८ बैशाख २०७० | 21 April 2013

पाउलोनियाको सम्भावना

Share:
  
दाउरा, डालेघाँस, मह, पर्यावरण र पैसाका लागि पाउलोनिया रोपौं।

नेपाली कृषिको सम्भावना ठम्याउन माघ २०५७ देखि थालेको देश भ्रमण अभियान अन्तर्गत मंसीर २०६९ मा म्याग्दी पुग्दा पाउलोनियाको चर्चाले ध्यान तान्यो। नयाँ–नयाँ कृषि सम्भावनाहरू नै मेरो खोजीको विषय भएकाले उत्साहित हुँदै जिल्ला सदरमुकाम बेनीबाट १५ किमी परको बाबियाचौर पुग्दा नगेन्द्र पौडेलले पाउलोनिया रोपेको पाएँ। पौडेलसँग कुरा गर्दा बाग्लुङको भीमगिढे गाविसका पूर्व अध्यक्ष दीपक थापाको नाम जोडिन आइपुग्यो।

पाउलोनिया 'पावर'

२०५९ सालमा स्थानीय निकायका पदाधिकारीको पदावधि समाप्त भएपछि कृषिमा नयाँ सम्भावना खोज्न थालेका गाविसका पूर्व अध्यक्ष दीपकले मन मिल्ने मित्रहरूसँग मिलेर ललितपुरको कुसुन्तीमा पाउलोनियाको टिस्युकल्चर ल्याव खोलेका छन्, देशभर व्यावसायिक खेतीको उद्देश्यका साथ। एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले १९९४ देखि नै गोदावरीमा पाउलोनियाको सफल परीक्षण गरे पनि धेरैलाई जानकारी नभएको अवस्थामा यो पहलले आशा जगाएको छ।

धेरै नेपालीका लागि बिल्कुल नयाँ वस्तु पाउलोनिया किगोर्ट परिवारअन्तर्गत पर्ने चिनियाँ वृक्ष हो। यो रूख नीलो र सेतो रङमा ढकमक्क फुल्छ। यसका विशेषज्ञ काठमाडौं विश्वविद्यालयका डा. ध्रुवप्रसाद गौचनका अनुसार, एउटा पाउलोनियाले रोपेको १० वर्षमा कम्तीमा ३० देखि ३६ क्यूविक फिट काठ दिन्छ। एक पटक रोपेको रूख पाँच पटकसम्म काट्न मिल्छ। एक रोपनी जग्गामा ८० वटा बोटसम्म लगाउन सकिन्छ। यसबाट दाउरा र पोसिलो घाँस पनि उत्पादन हुन्छ। चिनी, चिल्लो पदार्थ र प्रोटिन हुने भएकाले गाईवस्तुले यसको घाँस मन पराउँछन्। घाँसको लागि रोप्ने हो भने धेरै हाँगा फैलन दिनुपर्छ।

यसको फूलले मौरीको चरनको काम गर्छ। यस्तो विशुद्ध अर्गानिक महको ठूलो माग छ भने घाँसले पशुपालनमा उत्तिकै फाइदा गर्छ। पाउलोनिया नेपालको तराईदेखि २ हजार मिटरसम्मको पहाडमा हुन्छ। सिंचाइ नहुने सुक्खा बारीमा समेत बढ्ने यसको बिरुवा जेठ–असारमा रोप्दा सहजै हुर्कन्छ। डा. गौचनका अनुसार, 'अनेक फाइदा' दिने पाउलोनियाले पर्यावरणलाई सन्तुलनमा राख्न प्रभावकारी भूमिका खेल्छ, कार्वनडाइअक्साइडलाई अत्यधिक मात्रामा सोसेर।

आर्थिक हिसाबमा त यसले देशकै मुहार फेर्न सक्छ। तराईको डेढ बिघा जमिनमा पाउलोनिया लगाउँदा १० वर्षमा काठ मात्र रु.६ करोड ५० लाखको उत्पादन हुने हिसाब निकालिएको छ। यस हिसाबले तराईका खालीमध्ये एक लाख बिघामा पाउलोनिया लगाउँदा १० वर्षमा ४६ अर्ब डलरको काठ बेच्न सकिन्छ। यसको रूखमुनि बेसार, तरकारी, अनार, आँप, लिची, भुर्इंकटहर जस्ता नगदे खेती गर्न सकिन्छ। थापाहरूले गरेको प्रचार–प्रसारको परिणाम नै भन्नुपर्छ, अहिले किसान, शिक्षक र उद्योगीहरू यो अभियानमा जोडिंदैछन्। बाँके जिल्लामा भोजराज शाही, बर्दियामा खड्कबहादुर खड्का, नवलपरासीमा धनबहादुर श्रीष र फणीन्द्र पाण्डे, गोरखामा शालिकराम अर्याल, म्याग्दीमा नगेन्द्र पौडेल, नुवाकोटमा नार्कोनन् नेपाल र काभ्रेमा प्रेम लामाले पाउलोनिया लगाएका छन्।

वैजनी रङको फूल निकै आकर्षक हुने भएकोले पाउलोनिया ठूला उद्यान र सडक किनारका लागि राम्रो हुन्छ। तर, पाउलोनिया काठकै लागि बढी रोपिन्छ। यसको विस्तारमा अहोरात्र खटिरहेका थापाका अनुसार यो रूख नेपाली किसानका लागि बीमा, निवृत्तिभरण र मुद्दती बचत समेत हो। यसले देशको कृषि, अर्थतन्त्र र पर्यावरणमा पुर्‍याउने फाइदा आफ्नो ठाउँमा छँदैछ। मुलुकको अर्थतन्त्रमा हेर्नलायक टेवा दिनसक्ने पाउलोनिया खेतीमा राज्यले पनि हात हाल्नुपर्ने देखिन्छ।


यसरी आयो पाउलोनिया

टिस्युकल्चर ल्यावमा लेखक।
आशापुरी अर्गानिक प्रा.लि.मा मेरा साझेदार प्रेम लामाले ललितपुर गोदावरीस्थित इसिमोड कार्यालय जाँदा–आउँदा देखेका पाउलोनियाबारे निकै खोजीनिती गरेका रहेछन्। उनको कुरा सुनेपछि मैले पनि हेरें। त्यसपछि खोजीनिती गर्दै जाँदा तथ्यहरू यस्ता आए कि, हामी चार वर्ष पहिले स्टेभियाका लागि स्थापना गरेको टिस्युकल्चर ल्यावलाई पाउलोनियाको बिरुवा उत्पादनमा लगाउने निर्णयमा पुग्यौं। यो ल्यावले आगामी असारमा एक लाख बिरुवा उत्पादन गर्दैछ।

नेपालमा पाउलोनियाको बिरुवा १९९४ मा चिनियाँ प्रोफेसर लुरोङ्गसेनले ल्याएका रहेछन्। इसिमोडका पुराना कर्मचारी जीवन तामाङका अनुसार, प्रोफेसर लुले 'तिमीहरूलाई पछि काम लाग्छ' भन्दै आफ्नै हातले रोपेका रहेछन्। अहिले पाउलोनियाको सानोतिनो जंगलै छ त्यहाँ। हामी जस्ता देखेर मात्र विश्वास गर्नेहरूका लागि यो गतिलो प्रेरणा भयो। उता धुलिखेलको काठमाडौं युनिभर्सिटीमा नौ वर्षअघि रोपिएको पाउलोनिया अहिले कम्तीमा ४० क्यूविक फिट काठ दिने भइसकेका छन्।
चीनको रैथाने यो रूख अहिले जापान, कोरियालगायत एशियाली देश र अमेरिका, न्युजिल्याण्ड आदि मुलुकमा पुगेको छ। पाउलोनियालाई किटी, राजकुमारी र महारानी वृक्ष पनि भनिने चीनमा छोरी जन्मेको उपलक्ष्यमा यसको बिरुवा रोप्ने चलन छ। छोरीको विवाह गर्दा त्यो रूखको फर्निचर दाइजो दिने परम्परा रहेछ, चीनमा।

पाउलोनियाको पहेंलो र हल्का खरानी रङको काठलाई तापको कुचालक अर्थात् आगो नटिप्ने मानिन्छ। खँदिलो, नफुट्ने, नपसाङ्गिने र कीरा नलाग्ने यो काठ डुङ्गा, फर्निचर, खेलौना, वाद्ययन्त्र र प्याकेजिङका लागि उत्तम मानिन्छ। यो काठ घरको झयाल–ढोका, पार्केटिङ र सिलिङका लागि पनि राम्रो हुन्छ। हलुका र नमक्किने हुनाले पाउलोनियाको काठ हस्तकला, हवाइजहाज, ग्लाइडर, वायुयान, पानीजहाजहरूमा धेरै प्रयोग हुन्छ। यसको बाहिरी पत्र (पलाँस) निकै पातलो हुनेभएकाले चाहिने काठ बढी हुन्छ। पाउलोनियाको व्यापक वृक्षरोपण देशको अर्थतन्त्रकै लागि फलदायी हुने हाम्रो विश्वास छ। यो विश्वासको आधार के हो भने, हामीले बाँके, बर्दिया, नवलपरासी, रुपन्देही, गुल्मी, चितवन, गोरखा, नुवाकोट, बाग्लुङ र म्याग्दीमा गरेको परीक्षणमा सफलता हात लागेको छ।

पाउलोनिया सम्बन्धी काम गर्दै गर्दा फोहोरबाट बिजुली निकाल्ने परियोजनामा लागेका केएन राणासँग पनि भेट भयो, जो काठमाडौं उपत्यकाको फोहोरले मात्रै नपुग्ने भएपछि अरू विकल्प खोज्दै जाँदा पाउलोनियासम्म पुगेका रहेछन्। त्यही क्रममा पाउलोनिया अध्ययनका लागि अमेरिकाको जर्जिया पुगेका राणासँग अहिले हामी पनि काम गरिरहेका छौं। पाउलोनियाको हाँगा, पात र जराजुरी बायोग्याँसको राम्रो स्रोत हुन्छ। शिशिर ऋतुमा पात झ्रेर नाङ्गो हुने पाउलोनिया वसन्त ऋतुको सुरुआतसँगै कम्तीमा एक महीनासम्म ढकमक्क फुल्छ। यो बहुउपयोगी वृक्षको प्रसार र प्रवर्द्धन गरौं।

दीपक थापा

comments powered by Disqus

रमझम