ज्ञानुवाकरको दोस्रो स्तम्भ

Share:
  
b1
जिन्दगी छैन अचेल जिन्दगीजस्तो 
लेखकः ज्ञानुवाकर पौडेल 
प्रकाशकः साहित्य परिवार 
नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं 
मूल्यः रु.१००,
पृष्ठः ६४+

मोतीराम भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्‍यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, जसले २० वर्षको अन्तरालमा दोस्रो कृति सार्वजनिक गरेका छन्― जिन्दगी छैन अचेल जिन्दगीजस्तो। यसअघिको संग्रह खण्डहर नयाँ–नयाँ नेपाली गजलको आधुनिक कोसेढुंगा मानिन्छ।
रेडियो नेपालको प्रशासनिक फाँटबाट सेवा निवृत्त पौडेलले दोस्रो कृतिमा पूर्व प्रकाशित र केही नयाँ रचना समावेश गरेका छन्। ६४ थान गजल संग्रहित सँगालोले देश, समाज र व्यक्तिहरूको समकालीन उकुसमुकुसलाई स्वाभाविक अभिव्यक्ति दिएको छः

निरोले झै बाँसुरी बजाइराख
हो, देशलाई यसरी नै जलाइराख
क्रान्तिको नाममा फैलाएर भ्रान्ति
जतिसक्छौ जनतालाई कजाइराख
को आफ्नो यहाँ अब को पराइ
जो शक्तिमा छ उसैलाई रिझ्ाइराख।

जागिर, साहित्यिक पत्रकारिता जे भने पनि मूलतः गजल साधनामा समर्पित ज्ञानुवाकरले प्रारम्भिक वर्षमा श्रृंगार रसमा बढी लेखे। उमेरको उकालीसँगै जटिल राजनीतिक–सामाजिक परिस्थितिको सामना गरेका गजलकारका सिर्जना समयसँगै बदलिंदै जानु स्वाभाविक थियो, जुन उनका सिर्जनाले देखाउँदै गए। उनका गजलमा विसंगत राजनीतिक–सामाजिक परिघटनाप्रतिको आक्रोश गुञ्जिन्छः
जुँगाको लडाईंले हेर अनाहकमा
रगतपच्छे देशको संविधान भो
को छ फेरि खै मुलुक हाँक्ने
निरर्थक हिजो मेरो मतदान भो

ज्ञानुवाकरका सिर्जनामा उमेर र अनुभवजन्य परिष्कार आएको उनको गजल यात्राले देखाउँछ। यसो भन्दैमा उनमा बैराग्य पलाएको छ भन्ने चाहिं हैन, सँगालोमा अनुरागपूर्ण गजलहरू पनि छन्। गजलका सामान्य भन्दा सामान्य अनुरागीका लागि समेत पठनीय उनको पछिल्लो संग्रहलाई गजलकारका आफ्नै आलेख तथा नेपाली गजलका अन्य जानकारहरूको टिप्पणीले विशेष संग्रहणीय बनाएको छ।

जैनेन्द्र जीवन


 

किराती चेलीका भजन

 

b2 b3 b4

 

एउटा संयोगै भनूँ नेपालमा लोकतन्त्रको प्रादुर्भावको पूर्वसन्ध्यामा, २०४५ भदौको पूर्वाञ्चलको भुईंचालोपछि, खोटाङकी एक किरात चेली 'शिवशक्ति' का रूपमा अकस्मात् प्रादुर्भाव भइन् र आफूमा अनायास देवीभाव प्रकट भएको भन्दै छरछिमेकमा अनेक भविष्यवाणी गर्न थालिन्। त्यसपछि तीन महीना तपस्या गरी आफूभित्रको 'कल्मष' पखालेर १७ चैत २०४६ देखि 'प्रभुदासी' का रूपमा आफ्नो न्वारान गरी धर्मगुरुको आसन लिइन् र आफूलाई भजन लेख्ने तथा प्रभुवाणी प्रचार गर्ने काममा सीमित राखिन्। हालै यिनका भजनहरूको सँगालो प्रकाशित भएको छ― प्रभु वन्दना। यसअघि धर्म नै विज्ञान र सत्य वचन भन्ने यिनका दुई प्रवचन सँगालो छापिएका थिए, २०४९ र २०५६ सालमा। तिनका पनि तेस्रो र दोस्रो संस्करण हालै प्रकाशित भएका छन्।

प्रभु वन्दना मा प्राचीन किरात धर्म र सनातन हिन्दू धर्मको समन्वय देखिन्छ। मुख्यतः शिव, महादेव र उमा, पार्वती भनेका प्राचीन किराती देवता हिमालयका पारुहाङ तथा सुम्निमा हुन् भन्ने सन्देश दिएको छ, भजन संग्रहले। र, त्यस कुरामा साक्षी राखेको छ, पूर्वमन्त्री बलबहादुर राई र स्वामी प्रपन्नाचार्यलाई। वयोवृद्ध बलबहादुरले त किताबमा शुभकामना दिंदै यस्तोसम्म भनेका छन्, “हामी सबैको अविनाशी शिवले सदा रक्षा एवं कल्याण गरुन् भनी उनै सदाशिव पारुहाङ सुम्निमासँग म भक्तिपूर्वक प्रार्थना गर्दछु।”

स्वामी प्रपन्नाचार्यले भने अलि अर्कै पाराले आशीर्वाद दिएका छन्। उनी भन्छन्, “सत्य प्रेम, सत्य शान्ति, सत्य एकता, सत्य परिवार नामक सनातन धार्मिक संस्था प्रभु आश्रम, ललितपुर शिवशक्तिको अनन्य उपासक संस्था हो। यसका संस्थापिका धर्मगुरु स्वयं दैवीसिद्ध शक्ति प्रेरित व्यक्तित्व हुनुहुन्छ। ... भजनमालाको मूल सिद्धान्त धार्मिक प्रचार मात्रै होइन अपितु धार्मिक सहिष्णुता, समन्वय र समभाव मूल उद्देश्य रहेको छ।”


क.दी

comments powered by Disqus

रमझम