८ बैशाख २०७० | 21 April 2013

नयाँ वर्षमा छोरालाई शुभकामना

Share:
  
- डा. सरोज धिताल

प्रिय पुत्र,

तस्वीर: बिलाश राई
फेरि एउटा वर्र्षको अन्त्य भयो। एउटा अर्को क्यालेण्डरले भित्तोमा ठाउँ बनाउँदैछ। र, समयको वेगमा निरन्तर चलिरहने यो खेलमा मानिसको हरेक पुस्ताको स्थानान्तरण भइरहेको छ। बच्चाहरू किशोरावस्थामा प्रवेश गर्दैछन्, किशोरहरू युवावस्थामा। युवाहरू प्रौढ हुँदैछन् र प्रौढहरू वृद्धवृद्धा। धेरैले विदा लिइरहेका छन् यो संसारबाट र अझ् धेरैको आगमन भइरहेको छ। समयको यो खेलमा तिमी भर्खरै यात्राको तयारी गर्दैछौ, म यात्राको पछिल्लो खण्डमा छु।

तिमी निकै सानो छँदाको यस्तै कुनै बेला अचानक सोधेका थियौ, “किन नयाँ वर्ष यतिबेला नै शुरू हुन्छ?”

म एकछिन अल्मलिएको थिएँ। खगोल, भूगोल, इतिहास, संस्कृति– केसँग पो सम्बन्धित नहोला र यो प्रश्न! अनि बच्चाहरूको यस्तो कौतुहललाई साम्य पार्न चानचुने सीपले पुग्दैन। आफ्नो अज्ञानता लुकाउन मनपरी जवाफ दिएर टार्नु हुन्न भन्ने चेत भर्खरै मात्र खुल्न थालेको त्यो बेला मैले के जवाफ दिएँ, अहिले म सम्झ्न्न, तर तिम्रो प्रश्नले मलाई धेरै कुरा सोच्न बाध्य बनाएको सम्झ्ना अझ्ै छ। त्यसै बेलादेखि मैले जगतको परिवर्तनशीलताले पछ्याउने अकाट्य अनुशासनबारे, त्यो अनुशासनभित्र पनि बेला–बेला देखिने अनित्यता र त्यो अनित्यताले देखाएको मानिसको ज्ञानको सीमाबारे सोच्न थालें।

बर्ट्रान्ड रसेल पाँच वर्षको छँदै गम्थे रे– आफ्नो जीवनको महत्वपूर्ण र लामै समय सिद्धियो भनेर। उनलाई बाँकी रहेको समयमा के पो गर्न भ्याइएला र भन्ने चिन्ता हुँदो रहेछ। मलाई भने ४० वर्ष ननाघुञ्जेल 'समय छिटो छिटो सकिंदैछ' भन्ने पीर नै भएन जस्तो लाग्छ। पचासको नजिक पुग्न लागेपछि मात्र रसेलले पाँच वर्षको छँदा नै गम्न थालेको प्रश्नमा घोरिइन थालें।

तिमीसँगको कुराकानीमा जानेर नजानेर के के भनेको छु, हामीबीचको संवादले के राम्रो गरेको छ, के नराम्रो गरेको छ मलाई त्यति थाहा छैन। यतिबेला यी पंक्तिहरू टाइप गरिरहँदा पनि तिमी के सोचिरहेका हौला र आफ्नो जीवनको सार्थक उपयोगबारे कति गम्भीर भएका छौ भन्ने खुल्दुली लागिरहेको छ।

बाल्यकालमा जो पनि अभिभावकमाथि निर्भर रहन्छ। धेरै निर्णयहरूमा आफ्ना गुरु, साथीसंगी, परिवारका अन्य सदस्य आदिबाट प्रभावित हुन्छन्। किशोरावस्थामा आफूलाई निकै सक्षम ठान्न थाले पनि बाल्यकालको त्यो निर्भरतामा खासै कमि आएको हुँदैन। सामान्यतया, २० वर्ष नपुगुन्जेल मानिसले आफ्नो निम्ति आफ्नै निर्णयमा जीवन बाँच्न सिकेको हुँदैन। अनेक किसिमका संकट सामना गर्नु पर्दाको विशेष परिस्थितिमा कलिलो उमेरदेखि नै आफ्नो मात्र हैन अरूको समेत जिम्मेवारी लिनुपर्ने बाध्यता अर्कै कुरा भयो।

त्यही २० वर्षलाई आफैं जिम्मेवार भएर बाँच्न थाल्ने उमेर मान्ने हो भने– तिमी अब त्यो महत्वपूर्ण उमेरमा छौ। यो लामो यात्रामा शिखरसम्म पुग्न तिमीलाई अर्को २५/३० वर्ष लाग्न सक्छ। ५० वर्षको उमेरतिर मात्र मानिस आफ्ना उपलब्धिहरूको उत्कर्षमा पुगेका देखिन्छन्। त्यो उमेरमा बल्ल तिम्रा उपलब्धिहरू, तिम्रो प्रभावको दायरा, तिमीभित्रको आत्मविश्वास, तिमीले पाउने सम्मान सबै एउटा उचाइमा पुगेका हुनेछन्। अर्को ३० वर्षपछि तिमी ८० वर्षको हुनेछौ। त्यसबेला एकातिर फेरि अरूमाथिको निर्भरता बढेको हुनेछ, अर्कोतिर एक्लोपनको अनुभूति हुनेछ। आफूले प्रभाव पार्न सक्ने क्षेत्र सानो भइसकेको र आत्मविश्वास कम हुनेछ।

अहिले २० वर्षको उमेरमा पनि आफूसँग धेरै कुरा नभएको दिग्दारी होला तिमीलाई। एक किसिमको निरीह आभास पनि होला। ५० वर्षमा पुग्दा त्यो निरीहताको ठाउँ आत्मसम्मानले लिएको हुनेछ। ८० वर्षको हाराहारीमा पुग्दा भने उस्तै निरीह स्थितिमा पुग्नेछौ। मैले वृद्धावस्थाको भयावह चित्र कोरेर २० वर्षे छोरोलाई तर्साउन हैन, तिमी कति मह140वपूर्ण यात्रामा छौ भन्न मात्रै खोजेको हो। यो यात्रामा पहिलो तीनदशक तिमी उकालो चढिरहेका हुनेछौ। पछिल्लो तीन दशक धेरै अर्थमा ओरालो लागिरहेको हुन सक्छ। यात्राको अघिल्लो खण्डमा जति उचाइ हासिल गर्नेछौ, पछिल्लो चरण त्यति नै सार्थक लाग्नेछ। यात्राको जुन कला सिक्ने छौ अहिले, पछि पनि त्यही सीपले निरन्तरता पाउनेछ।

अघिल्लो पुस्ताले धेरै पटक लड्दै–उठ्दै गरेर, समयको महँगो मूल्य तिरेर सिकेको यात्राको कला सिक्न तिमीले पनि फेरि लड्नुपर्छ भन्ने मलाई लाग्दैन। त्यसैले पनि म तिमीलाई अनुभवहरू सुनाउन चाहन्छु। धेरै कुरा गर्नु छ तिमीसँग।

बिट मार्नुअघि यति चाहन्छु– सत्य भन्ने चिज सुदूर क्षितिजमा देखिने प्रकाशपुञ्ज हो, जसले मानिसलाई अघि बढिरहन दिशाबोध गराइरहन्छ, हौसला प्रदान गरिरहन्छ। प्रिय छोरा, विनम्र भएर त्यो प्रकाशपुञ्जतर्फको यात्रा जारी राख। हरेक पाइलापछिको सत्य आफूले सोचेको भन्दा महान र सुन्दर रहेछ भन्ने बोध गर्दै अघि बढ। आफ्नै अन्धविश्वास र दम्भको बन्दी कहिल्यै नबन। तिमी र तिम्रो पुस्तालाई हाम्रो पुस्ताको शुभकामना!

comments powered by Disqus

रमझम