यो लहरबाट नेपाल पनि अप्रभावित रहन सकेन । राणा शासकहरूमा आफैँ विभूति कहलाउने होड चलेकाले तिनले युरोपेली मुलुकको देखासिखी गर्दै आफ्ना सालिक राजधानीका सार्वजनिक ठाउँहरूमा स्थापना गरेको सबैकासामु छँदैछ ।
पञ्चायतकालमा नेपालका शासक, भारदारहरूलाई यस्ता घोषित विभूतिहरूको अभावमा राष्ट्रले पूर्णता नपाएको जस्तो लागेरै हुनसक्छ, राष्ट्रिय विभूतिको घोषणा गर्ने रहर जागेको देखिन्छ । संसारमा चलेको चलनबाट नेपाल मात्र किन अप्रभावित रहन सक्थ्यो र ? तर नेपालमा अन्यत्रजस्तो विचार पुर्याएर, खोज–अनुसन्धानबाट प्रमाणित गरेर, सार्वजनिक रूपमा छलफलमा ल्याएर प्रामाणिक ‘विशेष व्यक्तित्व’लाई मात्र विभूतिको पङ्तिमा राखी सम्मान गर्ने चलन स्थापित हुन सकेन । चिया र बिस्कुटे बैठकका भरमा नामसूची तयार गरी शासकहरूको इशारामा राजनीतिक निर्णय गरेजसरी नै राष्ट्रिय विभूति घोषणा गर्ने ‘अनर्थ चलन’ नेपालमा चल्यो । यस्ता निर्णयका बैठक पञ्चायतकालमा प्रज्ञा–प्रतिष्ठान र बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि मन्त्रिपरिषदमा हुने गरेका भए पनि निर्णय र घोषणा चाहिँ प्रायः हचुवा नै देखिए । यस्ता संवेदनशील कुरामा पनि पर्याप्त सोच पुर्याइएन । बरु लहड र विशेष प्रकारका स्वार्थी भावनाले नै प्रश्रय पाइरहे ।
सम्मान कि अपमान ?
विभिन्न समयमा राष्ट्रिय विभूति घोषित राजा जनकदेखि पासाङल्हामुसम्मका नामका विषयमा चर्चा गर्नुभन्दा पहिले कम विवादास्पद नामहरूका बारेमा केही उल्लेख गरौं । राजा वा महासामन्त अंशुवर्मा, राजा राम शाह आदिको कुरा गर्दा पश्चिमका तत्कालीन खस साम्राज्यहरूका सम्राट अशोक चल्ल, जितारी मल्ल आदिको नाम किन अगाडि नल्याउने ? बलभद्र कुँवरको चर्चा गर्दा भक्ति थापाको नाम किन बिर्सने ? अध्ययनका क्रममा यस्ता प्रश्नहरू सजिलै उठ्न सक्छन् । त्यसैगरी राजा महाराजामा स्थिति मल्ल, महेन्द्र मल्ल जस्ता कुशल, प्रजापालक, स्थिति बाँध्ने, संस्कृतिको सम्बद्र्धन गर्ने खालका राजाहरूलाई चाहिँ किन नसमट्ने भन्ने पनि प्रश्न सोझै उठाउन सकिन्छ ।
त्यसैले कथा, पुराणका यस्ता नामलाई ‘राष्ट्रिय विभूति’ का रूपमा घोषणा गर्दा ती नामको सम्मान गरेको नभई हेलचेक्र्याइँपूर्वक अपमान गरेको पनि ठहर्न सक्छ । गौतम बुद्ध नेपालको वर्तमान भूमिमा जन्मेका महामानव भएपनि “आधुनिक” राष्ट्रको वा केवल एउटा देश, समाज तथा सम्प्रदायको सीमाभन्दा धेरै टाढासम्म पुगिसकेको नाम हो यो । यो नामले संसारका मानव जातिको निकै ठूलो सङ्ख्यामा धार्मिक आस्था र विश्वास जगाउँदै देवत्वको स्थान जमाइसकेको छ । त्यसैले यो नाम पनि ‘राष्ट्रिय विभूति’ भन्दा धेरै माथि र धार्मिक हिसाबले पूजनीय बनेको छ ।
अप्रामाणिक कुरा, अनर्थ काम
अब रह्यो, कलाकार अरनिकोको कुरा । यो नामको आधिकारिकता पनि प्रामाणिक हिसाबले कमजोर नै देखिन्छ । पहिलो कुरा, उनको नाम ‘अ–नि–क’, ‘बलबाहु’ वा ‘अरनिको’ कुन चाहिँ हो भन्ने नै अहिलेसम्म अनिश्चित छ । चीनका शासकले तिब्बतका स्थानीय लामा शासकमार्फत् नेपाली कलाकारहरू चाहियो भनेर माग भएपछि नेपालका तात्कालीक शासकले खटाएका ८० जना नेपाली कलाकार संलग्न एउटा ठूलो दलको नेतृत्व अरनिकोले पाएको कुरा वृत्तान्तहरूमा उल्लेख छ । तर वास्तविकता के हो भने, उनको नेपाली नाम नै हामीलाई थाहा छैन । अर्को उल्लेख्य कुरा उनी नेपाल र नेपालीलाई बिर्सिएर एक चिनियाँ केटीसँग विवाह गरेर भौतिक तथा शारीरिक मोहमा फस्दै चीनमै बिलाएका हुन् । शायद उनको साथमा गएका कतिपय अरू कलाकारहरू धनदौलत साथमा लिएर नेपाल फर्किएका र यहाँको कलाकौशल तथा सामाजिक उन्नतिमा सरिक भएका हुनसक्छन् ।
यसो भन्दैमा अरनिको नामले चिनिने नेपालका युवा कलाकारको शिल्प–ज्ञान र ख्यातिप्रति दुर्भाव राख्ने चेष्टा गरिएको कदापि होइन । इतिहासको कुनै ठाउँमा उनको महत्वपूर्ण स्थान छँदैछ । तर उनी यहाँ हाम्रा कलाकार हुँदा के नामले चिनिन्थे, उनले नेपाली समाज र संस्कृतिको उत्थानमा देशभित्र के के काम गरेका थिए, त्यस्ता कामका बारेका कुनै ऐतिहासिक तथ्य हामीलाई थाहा छ कि छैन जस्ता प्रश्न हाम्रोसामु तेर्सिएका छन् । नेपालको निर्माणमा उनको छाप कहाँ, कस्तो रूपमा रहेको छ भन्ने विषयको खोजी गर्नु जरुरी भएको छ । वास्तविक नाम वा नेपालमा गरेका कामका विषयमा थाहै नपाई चीनमा पाइएको श्वेतचैत्यका भरमा नेपालमा ‘राष्ट्रिय विभूति’ बनाउनु कति इतिहाससम्मत होला ?
यस प्रसङ्गमा कहिलेकाहीँ भृकुटीको नाम पनि अगाडि ल्याइएको देखिन्छ । पहिलेका सामान्यज्ञानका पुस्तक तथा लेखोटहरूमा भृकुटीलाई समेत राष्ट्रिय विभूतिको पङ्तिमा राखेर चर्चा गर्ने, काल्पनिक तस्बिर छाप्ने चलन थियो । हिजोआजको नयाँ सूचीमा चाहिं यो नाम भेटिँदैन । त्यसैले यो नामलाई आधिकारिक रूपमा राष्ट्रिय–विभूति घोषणा गरिएको वा हटाइएको के हो भन्ने कुरा पनि खोजीकै विषय बनेको छ । भृकुटीको नामलाई विभूतिकै पंक्तिमा पुर्याएर सम्मान गर्ने चलन चलेकाले उनका बारेमा पनि थोरै चर्चा गर्नु सान्दर्भिक हुनसक्छ ।
‘भृकुटी’ शव्द पूर्वीय अध्ययन विधामा समर्पित, संस्कृत तथा तिब्बती भाषा विशेषज्ञ फ्रान्सेली विद्वान् सिल्भा लेभीले अनुमान गरेको तिब्बतीबाट हुनसक्ने अनुदित नाम हो । हाम्रा ऐतिहासिक स्रोतसामग्रीहरूमा भृकुटीको नाम कहीँ पनि पाइएको छैन । तिब्बती वृत्तान्तहरूमा उनलाई ‘भृकुटी’ नभनेर ‘ठो–ङ्यार–मा’ भनिएको छ । ठो–ङ्यार–मा नाम भएकी नेपालका राजा वा शासक वर्गसँग सम्बन्धित कन्याको बिहे तिब्बतका सम्राट श्रोङ्–चेन–गम–पोसँग भएको र उनले अन्य नेपाली स्वास्नीमानिसले जस्तै दाइजो र कोसेलीपात लिएर घर जाने क्रममा केही बौद्धमूर्ति तथा नेपाली कलाका सामग्रीहरू तिब्बत लगेको कुरा तिब्बती वृत्तान्तमा पढ्न पाइन्छ । उनी माइतबाट घर (तिब्बत) जाँदा नेपालमा उपासना गर्ने गरेका देवीदेवता तथा माइतीका केही चालचलन साथै लिएर पुग्नु कुनै नौलो र विशेष कुरा होइन ।
तिब्बतमा यसभन्दा पहिले नै उत्तरतिरबाट बुद्ध धर्मको प्रवेश भइसकेको ऐतिहासिक तथ्य प्राप्त भइसकेको छ । श्रोङ् चेन्को समय र पछि पनि बुद्ध धर्मको प्रचारप्रसार र व्यापकताका निम्ति नेपालका विद्वत्वर्गबाट महत्वपूर्ण योगदान पुर्याइएका तथ्यहरू पाइएका छन् । त्यसैले ‘भृकुटी’ जस्तो अनुमानित नाम र यससँग सम्बन्धित किम्वदन्तीहरूका भरमा राष्ट्रिय विभूति, वीराङ्गना वा कुनै पनि ‘आधुनिक’ राष्ट्र र राष्ट्रियतासँग सम्बन्धित सम्मानित पंक्तिमा उनलाई समावेश गर्नु उचित हुँदैन । यो विषयमा पनि थप अनुसन्धानको आवश्यकता छ । हाम्रा आफ्नै प्रामाणिक स्रोतबाट यस्ता व्यक्तिले देशका निम्ति गरेका काम र तिनको प्रभावसम्बन्धी तथ्यहरू प्रकाशमा आउन सक्नुपर्दछ ।
अब भीमसेन थापाको कुरा गरौँ । उनलाई राष्ट्रिय विभूति मान्ने हो भने जङ्गबहादुरलाई पनि तुरुन्तै विभूति घोषणा गरे हुन्छ । भीमसेन थापा नेपालको इतिहासमा ज्यादै अदूरदर्शी, निरङ्कुश र षड्यन्त्रकारी व्यक्ति सावित भएका छन् । उनका केही सुधार र अङ्ग्रेजविरोधी प्रवृत्तिलाई मात्र राष्ट्रिय विभूतिको आधार बनाउँदा उनका देश तथा समाजघातक काम र असफलतालाई पूर्ण रूपमा आँखा चिम्लनुपर्ने हुन्छ । पृथ्वीनारायण शाहले हालेको जगका आधारमा राजकुमार बहादुर शाहको नीति र कुशलताका कारण विस्तारित नेपाल राज्यको आधाभन्दा बढी भूभाग गुमाउने काम भीमसेन थापाको असफल कूटनीति, षड्यन्त्रपूर्ण र निरङ्कुश प्रवृत्तिले गर्दा भएको हो भन्ने तथ्य अब छर्लङ्ग भइसकेको छ ।
भीमसेन थापाले तीनदशक भन्दा बढी निरङ्कुशताका साथ नेपालको शासन चलाए र आफूसँगै आफ्ना नातागोतालाई विशेष पद र सुविधा दिलाए, सम्भ्रान्त राजपरिवारका चौतारियाहरूभन्दा बढी तलब खाने अङ्ग्रेजी भाषाका ‘जनरल’ जस्ता पदहरूको सृजना गरी राजा र जनतालाई झुक्याए । चौतारियाहरूले वर्षको रु. सात हजार र अन्य काजी बडाकाजीहरू त्यसभन्दा तल्लो अङ्कमा तलब खाने चलन हटाएर आफू वार्षिक रु. १० हजार खाने जनरल र रु. नौ हजार खाने ‘छोटा जनरल’ जस्ता पद आफ्ना भाइभतिजाका निम्ति सिर्जना गराए । यथार्थमा नेपालको इतिहासमा षड्यन्त्र र निरङ्कुशताका निम्ति भीमसेन थापा जङ्गबहादुरका गुरुका रूपमा देखिन्छन् ।
यसरी सतही रूपमा, गलत निर्णयका आधारमा राष्ट्रिय विभूतिको सूची बनाउने काम नेपालमा पञ्चायतकालदेखि नै चल्यो । यसो भए तापनि पृथ्वीनारायण शाह, अमरसिंह थापा, भानुभक्त, मोतीराम भट्ट, राजा त्रिभुवन आदि नामको चयन भने ‘आधुनिक’ राष्ट्र र राष्ट्रियताका दृष्टिले मनन्योग्य मान्नैपर्दछ ।
गल्तीमाथि गल्ती
प्रजातन्त्रको लहरपछि पनि नेपालमा यस्ता गल्ती दोहोरिएका छन्, शङ्खधर साखवाल र पासाङल्हामु शेर्पालाई विभूतिको पंक्तिमा चढाएर । यस्ता निर्णयमा अप्रत्यक्ष रूपमा जातीय पुनरुत्थानवादको प्रभाव परेको देखिए तापनि निर्णयहरू सतही रूपमा भयो भन्ने चिन्ता हो । खोज अनुसन्धानका आधारमा सङ्कीर्णताको बाटो मेटाउने अभियानमा लागेका हामीलाई नेपालभित्रका अनेकौँ मानव समुदायबाट विभूतिहरूको पहिचान वा छनौट हुँदा अत्यन्त खुसी लाग्छ तर त्यस्ता विभूतिहरू वास्तविक र प्रतिनिधित्व गर्ने खालका हुनुपर्दछ भन्ने हाम्रो धारणा हो ।
बौद्ध वा नेवार समुदायबाट राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्न विष्णुमतीको दोभानबाट बालुवा उठाएर सुन बनाएका सपनाका किम्वदन्तीलाई समेट्नु आवश्यक छ त ? के यस समुदायमा कुनै प्रामाणिक महान् व्यक्तित्वहरू पाउन सकिँदैन ? सजिलै पाउन सकिन्छ यदि हामीमा खोज, अनुसन्धान र संवेदनशीलताप्रति दरिद्रता छैन भने । इतिहास कोट्याउने हो भने नेवार समुदायभित्र के पाइँदैन ? त्यसभित्र महान् विद्वान् (बौद्ध तथा हिन्दू दुवै) पण्डित, आचार्य र भिक्षु, कलाकार, कुशल शासक सबैथरी पाइन्छन् ।
शेर्पा समुदायभित्र पनि चार/पाँच सय वर्षको लामो इतिहासमा सामाजिक/धार्मिक उत्थानमा बढी देन दिने पासाङल्हामुभन्दा अरू व्यक्तित्वहरू अवश्य पाउन सकिन्छ । खाली अध्ययन, अनुसन्धानसहितको पहिचानको आवश्यकता छ । विशाल गोम्पाका संस्थापक, बौद्ध धर्म तथा संस्कृतिका सम्बद्र्धक, तान्त्रिक, समाजसेवी, व्यापारी–व्यवसायी आदिको बाहुल्य त्यस समुदायमा पनि नपाइने होइन ।
म इतिहास–संस्कृतिको अन्वेषक हुँ । मलाई नेपालको इतिहासमा शङ्खधर साखवाललाई राष्ट्रिय विभूतिको स्थानमा राख्न सक्ने आँट नै छैन । किनभने, शङ्खधर ऐतिहासिक रूपले प्रमाणित व्यक्ति भएको नभएको विषय नै अझै विवादित छ । उनको अस्तित्वको प्रश्न नै इतिहासमा एक अनिर्णित विषय बनेर रहेको छ, लिखत वा कुनै पनि किसिमका आभिलेखिक प्रमाणको अभावमा । यस प्रसङ्गमा ‘विभूति’ बनाउने जुन आधार उठाइएको छ, त्यो सपनामा आधारित कथासँग सम्बन्धित छ ।
उक्त सपनाको कथा समेत साँच्चै व्याख्या गर्ने हो भने तात्कालिक शासनव्यवस्था वा दरबारविरोधी प्रवृत्तिको देखिन्छ । शङ्खधर र उनका कामसँग सम्बन्धित जुन कथा वंशावलीकारले उल्लेख गरेका छन्, त्यसले शङ्खधर साखवालको राजकोष (तिनताका राज्य वा दरबारको एकै हुन्थ्यो) को ढुकुटीमा दाखिल गर्न लैजाँदै गरेको भनिएको सम्पत्ति (कथित सुन) लाई अनेक उपायले बीचैबाट हडप गरेर निजी बनाउने र त्यसको केही हिस्सा मात्र गरीब, जोगी, सन्यासी आदिलाई बाँडेको बहाना गरिएको जस्तो घटनालाई सङ्केत गर्दछ । तिनताका त्यस्तो प्रकृतिको व्यक्तिलाई राजद्रोही वा राष्ट्रघातक मान्ने चलन थियो । तर शङ्खधरको कथा सपनामा आधारित कुरामात्र हो । यस्ता कथालाई ‘राष्ट्रिय विभूति’ जस्ता कुरासँग कुनै हालतमा पनि जोड्न मिल्दैन । कुनै कथाका आधार वा एउटा अनिर्णित र अस्पष्ट ढङ्गको ढुङ्गाको मूर्तिको भरमा कुनै पनि व्यक्तिलाई सच्चा महामानव वा ‘विभूति’ बनाउन नमिल्नुपर्ने हो ।
राष्ट्रिय विभूतिका रूपमा सम्मान गर्नका निम्ति त्यस्ता विशेष व्यक्तिका सम्बन्धित समाज र राष्ट्रका विविध या कमसेकम कुनै एक महत्वपूर्ण पक्षमा प्रभाव पार्ने खालका देन पहिले नै स्थापित भइसकेको हुनुपर्दछ । त्यस्ता व्यक्ति ‘आधुनिक’ राष्ट्रको निर्माण र विकाससँग सम्बन्धित हुनुका साथै समाजले विवादरहित ढङ्गले स्वीकार गर्ने खालको पनि हुनु जरुरी हुन्छ ।
कुनै व्यक्ति, समूह वा समुदायको विशेष आग्रह, जोड वा बलको भरमा गहन विचारविमर्श तथा खोज अनुसन्धान नै नगरी विभूति घोषणा गर्ने/गराउने प्रवृत्ति राष्ट्रिय चरित्र र इज्जतमा धक्का पुर्याउने राष्ट्रघातक कुरा पनि बन्न सक्दछ । त्यसैले यस्ता संवेदनशील कुरामा व्यक्ति, समुदाय, राजनीतिक दल वा दरबार कसैले पनि स्वार्थपूर्ण उद्देश्यबाट प्रेरित भएर, आवश्यकताभन्दा बढी भावुक भएर, हेलचेक्र्याइँ वा जबर्जस्ती निर्णयको बिन्दुमा पुग्नुहुँदैन भन्ने हाम्रो धारणा हो ।
नेपालमा यस्ता संवेदनशील कुरामा पनि बेलाबेलामा भावुक भएर कुनै कलापारखीले बनाएका चित्र वा मूर्तिका भरमा, नाराबाजी र हल्लाका भरमा व्यापक सोच नै नपुर्याई निर्णय भएका छन् । हाम्रो देश र समाज कहिलेकाहीँ निकै भावुक र रुढीग्रस्त हुने गरेका दृष्टान्तहरू पनि थुप्रै छन् । किनकि काठमाडौंको बौद्ध–चारघरेमा उत्पन्न भए भनिएका नाग देवताका घटना, कमलादी गणेशले दूध पिएका हल्लादेखि राजा जयप्रकाश मल्लले तुलजा भवानीसँग पासा खेलेका, भीमसेन देवताले पसिना चुहाएका, लखन थापालाई मनकामना देवीले जङ्गबहादुरलाई मार्न आदेश दिएकी जस्ता सपना र कल्पनामा आधारित अनेकौं किम्बदन्तीले समेत देशमा ठूलै प्रभाव छाडेको देखिन्छ । परम्परागत रूपमा चलेको समाजमा सपना र कल्पनाले ठूलै असर पार्न सक्ने भए तापनि ‘आधुनिक’ राज्यपद्धतिसँग सम्बन्धित राष्ट्रिय विभूतिको पहिचान र घोषणा जस्ता कुरामा विशेष सोच पुर्याउनुपर्ने आवश्यकता टड्कारै खट्किएको छ ।
एकपल्ट कुनै पनि नामलाई महान् व्यक्तिका रूपमा टुप्पोमा पुर्याइसकेपछि सजिलै हटाउन वा संशोधन गर्न गाह्रो हुन्छ । त्यसका निम्ति कहिलेकाहीँ त देश र समाजमा व्यापक परिवर्तनकै खाँचो पर्न सक्दछ । तर कठिन हुन्छ भन्दैमा खोज, अनुसन्धान र मन्थनपछि पनि भइसकेका गलत निर्णयमाथि पुनर्विचार नगर्नु चाहिँ अर्को घातक दोष हुन्छ । खोजका क्रममा हराएका विशेष व्यक्तित्व वा नाम भेट्टाउन सकिन्छ र सम्मानित व्यक्तिका नाम सम्मानको पंक्तिबाट हटाइनुपर्ने पनि हुनसक्छ ।
भीमसेन थापा, शङ्खधर साखवाल, पासाङल्हामु जस्ता नामलाई राष्ट्रिय विभूतिको पंक्तिमा चढाउने हामी नेपालीले आगामी दिनमा यलम्बर, लखन थापा, जामुन गुभाजु तथा पाटनका ऐठाम् डुगु जस्तालाई पनि सम्मान गर्न के बेर ?
के हामीले वास्तविक रूपमा खोजी गरेका छौँ त नेपालको वर्तमान भूभागभित्र जन्मिएका त्यस्ता सपूत तथा महान् व्यक्तित्वहरूका नाम, जसको अस्तित्व तथा ऐतिहासिक देनहरू विवादरहित रूपमा सावित हुन सकुन् ? गरेकै छैनौं र कसैले त्यस्तो सुमार्गतर्फ लाग्ने सोच लिएको पनि देखिँदैन । अहिले र पहिले भएका जस्ता हल्ला, हठ, नाराबाजी, भावुकता तथा स्वार्थी भावनायुक्त निर्णय दोहोरिँदै जाने हो र गलत निर्णयमाथि पुनर्विचार नगर्ने हो भने एक दिन त्यस्ता निर्णयहरू राष्ट्रिय हितका विपरीत र ज्यादै जोखिमपूर्ण हुन सक्छन् । त्यसैले नेपालको राष्ट्रिय इतिहास र संस्कृतिको जगेर्ना गर्न, नेपाल र नेपालीको इज्जत बचाएर राख्न तथा गुमेको इज्जत फर्काउनका निम्ति यस्ता विषयमा हामीले एउटा सुनिश्चित पद्धति बसाल्न ढिला भइसकेको छ । यसो नभएको खण्डमा नेपाल विवेकहीन मूर्खहरूको भीडको मुलुक ठहर्न सक्दछ, होशियार !
यस प्रसङ्गमा आजसम्मको सीमित अध्ययन र अनसुन्धानका आधारमा प्राप्त, विभिन्न कारणवश प्रकाशमा आउन नसकेका वा ओझेलमा परेका/ पारिएका नामहरू विचारणार्थ यहाँ प्रस्तुत गर्न सकिन्छ । यस्ता नाममा राजकुलबाट राजकुमार नायव बहादुर शाह, काठमाडौँ उपत्यकाका मल्ल राजाहरूः स्थिति मल्ल, महेन्द्र मल्ल, पश्चिम साम्राज्यका अशोक मल्ल, जितारी मल्ल; पर्वतका मलेबम मल्ल, मुस्ताङका आङ्गोन साङ्पो, जुम्लाका बलिराज जस्ता राजाहरूका नाम अगाडि सार्न सकिन्छ ।
त्यसैगरी बौद्ध, हिन्दू तथा अन्य पण्डितहरूमा शील मज्जु, वागिश्वरकीर्ति, अभयराज शाक्य, गुणानन्द (कहीँ कहीँ निर्गुणानन्द पनि लेखिएको छ), सुन्दरानन्द, अमृतानन्द (काठमाडौँ उपत्यका) आदि; जयानन्द (सिंजा), लोवो लोचवा शेख रिन छेन, डण्टी पन् छेन पेमा वाङ्ग्याल्, लोबो खेन् छेन ङ्याम–मे सोनम् ल्हुन डुप (मुस्ताङ) प्रेमनिधि पन्त (पर्वत), सिरिजङ्गा (किराँत प्रदेश), कुनु शर्मा (पाटन), महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि नाम भानुभक्त, मोतीरामहरूका साथसाथै थप्न सकिन्छ ।
प्रजातन्त्रका क्षेत्रबाट बीपी कोइराला तथा ओझेलमा रहेका तर अध्ययन, अनुसन्धान, अनुवाद र भाषा अध्ययनमा विशेष काम गर्ने तात्कालिक बेलायती रेसिडेन्सीका खरदार जीतमोहनको नाम पनि यहाँ सम्झ्नु उपयुक्त हुन्छ, जसले तयार गरेको नेवारी कोश र जातीय अध्ययनसँग सम्बन्धित सयौँ अनुसन्धानमूलक निबन्ध, टिपोट आदि विभिन्न मुलुकका अभिलेखालयमा छरिएर रहेका छन् ।
यी नामहरू राष्ट्रिय सम्मानका दृष्टिले शङ्खधर, पासाङल्हामुभन्दा धेरै माथि छन् । राजनीति, शासनव्यवस्था, धर्म, संस्कृति र ज्ञान–विज्ञानका क्षेत्रमा यिनको धेरै महत्वपूर्ण देन रहेको पाइन्छ । यी सबै खोज अनुसन्धानका क्रममा सरसर्ती देखिएका नाममात्र हुन् । यी बाहेक नेपालका पहाड, हिमाल र तराई तथा पूर्वदेखि पश्चिमसम्मको सिङ्गो भूभागभित्र विकसित विविध धर्म, संस्कृति तथा समाजलाई प्रतिनिधित्व गर्ने खालका तर कुनै एक वा धेरै पक्षमा विशेष देन दिएका यस्तै वा अझ् महत्वपूर्ण धेरै नामहरू पाउन सकिन्छ, यदि हामी ज्यादै संवेदनशील भएर लागेको खण्डमा ।
त्रिवि, सिनासका प्राध्यापक डा. ढुङ्गेल, हाल युनिभर्सिटी अफ लण्डनमा अनुसन्धानरत हुनुहुन्छ ।
