१५ बैशाख २०७० | 28 April 2013

नेपालीको 'मस्त' आनीबानी

Share:
  

नेपाली बिहान कति बजे उठ्छन्? उठेर के गर्छन्? खाना कति बजे खान्छन्? दिउँसो खाजा खान्छन्/खाँदैनन्? बेलुकी/राति कति बजेसम्म खाना खाइसक्छन्? हिमाल को साप्ताहिक जनमत सर्वेक्षणमार्फत यसपटक नेपालीका यी र यस्ता आनीबानी खोतल्ने जमर्को गरिएको छ।

उपत्यकासहित देशका १२ शहरमा गरिएको सर्वेक्षणले धेरै नेपाली बिहान चाँडै उठ्ने गरेको देखाएको छ। कुल ३७५ उत्तरदातामाझ् गरिएको सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा धेरै ४२.४ प्रतिशत बिहान ५–६ बजे बीचमा उठ्छन्। ३०.१ प्रतिशत बिहान ४–५ बजेभित्र, १४.४ प्रतिशत ६–७ र ७.२ प्रतिशत ३–४ बीचमा उठ्ने गरेका भेटिए। ७–८ बजेभित्र र ८ बजेपछि उठ्ने क्रमशः ४ र १.३ प्रतिशत छन्।

६० वर्षमाथिका उत्तरदातामध्ये ४५.८ प्रतिशत ४–५ र १६.७ प्रतिशत ३–४ बजेभित्र उठिसक्छन्। ४०–५९ वर्षका उत्तरदातामध्ये ३९.२ प्रतिशत ४–५ बजेभित्र उठ्छन्। धनगढी र धरानका उत्तरदाता सबैभन्दा चाँडो उठ्छन्ः धनगढीका २४ र धरानका १२ प्रतिशत उत्तरदाता ३–४ बजेभित्र उठिसक्ने गरेका भेटिए। सबैभन्दा ढिलो (७–८ बजे) सम्म सुत्नेमा जनकपुरवासी (१२.५ प्रतिशत) छन्। स्वस्थ जीवनका लागि चाँडै उठ्नु राम्रो मानिने भएकाले धेरै नेपालीको आनीबानी स्वस्थकर देखिन्छ।

उठिसकेपछि १८.१ प्रतिशत चियानास्ता खाएर घरमै बस्छन्, १४.७ प्रतिशत केही नगरी र १३.३ प्रतिशत पत्रिका पढेर बस्छन्। योगा, मर्निङ वाक्, सामान्य व्यायाम, जगिङ र जीम गरेर दैनिकी शुरू गर्ने क्रमशः ९.६, ९.६, ८.३, १.६ र १.६ प्रतिशत (समग्रमा ३० प्रतिशत) उत्तरदाताले शारीरिक अभ्यासबाट दैनिकी शुरू गरे पनि करीब ४६.१ प्रतिशत उत्तरदाताले 'खासै केही नगरी' बिहानी बिताउने गरेको देखिनुले आम नेपालीको 'मस्त' आनीबानी प्रष्ट हुन्छ।

सर्वेक्षणमा सहभागी ३६.५ प्रतिशत उत्तरदाता बिहान केही नखाई शौचालय जान्छन्। २७.२ प्रतिशत चिया, १४.१ तातोपानी तथा १४.१ प्रतिशत चिसोपानी पिएर शौचालय जान्छन् भने चुरोट पिउँदै शौचालय जाने ५.१ प्रतिशत छन्।

४१.९ प्रतिशत उत्तरदाताले बिहानको खाना ९–१० बजेको बीचमा खाने गरेको उत्तर दिए। १०–११ बीचमा खाने २९.३, ११–१२ बजेभित्र खाने १३.३ तथा ८–९ बजेभित्र खाने १०.१ तथा १२ बजेपछि खाने ५.३ प्रतिशत भेटिए। बिहान नास्ता खाएर ढिलो खाना खाने तराईमा ज्यादा देखिए, जुन त्यहाँका व्यापारिक (खासगरी मारवाडी) समुदायको प्रचलित आनीबानी नै हो। सबैभन्दा छिटो (८–९ बजेभित्र) खाना खाने धनगढीका ४० प्रतिशत उत्तरदाता भेटिए। १०–११ बजेभित्र खाना खानेमा नेपालगञ्ज, जनकपुर र घोराहीका क्रमशः ५६, ४१.७ र ४० प्रतिशत छन्। सर्वेक्षणमा सहभागीमध्ये ६६.४ प्रतिशतले दिउँसोको खाजा खान्छन् भने २५.१ प्रतिशतले 'मिलेसम्म' खान्छन् र ६.९ प्रतिशतले खाँदैनन्।

बेलुकीको खाना ८–९ बजेभित्र खाइसक्ने उत्तरदाता ४५.९ प्रतिशत भेटिए। ७–८ बजेभित्र खाना खाइसक्ने १९.७, राति ९–१० बजेभित्र खाने २६.७ र १०–११ बजेभित्र खाना खाने ६.९ प्रतिशत छन्।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम