१५ बैशाख २०७० | 28 April 2013

ताण्डव जात्रा

Share:
  
- मिलन बगाले
भक्तपुरको बिस्केट जात्रामा यो वर्ष पनि त्यही भयो, जो नहुनुपर्ने थियो।

तस्वीर: मिलन
मध्यपुर ठिमीको लायकुमा बिस्केट जात्रा मनाइँदै।
२८ चैतमा भक्तपुरको प्रसिद्ध न्यातपोल मन्दिर अगाडि भैरवको रथ तानातान गर्दा धीरेन्द्र शिल्पकार (२३) र रुकेश शिलाकार (१७) ले ज्यान गुमाए भने कृष्णकुमार ग्वाछा (४०) को खुट्टा छिन्यो। अरू आठजना गम्भीर घाइते भए। काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, धापासी, टोखा, फुटुङ, हाँडीगाउँ, बोडे, ठिमी, लेले, सुनाकोठी, टीकाभैरव र बज्रबाराहीमा पनि बिस्केट जात्रा मनाइन्छ, तर नजाती खबर भने हरेक वर्ष भक्तपुरबाटै आउँछ, मानौं बिस्केट जात्रा भनेकै ढुंगा हानाहान गर्ने संस्कृति हो।

भक्तपुरको बिस्केट जात्रा दुई टोलवासीको सम्बन्धसँग जोडिएको छ। दत्तात्रेयतर्फको माथिल्लो टोल र टेखापुखातर्फको तल्लो टोलमा रमाइलोसँग रथ तानातान गरेर जात्रा मनाउने शिष्ट परम्परा केही वर्षदेखि भत्किएको छ– आफ्नो टोलमा रथ पुर्‍याउने उत्ताउलो प्रतिस्पर्धाका कारण। यसक्रममा गत वर्ष पनि एक जनाको अमूल्य जीवन गयो। त्यहीं नजिकै मध्यपुर ठिमीको लायकुमा यस्तै जात्रामा कहिल्यै हिंसा नभएको स्थानीय दशकुमार सिनारी श्रेष्ठ (७२) बताउँछन्। देवदेवीलाई ३२ वटा खटमा राखेर घुमाउने प्रचलन खुम्चिएर १६―१७ खटमा झ्रेकोमा चाहिं उनको दुःखेसो छ।

आफ्नो पर्व आफ्नै इज्जत

सम्पदा र संस्कृतिमा नेपाल संसारमै नामी छ। उपत्यकामा मनाइने बिस्केट जात्रा तिनै सम्पदामध्येको एक हो, जुन केही वर्षदेखि हिंसाको लागि चर्चित हुन थालेको छ। नौ दिनसम्म मनाइने यो जात्राका बेला राजधानी उपत्यका भित्रिएका अनगिन्ती देशका पर्यटक भक्तपुर ओइरिएका हुन्छन्। तोप जस्ता ठूल्ठूला टेलेलेन्सजडित क्यामेराका साथ आएका पर्यटकहरू जात्राको निहुँमा स्थानीयबीच हुने ज्यानै फाल्नेसम्मको तानातान र ढुंगा हानाहानका दृश्यहरू खिचेर आ–आफ्ना देश फर्कन्छन्।

भक्तपुरका प्रहरी प्रमुख दिलीप चौधरीले बिस्केट जात्रामा हुने तनावको मुख्य कारक रक्सी भएको मिडियालाई बताएका छन्। पत्रकार मकर श्रेष्ठले कान्तिपुर दैनिकमा लेखेका छन्, “रथ तल वा माथि जहाँ लगे पनि पुग्ने भक्तपुर नै हो। सौहार्द्रपूर्ण रूपमा कहिले माथिल्लो र कहिले तल्लो टोलमा लगे संस्कृतिको जगेर्ना हुनुको साथै अकालमा कसैले ज्यान पनि गुमाउनुपर्दैन।” भाइचारा र सद्भाव भत्कने गरी जात्रा मनाउँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक गरिमा ध्वस्त हुनेतर्फ भक्तपुरवासीले सोच्नैपर्ने बेला आएको छ। आफ्नो पर्वको गरिमा अरूले राखिदिने पनि होइन।

उहिले राजा–महाराजाहरू सार्वजनिक स्थलमा तड्पाई–तड्पाई मान्छे मारेर, साँढे जुधाएर वा बाघ, घोडा, हात्ती, गैंडा आदिको शिकार गरेर मनोरञ्जन लिन्थे। परपीडालाई मनोरञ्जन ठान्ने उनीहरूका खुशीका लागि दुई–चार रैती मारिनु सामान्य ठानिन्थ्यो। आज हाम्रा लागि परम्परा, संस्कृति र मनोरञ्जनको नाममा खुला डबलीमा मान्छे मर्ने वा आजीवन अपाङ्ग बन्ने क्रीडा कुनै हालतमा सुहाउँदो हुँदैन। बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुने मान्यता छ। शत्रु नाश होलान्―नहोलान्, तर जात्रामा ज्यानै जाने गरी रथ तानातान गर्ने प्रवृत्तिले स्थानीयमा सद्भाव बढाइरहेको छैन। बिस्केट जात्रालाई सभ्य र शिष्ट बनाउँदै सद्भावको सञ्चार गर्न स्थानीय अगुवाहरूले पत्रकार र प्रहरीको सुझ्ावलाई मनन् गर्नैपर्ने देखिन्छ।

संस्कृति गतिशील हुन्छ। ऐतिहासिक महत्वलाई बचाउँदै अनि बोझिला तथा पीडक पक्षलाई घटाउँदै लगे संस्कृति चिरस्थायी हुन्छ। मान्छेको जीउ मासेर जात्रा मनाउँदा न तल्लो टोलकाले जित्छ न त माथिल्लाले। भक्तपुर यसै पनि कर्मी मौरीले भरिएको सुन्दर घार हो। संस्कृति र कलाको असाध्यै धनी शहरका कर्मयोगी बासिन्दाले पर्व–जात्राहरूलाई भाइचारा फिजाउने अवसर बनाउन चुक्नु हुन्न। मेला जात्रालाई उन्नत मानवीय संस्कृति बनाउनेहरूको जय होस्।

comments powered by Disqus

रमझम