बर्मासम्म जोडिन्छ। गुल्मीका लीलाराम न्यौपानेले रंगुनमा खोलेको गोर्खा डेरी अहिलेको नेपालको सौरभ समूहको व्यवसायको जग हो। सन् १९६० मा नेपाल फर्किएर भैरहवामा कपडा, विद्युतीय सामान र बस व्यवसाय शुरू गरेका न्यौपानेका छोरा विष्णुले त्यसलाई विविधीकरण गर्दै अहिले एक दर्जन उद्योग सञ्चालन गरिरहेका छन्।

सौरभ समूहले ब्याङ्क, प्याकेजिङ, फोटो, धागो, चिया, पस्मिना, भेटेरिनरी उपकरण उत्पादनमा पनि लगानी गरेको छ। निर्माण क्षेत्र र विद्युतीय सामग्रीलगायतको व्यापारमा पनि यो समूहको उल्लेख्य उपस्थिति छ। प्रजातन्त्र साँच्चै फापेको व्यावसायिक घरनामा पर्छ, सौरभ समूह। समूहका अध्यक्ष विष्णु न्यौपाने २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना नभएको भए यो पैमानाको व्यवसाय विस्तार सम्भव नहुने बताउँछन्। “त्यसपछि नै हामीले उद्योगको खाका कोर्‍यौं र २०४९ सालमा अर्को व्यावसायिक घराना शंकर समूहसँग मिलेर सिमेण्ट उद्योग शुरू गर्‍यौं”, न्यौपाने भन्छन्।

वार्षिक रु.१८ अर्बको कारोबार गर्ने सौरभ समूह अन्तर्गतका कम्पनीमा अहिले ३००० जनाले रोजगारी पाएका छन्। विष्णुका दाजु शोभाकरले छड, सिमेण्ट, रियलस्टेट लगायतमा अम्बे समूहको रूपमा छुट्टै लगानी गरेका छन्।


सूचनाप्रविधिका 'सरताज'

तस्वीर: मीनरत्न बज्राचार्य
नेपालमा असाध्यै विकास भएका क्षेत्रमध्ये पर्ने सूचनाप्रविधिलाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको कम्पनी मानिन्छ, 'मर्कन्टायल'। दाजु राजीवसँग मिलेर काठमाडौंका संजीव राजभण्डारीले सन् ८० दशकको मध्यतिर खोलेको यो कम्पनीको यस्तो विस्तार २०४६ को राजनीतिक परिवर्तनपछि सम्भव भएको हो। केही कर्मचारीहरुसहितको यो कम्पनीमा अहिले हजारभन्दा धेरै इन्जिनियर र कर्मचारी रोजगार छन्।

आफ्ना बुबाले शुरु गरेको स्टेशनरी र अफिस इक्यूपमेण्टको व्यापारको विस्तारित स्वरुप छोरा संजीवको मर्कन्टायलले अहिले इन्टरनेट सेवा प्रदान गर्नुका साथै कम्प्युटर र यसका पार्टस् बिक्री गर्छ। संजीवकै लगानीमा विदेशी कम्पनीका लागि 'आउटसोर्सिङ' कामहरु गर्ने कम्पनी सर्भिङ माइण्ड्स पनि सञ्चालनमा छ। वार्षिक करोडौं रुपैयाँको व्यापार गरिरहेको यो कम्पनीका सञ्चालक संजीवलाई सूचनाप्रविधि व्यापारमा हात हाल्दाताका भने सहज थिएन। विदेशबाट एउटा कम्प्युटर र त्यससम्बन्धी 'कन्सल्टेन्ट' झिकाउन पनि सरकारी 'राष्ट्रिय कम्प्युटर केन्द्र' को अनुमति लिनुपर्ने ऊबेलाको अवस्था सम्झँदै संजीव भन्छन्, “२०४६ को परिवर्तनपछि सबै क्षेत्र खुला हुँदा कर्मचारीको सोचाइ बदलियो भने हामी व्यवसायीमा पनि आत्मविश्वास बढायो।”

२०४८ देखि २०५२ सम्म मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत देखिंदा र विदेशी कम्पनीहरू लगानी गर्न नेपाल भित्रिंदा व्यवसायीहरूमा अरू आत्मविश्वास बढेकै बेला माओवादी सशस्त्र विद्रोह शुरू भयो। काठमाडौंबाट भारतीय हवाईजहाज अपहरण, दरबार हत्याकाण्ड र शाही 'कु' ले आर्थिक गतिविधिलाई अरू संकुचन गर्‍यो। उत्पादनलाई वितरण गर्न समेत त्यो बेला समस्या झेल्नुपरेको सम्झँदै संजीव भन्छन्, “लडाईं बन्द भएपछि त्यो दुरवस्था केही हटे पनि मजदूर संगठनका आक्रामक गतिविधिले उद्योग व्यवसायमा नकारात्मक असर पारिरहेकै छ।”

अंग्रेजी न्यूजपोर्टल 'नेपाल न्यूज डट कम' संचालन गरिरहेको मर्कन्टाइलका संजीव लगानीका लागि उपयुक्त वातावरण निर्माण भए अहिलेकै व्यवसायलाई अरू विस्तार गर्ने सोचमा छन्। उनको जलविद्युत् र ब्यांकिङ क्षेत्रमा पनि लगानी रहेको छ।


निर्माणबाट उन्नति

वनवारीलाल मित्तलको 'मित्तल कन्स्ट्रक्सन' मा पाँच वर्ष काम गरेपछि रु.१ लाख ५० हजार लिएर २०४६ मा 'स्वच्छन्द निर्माण सेवा' शुरू गरेका जयराम लामिछानेको कम्पनीले अहिले वार्षिक रु.५० करोड कारोबार गर्छ। देश/विदेशमा निर्माण क्षेत्रको अनुभव बटुल्दै अहिले निर्माण व्यवसायीहरूको छाता संगठन 'नेपाल निर्माण व्यवसायी महासंघ' का अध्यक्ष बनेका मकवानपुरका लामिछाने भन्छन्, “२०४६ देखि २०५२ को गतिमा मुलुक अघि बढेको भए यो क्षेत्र अहिले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत भइसक्नेथियो।”

हिलेपानी–दिक्तेल र गल्छी–स्याफ्रुबेंसी सडक निर्माण गरिसकेको लामिछानेको कम्पनीको काठमाडौं धापाखेल र सानेपामा बन्दै गरेको 'डाउनटाउन अपार्टमेण्ट' मा १० प्रतिशत शेयर छ। यहीबीच, उनको कम्पनीले दुबई, कम्बोडिया र भारतमा पनि निर्माण क्षेत्रको अनुभव बटुल्दै थुप्रै नेपालीलाई रोजगारी दिएको छ भने विदेशी मुद्रा पनि भित्र्याएको छ।

राज्यले खुला अर्थतन्त्र अँगाले पनि विदेशमा लगानी गर्न अझै ढोका नखोलेकाले विदेशमा कारोबार गर्न अप्ठ्यारो परेको र सार्वजनिक खरीदसम्बन्धी नीति राम्रो नहुँदा स्वदेशका ठूला परियोजनामा काम गर्न विदेशी कम्पनी गुहार्नु परेको बताउने लामिछाने भन्छन्, “विदेशमा लगानी गर्न नपाउँदा विदेशी मुद्रा आउन सकेन भने विदेशी कम्पनी गुहार्नुपर्दा वार्षिक अर्बौं रुपैयाँ विदेशिएको छ।” यस्ता नीतिनियम सुधार्न सक्दा नेपाली निर्माण क्षेत्र अरू सशक्त हुने उनी बताउँछन्।

रामजी दाहाल


आकाशे जीपको उद्यम

राजा राम शाहले पाटनका समकक्षीसँग सन्धि गरेर गोरखा लगेका '२४ कोठी महाजन' का सन्तान हुन्– लक्ष्मणबाबु श्रेष्ठ। नयाँ व्यवसायमा होमिने आँट गरेका उनले कपडा लगायतका पुर्ख्यौली खुद्रा व्यापार छोडेर चितवन कोई कन्स्ट्रक्सन कम्पनी खोले अनि दर्जनौं परियोजना निर्माण गरिसकेपछि राजेशबाबु (हे तस्वीर) लगायतका छोराहरुको साथ लिएर मनकामना केबुल कारमा हात हाले। यो जोखिम भर्खरै माओवादी द्वन्द्व शुरू भएको समयमा मोलिएको थियो।

ठूलो परिमाणको कर र प्रशासनिक जटिलता सल्टाइसकेको अवस्थामा ब्याङ्कहरुले हात झ्िाक्दा श्रेष्ठ परिवार ठूलै अप्ठ्यारोमा परे पनि ६० करोड लगानीको योजना पूरा गरेरै छोडे। लक्ष्मणबाबुले स्थापना गरेको व्यवसायको जगलाई अहिले छोराहरुले फराकिलो बनाइरहेका छन्। यो परिवारलाई २०४६ पछि ठूलो लगानीमा नयाँ उद्यम गरेर सफल हुने उदाहरणीय व्यावसायिक परिवार मानिन्छ।

श्रेष्ठ परिवारले पछिल्लो समय दैनिक १५ टन धुलो दूध उत्पादन गर्ने कारखाना स्थापना गरेको छ। घ्युकुमारी, अदुवा, उन्नत घाँस, तरकारीलगायत गाई फार्म पनि शुरू गरेको समूहका प्रबन्ध निर्देशक राजेशबाबु बताउँछन्। यो समूहले चीनबाट वार्षिक ६००० गाई भित्र्याएर कृषकलाई वितरण गर्ने र धुलो दूध निर्यात गर्ने योजना बनाएको छ। यसबाहेक चिनियाँ साझेदारीमा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजनामा पनि समूहले हात हाल्दैछ। “प्रजातन्त्र र त्यसले बसाउन खोजेको 'सिस्टम' प्रतिको विश्वासकै कारण यतिका जोखिम मोल्न सकिएको हो”, राजेशबाबु भन्छन्।

comments powered by Disqus

रमझम