८ बैशाख २०७० | 21 April 2013

पुष्पमार्गमा पदयात्रा

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ

आए पाखा वन चहुरमा फूल लाखौं पलाई

को भन्देला सकल यिनको नाम मीठो मलाई

राष्ट्रकवि माधव घिमिरेको यो अहम् प्रश्नलाई आफ्नो डिजिटल क्यामेराभरि खाँदेका युवक ला दोर्ची शेर्पा मेरोछेउ आइपुगे ल्यापटप बोकेर। बोरा खोलेर मान्द्रोभरि बिस्कुन छरेझै हजारौं फूल वनस्पतिका चित्र मेरो सामुन्ने फिंजाए दोर्ची भाइले। बेसीशहरदेखि थोराङ फेदीसम्मको मनाङ कम्प्युटरको पर्दामा देखिन थाल्यो। पाखा, वन, चहुरका हजारौं फूलले आफ्नो नाम सोध्न थालेपछि मेरो स्मृतिपटल छटपटाउन थाल्यो।

लगभग तीन महीनाको कसरतपछि धेरैको नाम थाहा पाइयो, तर स्थानीय जिब्रोमा टाँसिएका मीठा नामहरू त्यति पाइएन। नाम भनिदिने मानिस आजभोलि जिल्लामा बस्दैनन्। शहरी जीवनको तडकभडक, वैदेशिक आम्दानीको आकर्षण र पश्चिमा विद्याको पासोमा परेका नयाँ पुस्तालाई लेकबेंसीको दुःख गर्न पर्दैन। फूल बिरुवासँग हाँसो र आँसु गर्नु पनि छैन। विदेशी पर्यटकका पर्खाइमा आफैं पलाई आउँछन् फूलहरू। तिनै पर्यटकका पथप्रदर्शक बनेर दोर्चीको यात्रा प्रारम्भ हुन्छ। स्वभावैले पुष्पप्रेमी हुँदा फुर्सद पाउनासाथ फूलहरू खिच्दै हिंड्छन्, उनी। यहाँ म तीमध्ये केही फूल–वनस्पतिका नाम भन्ने जमर्को गर्दैछु।

तस्वीर: दोर्ची शेर्पा

वन लसुनः पहिलो कोसेलीको रूपमा वन लसुनको परिचय गराउँछु। यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाइन्छ। शरीर नातागत भएको बेला पनि वन लसुन प्रयोग हुन्छ। अहिले वन लसुनको जडीबुटी व्यापार बढ्दो छ, तर यो अति सुन्दर फूलको बिरुवाले नेपाली बगैंचासम्म प्रवेश पाउन सकेको छैन। सन् १९९० को जापान एक्स्पोमा पुरस्कृत भएको यो पुष्पले नेपाली हुलाक टिकटमा भने आफ्नो स्थान सुरक्षित पारेको छ।

वन लसुनको बोट सामान्यतः एक मिटर जतिको हुन्छ। चिल्ला पातहरूको छेउबाट सुन्दर फूलहरू घण्टी झै तलतिर निहुरिएका हुन्छन्। ठाउँअनुसार फूलका तरेलीहरू सेतो, सुनौलो वा हल्का पहेंलो हुन्छ, तर सबैका भित्री भाग गाढा चकलेटी रङको हुन्छ। तरेलीहरू चरक्क चिरिएर पछाडि बटारिएर फक्रन्छन्। फूलका ६ वटा पुंकेशर लामा–लामा काँटीहरूमा झुण्डिन्छन्। स्त्रीकेशर तिनका माझ्बाट सलक्क बाहिर निस्केर पराग थाप्न तयार हुन्छे। यो बिरुवा वनस्पतिजगतको लिली परिवारभित्र समावेश छ। यसको वैज्ञानिक नाम 'लिलिएम नेपालेन्स' हो।

कपासेः नेपालका हिमाली लेकका वनस्पतिमध्ये कपासे फूलको आकृति निकै रोचक हुन्छ। कपासकै भकुण्डो जस्तो देखिने यो वनस्पतिलाई नौनी फूल पनि भनिन्छ। लेकाली घाँसका चहुरमा कसैले नौनीको डल्लो लुकाए जस्तो देखिने यो बिरुवा ४ हजार मिटर भन्दा उच्च क्षेत्रमा बादल भन्दा माथिको जाडो खप्न न्यानो कपासभित्र गुटमुटिएको हुन्छ। जनैपूर्णिमाको मेला भर्न गोसाइँकुण्ड जाने तीर्थालुहरू यसलाई सिलुस्वाँ (नेपाल भाषा) भन्दछन्। त्यहाँ जम्मा हुने धामीझाँक्रीहरू औषधोपचारका लागि यो बिरुवा बटुलेर लैजान्छन्। कपासे फूल भूतप्रेत भगाउन मात्र हैन स्त्रीरोगमा समेत प्रयोग हुन्छ। वनस्पतिशास्त्रले यसको नाम 'ससुरिया गोसिपिफोरा' निर्धारण गरिदिएको छ। आकृति विशेषले यसलाई सूर्यमुखी फूलको परिवारभित्रको बिरुवा भन्न वा मान्न गाह्रो पर्दछ।

द्यौराली फूलः हिमालपारिका केही उपत्यका (३५०० मि–४००० मि) हरूबाट मानिस बसाइँ सरेर गएपछि त्यहाँ लेकाली फूलको होली चल्छ। तिनमा द्यौराली फूलको प्रभुत्व जम्यो भने त्यो जत्तिको मगमगाउँदो स्थान अरू हुँदैन। एउटै जराबाट उछिट्टिएका अनेकौं काण्डका टुप्पोमा सेता फूलका झुप्पा झुम्न थाल्दछन्। सेतो फूलको फेदीमा रातो रङले सजिएका यी पुष्पपुञ्ज ज्यादै सुवासिला हुन्छन्। हावाको झोंक्कासँगै प्रत्येक बिरुवा मयुर नृत्य गरिरहेका हुन्छन्। लोक्ता परिवारको यो बिरुवालाई 'स्टिलेरा चामे जास्मे' भनिन्छ। डोल्पाका आम्चीहरू यो बिरुवालाई 'रेजाक' भन्दछन्। यसको जराले घाउ, खटिरा वा सुन्निएको उपचार गरिन्छ।

च्छेर ङोग्ः भोट प्रदेशमा आकाशको नीलो गहिराइलाई उछिन्दै नीर रङमा चोबल्लिएर फुल्ने यो फूलको अंग्रेजी नाम हो, ब्ल्यु पप्पी। आम्चीहरू यसलाई 'च्छेर ङोग्' भन्दछन् भने हातगोडा मर्केको, श्वास प्रश्वास रोगको उपचारमा यसको प्रयोग गर्छन्। वनस्पतिशास्त्रीहरू यसलाई 'मेकोनोप्सिस होरिडुला' भन्दछन्। पप्पी प्रजातिमा यतिको काँडावाल अरू बिरुवा हुँदैन। यो अफिम प्रजातिको बिरुवा भए पनि यसमा लागूपदार्थ पाइँदैन। युरोपेली बगैंचाहरूमा यसको विशेष प्रतिष्ठा छ। हिमाली भेकमा करीब ६ हजार मिटरको उचाइसम्म यो बिरुवा पाइन्छ। यो उचाइको हावापानी अरू पप्पीले खप्न सक्दैन।

कृमान्थोडियम पर्पुरिफोलियमः वनस्पति जगतमा सूर्यमुखी फूल प्रजाति असाध्य धेरै छन्। तीमध्ये ४,४५० मिटर माथिको क्षेत्रमा फुल्ने यो विशेष सूर्यमुखीलाई 'कृमान्थोडियम पर्पुरिफोलियम' भनिन्छ। यसको पातमा अद्वितीय ढंगले वैजनी रङ पोतिएको हुन्छ। हिमाली भीरपाखामा माटो बन्ने प्रक्रिया भर्खर शुरू मात्र भएको बेला पत्थरका टुक्राटाक्री, गिर्खा र बालुवालाई जीवनले सिंगार्ने बिरुवाहरूमध्ये सूर्यमुखी निकै आकर्षक हुन्छ। यस्ता उच्च हिमाली बिरुवाहरूको सक्रिय जीवन तीन/चार महीनाको मात्र हुन्छ। यस्ता बिरुवा जीवनचक्रको अधिकांश समय सुषुप्त अवस्थामा बीउ बनेर हिउँसँगै निदाउँछन्। हिउँ विलाएपछि बीउ अंकुराउन थाल्छन्, वैशाख–जेठमा। भदौ–असोजतिर नयाँ बीउ बनिसक्नुपर्ने हुनाले फूलहरू परागसेचनका निम्ति कीरा फट्यांग्रालाई आकर्षित गर्न मनमोहक रंगमा फुल्दछन्।

भुईंफूलः हामीले भुटेर खाने तिलको परिवारमा पर्ने 'लान्सिया टिवेटिका' नामक यो वनस्पति खुकुलो माटोमा फुल्ने भुईंफूल हो। आम्चीहरू यसलाई 'पा याक्सा व्रा' भन्दछन् र फोक्सो तथा मुटुको रोगमा प्रयोग गर्छन्। यिनका प्याजी वा वैजनी फूलहरू भुईं छोएरै फुल्दछन्।

जटामसीः हिमाली जडीबुटीमध्ये जटामसी प्राचीनकालदेखि नै प्रचलित नाम हो। नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित जडीबुटीमा जटामसी ज्यादै प्रख्यात छ। यसको जरामा जटा जमेको हुन्छ। ती जटामा निकै सुगन्धित तेल जमेर बसेको हुन्छ। अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ। जटामसी नेपालको लोपोन्मुख जडीबुटी भएकाले अन्तर्राष्ट्रिय व्यापारमा विशेष निगरानीका साथ आयात–निर्यात गर्ने/गराउने चलन छ। जटामसीको वैज्ञानिक नाम 'नार्डोस्टाकिस जटामन्सी' रहे पनि वनस्पति नामकरणको हालको अन्तर्राष्ट्रिय नियमबाट यसको नाम 'नार्डोस्टाकिस ग्राण्डिफ्लोरा' निर्धारण भएको छ। यो नामले जटामसीको जरालाई भन्दा फूलको विशेषतालाई बढी महत्व दिएको देखिन्छ।

पाषाणभेदः गाउँघरमा पाखनभेद वा ठूलोओखत भनिने पाषाणभेदको नामबाटै यसले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने बुझिन्छ। नेपालमा तीन प्रकारका पाषाणभेद पाइन्छन्। सबैभन्दा उच्च क्षेत्रमा (३६०० मिटरभन्दा माथि) पाइने यो पाषाणभेदको वैज्ञानिक नाम 'बर्जिनिया पर्पुरासेन्स' हो। पाषाणभेदको जरा चट्टानका कापमा फैलिएर ढुंगा फोर्ने काम गर्दछ। पाखनभेदका जरा खोकी, ज्वरो, पखाला आदि रोगमा प्रयोग हुने नामी जडीबुटी हो। सुत्केरी महिलालाई तन्दुरुस्तीमा ल्याउन यसको अधिक प्रयोग गरिन्छ।

पदमचालः आम्ची औषधि र आयुर्वेदमा पदमचाल प्रख्यात जडीबुटी हो। रगतमासी र पेटसम्बन्धी अरू रोगव्याधमा पदमचाल अधिक प्रयोग हुन्छ। गोठालाहरू यसको अमिलो पात र डाँठ चुसेर रसास्वादन गर्छन्। यसलाई अमिले र आकाशचुक पनि भन्ने चलन छ। ३००० मिटरदेखि ४००० मिटरसम्मको हिमाली क्षेत्रमा यो बिरुवा फस्टाउँछ। हिमाली भुईंफूल र घाँसपातहरूका माझ् करीब दुई मिटर अग्लो हुने यो बिरुवा पर्यटक वा अरू यात्रीको नजरमा परिहाल्छ।

हिमाली गुलावः संसारमा हजारौं प्रजातिमा पाइने गुलावमध्ये 'रोजा सिरिसिया' आकाशै छुने उचाइमा (४६०० मिटर) सम्म चढेको पाइन्छ। यसको फूलमा पाँच वटा सेता तरेलीहरू आपसमा छुट्टिएर बसेको हुन्छ। बीचमा पहेंला पुंकेशरका पुञ्जको माझ्मा स्त्रीकेशर विराजमान हुन्छ। यस गुलावको रसिलो फल भिटामिन सी ले भरिपूर्ण हुन्छ। बगैंचामा फुल्ने वा फुलाउने गुलावहरू भने नपुंसक हुन्छन्, धेरैमा फल लाग्दैन र लागे पनि काम दिंदैन।

सुँगुरे काँडाः अंग्रेजीमा थिसल भनिने यो आकर्षक बिरुवा स्कटल्याण्डको राष्ट्रिय फूलको कोटिमा पर्छ। काँडैकाँडा हुने भएकोले भेडा–च्याङ्ग्रा वा अरू जनावरले यसलाई रुचाउँदैनन्, तसर्थ खाली ठाउँमा अत्यधिक फैलन्छ। सूर्यमूखी परिवारको वनस्पतिभित्र सिर्सियम प्रजातिमा पर्ने सुँगुरे काँडाको फुर्ती हिमालको स्वच्छ हावापानीमा अरू सुन्दर फूलभन्दा कम हुँदैन।

अन्त्यमा, पर्वतीय पदयात्रा नेपाली पर्यटन व्यवसायको मूल कडी हो। पदयात्राले यात्रीलाई प्रकृति निकट पुर्‍याउँछ। प्रकृतिको सर्वोत्कृष्ट छटा फूलका सुन्दरतामा फुल्दछन्। पदयात्राको बेला देखिने फूल र भेटिने वनस्पतिको आनन्द हाम्रो पर्यटन व्यवसायको विषयवस्तु बन्न सकेको छैन। हाम्रा फूल–वनस्पतिको परिचय दिने काम ओझेलमा पर्दा यस्तो भएको हो। पदयात्रालाई पुष्पयात्रासँग समायोजन गर्न पथप्रदर्शकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् र तिनलाई सम्बन्धित निकायहरूले प्रोत्साहन दिन सक्नुपर्छ। पर्यटन प्रवर्द्धन र वनस्पति संरक्षणमा हामी 'एक पन्थ दुई काज'को लाभ उठाउन सक्छौं। यसमा पथप्रदर्शकहरूको सहयोग सहजै मिल्नेछ भन्ने विश्वास गर्न सकिन्छ। हाम्रा पाखा, वन र चहुरमा पलाउने लाखौं फूलको मीठो नामले परिचय गराई नेपालको चिनारीलाई नौलो उचाइमा पुर्‍याउन नयाँ वर्ष २०७० ले सबैलाई प्रेरणा देओस् भन्ने हार्दिक शुभकामना!

comments powered by Disqus

रमझम