१६–३१ जेठ २०६७ | 30 May-14 June 2010

राणाकालीन व्यापारका रसिला कुरा

Share:
  
- सुरेशराज न्यौपाने

सुन तोलाको रु.३८, तामा धार्नीको रु.७, चिनी धार्नीको रु.२.५०, गहुँको पीठो धार्नीको ५० पैसा ।

आज अविश्वसनीय लाग्ने यो मूल्य–सूची वि.सं. १९७८ को नेपालको हो । देवीप्रसाद शर्मा कँडेलको ट्रेड एण्ड इण्डष्ट्री अफ नेपाल ड्युरिङ दि राना पिरिअड पुस्तकमा १०४ वर्षे जहानियाँ राणाशासनको आन्तरिक र बाह्य व्यापार, उद्योग विकास तथा राजस्व प्रणालीदेखि भट्टीमा रक्सी खान कडा प्रतिबन्धसम्मको विवरण छ । देशभर खोलिएका गल्ला र मण्डीबाट राजस्व सङ्कलन गर्न केन्द्रका हाकिम बस्थे, अफिम खेतीका लागि इजारदार, फौजदार र बन्सुवार नियुक्त हुन्थे भन्ने कुरा किताब पढ्दा थाहा पाइन्छ ।

पुस्तकमा नेपाल–ब्रिटिश–भारत र नेपाल–तिब्बत व्यापारलाई विशेष महŒव दिइएको छ । महेन्द्र मल्लको पालादेखि चलेको नेपाल–भोट व्यापारमा तिब्बत–भारत–बङ्गाल व्यापारको चल्तीको रुट बनेको थियो, काठमाडौं उपत्यका । भोटसँग भएका थापाथली सन्धिलगायतका प्रसङ्ग समेटिएको पुस्तकमा नून आयात र नेपाल सरकारका तर्फबाट ल्हासामा नायकहरूको नियुक्तिका रोचक विवरण छन् । तर, नेपाललाई भारतसँगको निर्भरताबाट जोगाएको तिब्बतसँगको व्यापारिक सम्बन्धलाई राणाहरूले कमजोर बनाएको किताबले स्पष्ट गरेको छ । आफ्नो शासन टिकाउन राणाहरूले ब्रिटिश–भारतसँग नयाँ–नयाँ सन्धिसम्झैता र तिब्बतसँग युद्ध गर्नेसम्मको नीति लिए ।

परिणाम, आज नेपालको कुल वैदेशिक व्यापारको करिब ५५ प्रतिशत हिस्सा भारतनिर्भर छ । वि.सं. १९२२–२३ सम्म भारतसँगको व्यापारमा नेपाल रु.७ करोड ८३ लाख ३९ हजारले अगाडि हुनुले राणाहरूले भारतसँगको व्यापारलाई नेपालको पक्षमा राख्न भने सकेको देखाउँछ । आर्थिक वर्ष २०६६÷६७ को पहिलो आठ महिनामा भारतसँग रु.१ खर्बभन्दा बढीको व्यापार घाटा रहेको नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ ।

अङ्ग्रेजसँग सुगौली सन्धि हुनुअघिदेखि नै नेपाल–भारतबीचको व्यापारमा काठमाडौंमा कश्मिरी मुसलमानहरूको ठूलो भूमिका भएको पुस्तकले बताउँछ । पटना र बनारसमा नेपाली कोठीहरू खोलिएका, भारतसँगको व्यापारलाई अझ् विस्तार गर्न नेपालतर्फ राजापुर, नेपालगञ्ज, बुटवल, ठोरी, हेटौंडा, वीरगंज, हनुमाननगर, भद्रपुर आदि ठाउँमा गोलाहरू खोलिएका थिए । ब्रिटिश–भारतीय व्यापारीहरूको गुनासोमा खासै चासो नदेखाउने जङ्गबहादुरले नयाँ मुलुकका नेपालगञ्ज, राजापुरलगायतका ठाउँमा व्यापारिक केन्द्र स्थापित गर्ने प्रयास गरेका थिए । लेखक कँडेलका अनुसार जङ्गबहादुरपछिका राणा प्रधानमन्त्रीले भने ब्रिटिश शासकहरूलाई रिझउन उदार नीति लिए ।

वीरशमशेरले सीमावर्ती वीरगंज, गोग्राहा, रङ्गेली, झपामा बजार विस्तार गरे । चन्द्रशमशेरले विलासी सामानहरूको आयातमा प्रतिबन्ध लगाउनुका साथै बहुमूल्य सम्पदा बाहिरिन नदिन विशेष कानून लागू गरे । मुलुकको व्यापार–व्यवसायमा एकरुपता ल्याउन चन्द्रशमशेरले नै मौद्रिक र लेखाप्रणाली शुरु गरेको पुस्तक पढ्दा थाह हुन्छ । जङ्गबहादुर, वीरशमशेर र चन्द्रशमशेरले आन्तरिक व्यापार–व्यवसायमा जोड दिएका थिए । भीमशमशेरले अति आवश्यक नून र कपास आयातमा भन्सार छुट दिएका तथा जुद्धशमशेरले व्यापारिक ऋणका लागि राजबन्धकी अड्डा र वाणिज्य व्यूरो स्थापना गरेका थिए ।

नेपालको औद्योगिकरणको सुरुआत र विकासका सम्बन्धमा किताबमा कच्चा पदार्थ आपूर्तिका लागि सुन महल, रेशम महल आदि अड्डा खोलिएका कुरा छन् । रक्सौल–अमलेखगञ्ज र जयनगर–जनकपुर रेल्वे, किसिपिडी–धुर्सिङ रोपवे राणाकालकै उपलब्धि हुन् । जुद्धशमशेरको पालामा उद्योग परिषद, नेपाल ब्याङ्क लिमिटेड, औद्योगिक–व्यापारिक समाचार सङ्ग्रह अड्डा, खानी विभाग, राष्ट्रिय आर्थिक योजना समिति स्थापना भए । विराटनगर जुट मिल, गुह्येश्वरी राइस मिल, नेपाल केमिकल इण्डष्ट्रिज, मोरङ कपडा मिल्स, रघुपति जुट मिल र गौर चामल तथा तेल मिल पनि उनकै बेलाका हुन् । उनकै पालामा नेपाल कम्पनी ऐन १९३६–३७ र प्राइभेट कम्पनी ऐन १९३६ जारी भए ।

घरेलु उद्योगको स्थापना र विकासमा जङ्गबहादुरकै पालादेखि काम भए पनि महŒवपूर्ण कदमहरू जुद्धशमशेरको पालामा चालिएका थिए । मुलुकको पहिलो औद्योगिक प्रदर्शनी आयोजना गरेका जुद्धशमशेरले नेपाली कागज, खुकुरी, माटोका भाँडा, छाला, काठ, बाँस, साबुन, डेरी, सुर्ती, चिया, औषधि र जडिबुटीसम्बन्धित घरेलु उद्योग खोल्न चासो दिएका थिए । नेपालको औद्योगिक विकासमा अरूभन्दा जुद्धशमशेर बढी गम्भीर भएको उनले चालेका कदमहरूले देखाउँछ । तर, नियन्त्रित अर्थव्यवस्थाको अभ्यास भने सबै राणा शासकले गरेका थिए । जङ्गबहादुरकै पालादेखि लिइएको यस्तो नीतिका कारण राणाकालमा कतिपय वस्तुहरू राज्यबाहेक अरूले बेचबिखन गर्न पाउँदैनथे । हिमाल, पहाड र तराईलाई विभाजित गर्दै जहानियाँ शासन लम्ब्याउन चाहने राणाहरू जनतालाई स्वतन्त्र व्यापार–व्यवसाय गर्न दिँदैनथे ।

उद्योग–व्यवसायमा जनताको पहुँच नहुनु पनि २००७ सालमा सम्पूर्ण देश राणाशासनविरुद्ध उभिनुको प्रमुख कारण भएको निष्कर्ष निकालेका लेखकले ऐतिहासिक दस्तावेजहरू राखेर पुस्तकको वजन बढाएका छन् । तत्कालीन सवाल, सनद, कुमारी चोक, कौशी तोषाखानाका दस्तावेज, विभिन्न इस्तिहार र नीतिनिर्देशनका साथै महेशचन्द्र रेग्मीलगायतका विद्वान्हरूको पुस्तकको अध्ययनले लेखकले किताब लेख्ने क्रममा गरेको मेहनत झ्ल्काउँछ । यसो भन्दैमा पुस्तक त्रुटिरहित भने छैन । नेपालको क्षेत्रफल जस्तो सामान्य तथ्याङ्क र धेरै ठाउँमा हिज्जेहरूमा लेखक चुकेका छन् । सम्पादनमा ध्यान दिइएको छैन र पनि अर्थ–व्यवस्थामा कम चासो राख्ने पाठकलाई समेत पढ्न सहजै मेलो सर्ने खालको छ ।

सुरेशराज न्यौपाने

comments powered by Disqus

रमझम