रिपोर्टिङका क्रममा बाजुराको कोल्टीबाट मुगुको ताल्चा जाँदै गर्दा श्रीकोटमा बाटोमै भेटिएका यादव सुटबुटमा ठाँटिएर एअरफोनबाट गीत सुन्दै बिरामी कुरिरहेका थिए। आफूसँगै सीएमए पढेका शाही र खरेलको हुटहुटीले रु.५० हजारको औषधि बोकेर त्यहाँ आएका उनी भन्छन्, “गाडी र पैदल गरी सात दिनको यात्रापछि यहाँ आइपुग्दा यस्तो ठाउँमा बेकारमा आएछु भन्ने लागे पनि अहिले रमाइसकेको छु।” अहिले दैनिक २० जना बिरामीको उपचार गरिरहेका उनको औषधि व्यापार पनि राम्रै रहेको ऊ बेला ल्याएको औषधि सकिएर वीरगञ्जमा रहेका दाइ अश्लुकले दुई पटक औषधि ल्याउनुले देखाउँछ। सामान्य स्वास्थ्य परीक्षण गर्ने 'स्टेथेस्कोप' र प्रेसर नाप्ने 'स्पाइगेनोमेनोमिटर' लिएर जाँच र उपचार गरिरहेका उनलाई गाउँलेहरूले 'डाक्टर' नै भन्न थालेका छन्।
सीएमएमा सरकारी जागिर खान लोकसेवा आयोगका पाठ्यपुस्तक अध्ययन गरिरहेका यादव लोकसेवा पास नहुँदासम्म त्यहीं बस्ने योजनामा छन्। उनी त्यहाँ बसेकोमा गाउँले पनि खुशी देखिन्छन्। स्थानीय पर्वत टमाटा भन्छन्, “राति १२ बजे पनि बिरामी हेर्न घरै जानुहुन्छ, उहाँ यहाँ आएपछि हामीले राम्रो उपचार पाएका छौं।”
त्यसअघिसम्म श्रीकोटका बासिन्दा उपचार र औषधिका लागि चार घण्टा टाढाको कोटडाँडा प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुपर्दथ्यो, जहाँ दरबन्दी भए पनि डाक्टर नपुगेको वर्षौ भइसक्यो।
दुःख रहेछः ”मुगुमा आएपछि थाहा पाएँ, तराई–मधेशमा भन्दा पहाडमा बढी दुःख रहेछ। जति दुःख भए पनि तराईमा घर नजिकै स्वास्थ्य सेवा हुन्छ भने कर्णालीमा झै खानेकुराको अभाव पनि हुँदैन। यहाँ चेतनाको अभावले गर्दा अस्वस्थ खानेकुरा खान्छन्, नुहाउँदैनन्, अनि बिरामी हुन्छन्। शिक्षाको कमी हुँदा कतिले औषधिको पूरा डोज खाँदैनन् भने कतिले ओभरडोज खाइदिन्छन्। खानेकुरा भए पनि पकाएर खान नजान्दा झाडापखालाले सताउने रहेछ।”
डम्बरकृष्ण श्रेष्ठ, श्रीकोट, मुगु