२०५३ सालमा चलचित्र सिउँदो को सहायक नृत्य–निर्देशकको रूपमा यो क्षेत्रमा आएका गोविन्दले त्यही वर्ष, चमत्कार र जीत मा निर्देशककै काम गरे। निर्माता चिरञ्जीवी बस्नेतले २०५४ मा चलचित्र को नृत्य–निर्देशक नै बनाएपछि गोविन्द उकालो लागेको लाग्यै भए। उनले गोर्खा पल्टन, नैना रेशम, गिरफ्तार, माया त माया हो, निशानी जस्ता चलचित्रमा सम्झनयोग्य काम गरेको मानिन्छ। तर, लोक र रोमान्टिक शैलीको नृत्यमा बढी प्रशंसित गोविन्द भन्छन्, “राम्रो नृत्य निर्देशक भनेर चिनिएको छु, तर आफैं सन्तुष्ट हुने काम भने गर्न पाएको छैन।”
रत्नचोकबाट राजधानी
गोविन्द पूर्वको चर्चित शहर धरानको रत्नचोकमा किशोरकाल बिताउँदा नबिताउँदै लोक, आधुनिक र शास्त्रीय नृत्यमा पोख्त भइसकेका थिए। यसरी नाँच्दै र नाँच्न सिकाउँदै हिंड्दा उनका लागि धरान क्रमशः साँघुरो हुँदै गयो अनि २०४६ को जनआन्दोलनलगत्तै राजधानी हान्निए। तर, उनका लागि राजधानी निकै कठिन सावित भयो। छिंडीमा सुते, भोकभोकै कति रात कटाए। संघर्षका दिन सम्झिंदै गोविन्द भन्छन्, “केही नलागेपछि २०४८ मा धरानै फर्किएँ।”
दुई दशकको नृत्य–निर्देशनमा चार दर्जन म्युजिक भिडियोको निर्देशक समेत भएका गोविन्द अब फिल्म निर्देशक बनेका छन्। उनले निर्देशन गरेको पहिलो चलचित्र नागबेली पोष्टप्रोडक्सनको चरणमा छ। चलचित्रको 'क्याप्टेनसीप' नै पाइसकेपछि अब उनी नृत्यविधामा रहलान् त? “पहिचान नै नृत्य भएकाले यसलाई छाड्ने कुरै आउँदैन”, गोविन्द भन्छन्, “नृत्यसँगै चलचित्र निर्देशनमा जम्ने हो।”
ऋषिराम कट्टेल