तर, उक्त निर्णयले नेपालमा उत्पन्न गराएको प्रतिक्रिया भने अनौठो छ । केही नेपालीपनका स्वघोषित व्याख्याताहरू सार्वजनिक रूपमा कुर्लिए, “नेपाली हेर्न अब गोर्खाल्याण्ड जानुपर्ने भयो ।” नेपालीपन अवधारणाको आधारभूमि बुझनलाई यस वाक्यको मर्म समात्न जरुरी छ । नेपालीपन अवधारणा र नेपालीभूमिबीचको सम्बन्ध खासै कसिलो छैन । नेपाल छोडे पनि ‘नेपाली’ भइराख्न सम्भव छ ।
अर्काे एउटा प्रसङ्ग एक भारतीय नेपाली साहित्यकारको उद्गारसँग जोडिएको छ । काठमाडौं आएका बेला उनले भनेका थिए, “मेचीपारि हामी सबै नेपाली छांै । यहाँ त राई, गुरुङ, मगर, बाहुन, नेवार आदि के के छन् ।” त्यस वाक्यको अर्थ के हो भने नेपाली कहलिन नेपालमै बस्नु नपर्ने कुरा त छँदैछ, सँगसँगै नेपालीपन भन्नु ऐक्यबद्धताभन्दा पनि एकनास पहिचानको नाम हो । यस्तो नेपालीपनले विविधतामा एकतालाई त स्वीकार्दछ, तर एकताभित्रका विविधताहरूबीचको ऐक्यबद्धतालाई देख्दैन ।
विकसित देशमा बसोबास गरिरहेका नेपाली मौका पाउनासाथ आफ्नो राहदानी परित्याग गर्ने सुरसारमा हुन्छन् । तर ती दशैं मनाउँछन्, नेपालीमा कविता लेख्छन् र नेपालका राजनीतिकर्मीहरूलाई सराप्न असाध्यै उत्सुक हुन्छन् । दोहोरो नागरिकताको दाबी त्यस्तै ‘मन त मेरो नेपाली हो’ समुदायले गरेको हो । त्यस्ता नेपालीका लागि नेपाल पितृभूमि हो, पवित्र तर अनुपयोगी । तिनलाई मातृभूमिको माटोको माया लाग्दैन, तर पितापुर्खाको सम्झ्ना प्यारो हुन्छ । नेपालीपन अवधारणाले धरातलीय यथार्थभन्दा पनि गौरवशाली अतीतको स्मृतिलाई प्रभावकारी ढङ्गले समेट्छ ।
नेपालीपन अवधारणासँग जोडिएका चिन्ह, बिम्व, भाषा, साहित्य, धर्म एवं संस्कृति यतिविघ्न अनन्य छन् कि भविष्यको सामेली नेपाली पहिचानका लागि नाम नै नयाँ खोज्ने हो कि भन्ने प्रश्न अब असान्दर्भिक लाग्दैन । सांस्कृतिक रूपमा संसारभरिका नेपालीहरूबीचको सम्बन्ध–सेतुका रूपमा नेपालीपनको महŒव कायम नै रहेको भए तापनि ‘नेपालभित्रका नेपालीहरू’ अटाउने नेपालीत्व, नेपालीय एवं नेपालीयता जस्ता अवधारणाहरूबारे खुला दिमागले छलफल चलाउन जरुरी भइसकेको छ ।
बन्द समुदाय
नेपालीपन अभिव्यक्तिको इतिहास धेरै पुरानो नभए पनि त्यस अवधारणाको जग पृथ्वीनारायण शाहको असली हिन्दुस्थान परिकल्पनाको आधारभूमिमा ठडिएको छ । राणा प्रधानमन्त्री जङ्गबहादुर कुँवर एवं चन्द्रशम्शेरले गोर्खाली परिचयलाई बेलायतीहरूको तावेदारीसँग जोड्न कुनै कसर बाँकी राखेनन् । तर, नेपालीलाई ‘एउटै भाषा, एउटै भेष; एउटै राजा, एउटै देश’ भन्ने उत्तेजक नारासँग जोड्ने सबभन्दा सघन प्रयास राजा महेन्द्रले थालेका हुन् । त्यस राजनीतिक परियोजनामा उनलाई सबभन्दा बढी सहयोग विदेशिएका नेपालीहरूका शाखासन्तानबाट भएको थियो ।
मूलतः जर्मन तथा फ्रान्सेली पितृभूमि अवधारणामा आधारित नेपालीपनमा वंश महŒवपूर्ण हुन्छ, जन्मस्थल गौण । त्यसैले नेपाली नागरिकतामा समेत वंशज सम्बन्धलाई मुख्य आधार मानिएको छ । स्मृति, परम्परा एवं गौरव वंशसँग जोडिएका विषय हुन् । नेपालीपनका विशिष्टतामा पछि प्यागोडा शैलीको वास्तुकला, तिब्बतियन थान्का एवं गलैंचा बुन्ने कला तथा नेवार स्थापत्य एवं मूर्तिकारिता जोडिए पनि मूलतः यो गोर्खाली वीरता र सौर्यको बखानमा आधारित छ । सोपानतन्त्र अन्तरनिहित रहेको नेपालीपन अवधारणामा हिन्दू राजा, हिन्दू धर्म एवं एकात्मक राज्यव्यवस्थाको प्राधान्यलाई स्वीकार्नुपर्ने हुन्छ । सम्भवतः त्यसैले नेपालीपनका सबभन्दा दिग्गज प्रवक्ताहरू यी तीनथरी मुद्दामा जनमत सङ्ग्रह गराउन चाहन्छन् ।
राष्ट्रलाई ‘बन्द समुदाय’ बनाएपछि जीवन अपेक्षाकृत सजिलो बन्न पुग्दछ भन्ने यथार्थ जापानमा देख्न सकिन्छ । पुस्तौंदेखि जापानमा बसोबास गरिरहेका कोरियाली मूलका व्यक्तिहरू जापानी मानिँदैनन् । तर, पेरूका भगौडा जापानीमूलका अल्बर्टो फुजिमोरीलाई जापानीहरू ‘आफूमध्येकै एक’ को रूपमा सहर्ष स्वीकार्छन् । समाजशास्त्रीय दृष्टकोणबाट ‘बन्द समुदाय’ अवधारणालाई हिन्दूहरूको वर्णाश्रम व्यवस्थासँग दाँज्न मिल्छ, जसअनुसार व्यक्तिको सामूहिक परिचय उसको जन्मले निर्धारण गर्दछ । दलित बाहुन बन्न सक्दैन । नश्लवाद (रेसिज्म) नेपालीपन अवधारणासँग जोडिएर आउँछ ।
सोच–प्रयोगका लागि एकछिनलाई कल्पना गरौं; केन्याली बाबु एवं नेपाली आमाको कुनै सन्तान जनकपुरमा जन्मिन्छ र परिबन्दले उसको पालनपोषण जकार्तामा हुन पुग्दछ । नेपालीपनको जति नै उदार व्याख्या गरे पनि त्यस्तो व्यक्ति कहिल्यै नेपालमा बाराक ओवामा बन्न सक्दैन । नेपालमा त्यस्तो व्यक्तिले कर्म गर्दै फलको आशा राख्ने होइन, पुनर्जन्मको प्रतीक्षा गर्नुपर्ने छ ।
राजतन्त्र र हिन्दू राज्यको वकालत गरेकाले ‘सन्तनेता’ कृष्णप्रसाद भट्टराईलाई व्यर्थको विवादमा तानिएको छ । नेपालीपनप्रतिको उनको आसक्ति २०४७ मा नयाँदिल्लीमै देखिएको हो । मधेशीहरूलाई तत्कालीन शाही सेनामा किन भर्ना लिइँदैन भन्ने प्रश्नमा भारतीय पत्रकारहरूलाई उनको उत्तर थियो, “भारतीय गोर्खा सेनामा मधेशीहरू किन छैनन्, तिमी आफ्नै सरकारलाई सोध ।” नेपालीपनका हिमायतीहरू ‘सन्त–नेता’ को त्यो नश्लवादी वक्तव्य गौरवसाथ सम्झ्न्छिन् । अप्ठ्यारो के भइदियो भने नेपालको झ्ण्डै आधा जनसङ्ख्या त्यस्ता साँघुरो र बन्द पहिचानको परिधिभित्र अटेसमटेस गर्दै बस्न अब राजी छैनन् ।
खुला राष्ट्रियता
नेपाली पहिचानलाई परीक्षण गर्ने अर्को एउटा सोच–प्रयोग उपयोगी ठहरिन सक्दछ । भारतको बिहार राज्यअन्तर्गत सहर्षा जिल्लाको टेडीमा जन्मिएका गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिका महानायकका रूपमा आफ्नो जीवनकालमै स्थापित भए । अब कल्पना गरौं; राष्ट्रपति रामवरण यादव बिहारको मधुवनी जिल्लाको कुनै गाउँमा जन्मिएका भए कोइराला जस्तै सम्पूर्ण जीवन नेपाली राजनीतिलाई सुम्पेको आधारमा कहिल्यै मुलुकको प्रथम नागरिक हुन सक्दथे ? धनुषा जिल्लाको सपही जन्म गाउँले समेत नपुगेर उनको स्वीकार्यता बढाउन काठमाडौंका सम्भ्रान्तहरू गोपालवंशी एवं महिषपाल राजाका प्रसङ्गहरू उप्क्याउँछन् । उनी ‘हामी जो जहाँ जन्मेका भए पनि सबभन्दा पहिले नेपाली’ नारा भट्याइराख्न अभिशप्त छन् । गौर, रौतहटका भए पनि प्रधानमन्त्री माधवकुमार नेपालले भने ‘राष्ट्रप्रेम’ को त्यस्तो प्रमाण हप्तैपिच्छै जस्तो सार्वजनिक रूपमा दोहो¥याइराख्नुपर्दैन ।
सामुदायिक पहिचानमा आधारित राष्ट्रियताको सबभन्दा ठूलो समस्या त्यसको परिधिलाई जति नै फराकिलो पारे पनि बहुलता र विविधताले भरिएको समाजमा जनसङ्ख्याको एउटा ठूलो हिस्सा जहिले पनि बाहिर हुन पुग्नु हो । पाकिस्तानका अहमदिया, क्रिश्चियन वा सिन्धका जनजातिहरूलाई एकल पहिचानमा समेट्न सकिएको छैन । बङ्गलादेशमा चिटगाङ्ग हिल ट्वैरका आदिवासीहरूको अवस्था त्यहाँका हिन्दू अल्पसङ्ख्यक जतिको पनि छैन । श्रीलङ्कामा त जातीय युद्धले राष्ट्रिय एकता चर्केको ऐना जस्तो भइसकेको छ । बहुल समाजको प्राथमिक पहिचान सामुदायिक नभएर राजनीतिक हुन सक्यो भने मात्र त्यो दिगो रहन सक्दछ ।
नेपाली हुनलाई थर जुन भए पनि थरी (क्याटेगोरी) एउटै अङ्गीकार गर्नुपर्ने हुन्छ । तर नेपालीयहरू थरीथरीका हुन सक्दछन् । संयोजित परिचयद्वारा मैथिल–नेपाली मात्र होइन, आवश्यक देखिए जुलु–नेपाली वा तुत्सी–नेपाली पनि नेपालीय परिचयभित्र अटाउन सक्नुपर्दछ ।
नेपालीपन वंशमा आधारित समुदाय निर्माणमा विश्वास राख्दछ भने नेपालीयताको मान्यता समता, स्वतन्त्रता, ऐक्यबद्धता एवं सामाजिक न्यायका लागि गरिने राजनीतिबाट स्थापित गर्न सकिन्छ । नेपालीपन संस्कृति अँगालेकाहरूका लागि राजनीतिक दलहरू राष्ट्रिय एकता कमजोर तुल्याउने विभाजक शक्तिहरू हुन् । तर, नेपालीयता अवधारणामा विभिन्न राजनीतिक दलहरूले बहुलवादी समाजमा समूहहरूलाई गोलबन्द गरेर राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दछन् । ढाका टोपी लगाउनै हुँदैन र नेपाली बोले जात जान्छ भन्नेहरू नेपाली राजनीतिमा प्रतिस्पर्धा गर्ने हिम्मत जुटाउन सक्दैनन् । तर ढाका टोपी लगाउनै पर्छ र नेपाली नबोली हुँदैन भन्ने अड्डी कस्ने हो भने धेरै नेपालीयहरू वैकल्पिक बाटाहरू पहिल्याउनेतिर लाग्न सक्दछन् । राजनीतिक परिचय जड थरी होइन, गतिशील प्रक्रियाद्वारा निरन्तर परिष्कृत भइरहने सामेली पहिचान हो ।
नेपालीपन र नेपालीयता अवधारणा परस्पर विरोधी होइनन् । नेपालीपनका पक्षधरहरूका अनुसार ‘नेपाली संस्कृति’ मान्नेहरूको जनसङ्ख्या नेपालभित्र जति छ (लगभग १.५ करोड), नेपाल बाहिर पनि त्यति नै छ । तिनलाई बन्धुत्वमा जोड्ने डोरी दशैं–तिहार, दौरा–सुरुवाल, देवकोटा–शेरचन र स्वस्थानी–तीजमा आधारित नेपालीपन हुन सक्दछ । त्यस्तै ईद–ल्होसार, लुङ्गी–बख्खु, भिखारी ठाकुर–चित्रधर एवं सामाचकेवा–उभौलीका बीच सामञ्जस्य स्थापित गर्दै राष्ट्रिय दिवस, संविधान दिवस, श्रमिक दिवस वा किसानोत्सव जस्ता सदाग्रही परिचयको प्राधान्य सबैखाले नेपालीय नागरिकहरूलाई स्वीकार्य गराउने काम पनि कम चुनौतीपूर्ण छैन । नेपालीपनको सांस्कृतिकता एवं नेपालीयताको राष्ट्रियतालाई परिपूरक अवधारणाका रूपमा बुझन वरू बढी उपयुक्त हुन्छ ।
पञ्चतत्वमध्ये देशीय राष्ट्रियताका लागि हावा, पानी र माटो बढी महŒवपूर्ण हुन्छन् । ऊर्जा र आकाश समात्दै समृद्धिको खोजीमा लाग्नेहरूका लागि भने माटाको माया भावुकता र कमजोरी मात्र हो । दुवैथरीले आ–आफ्नै तर्क तेस्र्याउँछन् । तिनको द्वन्द्वले कसैको हित गर्दैन । तर, भौगोलिक सिमाना भएको स्वायत्त नेपालको अस्तित्व एवं प्रगतिका लागि सीमाविहीन नेपालीपनभन्दा देशीय राष्ट्रियता अवधारणामा आधारित नेपालीयतालाई बढावा दिनु बढी उपयुक्त हुनेछ ।
