८ बैशाख २०७० | 21 April 2013

लगानीको क्षेत्र विस्तार गर्दैछौं

Share:
  

पुरानो व्यावसायिक घराना ज्योति समूहका उपाध्यक्ष डा. रूप ज्योति भद्र र बौद्धिक व्यवसायीमा गनिन्छन्। बाबु मणिहर्ष ज्योतिले शुरू गरेको व्यवसाय सम्हाल्न तेस्रो पुस्ता आइसक्दा पनि सक्रिय रहेका उनी अहिले अस्पताल र ब्याङ्कमा लगानी खन्याउँदै छन्। हार्वर्ड विश्वविद्यालयका विद्यावारिधि (पीएचडी) ज्योति विपश्यना ध्यान अनुरागी हुन्। 'टेक्नोक्रेट'को रूपमा तत्कालीन राजा ज्ञानेन्द्रको सरकारमा अर्थमन्त्री बनेको बताउने ज्योतिलाई राजनीतिप्रति कुनै चाख छैन। आत्मशुद्धिका लागि सबैलाई विपश्यनातिर तान्न रुचाउँछन् उनी। अन्तर्वार्ताका लागि पुगेका हिमाल कर्मी प्रभात भट्टराई र रमेश कुमारलाई पनि उनले जोड दिइरहे 'तपाईंहरू पनि जति सक्दो छिटो विपश्यना आउनुहोला है।'

वित्तीय क्षेत्रमा लगानी बढाउँदै लैजानुको कारण के हो?

वित्तीय क्षेत्रमा उपस्थित हुन नै भाजुरत्न फाइनान्स स्थापना गरेका थियौं। तर, त्यसले विकास गर्न सकेन। घरजग्गामा लगानीले भिवोर विकास ब्याङ्कमा तरलता समस्या आएपछि समाधान गर्न भाजुरत्नलाई त्यहाँ मर्ज गर्‍यौं। पछि, घरजग्गाको मन्दीका कारण गुण समूहका राजेन्द्र शाक्य समस्यामा परेर हामीसँग सहयोग माग्न आउनुभयो। रु.२५ लाखमा सस्तो र आकर्षक फ्ल्याट बेचिरहेको उहाँहरूको हाउजिङ प्रोजेक्टलाई संकट टार्न ऋण दियौं। त्यसको बदलामा उहाँले किष्ट ब्याङ्कको शेयर दिने प्रस्ताव गर्नुभयो। तर, एउटा वित्तीय संस्थामा लगानी भएकाले अर्कोमा १ प्रतिशतभन्दा बढी शेयर लिन नपाइने राष्ट्र ब्याङ्कको प्रावधानले अप्ठ्यारो परेपछि भिवोर र किष्ट मर्जरको प्रक्रिया अघि बढाएका हौं। ज्योति समूह लगानीकर्ताका रूपमा आउँदा आफूहरूको प्रतिष्ठा थप उँचो हुने भनेर किष्ट ब्याङ्कका प्रबर्द्धक र व्यवस्थापक पनि उत्साहित भए। दुवै संस्था मर्ज हुँदा व्यवसायको दायरा फराकिलो हुन्छ भने पूँजीको आधार पनि ठूलो हुनेछ।

मर्जरपछि किष्टमा तपाईंहरूको लगानी कति पुग्छ?

राष्ट्र ब्याङ्कको सीमा अनुसार, प्रत्यक्ष रूपमा किष्टमा हाम्रो लगानी १५ प्रतिशत हुनेछ। साथीभाइ, आफन्तहरूको पनि यसमा लगानी हुनेछ। दोस्रो बजारबाट पनि केही शेयर खरीद गरिएको छ।

मर्जर कहिलेसम्म पूरा हुन्छ?

असारसम्म मर्जर सकेर नयाँ आर्थिक वर्षमा नयाँ तरिकाले काम गर्ने र नयाँ वासलात निकाल्ने लक्ष्य छ। तर, प्रक्रियाले केही समय लिन पनि सक्छ।

अरू कुन–कुन क्षेत्रमा लगानी थप्दै हुनुहुन्छ?

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा लगानी गरेका छौं। ब्याङ्कमा जस्तै स्वास्थ्यको लगानी पनि आकस्मिक हो। डा. चक्रराज पाण्डे र सीई कन्स्ट्रक्सनका विजय राजभण्डारीले शुरू गर्न लागेको ग्राण्डी अस्पतालको प्रोजेक्टमा मलाई पनि समावेश हुन आग्रह गर्नुभयो। पारिवारिक उपचारक्रममा सम्बन्ध बनेको थाइल्याण्डको प्रसिद्ध समितिभेज अस्पतालसँग ग्राण्डीका लागि सुझाव माग्दा उहाँहरू सहकार्य नै गर्न तयार हुनुभयो। अस्पतालको डिजाइन, प्लानिङ सबैमा समितिभेजको प्राविधिक सहयोग र सहकार्य छ। अस्पताललाई समितिभेजकै मापदण्ड अनुसार निर्माण गर्दा यसको लागत शुरूको रु.६९ करोडबाट बढेर रु.३ अर्ब पुगेको छ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको अस्पतालको मागलाई यसले सम्बोधन गर्न सक्ला?

बिरामी भएपछि मात्र अस्पताल जाने चलन अहिले फेरिएको छ। नियमित स्वास्थ्य परीक्षण गर्न जाने र बिरामी भएर आउनेहरूका लागि छुट्टाछुट्टै भवन, ल्याब र उपकरण स्थापना गरेका छौं। अस्पताल केही समयमै पूर्ण रूपमा सञ्चालनमा आउनेछ। नेपालमा राम्रा चिकित्सक भए पनि आधुनिक प्रविधि र सुविधायुक्त अस्पताल नहुँदा खर्च गर्ने क्षमता भएकाहरू दिल्ली, ब्याङ्कक् पुगिरहेका छन्। अस्पतालहरूमा अपरेशन थिएटर सुरक्षित नहुँदा ज्यानै गएको उदाहरण छन्। यो अस्पतालमा हामीले हावासमेत फिल्टर गरेर मात्रै छिर्ने प्रविधि जडान गरेका छौं।

खर्चका हिसाबले यो कुन तहको अस्पताल हो?

यसको उपचार खर्च अन्य निजी अस्पतालको भन्दा महँगो छैन। सामान्य बेडका लागि प्रतिदिन रु.१ हजार तिर्दा पुग्छ। लगानी सुरक्षित राख्ने तर धेरै नाफा नखोज्ने हाम्रो प्रतिबद्धता हो। सामाजिक सेवाभाव राख्दा पुण्य कमाउन सकिन्छ। धापासीमा बन्दै गरेको यो अस्पतालका चिकित्सकको समय लिने र ल्याब परीक्षण गर्ने सिटी क्लिनिक कान्तिपथमा खोल्दैछौं।

परम्परागत व्यवसायको साटो लगानीको नयाँ आधार खोज्न यो क्षेत्रमा लाग्नुभएको हो?

उमेरका हिसाबले समूहका दुई नेतृत्वकर्ता दाइ (पद्म ज्योति) र मैले रिटायर्ड लिने बेला भइसक्यो। नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने समय आइसकेको छ। पछिल्लो समय हामीले ब्याङ्किङ, अस्पताल, कृषि उत्पादनमा हात हालेका छौं भने छोराछोरी पनि नयाँ–नयाँ क्षेत्रमा हात हाल्न खोज्दैछन्। व्यवसायलाई जीवन्त राख्न यो आवश्यक पनि छ।

फरक व्यवसाय भए पनि दाजुभाइलाई एउटै छातामा बसेर काम गर्दा अप्ठ्यारो त भएको छैन?

धेरैजसो व्यावसायिक घरानामा बुबा पुस्तापछि छुट्टिने परम्परा छ। तर, हामी दाजुभाइ बुबाको निधनपछि पनि मिलेर काम गरिरहेका छौं। अहिले होण्डा र हिरो छुट्टिंदा छोराछोरीको प्रस्तावमा छुट्टाछुट्टै बिजनेस गर्न भिन्नै कम्पनी बनाएका हौं। विभिन्न व्यवसायमा हामीले छुट्टाछुट्टै र कतिपयमा संयुक्त शेयर लगानी गरे पनि कारोबार भने एकै ठाउँबाट गरिरहेका छौं।

तपाईंहरूको लगानी औद्योगिकभन्दा व्यापारिक क्षेत्रमा बढी हुनुको कारण के हो?

उद्योगमैत्री नीति नहुँदा यस्तो भएको हो। पर्याप्त विद्युत् नभएपछि ज्योति स्पिनिङ मिल बन्द गर्नुपर्‍यो। ट्रेड युनियनहरूबीचको अस्वस्थ प्रतिस्पर्धा, श्रम समस्या, बन्द हड्तालले पनि उद्योगमा नकारात्मक असर पारिरहेको छ। स्पिनिङ मिलबाट मात्रै रु.६० करोड हाराहारीमा घाटा बेहोर्‍यौं। यद्यपि, मजदूरहरूलाई बालबच्चा पाल्न गाह्रो भएकोले पुनः चलाउन खोज्दैछौं। विद्युत् अभाव हुँदाहुँदै हिमाल स्टिल मध्यम गतिमा चलिरहेको छ। केही वर्षअघि जेनेरेटरमा ठूलो लगानी गरेकाले विद्युत् नहुँदा पनि उद्योग चलाउन सकिएको छ। रेमिट्यान्समा आधारित अर्थतन्त्रका कारण उपभोग्य वस्तुको माग बढेकाले हामी पनि व्यापारिक क्षेत्रमा बढी केन्द्रित भएका हौं। तर, औद्योगिक वातावरण बनेपछि हामी उद्योगमै फर्कनेछौं।

तपाईंहरूले ठूलो लगानीमा औषधि उद्योग स्थापना गर्न लागेको चर्चा सुनिएको थियो नि!

देशको तरल राजनीतिक परिस्थितिले लगानी गर्न आँट आएको छैन। परिस्थितिमा केही सुधार आएपछि काम शुरू गर्छौं।

कस्ता क्षेत्रमा लगानी गर्दा प्रतिफल पाउने सम्भावना हुन्छ?

रियलस्टेट क्षेत्र सुधारोन्मुख रहेकाले यसमा लगानी गर्नेबारे अध्ययन गरिरहेका छौं। समस्यामा परेका परियोजनालाई सहयोग गर्न पनि सकिन्छ। अहिले अपार्टमेन्टमा भन्दा छुट्टाछुट्टै आवासीय घरमा उपभोक्ताको रूचि छ, त्यस्तो परियोजनामा लगानी गर्न सक्छौं।

तपाईं मन्त्री पनि हुनुभयो, राजनीतिमा कत्तिको रूचि छ?

मेरो पहिले पनि राजनीतिसँग सम्बन्ध थिएन। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएपछि मलाई ज्ञाताका रूपमा मन्त्री भएर सहयोग गर्न आग्रह गरिएकाले स्वीकारेको हुँ। त्यतिबेला पनि आर्थिक नीतिनिर्माण बाहेक राजनीतिक गतिविधिमा समावेश भइनँ। म विपश्यना ध्यानको पृष्ठभूमिको मान्छे, विपश्यनामा राजनीति वर्जित छ। मन्त्री छोडेपछि मेरो राजनीतिक क्षेत्रका कसैसँग पनि सम्पर्क छैन।

ध्यान मार्गले व्यावसायिक जीवनमा कस्तो प्रभाव पारेको छ?

व्यवसायीका रूपमा चिनिए पनि मेरो जीवनको मुख्य उद्देश्य विपश्यनामै रमाउने हो। म अहिले विपश्यना नेपालको क्षेत्रीय आचार्य र धर्मश्रृङ्ग ध्यान केन्द्रको केन्द्रीय आचार्य छु। वर्षको दुई–तीन पटक समय निकालेर विपश्यनामा जान्छु, शिविर सञ्चालन गर्छु। वैशाख पहिलो साता पनि १० दिने शिविर सञ्चालन गर्ने उद्देश्यले जाँदैछु। यो कुनै सम्प्रदायसँग सम्बन्धित छैन। आत्म, व्यवहार, आचार र सोचाइ सुधार्ने यो विधिले मनका विकारहरू हटाउन सकिन्छ। आत्मशुद्धि गरेर जीवनलाई शान्त र मुक्त पार्न यसले सिकाउँछ।

पैसाको नशा लागेको व्यवसायीलाई ध्यानको नशाले कसरी तान्यो?

नेपालमा विपश्यना ध्यान विधि भित्र्याउन मेरो पिताजी (मणिहर्ष ज्योति) को ठूलो भूमिका छ। उहाँले सन् १९७० को दशकतिर साथीहरूसँग मिलेर विपश्यनाको शिविर चलाउनुहुन्थ्यो। त्यतिबेला म पढ्दै थिएँ। त्यसबेला दश दिनसम्म कसरी शिविरमा बस्ने भन्ने लागेर त्यता चासो दिइएन। हार्वर्डमा पीचडी गर्दै गर्दा नेपाल आएको बेला विपश्यना ध्यान केन्द्रमा पुगें। बुबालाई क्यान्सर भएको थियो, विदेशका अस्पतालमा उपचार गर्दा समेत निको हुन नसकेको क्यान्सरविरुद्ध लड्न उहाँलाई विपश्यना लाभदायक बन्यो। त्यस्तो बेलासमेत कष्ट र छटपटी भएन, सामान्य व्यक्तिसरह सहजै प्राण त्याग गर्नुभयो। त्यो घटनाबाट प्रभावित भएर एक महीनासम्म विपश्यना ध्यानमा बसें। मन नियन्त्रण गर्न, गलत काम रोक्न, आत्मनिरीक्षण गर्न, व्याकुलताबाट मुक्ति पाउन यो ध्यानले सहयोग गरेको छ। यसले सत्कर्मको बाटो मात्रै देखाउँदैन, फलको आशा नराखी काम गर्न अभिप्रेरित पनि गर्छ। गलत तरिकाले कमाएको रकम उसैगरी खेर जान्छ भनेर यो ध्यानले सिकाएको छ। त्यसैले पैसा होइन कर्मको नशा चाहिं हो।

comments powered by Disqus

रमझम