८ बैशाख २०७० | 21 April 2013

परिचित पौरख

Share:
  
विदेशबाट स्रोत, सीप र सोच बोकेर फर्केका युवाले खोटाङमा उदाहरणीय काम गरिरहेका छन्।

काशीकुमार बजिमय
काशीकुमार बजिमय (३६) ले साउदी अरबमा चार वर्ष लेबर र पाँच वर्ष ड्राइभरी गरेर दिक्तेल बजारमा घर जोडे। त्योभन्दा पनि महत्वपूर्ण, उनी अहिले घरैमा हेयर कटिङ शैलुन खोलेर मासिक कम्तीमा रु.२५ हजार कमाइरहेका छन्। “विदेशमा दैनिक आठ घण्टाभन्दा बढी पसिना बगाउँदा पनि योभन्दा बढी कमाइ हुँदैनथ्यो”, साउदी बस्दा भारतीय साथीबाट कपाल काट्न सिकेका काशीकुमार भन्छन्, “अहिले म परिवारसँगै बसेर त्यति कमाइरहेको छु, दिक्तेलबाट हरेक महीना बाहिरिने जिल्लाको पैसा पनि रोकिरहेको छु।”

फुर्सदमा सिकेको सीपलाई १६ महीनादेखि पेशा बनाएका बजिमयको शैलुनमा अहिले जिल्लाका कर्मचारी, विकासे कार्यकर्ता र शिक्षक–विद्यार्थीदेखि किसानसम्म नियमित ग्राहक छन्। काशीकुमारले घरमा 'बजिमय हेयर कटिङ'को साइनबोर्ड राख्दा 'नेवारले कपाल काट्ने काम गर्नुहुँदैन' भनेर अर्ति दिने आफन्तहरूलाई 'गर्नेलाई कुनै पनि काम महान् हुन्छ, पानी बारे पनि बार' भन्ने जवाफ दिएपछि अहिले उनीहरूले पनि सहयोग गरेका छन्।

एक दशक हङकङमा बिताएर फर्केका नेर्पा–२ का भोगेन्द्र राई (४०) गाउँठाउँमा पसिना बगाउँदा कमाइसँगै योगदान पनि हुने बताउँछन्। विदेशमा पैसा कमाउँदै जाँदा हीनताबोध बढ्दै गएको अनुभव सुनाउने भोगेन्द्र अहिले इलेक्ट्रोनिक्स व्यापार, मोटरबाइक वर्कशप सञ्चालन र रुद्राक्ष खेतीदेखि साहित्य सिर्जना र खोटाङलाई वृत्तचित्रमा उतार्नेसम्मको काममा व्यस्त छन्। “विदेशीहरू काम गरेरै धनी भएका हुन्”, भोगेन्द्र भन्छन्, “हामीले त्यसैको सिको गर्ने हो, सिकाउने हो।”

भोगेन्द्र राई, इन्द्र नारथुंगे
अर्का कामकाजी छन्– भलकाजी विश्वकर्मा (२४) जो चार वर्ष दुबईमा घोटिंदा आफ्नै ठाउँमा पसिना बगाउनुपर्ने रहेछ भन्ने बुद्धि फिरेको बताउँछन्। बाँसका हस्तकलाबाट मासिक रु.१७–१८ हजार कमाइरहेका दिक्तेल–७ सोल्माका भलकाजीले विदेशमा मन पोल्दा आफूले २०६२ सालतिर लिएको निगालो बाँसका सामान बनाउने तीनमहिने तालीम सम्झ्ँदै गाउँ फर्केको बताए। त्यो जुक्ति र जाँगरकै कारण अहिले उनी कपडा पसलका मालिक पनि भएका छन्। यसैगरी, बहराइन र मलेशियामा १५ वर्ष बिताएका लफ्याङ–४ का ३७ वर्षीय जीतबहादुर (जेबी) राईले सदरमुकाम दिक्तेलमा ग्रील उद्योगसँगै च्याउखेती थालेका छन्। जिल्लाकै पहिलो च्याउ किसान बनेका उनी अहिले दैनिक सरदर सात किलो च्याउ बेचिरहेका छन्– प्रतिकिलो रु.३०० का दरले। सिंगापुरमा एक जना च्याउ व्यवसायीले दिएको जुक्ति लिएर चार वर्षअघि गाउँ फर्केका जेबी भन्छन्, “४० डिग्रीको तापक्रममा अरूको काम गर्नुभन्दा स्वदेशको पौरख कता हो कता राम्रो!”

यसैगरी, 'मलेशिया रिटर्न' बुईपा–४ का रमेश खिलिङ्गे (३४) ले प्लाष्टिकको टनेलमा तरकारी खेती थालेका छन् भने इन्द्रेणीपोखरी–८ का इन्द्र नारथुङ्गे (३६) ले 'इन्द्रेणीपोखरी कृषि सहकारी संस्था' स्थापना गर्नुका साथै गाउँमै फोटो स्टुडियो, फोटोकपी, इन्टरनेट र भिडियोग्राफी सेवा थालेका छन्। इन्द्र भन्छन्, “मनको जुक्ति र ज्यानको जाँगर निकाले नेपाली युवाले अन्त हेर्नै पर्दैन।”

इन्द्रले जस्तै नेर्पाका 'कोरिया रिटर्न' निसान राई (४०) ले दिक्तेलमा भगवती बचत तथा ऋण सहकारी संस्था खोलेर लाखौंको कारोबार गरिरहेका छन् भने वर्षौं खाडीमा बिताएका बुईपा–१ का भरतविशाल राई (३९) ले दिक्तेलमै रिसोर्ट सञ्चालनमा ल्याएका छन्। विदेशको अनुभवको आधारमा स्वदेशमा काम थालेका यी उत्साही युवाको सक्रियता अहिलेलाई आयको भन्दा सिकोको हिसाबले बढी महत्वपूर्ण देखिन्छ।

दमन राई, खोटाङ

comments powered by Disqus

रमझम