१५ बैशाख २०७० | 28 April 2013

शाश्वत र अस्थायी क्रान्तिकारी

Share:
  
- माक्सिम गोर्की

विश्वप्रसिद्ध रूसी साहित्यकार माक्सिम गोर्की ले 'आमा' जस्तो प्रेरक आख्यान लेखेर संसारभरिका धेरै युवालाई कम्युनिष्ट बनाए। तर, अधिकांश पाठक उनको लेखनीसँग त्यति मात्र परिचित छन् जति सोभियत सत्ताले चिनाउन चाह्यो। सन् १९१७ को अक्टोबर 'कु' पछि बोल्शेभिकहरूले रूसका कुनाकाप्चामा देखाएको अद्भुत 'क्रान्तिकारीपन'बाट विस्मित र क्रूद्ध गोर्की हामीले जाने–बुझेको भन्दा नितान्त भिन्न लेखक देखिन्छन्। सहज सत्ता कब्जापछि अक्टोबर 'क्रान्ति'का नायकहरू जुन प्रचण्ड स्वरुपमा प्रकट भए त्यसबाट मोहभङ्ग भएका गोर्कीले तात्कालीन राजधानी पेत्रोग्रादबाट निस्कने साहित्यिक पत्रिका नयाँ जीवन (नोभाया झिज्न) मा १९१७–१८ तिर नियमित स्तम्भमार्फत त्यसको कठोर आलोचना गरे।

लोकतन्त्र, समानता, सामाजिक न्याय जस्ता समाजवादी विचारधारालाई आत्मसात गरेको एउटा वाम बुद्धिजीवीले क्रान्तिका नाममा हिंस्रक चरित्र देखाइरहेको बोल्शेभिक सत्ताको प्रतिवाद गर्दै आफ्नो समयको विवेक बोल्नु स्वाभाविकै थियो। उनको आलोचनालाई थेग्न नसकेर बोल्शेभिकहरुले नयाँ जीवन पत्रिका नै बन्द गराइदिए। १९६८ मा अन्टाइमली थट्स् (निस्भाइयोभ्रेमेन्निय म्विस्ली) शीर्षकमा गोर्कीको त्यो स्तम्भको अनुवाद अमेरिकामा छापियो। 'क्रान्तिकारी' उन्मादले भिजाएको वर्तमान नेपालमा पनि सान्दर्भिक उक्त संग्रहको एउटा निबन्ध, मूल रूसी भाषाबाटै जुगल भूर्तेलले गरेको नेपाली अनुवाद यहाँ प्रस्तुत छ। –सम्पादक

हाम्रो समयका क्रान्तिकारीहरूको कामलाई अवलोकन गर्दा तिनलाई स्पष्टतः दुई वर्गमा विभाजन गर्न सकिन्छ– शाश्वत (इटरनल) र अस्थायी (प्रो टेम्पोरे) अर्थात् आजको लागि क्रान्तिकारी।

पहिलो, आफूभित्र प्रमिथसको जस्तो क्रान्तिकारी आदर्शलाई समाहित गरेको, मानव जातिलाई पूर्णतातिर लैजाने यावत ज्ञानहरूको आत्मिक (स्पिरिचुअल) उत्तराधिकारी हो। यी विचारहरूले उसको चेतना मात्र होइन, भावना र अझ् अवचेतनकै तह पनि ओतप्रोत छ। ऊ गतिशील विचारहरूको अनन्त श्रृंखलालाई जोड्ने जीवन्त र कोमल कडी हो। आफ्ना भावना र विचारको समग्रतामा ऊ जुनसुकै सामाजिक संरचनामा पनि जीवनभरि असन्तुष्ट नै रहन अभिशप्त छ, किनकि उसलाई थाहा र विश्वास पनि छ कि मानव जातिमा राम्रोबाट झ्न् राम्रो सृजना गर्ने अपरिमित सामर्थ्य छ।

सदैव तरुण सत्यप्रति उसको उत्कट प्रेम छ, तर यति दैहिक र वासनाशिक्त पनि होइन कि त्यो सत्यलाई मुड्कीको बलमा ती मान्छेहरूको हृदय र शिरमा घुसाओस्, जो अतीतमै मरेको सत्यले वशीभूत छन् वा विगतलाई असाध्यै माया गर्छन्। सामान्यतया उसका लागि मान्छे अविनाशी, जीवन्त र बेचैन शक्ति हो, जसले हरदम नयाँ संवेदना, चिन्तन, धारणा, वस्तु र जीवनका संरचनाहरूको सृजना गर्छ। ऊ संसारभरिका मानवका टाउकाभित्र रहेको समग्र मस्तिष्कलाई नै सजीव र उत्प्रेरित तुल्याउन चाहन्छ, तर आफ्नो यो अद्वितीय एवं वास्तवमै क्रान्तिकारी लक्ष्यलाई पछ्याउने क्रममा पनि ऊ मान्छेमाथि कुनै पनि प्रकारको हिंसात्मक विधिको सहारा लिन असमर्थ छ र अपवादजन्य विशिष्ट अवस्था आएमा पनि ऊ हरेक प्रकारको हिंसाप्रति जैविक घृणाभावका साथ मात्र प्रयोग गर्छ।

एक महान रूसी चिन्तकको सत्यवाणीमा भनिए झै उसलाई स्पष्ट थाहा छ कि 'इतिहासको त्रासदी र बृहत्तम दुर्भाग्य नै के हो भने मानिसलाई क्रूरतापूर्वक अपमानित गरिएको छ।' ऊ अपमानित भएको छ प्रकृतिबाट, जसले उसलाई सृजना गरेर बञ्जर धर्तीमा एउटा पशु झै अन्य पशुहरूको माझ्मा फ्याँकिदिएको छ र आफ्नो विकास र पूर्णताका लागि उसलाई त्यही वातावरण दिइएको छ, जुन कुनै अर्को पशुलाई प्राप्त छ। ऊ अपमानित भएको छ ईश्वरहरूबाट, जसलाई प्रकृतिको शक्तिका अगाडि हर्ष र विस्मातवश आफैंले अत्यन्त हतारमा र भद्दा ढंगले 'आफ्नै बिम्ब र प्रतिरूप' जस्तै देखिने गरी रचना गरेको छ। धूर्त वा शक्तिशाली छिमेकीबाट ऊ सधैं अपमानित भएको छ र, सबैभन्दा कटु चाहिं, अपमानित भएको छ ऊ स्वयंभित्रको आदिम पशुत्व र नयाँ मान्छेबीचको अनिर्णयबाट।

तर शाश्वत क्रान्तिकारीको हृदयमा मानिसका प्रति कुनै व्यक्तिगत विद्वेष हुँदैन। ऊ सधैं आफ्नो अहं भन्दा माथि उठेर विगतमा आफूलाई दिइएको यातना र कष्टको बदला लिने दुष्ट र संकीर्ण चाहनाको प्रतिरोध गर्न सक्छ।

उसको आदर्श हो मान्छे, शारीरिक शक्ति र सुन्दरताले युक्त प्राणी। तर यो बाह्य सौन्दर्य आत्माको शक्ति र सौन्दर्यसँग पूर्ण रूपले लयबद्ध छ। मानवीय भनेको त्यो आत्मिक कुरा हो, जुन चैतन्यले निर्माण गर्छ। चैतन्यबाटै सृजित हुन्छ– विज्ञान, कला र क्रमशः धेरैभन्दा धेरै मान्छेहरूले महसूस गर्दै गएको लक्ष्य र हितको एकत्वबोध। शाश्वत क्रान्तिकारी आफ्नो आत्माको सम्पूर्ण शक्ति लगाएर यही ज्ञानलाई गहिर्‍याउन र फैलाउन प्रयत्न गर्छ ताकि त्यसले सम्पूर्ण मानव जातिलाई नै प्रभावित गरोस्। यसरी फैलँदै र बढ्दै जाँदा त्यो चेतनाले मानिसलाई नश्ल, जाति र वर्गमा विभाजन गर्ने सबै कुरालाई ध्वस्त पार्दै आफ्ना लागि जीवनका यावत सम्पन्नता र सुखको सृजना गर्ने श्रमिक–मालिकहरूको एउटै विश्व परिवारको निर्माण गरोस्।

सामाजिक अवस्थामा सुधार गर्ने कुरा शाश्वत क्रान्तिकारीका लागि मानव जातिलाई मानवोचित शिखरमा पुर्‍याउने अन्त्यहीन सिंढीको एउटा खुट्किलो मात्र हो। र, यसैमा त्यो ऐतिहासिक प्रक्रियाको महत्व छ र स्वयं ऊ त्यस प्रक्रियाको असंख्य आवश्यकताको एउटा अंश मात्र हुँ भन्ने कुरा बिर्सिंदैन।

शाश्वत क्रान्तिकारी मानिसको दिमाग र स्नायु प्रणालीलाई उत्तेजित गरिरहने मर्चा जस्तै हो। अथवा ऊ त्यस्तो प्रतिभा हो, जो आफूभन्दा अघि सृजना गरिएका सबै सत्यलाई भत्काएर नयाँ सत्यको निर्माण गर्छ। अथवा, ऊ यस्तो विनीत मानव हो, जो आफ्नो सामर्थ्यमा धीर विश्वास राख्दै मन्द र यदाकदा झ्ण्डै अदृश्य ज्वालामा जलेर भविष्यतिरको बाटोलाई प्रज्ज्वलित गरिरहेको हुन्छ।

अस्थायी अर्थात् आजको लागि क्रान्तिकारी भएको व्यक्ति त्यो हो, जो मान्छेहरूले दिएको सामाजिक तिरस्कार र दुर्व्यवहारमा तीक्ष्ण पीडाबोध गर्छ। समयले प्रभावित क्रान्तिकारी विचारलाई दिमागमा ग्रहण गरेकोले ऊ आफ्नो भावनाका सम्पूर्ण बनोटबाट नै अनुदार छ। उदास र प्रायः दया र प्रहसनको पात्र झै लाग्ने, ऊ क्रान्तिकारी विचारको सांस्कृतिक, मानवतावादी र सम्पूर्ण मानवीय अन्तर्वस्तुलाई नै विकृत र बद्नाम एवं हास्यास्पद, अश्लील र अनर्थ लाग्ने गरी कमजोर बनाउने उद्देश्यले नै मान्छेहरूको माझ्मा आएको झै प्रतीत हुन्छ।

प्रथमतः ऊ आफ्नै लागि दुःखी छ, किनकि ऊ प्रतिभाशाली छैन, शक्तिशाली छैन, किनकि उसलाई अपमानित गरिएको छ। ऊ यस कारण पनि आहत छ कि कुनैबेला ऊ जेल परेको थियो, निर्वासित भएको थियो, परदेशको कष्टकर जीवनलाई भोगेको थियो। प्रतिशोधको भावना उसको कणकणमा व्याप्त छ र आफूलाई दुःखी बनाउनेलाई ऊ सय गुणा बढी दुःख दिन चाहन्छ। दिमागले मात्र स्वीकारेका तर आत्मामा नगढेका विचारहरू उसको कृत्यसँग सीधै र मिल्नै नसक्ने गरी विरोधाभासपूर्ण छन्। शत्रुसँग लड्ने उसको तरिका तिनै छन्, जुन उसका शत्रुले उसमाथि प्रयोग गरेका थिए। उसभित्र अरू तरिकाका लागि कुनै स्थान छैन।

दण्ड र प्रतिशोधको ईश्वरको अस्थायी दास बनेकोले ऊ परोपकार, क्षमा र खुशीको ईश्वरको सौन्दर्यलाई महसूस गर्न सक्दैन। सांसारिक विगतसँगको स्वाभाविक सम्बन्धको होस नगरी ऊ आफूलाई पूर्णतः उन्मुक्त भएको त ठान्दछ, तर उसको अन्तरात्मा पशुवृत्तिको गहिरो रुढीवादले ग्रस्त छ। क्षुद्र र उद्विग्न अनुभवको सघन जालोमा ऊ यसरी जेलिएको छ कि त्यसबाट मुक्त हुन ऊसँग कुनै ऊर्जा छैन। आफ्नो चिन्तनको प्रवृत्तिले उसलाई जीवन र मान्छेहरूमा मुख्यतः नकारात्मक तथ्य र विशेषतालाई मात्र खोज्न लाचार बनाउँछ। उसको आत्माको गहिराइ तिनै मान्छेका प्रति घृणाको भावले भरिएको छ, जसका खातिर उसले एक वा सयौं पटक कष्ट उठाएको थियो। ऊ आफ्नै पीडाले यति पीडित छ कि अरूका पीडालाई देख्न वा महसूस गर्न असमर्थ छ। सामाजिक जीवनको बाह्य स्वरुपलाई परिवर्तन गर्ने प्रयत्नमा नयाँ आवरणभित्र नयाँ विषयवस्तु भर्ने क्षमता नभएकोले आजको दिनको क्रान्तिकारी तिनमा उही पुराना भावनालाई भर्दै जान्छ, जसका विरुद्ध विगतमा ऊ लडेको थियो। कुनै चमत्कार वा हिंसाको बलमा यदि ऊ नयाँ जीवनपद्धतिको निर्माण गर्न सफल भयो नै भने पनि त्यहाँको नयाँ वातावरणमा अरूभन्दा पहिले ऊ आफैंले पराइ र एकाकी महसूस गर्नेछ किनकि आफ्नो अस्तित्वको सारमा ऊ समाजवादी (सोसलिस्ट) त होइन नै, पूर्वसमाजवादी (प्रिसोसलिस्ट) पनि होइन। ऊ व्यक्तिवादी (इन्डिभिजुवलिस्ट) हो।

ऊ मान्छेप्रति त्यस्तै व्यवहार गर्छ, जस्तो व्यवहार एउटा प्रतिभाहीन वैज्ञानिक क्रूर प्रयोगको लागि तयार गरिएका कुकुर र भ्यागुतोमाथि गर्छ। यद्यपि एउटा फरक के छ भने प्रतिभाहीन वैज्ञानिकले मान्छेकै भलाइका लागि जनावरहरूलाई त्यसरी व्यर्थको सास्ती दिएको हो, जबकि मान्छेमाथि गरिने आफ्ना प्रयोगमा आजको लागि क्रान्तिकारी भएको सधैं इमानदार नै हुन्छ भन्ने छैन।

उसका लागि मान्छे भनेको चेतनाको मात्रा जति कम भयो त्यति नै उपयोगी हुने वस्तु मात्र हो। यदि मान्छेको व्यक्तिगत र सामाजिक चेतनाको स्तर विशुद्ध आवरणको, औपचारिक क्रान्तिकारिताका विरुद्ध विद्रोह गर्ने तहसम्म पुग्यो भने आजको लागि क्रान्तिकारी भएकाहरू निर्लज्जतापूर्वक विद्रोहीलाई सजाय दिने चेतावनी दिन्छन्। माथि व्याख्या गरिएका जस्ता पात्रहरूले पहिले पनि यस्तै गरेका थिए र अहिले पनि गरिरहेकै छन्।

रूखो उन्माद र वैरागी स्वभावको भएकोले उसले क्रान्तिकारी विचारको सृजनात्मक ऊर्जालाई निस्तेज तुल्याइदिन्छ। निश्चय नै ऊ नयाँ इतिहासको निर्माता घोषित हुने छैन र त्यसको आदर्श नायक पनि ऊ हुने छैन।
शायद उसको योगदान नै यही होला कि आदिम हिंस्रक पशुलाई मानवको भीडमा बिउँझ्ाइदिएर उसले पाशविकताको मृत्युलाई अलिक वर ल्याइदियो?
हिंसाले थकाउँछ र अन्ततः आफ्नै विरुद्धमा नैसर्गिक घृणाको भाव जगाउन सक्छ। यही घृणाभावमा नै त्यसको विनाश सुनिश्चित हुन्छ।

(नोभाया झिज्न, नं १०९ (३२४), मे २४, १९१८)

comments powered by Disqus

रमझम