कृष्णभूषण वल

Share:
  


(१ चैत २००४–११ असार २०६९) 

r3

झ्ण्डै तीस वर्षअघि 'मुनामदन', 'आमाको सपना', 'घुम्ने मेचमाथि अन्धो मान्छे' जस्ता अमर कृतिहरूले बेस्कन हल्लाइरहेको बेला कवि कृष्णभूषण वलको 'भोलि बास्ने बिहान' मेरो हातमा परेको थियो। त्यो कृति दोहोर्‍याई–तेहेर्‍याई पढेपछि एउटा निर्माणाधीन कवि भोजपुरको दिल्पा गाउँमा अडिएर बस्न सकेन। 

कालान्तरमा पूर्वका विभिन्न साहित्यिक मञ्चदेखि राजधानीका अनेक मधुशालासम्म सान्निध्यको सुयोग जुरेका ती शक्तिशाली सर्जक अब नरहेको सुन्दा 'वियोग नआई प्रेमले आफ्नो गहिराई थाहा पाउँदैन' भन्ने खलिल जिब्रानको सम्झ्ना भयो। तीन महीनाअघि उहाँले 'काठमाण्डूमा त्यो कृष्ण धरावासीले चिया खुवायो भने तुरुन्त खबर गर्नु, मलाई त्यो आश्चर्य सुन्ने मन छ!' भनेर हँसाउँदै मलाई विराटनगरबाट बिदा गर्नुभएको थियो। 

कृष्णभूषण वल ३० को दशकमा उदाएका सर्वाधिक प्रभावशाली कवि थिए। आधुनिक गद्य–कविताका क्षेत्रमा रिमाल, भूपी, मोहन कोइराला र बैरागी काइँलापछि मानक कविका रूपमा निःसन्देह उनको नाम आउँछ। पञ्चायती व्यवस्थाको उन्मत्त यौवनकालमा 'काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन' भन्ने बहुचर्चित कविताले उनलाई त्यो उचाइ दियो। केन्द्रीकृत शासन प्रणालीविरुद्ध लेखिएको सम्भवतः त्यो नै एकमात्र 'कम्प्लिट' नेपाली कविता हो, जसलाई आज तीस वर्षपछि मुलुकले राष्ट्रिय एजेण्डा बनाएको छ। 
'दाज्यु तिम्रो हात चाहिन्छ' (खण्ड काव्य), 'भोलि बास्ने बिहान' (कविता संग्रह), द फुल मुन एट द रिभर व्याक (अंग्रेजीमा अनूदित कविता संग्रह) र विभिन्न लेख, निबन्ध, व्यंग्यका स्रष्टा कृष्णभूषण लोकतन्त्रप्रति प्रतिबद्ध कवि थिए। विनम्र तर विचारशील कवि कृष्णभूषणका कविताहरू वैयक्तिक स्वतन्त्रता, समानता र परिवर्तनका पक्षमा रहे। आन्तरिक लयविधान र सुललित बिम्बहरूको तरेलीमा निर्मित उनको रचना–शिल्प आधुनिक नेपाली कविताको दुर्लभ उपलब्धि हो, जसलाई आजका तरुण कविहरूले एउटा 'स्कूल' बनाएका छन्। 

पञ्चायतकालमा कवितामार्फत मानिसलाई मानिस भएर बाँच्ने सपना बाँडिहिंड्दा पटक–पटक धरापमा परेको कृष्णभूषणको ब्याङ्कको जागिरलाई २०४६ सालको परिवर्तनले स्थिर बनाएको थियो। अढाई दशकको जागिरबाट निवृत्त भएपछि उनी पूर्णकालीन साहित्यसेवी भए। प्रतिष्ठित साहित्यिक संस्था 'वाणी प्रकाशन' को अध्यक्ष भएर पूर्वाञ्चलको सांस्कृतिक गतिविधिको नेतृत्व गर्दै राजधानी काठमाडौंको तथाकथित 'केन्द्र' भत्काइदिए।


श्रवण मुकारुङ 

comments powered by Disqus

रमझम