नेपालको प्रादुर्भाव र विकास सहअस्तित्वमा आधारित छ । प्रारम्भदेखि नै कुनै एक जाति वा सम्प्रदायले अर्कालाई उपेक्षा गरेर एकलौटी रूपमा अघि बढ्ने स्थिति यहाँ रहेन । यहाँ जति जातीय, भाषिक विविधता सम्भवतः अन्यत्र नहोला । यतिका विविधताबीच सहअस्तित्वको गुण लिएर संसारमा अरू कुनै मुलुक बाँचेको छ जस्तो मलाई लाग्दैन ।
अफगानिस्तानमा लडाइँ टुङ्गिएको यतिका समय बितिसक्दा पनि एउटा क्षेत्र र अर्को क्षेत्रका अफगानीबीच पारस्परिक विश्वासको सम्बन्ध अझै स्थापित हुन सकेको छैन । तर हामीकहाँ हाम्रो संस्कारगत चरित्रले विरोधी शक्तिलाई दुबोको माला लगाइदिने वातावरण बनायो । नेपाली जातिले संस्कारगत रूपमा आर्जन गरेको सहअस्तित्वको भावना हालै दाङ र नेपालगञ्जमा पनि देखियो । त्यहाँ सम्पन्न सरकार–माओवादी वार्ताका सहजकर्ताहरूमा बहुदलका निम्ति संविधान लेख्नेहरूसँगै २३ सालमा निर्दलीय व्यवस्थाका प्रस्तावक पनि थिए । मंका खलः भनेर आन्दोलन गर्ने जातिवादी नेतासँगै तीन जना बाहुन मजाले काम गरिरहेका थिए । पुराना कुरालाई लिएर उनीहरूबीच कुनै कटुता, द्वेष थिएन । राजनीतिक रूपमा उनीहरूको अलग–अलग सूत्र, सम्पर्क र अनुशासन होला तर व्यक्तिगत रूपमा सहज नेपाली चरित्रको अभिव्यक्ति त्यहाँ देखियो ।
त्यसैले अहिले देखिएका समस्याहरू हाम्रो आन्तरिक द्वेषबाट सिर्जित समस्या नभई बाहिरी हलचलका प्रतिबिम्ब हुन् । नेपालीहरूको मूल चरित्र सहअस्तित्व, सामञ्जस्य तथा बाँच र बाँच्न देऊ भन्ने भावना नै हो । नेपालीहरूले सहज रूपमा आफ्नो नेतृत्व र पद्धतिको विकास गरेका ऐतिहासिक दृष्टान्तहरू छन् हामीसँग ।
सहअस्तित्वः नेपाली चरित्र
हिन्दुस्तानमा करीब ८ सय वर्ष मुसलमानहरूले शासन गरे, मन्दिर तोडे, पेलेर बसे । उनीहरूले जबर्जस्ती गरेकै कारण आठ सय वर्ष पुरानो मन्दिर–मस्जिद झ्गडाको अहिले पनि पुनरावृत्ति भइरहेको छ । त्यहाँ हिन्दू र मुसलमान सहअस्तित्वमा बस्न सकेको देखिएन । तर हामीकहाँ लिच्छविकाल, मल्लकाल वा शाहकाल, जुनसुकै बेला भएका सत्ता परिवर्तनमा पनि जसले जित्दै गयो, त्यसैलाई स्वीकारियो । इन्द्रजात्राकै उदाहरण हेरौँ, मल्लकालमा निर्मित हनुमानढोकामा मल्ल राजाहरूलाई नै पराजित गरेर आएका शाहवंशीय राजाका सामु धार्मिक भावनाका साथ सबभन्दा बढी उपस्थित हुने तिनै नेवार जनता नै हुन्छन् । इतिहासमा विजेता राजाहरूको स्वरुप साम्र्राज्य विस्तारक वा आक्रामक भएन । उनीहरू नेपाली भएर रहे । नेपाली सभ्यताको केन्द्रमा उनीहरूले आफूलाई समाहित गरे । ‘मास माइग्रेशन’ वा ‘मास कन्भर्सन’ हरू पनि यहाँ भएनन् ।
पृथ्वीनारायण शाहले काठमाडौँ जित्दा पनि यहाँ भागाभाग भएन । राजकाजका कारण आफ्नो ज्यान बचाउन केही हिँडे होलान् तर आमजनतालाई त्यसले खासै असर गरेन । लिच्छवि, मल्ल, शाह राजाहरूलाई एउटा धार्मिक बन्धनले बाँधिरह्यो । धार्मिक भावनाकै कारण जनताले पनि सहज रूपमा राजा स्वीकारे र राजाले पनि सीमा नाघ्न चाहेनन् । जातीय हिसाबले यहाँ कहिल्यै द्वन्द्व भएन । बाहिरका सिद्धान्त, हलचलहरूले यहाँ उत्तेजना फैलाए तर जातीय विद्वेष फैलाउन सम्भव भएन । हरेक जाति आफ्नो सीमामा बस्यो र सहअस्तित्वमा बाँच्यो ।
पद्धतिको आडभरोसा
जातीय सहअस्तित्वसँगै नेपालीलाई स्थापित पद्धतिले पनि एकाकार गराएको छ । राजाहरू, संविधानहरू आउँछन्, जान्छन् । प्रधानमन्त्रीहरू फेरिन्छन्, शासन गर्ने शैली फेरिन्छ । तर जनताले सहज रूपमा स्वीकारिसकेको शासनको विशिष्ट शैली अर्थात् पद्धतिलाई कुनै शासक विशेषले परिवर्तन गर्न सक्तैन ।
नेपालका सन्दर्भमा राजतन्त्र पनि एउटा पद्धतिका रूपमा स्थापित छ । जनताले जुनसुकै वंशका राजा आए पनि नेपाललाई एकीकृत गर्ने एउटा मियोका रूपमा राजतन्त्रलाई सधैँ स्वीकार गरे । चुनावमा जानुअघि कम्युनिष्ट, काङ्ग्रेसका कतिपय नेताहरू गणतन्त्रको कुरा गर्दैथिए तर नामाङ्कन दर्ता गर्ने बेलामा उनीहरूले गणतन्त्रको कुरा गरे चुनाव हारिन्छ भन्ने महसूस गरे । पछि संवैधानिक राजतन्त्र स्वीकार्ने कुरा गरेपछि जनमत पनि प्राप्त गरे । उनीहरूलाई जनताले ‘कन्भर्ट’ गरेको हैन, जनभावना अनुरुप उनीहरूले आफूलाई परिवर्तन गरे ।
आज देशमा राजाको प्रत्यक्ष शासन छ । त्यसमा पनि पुरानो संस्कारगत पद्धतिको प्रभाव छ । त्यो पुरानो पद्धति संस्कारगत रूपमा कहीं न कहीं नेपाली जनतामा जीवित छ । त्यसैले जनताले ठूलो असन्तुष्टि जनाइरहेका छैनन् । संविधानमाथि गम्भीर अतिक्रमण गरेर प्रत्यक्ष शासन भए पनि पद्धतिको बलमा राजाले शासन गरिरहेका छन् । राजाको शक्ति नेपालमा परम्परागत रूपमा विकसित भएको पद्धति हो । हामीले गणतन्त्र ल्यायौँ भने पनि त्यो पद्धतिले गणतन्त्रात्मक राष्ट्रपतिलाई राजाजस्तै बनाइदिन्छ । फ्रान्स यसको उदाहरण हो ।
जब संविधान, कानून वा सोचिएका अन्य कुरा विफल भइरहेका हुन्छन्, त्यतिखेर हामीकहाँ एउटा ‘रिजर्भ शक्ति’ छ भन्ने विश्वास चेतनशील वर्गमा छ । आज पनि दशैँको टीकामा दरबारमा लाइन लाग्ने काम राजाको चरित्र, विवेक वा योग्यतालाई जाँचेर नभई त्यो संस्थाको पारम्परिक गुणलाई हेरेर भइरहेको हो । राजसंस्थाको विश्वसनीयताबारे जनतामा रहेको भावना पनि एक हिसाबले देशको ‘तागत’ हो । त्यो अनुकूल रह्यो भने नेपालमा शासन गर्ने जो कोहीको गति तीव्र हुनसक्छ, रहेन भने सुस्त हुन्छ । यसको निरन्तरतालाई समयको प्रवाहअनुसार ढाल्दै जानुपर्छ । राजा नहुँदा नेपाल नै रहँदैन भन्ने होइन । तर, नेपाललाई अगाडि बढाउन राजसंस्था हुँदा जति अनुकूल हुन्छ, नहुँदा त्यति सजिलो हुँदैन ।
सम्यक् चरित्र छ नेपाली समाजसँग । स्वयम्भू वा बज्रयोगिनीमा शैव र बौद्ध धर्मावलम्बीका मन्दिर सँगसँगै छन् । सँगसँगै पूजा हुन्छ । प्रहरी र सेनाको सुरक्षाले हैन, सहज संस्कारले त्यो सम्भव भएको हो । यो चरित्र नेपालको तागत पनि हो । राजसंस्था पनि त्यही चरित्रमा आधारित छ । त्यो संस्थाले राजनीति र धर्म दुवैको काम गर्छ । कतिपय सन्दर्भमा कुमारी मन्दिरमा जान्छ र टीका लगाउँछ । राजाले टाउको निहुराउँछन् त्यहाँ । तर, तिनै राजालाई शाक्य सम्प्रदायकै मान्छेले खुट्टा पखालेर पानी खान्छन् । राजासमेत संयक राजनीति गर्न बाध्य छन् ।
नेपालको अर्को तागत हो जलवायु । यहाँको माटो, हावापानीले जीवनयापनका निम्ति प्रशस्त ठाउँ दिएको छ । प्रकृतिको यथोचित सेवा गर्ने हो भने हामी अत्याधुनिक उद्योगधन्दाले दिनसक्ने जीवनस्तर दिन सक्छौँ । हामीकहाँ उपलव्ध असंख्य वनस्पति र जडीबुटीबाटै हामी प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्छौं ।
निराशाको निदान
परम्परागत पृष्ठभूमिको नेपाली समाजले परिवर्तन खोजिरहेको बेला नयाँ पुस्ता पनि नयाँ भूमिकाको खोजीमा छ । योग्य व्यक्तिहरूले कुनै न कुनै ठाउँमा क्षमताअनुसारको भूमिका पाएका छन् । तर, आधुनिकताको चपेटामा परेको नयाँ पुस्तामा केही स्वाभाविक असन्तुष्टिहरू छन् । नेपालमा महिनाको ५ लाख मात्र आम्दानी भयो, के बस्नु भनेर हिँडिदिनेहरू पनि छन् । तर यहीँको अर्को नागरिक मासिक ५ हजार रुपैयाँ बचाउन खेत बेचेर मलेशिया वा खाडी क्षेत्र गइरहेको पनि छ । अर्को नेपाली ‘आसचपु’ लिनका लागि टन्टलापुर घाममा सिंहदरबारमा लाइन लागिरहेको हुन्छ । कृत्रिम सम्पन्नताको चाहमा पनि समाज अलि बिथोलिएको छ ।
अहिले देशभित्रको सचेत वर्ग नै निराशाको कुरा गरिरहेको छ । यो मुलुकको भविष्य छैन भन्ने आशयका आवाजहरू पत्रपत्रिकामार्फत् निरन्तर आइरहेका छन् । देशबाट टाढा रहेकाहरूले चाहिँ देशप्रतिको चासो र माया निरन्तर व्यक्त गरिरहेका छन् । देशभित्रै निराशा देखाउनुको कारण ऐतिहासिक ज्ञान र भोलिका सम्भावनाहरू देख्न सक्ने क्षमताको अभाव पनि हो ।
आफ्नै शासनकालमा धेरै कुरा गरिसकेकाहरूले पनि केही भएको छैन भनिरहेका छन् । जुन रफ्तारमा देश जानुपथ्र्यो, त्यो नभएको भने पक्कै हो । तर, किन गएन भनेर युक्तिसङ्गत विश्लेषण गर्न सकेनौँ भने हामी घोर निराशामा पर्छौ । म त्यस्तै युक्तिसङ्गत विश्लेषणमा विश्वास गर्छु । नेपालमा पूर्वाधारहरूको विकास नभई न प्रजातन्त्रले गति लिन्छ, न आर्थिक विकासले सही बाटो समात्छ ।
अघिल्लो पुस्ताको मान्छेका नाताले मैले नेपालको चरणबद्ध परिवर्तन देखेको छु । मैले सम्भावना पनि देखेको छु र सङ्कट पनि । योभन्दा अघि यति सङ्कट कहिल्यै थिएन र सम्भावनाहरू पनि योभन्दा अघि यति थिएनन् । नयाँ सम्भावनाको ढोका खुलेको बेला यी दुई पक्ष सँगसँगै आउँछन् । पुनव्र्यवस्थापनको सङ्कट आउँछ । अहिलेको सङ्कट राजनीतिक र व्यवस्थापनको सङ्कट हो । हामीले आन्तरिक रूपमा अभ्यास गर्दै, सिक्दै, निर्माण गर्दै गइरहेको बेला राजनीतिक क्षेत्रमा हाम्रो काबुभन्दा बाहिरको, हामीले ठम्याउन नसक्ने गरी अप्रत्याशित तबरले अप्रत्याशित क्षेत्रबाट हलचल र उथलपुथल पैदा भइदियो । पहिले नै सङ्कटमा रहेका हामी सामु नेपालमा अस्थिरता सिर्जना गर्ने अन्यान्य शक्तिहरूको भूमिकाले झ्न् सङ्कट थपिदियो ।
हामी आर्थिक विकासमा अत्यन्त पछाडि छौँ तर शासन पद्धतिको निर्माणमा भने हामी निकै अघि छौँ । भारतमा सन् १९५० मा १५ वर्षभित्र हिन्दीले राष्ट्रभाषाको स्थान लिनेछ भन्ने घोषणा गरियो तर विधिव्यवहारको स्तरको अनुपातमा हिन्दीको स्तर आउन सकेन र उनीहरू सदाका लागि अङ्ग्रेजी चलाउन बाध्य भए । हामी भने कुनै विदेशी पद्धतिलाई नेपाली परिस्थितिमा अङ्गीकार गर्नुपर्यो भने नेपालीमा अनुवाद गर्छौँ र त्यसको चरित्रमा पनि नेपालीकरण गर्न थाल्छौं ।
स्वाधीन नेपाल
नेपालमा विकसित आफ्नोपनको एउटा कारण के हो भने हामीले राज्यको नक्सा कुनै विदेशी संसदको सहयोगबाट तोकेनौँ । नेपालीको आफ्नै क्षमताले राष्ट्रलाई एउटा आकार दियो । बीचमा केही ठूलो भैसकेको थियो, धान्न सकेन, सानो भएर आयो । अहिले त्यतिलाई नै धानेर बसिरहेको छ । बैरीसित सिमानामा बसेर अब लडाइँ नगरौँ, मित्रता गरौँ भन्दै सन्धि गरेका हौँ । सुगौली सन्धि गर्दा अंग्रेजतर्फ अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरू थिए । तर, नेपाली दरबारमा त्यस्ता कुनै विशेषज्ञ थिएनन् । तैपनि सन्धि भयो र नेपाली पक्षले स्वाधीनताको अडान लिने सन्धिका धाराहरू लिएर अद्यापि बसिरहेको छ । अनेकौँ वंशको शासन हुँदा पनि नेपालीहरू नै प्रधानमन्त्री भए, न्यायाधीश भए, ‘ट्याक्सपेयर’ भए, धर्मका ज्ञाता भए । धर्मशास्त्रले यसो भन्छ, यसो भन्दैन भन्नका लागि बाहिरबाट कुनै विद्वान् बोलाउनु परेन । हिजोआज मात्रै हो ‘विदेशी सल्लाहकार’ बोलाउन लागिएको ।
नेपाली जाति आपसमा लड्नुपर्ने पारस्परिक कटुताको कारण आजसम्म स्पष्ट हुन सकेन । अहिलेको हिंसामा मार्नेलाई हामी किन मारिरहेछौँ, थाहा छैन र मर्नेलाई पनि किन मर्दैछौँ, पत्तो छैन । त्यसैले यो सबै बाहिरी हलचलको आघात नै हो । यो हलचलकै क्रममा अमेरिका नेपालमा किन तानियो ? नेपालको आतङ्कमा अमेरिकी सरोकार सीधै किन स्थापित भयो ? मेरो दृष्टिमा नेपालको यो स्थिति क्षेत्रीय र विश्व अशान्तिकै कारण बन्न सक्छ भन्ने उनीहरूको विश्लेषण रह्यो । तर, छिमेकी देश चीन भने प्रकट रूपमा त्यति चिन्तित देखिएन । यसलाई सुल्झउने चीनका आफ्नै प्रतिकारात्मक उपायहरू हुन सक्छन् । दुइटा बलिया छिमेकीका कारण राजनीतिक रुपमा बलियो किल्ला हो नेपाल ।
