बर्माको सम्झना–१५

Share:
  

दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं। – सम्पादक

यस्तै भागाभाग होला, मालमत्ताको बिसम्भार हुनेछ, त्यस्तो बेलामा दुःख पाउला; अनि मैले भनेको मान, मैले बनाएको स्कीममा लाग्यौभने सुख पाउनेछौ भनी भनी हिंड्ने एउटा यहाँका लखपति मानिस थिए। उनले आफू बसेका शहरदेखि टाढा जङ्गलमा एउटा सानसानो गाउँ बसाए। आफ्ना घरका जम्मै झिटी, आईमाई, केटाकेटी लगेर जङ्गलमा राखे। आफ्ना मोटर, रेडियो, गाई, गोरु, गाडा, इष्टमित्र जम्मै भेला भएर गोली गट्ठा बन्दूक सबैको बन्दोबस्त गरी २/३ वर्षसम्म खाने नुन तेल धान चामल ल्याई बसे। अरूलाई पनि– आऊ बस, भागेर गयौ भने पनि पुगेको ठाउँमा दुःख पाउला― भनी भनी हिंड्दथे। उनले यसरी गाउँमा बस्नुको एक मात्र कारण यही हो– अब जापान निश्चय विजयी हुनेछ, त्यस ठाउँमा पनि जापानी आउनेछन्, जापानी आएपछि उनलाई आफ्नु हाल कहुँला अनि शान्ति कायम भएपछि आफ्ना घर जाउँला भनी आफू पनि बसिरहे, अरू साथीहरू पनि जम्मा पारे। उसका छेउछाउका जम्मै छिमेकी भारतीय भारततिर हिंड्न लागे। उनी मात्र केही सहायक लिई अनि उनका कुरामा लागेका मानिससित बसे। अडोस पडोसतिरका मानिस भारततिर हिंड्दा उनी भन्दथे यी मूर्खहरू दुःख पाउन, कहीं गएर अलपत्र हुन, पागल भएर जाँदैछन्। यिनी डरपोकहरू महीना दुई महीना यहाँ ठहर्न सकेनन् भन्थे।

हिंडने हिंडीहाले, बस्ने बसे! उहाँ जापानी आए लखपतिले भने भने जस्तै गएर कुराकानी गरे। अंग्रेजी फौज भागेर गईगयो। उहाँ जापानी फौज आयो, शान्ति कायम भो। आफुले बनाएको आफुले चिताएको पूर्ण भो। उनको खुशीको वारपार केही रहेन। जङ्गलबाट फर्केर घर गए नयाँ काइदा कानून सिक्न थाले। आफ्ना जगहमा आई भाग्नेहरूलाई झ्न् दुःखी भन्न थाले। उनका कुरा सुनेर सुख पाउने मानिसहरूलाई भन्न थाले– देख्यौ यदि म बुद्धिमान नहुँदो हुँ त यस्ता हूलमा कति दुःख पाउने थियौं। मेरा प्रखर बुद्धिका प्रतापले आज तिमीहरूका साथसाथ, म पनि सुखी छु। मनुष्यको बुद्धिले केही साधारण सफलता प्राप्त गरेमा अहङ्कारको केही मात्रा आइलाग्नु स्वाभाविकै हो। लखपति साहेब पनि सर्केर हिंडे त के भो! सफलता, विफलता, दुःख, सुख त संसारमा सधैं छँदैछ। क्षणिक सफलतामा उफ्रन, विफलतामा रुन हुँदैन। सदा एक समान रहने मानिस संसारमा केही सुखी हुन्छन् भन्ने हाम्रा ठूलाहरूको भनाइ छ। अंग्रेजहरू भागेर भारतीय सिमानामा पुगे। अलिदिन पर्खेर ठिक्क परेपछि फेरि हवाइजहाज गएर हाम्रा लखपति बसेका ठाउँ कलेमेवमा गुम गुम बमगोला खसाल्न लागे। मानिसहरू भागाभाग परे, कति मरे। मानिस कति नै बुद्धिमान भए पनि कति नै चंखो भए पनि भरे के हुने हो कसैले केही जान्दैन। परमात्माको लीला केही बुझन सकिंदैन जो भगवान्ले गर्छ उही हुँदोरहेछ। लखपतिले आफ्ना सफलताको आनन्द लिई नसक्तै यो विपत्ति आइपर्दा के विचारे हुन्? उनले सोचेको कुरा सबै ठिक्क भयो, तर पछि अंग्रेजले यसरी हान्ला भनेर त उनले विचार गर्दै गरेका थिएनन्।

जहाजले लोअर बर्माबाट ओसारेका मानिसलाई पककूमा पुर्‍याएर पाखा लाइदिए। रेलले ओसारेका मनेवामा, मनेवाबाट जहाजले कलेवा ओसार्ने गरे। पककूबाट पैदल हिंडेर मनीपुर पुग्नुपर्ने, कलेवामा आएका मानिस पनि उहीं पककूबाट आएका मानिस हिंडेकै बाटो मनीपुरसम्म पैदल पुग्नु परेको थियो। पककूबाट तमूसम्म समतल भूमि छ, तमूबाट मनीपुरको सिमाना पलेल पुग्नलाई पहाडी बाटो पार गर्नुपर्दछ। बर्माको समतल भूमि यस बाटामा तमू पुगेपछि सकिन्छ। पककूबाट हिंडेका अनि कलेवाबाट हिंडेका मानिसलाई पैदल बाटोमा धेरै कुराको दुःख बेहोर्नु पर्‍यो। फागुन चैत वैशाखको घामले जिमिन तातिई आगो बलिरहेको छ। मानिसको धूइरो हिंडेकोले धूलो उडेर सारा बाटाका छेउछाउका रूखपात धरी फुस्रो भइरहेको छ। मोटर, गाडा, मानिसको रेलपेलमा जङ्गली बाटो हुनाले कसैले पानी खान पाएको छैन, कसैका सामल सकिए, किनौंभने कहाँ किनौं? दुनियाँको हूल चलेको बेला एक पैसाको चीज चार, पाँच छ पैसा हुन गएको छ। चार पैसाको बीडी ६–७ आना, २ पैसाको सलाई २ आना दश पैसा! गुड चिनीको नाम देखिन्न। गर्मी, प्यास, धूलोले र खान नपाएर दुनियाँले दुःख पाए। पहिला पहिला आगे आगे आउने मानिसले त बाटाका छेउछाउका केही चीज किन्न पाए, अलि पछि आउनेको त दुर्गति हुनगो। यो थाहा पाएर भारतबाट पं. जवाहर उहाँ पुगे अरे र उनका बन्दोबस्तले चामल नून तेल बाटा बाटामा बाँडिन लागे अरे। पैदल बाटो कष्ट साध्य अनि प्रकृतिको लीला नै भिन्दै। रुँदै कराउँदै हिंडेका बेला हैजाको प्रकोप यही बाटामा हुन गयो। हैजाले गर्दा कति मानिस मरे, कतिको दुर्गति भयो, कति मातापिता छोराछोरी भाइबन्धुको बिछोड भयो। यो लेखिसक्नु छैन। एउटा साधारण घटनाको यहाँ उल्लेख गरिन्छ। यस घटनाले उहाँको केही कुरा अन्दाज लाउनमा, उहाँका दुर्गति बुझनमा सहायता मिल्नेछ।

मचीनाबाट हिंडेका उहाँका प्रसिद्ध लो लामाको परिवार जम्मा ७ जना थिए। यिनी परिवारका लामा, लमेनी, उनका दुई जना छोरी, २ जना छोरा जम्मै ६ जना बाटामा हैजाका गाँस भए। एउटा छोरा १३ वर्षको मोतीलाल चाहिं परमात्माले बचाएर भारतमा माता पिता, दिदी बहिनी, भाइहरूको क्रिया कर्म गर्न आइपुगे। उनका जम्मै रुपियाँ पैसा बोकेर यो अनाथ केटोलाई छाडेर सँगमा आएका, भर गरेर लामाले ल्याएका, मानिस कहीं लागेछ। चिनजान भएका एउटा धर्मात्मा मानिस पंचे लामाले गौहाटीबाट धरानमा आफ्नैसँग राखेको छ। यस्ता कति परिवार नाश भयो होला! लाखौंको बीचमा हैजाको प्रकोप थियो !

comments powered by Disqus

रमझम