१–१५ असार २०६७ | 15-29 June 2010

प्रान्त,पूर्वाञ्चल जस्तो

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
हिमाली जडिबुटी, पहाडको नगदेबाली र तराईको खाद्यान्न जोडिएको पूर्वाञ्चल मुलुकका अन्य क्षेत्रभन्दा सम्पन्न छ । अनेकन् पाटोमा भइरहेको हिमाल–पहाड–तराई सहकार्यलाई कायम राखेर सङ्घीयतामा जाने हो भने, मुलुकको सबैभन्दा समृद्ध प्रदेश पूर्वाञ्चल बन्ने निश्चित छ ।

भानु भट्टराई
नयाँ संविधानबाट देशको सङ्घीय संरचना कस्तो बन्ला र कुन प्रदेशको अवस्था कस्तो होला, स्पष्ट हुन बाँकी छ । प्रस्तावित सङ्घीयताको आधार हालको पाँच विकास क्षेत्र भयो भने चाहिँ पूर्वाञ्चल एउटा बलियो र आत्मनिर्भर प्रदेश बन्न सक्ने देखिँदो रहेछ । देशलाई राजनीतिक नेतृत्व दिने क्षमता देखाइसकेको पूर्वाञ्चललाई विभिन्न विकास सूचकहरूले नै अग्रपङ्क्तिमा राखेको छ ।

नेपालको सबभन्दा होचो भू–भाग केचनाकलन (७० मि.) देखि संसारकै अग्लो सगरमाथा (८८४८ मि.) सम्म समेटिएको पूर्वाञ्चल तराई÷मधेशका उद्योग–व्यवसाय र कृषि, पहाडको नगदेबाली, हिमालको जडिबुटी र जलविद्युत्बाट बढी सुसज्जित छ । सात दशक लामो राजनीतिक, औद्योगिक, शैक्षिक र आधुनिकीकरणको जगमा उभिएको यो क्षेत्र स्वास्थ्य, सञ्चारलगायत राष्ट्रिय जीवनको हरेक क्षेत्रमा अगाडि छ ।

त्यसो त सबैभन्दा चर्को जातीय नारा लागेको क्षेत्र पनि पूर्वाञ्चल नै हो । र, जाति–जनजाति, पहाडी–मधेशीबीच सबभन्दा बलियो सामाजिक एकता पनि पूर्वाञ्चलमै छ । पूर्वाञ्चलको राजनीतिक, आर्थिक, सामाजिक, क्षेत्रीय, जातीय अन्तरघुलन यति बलियो छ कि मधेश आन्दोलनको क्रममा मुलुकका केही जिल्लामा विचलनका सङ्केतहरू देखिए पनि पूर्वाञ्चल हल्लिएन । किनकि, तराईमा पहाडीमाथि आक्रमण भए प्रतिरक्षामा उत्रिने मधेशी समाज पूर्वमा छ । पहाडमा कुनै जातीय समूह वा व्यक्तिमाथि खतरा आइपरे सुरक्षाका लागि अगाडि सर्ने पहाडी संस्कृति मजबूत छ ।

पूर्वाञ्चलको शक्ति

२०४६ सालपछिको उदार प्रजातान्त्रिक प्रणालीको परिणाम हो, पूर्वको उन्नति । प्रजातन्त्रको खुला अर्थनीतिका कारण डेढ दशकमै यस क्षेत्रले चिया, दूध, तरकारी र अन्य नगदेबालीको व्यावसायिक खेतीमा फड्को मा¥यो । कृषिमा आधारित उद्योगबाट निर्यात प्रवद्र्धन हुँदा नेपाली चिया समुद्रपारका उपभोक्ताको रोजाइ बन्न पुग्यो । अलैँची, अदुवा, अम्रिसोदेखि जडिबुटी र रुद्राक्षसम्मको निकासी नसोचिएको स्तरमा बढ्यो । यसबाट पूर्वाञ्चलको अर्थतन्त्र बलियो बन्नुको साथै काठमाडौं जाने राजस्व पनि बढ्यो ।

तस्बिरहरूः डम्बरकृष्ण श्रेष्ठ
इलामका दुग्ध कृषक ।
कृषिमा मात्र होइन औद्योगिक उत्पादनमा पनि पूर्वाञ्चल मुलुकका अन्य क्षेत्रभन्दा सबल छ । ६० वर्षअघि नै आठ वटा उद्योग स्थापना भएको यस क्षेत्रमा अहिले ८०० उद्योग सञ्चालित छन् । पूर्वाञ्चलबाट उठेका थुप्रै उद्यमी राष्ट्रिय उद्योगपति बनेका छन् । यी औद्योगिक पूर्वाधार र पछिल्लो समयमा कृषिमा गएको प्रगतिले पूर्वी तराईका केही शहरहरू मुलुककै प्रमुख अर्थ–वाणिज्य केन्द्रका रूपमा उदाएका छन् । विराटनगरलाई मुलुकको आर्थिक राजधानी नै मानिन्छ जसले पूर्वाञ्चललाई एउटा सबल प्रान्त हुने आधार दिएको छ । जनसङ्ख्या र स्थानीय उत्पादन लगभग सन्तुलित रहेको पहाडी जिल्लाका सदरमुकामहरू पनि सडक विस्तारसँगै आर्थिक केन्द्र बन्ने तरखरमा छन् ।

कृषि विशेषज्ञ भएर ७० देशमा काम गरेका खोटाङका मदन राई हिमाल, पहाड र तराईको अन्तरनिर्भरतालाई पूर्वाञ्चलको आर्थिक सबलीकरणको मुख्य कडी ठान्छन् । उनका अनुसार नेपाललाई धेरैले सतीले सरापेको देश भन्ने गरे पनि पूर्वाञ्चलवासीले आफूलाई प्राप्त भौगोलिक वरदान बुझ्ेका छन् । खानेपानी, जलविद्युत्, तामा, फलाम र बहुमूल्य पत्थरको ठूलो भण्डार पनि पूर्वाञ्चलमा नै छ । काम र अध्ययनका क्रममा मुलुकका ७५ वटै जिल्ला चहारेका राई भन्छन्, “विश्वकै अग्ला हिमाल भएको पूर्वाञ्चलका पहाड र मधेश यति उर्वर छन् कि वैज्ञानिक ढङ्गको व्यावसायिक खेतीले अबको दुई दशकमा यो क्षेत्रका प्रत्येक किसानका घर–घर जोड्ने सडक र गाडी हुनेछन् ।” (हे. अन्तर्वार्ता)

पूर्वका हिमाली जडिबुटी र पहाडका नगदेबालीले दक्षिणको ठूलो बजार पाएको छ । खाद्यान्न, लत्ताकपडा, नुन, तेललगायतका उपभोग्य वस्तु लिएर उकालो चढेका तराईका व्यापारीहरूले पहाडका किसानलाई बजारसँग जोडेनन् मात्र, व्यावसायिक उत्पादनमा प्रोत्साहित पनि गरेका छन् । पहाडका व्यापारीलाई कारोबार सिकाउने पनि तिनै भए । यसबाट आर्थिक सबलतासँगै सामाजिक सद्भाव विकासमा पनि सघाउ पुग्यो । तराईको कृषिमा पहाडीहरूको बाहुल्य छ । मधेशका आदिवासी धिमाल, सतार, थारूहरू राम्रो पर्वते नेपाली बोलचाल गर्छन् । फरक समुदायबीचको घुलमिल चिनी–पानी जस्तै छ । यस्तो सामाजिकता पनि पूर्वको शक्ति नै बन्यो ।

पूर्वको धरान–धनकुटा र मध्यपश्चिमको दाङ–सल्यान सडक ३० वर्षअघि सँगसँगैजसो बनेका हुन् । अहिले धनकुटाबाट धरान अनि ताप्लेजुङ–पाँचथर–इलामबाट बिर्तामोड झ्र्ने ट्रकहरू पहाडका कृषि उपजले टनाटन भरिएका हुन्छन् तर, सल्यानबाट दाङ झ्र्ने मालवाहक गाडीहरू प्रायः रित्तै देखिन्छन् । सबै गाविसमा सडक पुगेको पश्चिमको अर्घाखाँची र पूर्वको इलामबीच ठूलो आर्थिक भिन्नता छ । अर्घाखाँचीमा जन्मे–हुर्केर एकताका पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय प्रमुख रहेका तुलसी गौतम पूर्वलाई सिर्जनशीलताले अगाडि बढाएको ठान्छन् । उनी भन्छन्, “सडक भएर मात्रै नहुने रहेछ, नत्र अर्घाखाँचीको व्यावसायिक कृषि इलामको तुलनामा ८० प्रतिशत कम हुने थिएन ।”

इलामको फिक्कलका एक किसान परिवार अदुवा रोप्ने तयारीमा ।
देशको खाद्यान्न र नगदेबाली हुने कुल ३४ लाख ७७ हजार ५५८ हेक्टरमध्ये १० लाख ९७ हजार ६७६ (३० प्रतिशत) हेक्टर पूर्वाञ्चलमा पर्छ । पूर्वको झपा, मोरङ, सुनसरी जस्तै धान–गहुँका भण्डार हुन्— मध्यपश्चिमका दाङ, बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर (हे.चार्ट) । तर, पहाडसँगको आर्थिक अन्तरसम्बन्धमा पूर्वाञ्चलको तुलनामा ती क्षेत्र धेरै पछाडि छन् ।

मानव विकास सूचकाङ्कमा पनि कास्की र राजधानी उपत्यकाका तीन जिल्ला पछि पूर्वका झपा, मोरङ, सुनसरी, इलाम अगाडि छन् । राष्ट्र ब्याङ्कका गभर्नर युवराज खतिवडाका अनुसार कृषि, पशुपालन, लघु उद्योगमा अझ्ै दोब्बर प्रगति गर्ने क्षमता छ, पूर्वाञ्चलसँग । उनी भन्छन्, “प्राकृतिक छटा, जैविक विविधता र जलविद्युत् भण्डार रहेको पूर्वाञ्चलको सबलता धार्मिक, सांस्कृतिक पर्यटनमा पनि उत्तिकै निहित छ ।” भनाइ नै छ, विश्वको सर्वोच्च शिखर रहेको सोलुखुम्बुलाई हटाइदिने हो भने नेपाली पर्यटन धराशायी हुन्छ । सगरमाथा पूर्वाञ्चलमै पर्ने विश्वको आकर्षण हो । यस क्षेत्रमा हिमाली सौन्दर्य मात्र छैन, बराहक्षेत्र, छिन्ताङकी देवीदेखि पाथीभरासम्मका धार्मिक केन्द्रहरू छन् । जैविकदेखि जातीयसम्मका विविधताले भरिएको पूर्वाञ्चलमा माईदेखि साल्पासम्मका पोखरीहरू र कोशीदेखि कञ्चनजङ्घासम्मका निकुञ्जहरू पनि छन् ।

सामूहिक भावना र आफ्नो गाउँठाउँको विकासमा आफैं अग्रसर हुने बानी पूर्वाञ्चलको अर्को अदेखा शक्ति हो । घर अगाडिको सडक पिच गर्न आफैं खर्च गर्ने धराने जनता वा आफूले गीतसङ्गीत सिकाएको पारिश्रमिक बापत शिष्यहरूलाई बाटो खनाउने इलामका कुवेर राई जस्ता उदाहरण थुप्रै भेटिन्छन्, पूर्वाञ्चलमा । यस क्षेत्रका महिला–पुरुषमा खेतबारीमा समान रूपमा खट्ने विशेषता छ । गत वर्ष १५ हजार किलो चिया, १०५ मन अदुवा, २५० किलो अकबरे खुर्सानी, नौ मन अलैँची र सात क्विण्टल अम्रिसो बेचेका कोल्बुङ–२, इलामका ६८ वर्षका धनराज–गङ्गादेवी गुरुङ दम्पती छोरा–बुहारीसहित सधैं सँगसँगै मेलामा जुटेका हुन्छन् । नगदेबालीका यस्ता व्यावसायिक किसान दम्पती पूर्वी पहाडका गाउँगाउँमा छन् ।

निर्यातमा प्रगति

पूर्वाञ्चलका १६ वटै जिल्ला सदरमुकामलाई यस वर्षदेखि सडकले छोएको छ जसबाट स्थानीय उत्पादनलाई तराई र भारतका बजार पु¥याउन अझ् सजिलो भएको छ । पाँच वर्षअघि अरुण नदीमा फेरीले ठूला बस–ट्रक तार्न थालेपछि तराईका बजारमा भोजपुर र खोटाङका अलैँची, चिराइतोको हिस्सा बढेको थियो । सप्तकोशीमा मोटरबोट पनि चल्न थालेपछि खोंच क्षेत्रका किसानहरू उत्साहित भएका छन् ।

चतरा–त्रिवेणी मोटरबोट सेवा शुरु गर्नेमध्येका एक हरि वैरागी दाहाल तुम्लिङटार–पाथीभरासम्मको करिब ८० किमी दूरी एक घण्टामा खुम्चिएपछि यो भेगको आर्थिक अवस्थामा कायापलट हुने बताउँछन् । दाहाल भन्छन्, “नेपालका नदीहरू सडक नपुगेका क्षेत्रका कृषि उत्पादन र जडिबुटी बाहिर निकालेर मुलुकको निर्यातमा योगदान पु¥याउने सजिला माध्यम हुन सक्छन् ।”

झापा बिर्तामोडस्थित एक गोदाममा अलैंची सफा गरिंदै ।
अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्य पूर्वले आफ्नो उत्पादनबाट अरू क्षेत्रलाई समेत थेगिरहेको बताउँछन् । उनका अनुसार पूर्वको हालको कुल वार्षिक खाद्यान्न उत्पादन १९ लाख ३६ हजार ५१३ मेट्रिक टन छ जसको ४५ प्रतिशत अन्यत्र निर्यात हुन्छ । तरकारीलगायतका नगदेबाली, चिया, जुट, दूध आदि पूर्वका प्रमुख निर्यातजन्य उत्पादन हुन् । व्यावसायिक खेतीमा काठमाडौं उपत्यकापछि पूर्वी पहाडकै नाम आउँछ । जुट, चिया, अलैँची, अकबरे खुर्सानी र दुग्ध उत्पादनमा त पूर्वाञ्चलको एकलौटी नै छ । इलाम अर्थोडक्स र झपा सीटीसी चियाका लागि प्रख्यात छन् । आ.व. २०६६÷६७ को कात्तिकसम्म पूर्वाञ्चलले २ लाख १० हजार मेट्रिक टन दूध उत्पादन गरेको क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरको तथ्याङ्कले देखाउँछ, जसमा इलामको योगदान ४४ हजार २३८ मेट्रिक टन रह्यो ।

इलाममा २९ वटा चिया उत्पादक सहकारी संस्था छन् । वार्षिक उत्पादन हुने १५ लाख केजी नेपाली अर्थोडक्स चियामा ९० प्रतिशत योगदान इलामका किसानको छ । इलामका १२, धनकुटाका दुई र पाँचथरका एक उद्योगको अर्थोडक्स चिया जर्मनी निर्यात हुन्छ । नेपाल चिया उत्पादक संघका जेपी शर्माका अनुसार झपाका २३ उद्योगले वार्षिक १ करोड ५० लाख किलो सीटीसी चिया उत्पादन गर्छन्, जसमध्ये ६० प्रतिशत भारत निर्यात हुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार आ.व. २०६५÷६६ मा पाँचथरबाट मात्र रु.२५ करोडको तरकारी निर्यात भयो । धनकुटाबाट रु.१४ करोडको गोलभेंडा, रु.१३ करोडको बन्दा र रु.५ करोडको अदुवा बाहिरियो ।

वि.सं. १९२० मा चिया र १९८० मा अलैँची रोपिएको इलाममा व्यावसायिक फूल खेती थपिएको पाँच वर्ष भएको छ । पूर्वाञ्चलले उहिल्यैदेखि दार्जीलिङ, सिक्किमको प्रभाव ग्रहण गरेको बताउने इतिहासका जानकार युद्धप्रसाद वैद्य भन्छन्, “घना आवादी भएको भारतीय क्षेत्र नजिक परेकाले व्यावसायिक कृषि पूर्वाञ्चलका लागि वरदान साबित हुँदैछ ।”

आन्तरिक/बाह्य प्रभाव

पूर्वाञ्चलले काठमाडौंमा पारेको प्रभाव होस् या आफूले ग्रहण गरेको बाह्य प्रभाव; ती सबै शिक्षा र राजनीतिक चेतनासँग जोडिएका छन् । २०४६ र २०६२÷६३ को जनआन्दोलनको आधारका रूपमा रहेको २००४ सालको मजदुर हड्तालदेखि राणा–पञ्चायत विरोधी सशस्त्र सङ्घर्ष, विमान अपहरण, झपा विद्रोह, ओखलढुङ्गा काण्ड, छिन्ताङ काण्ड आदि घटना पूर्वाञ्चलमै भए जसले नेपालको केन्द्रीय राजनीतिलाई तरङ्गित बनाइरहे । केन्द्रीय राजनीतिमा पूर्वको प्रभाव यति सशक्त छ कि ६० वर्षमा यसले मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट र नगेन्द्रप्रसाद रिजाल गरी देशलाई सात प्रधानमन्त्री दिएको छ ।

सप्तकोशी नदीमा सार्वजनिक यातायातको रुपमा सञ्चालित चतरा–त्रिवेणी मोटरबोट सेवा ।
पूर्वाञ्चल सधैँभरि राजधानी बाहिरको शैक्षिक केन्द्र रहिरह्यो । विराटनगरमा २००४ सालमै आदर्श हाईस्कूल र २०१६ मा मोरङ कलेज खुले भने २०१२ मा धरानमा पब्लिक हाईस्कूल । वि.सं. १९७७ मै भाषा पाठशाला स्थापना भएको इलाममा त्यसपछि १९८५ सालमा पदमबहादुर देवाले अङ्ग्रेजी पढाउन थाले । १९८९ सालमा पशुपतिनगरमा गराइएको ब्रिटिस–भारतीय लाहुरेको पुनर्वासले शैक्षिक चेतना विस्तारमा ठूलो टेवा दियो । २००८ सालमा इलाममै खुल्यो, सरस्वती कन्या हाईस्कूल ।

त्यही अवधिमा दार्जीलिङ, सिक्किम र बङ्गालका शिक्षकहरू पूर्वी पहाडका गाउँ–गाउँ पुगे । दार्जीलिङ, कोलकाता, बनारसमा पढेर फर्कनेहरू पनि उत्तिकै भए । धरानमा २०१० सालमा ब्रिटिस–गोर्खा भर्ती डिपो खुलेपछि लाहुरेहरूको चलखेल बाक्लियो । उनीहरूले पहाडका गाउँघरमा रेमिट्यान्ससँगै पल्टनमा सिकेका शिक्षा, आधुनिक रहनसहन र सामूहिक भावना पु¥याए । धरान, इटहरी, दमक, बिर्तामोड जस्ता शहरको विकास र व्यापार प्रवद्र्धनमा लाहुरेको महŒवपूर्ण भूमिका रह्यो । जातीय विभेद व्याप्त समाजमा लाहुरेहरूको खुल्ला सोचले नजानिँदो चेतना ल्यायो ।

नेपालमा सञ्चारमाध्यम विकास नहुँदै लाहुरेले पूर्वी पहाडमा रेडियो पु¥याए । तराईका शहरी क्षेत्रमा भारतीय पत्रपत्रिका पढ्ने चलन भित्रियो । पूर्वाञ्चलमा गोरखापत्र नपुग्दैदेखि धरान, विराटनगरका मानिसहरू आर्याव्रत, स्टेट्सम्यान, दिनमान, सर्चलाइट, कल्याण, नवनीत, कादम्विनी, सरिता आदि पत्रपत्रिकाका पाठक बने । क्रान्तिका लागि २००६ सालमा विराटनगरमा खुलेको प्रजातन्त्र रेडियो पछि रेडियो नेपालको जग बन्यो । यसरी शिक्षा र बाहिरी संसारको प्रभाव आत्मसात् गरेका पूर्वेलीहरूले नेपाली कला, साहित्य र सङ्गीतमा पनि देशव्यापी पकड बनाएका छन् ।


३ ‘अ’ को कमाल

पूर्वी पहाडका किसानलाई सम्पन्न बनाउने नगदेबालीमा पर्छन्— अलैंची, अम्रिसो र अदुवा । सबैभन्दा बढी ताप्लेजुङ र सङ्खुवासभामा हुने अलैंची, अम्रिसो र अदुवा पाँचथर, इलाम र तेह्रथुमको मुख्य नगदेबालीमै पर्छ । अलैंचीबाट लाखौं कमाइ गर्ने किसानहरू भोजपुर र खोटाङमा पनि प्रशस्तै छन् ।

पाँचथर, ओयामका वीरेन्द्र योङ्ग्या र सङ्खुवासभा, दिदिङका फुर्वा शेर्पा वार्षिक १०० मन अलैंची फलाउँछन् । २०२९ सालदेखि अलैंची चिनेका पाँचथर लुङरुपा–४ का राम बान्तवा यस वर्ष अफ्नो वडाका १८० परिवारले राम्रो आम्दानी गरेको बताउँछन् । सङ्खुवासभा, दिदिङ–६ का छेदम शेर्पा भन्छन्, “हाम्रोतिर नुन खाने, सुन लाउने र तराईको चामल भिœयाउने चिज नै अलैंची हो ।”

ताप्लेजुङमा मात्र वार्षिक रु.१ अर्ब २० करोडभन्दा बढीको अलैंची उत्पादन हुन थालेको छ । नेपाल अलैंची व्यवसायी संघका उपाध्यक्ष दिनेश मित्तलका अनुसार पूर्वाञ्चलबाट वार्षिक रु.७ अर्ब मूल्य बराबरको १० हजार टन नेपाली अलैंची भारत हुँदै पाकिस्तान र खाडी देशमा निकासी भइरहेको छ । यस वर्ष प्रतिमन रु.५० हजारमा बिकेको अलैंचीको मूल्य बर्सेनि बढ्दो छ ।

पूर्वाञ्चल कुचो व्यवसायी संघका उपाध्यक्ष रामचन्द्र चौधरी पहाडका भीरपाखाबाट वार्षिक सवा अर्ब रुपैयाँ बराबरको १३ हजार टन अम्रिसो निकासी हुन थालेको बताउँछन् । अदुवा उत्पादक तथा व्यवसायी संघका उपाध्यक्ष राजकुमार कार्कीका अनुसार पूर्वाञ्चलमा वार्षिक उत्पादन हुने १३ हजार टन अदुवामध्ये ९५ प्रतिशत भारत निकासी हुने गरेको छ ।


अलग हुँदैन हिमाल पहाड तराई

मदन राई, कृषि विज्ञ

अरू विकास क्षेत्रको तुलनामा पूर्वाञ्चलले बढी प्रगति गर्नुको कारण के हो ?

हिमाली काखमा उपयुक्त हावापानी, उर्वर जमिन, बाहिरी सङ्गत, शिक्षा, व्यावसायिक सीप सबै मिलेकाले ।

विकासमा भूगोलको महत्व कस्तो हुन्छ ?

विश्वका धेरै देश कि सारै ताता कि त धेरै चिसा छन् । सेता हिमाल, हरिया पहाड र समथर तराईको सङ्गम नेपालमा भने ठिक्कको हावापानी छ । हिमाल, पहाड र तराईको बजार विस्तार र एकअर्काले पु¥याएको सहयोगले उत्पादन बढाएको छ । हिमाल–पहाडका जडिबुटी, खानेकुरा र अन्य वस्तुले तराईको विशाल बजार पाएका छन् । तराईका अन्नले हिमाल–पहाडमा भाउ पाएको छ । प्रस्तावित सङ्घीयताले यो सन्तुलन खलबल्याउने छैन भन्ने आशा गरौं । नत्र हिमाल, पहाड र तराईको समग्रताबाट पूर्वाञ्चलले समातेको सम्पन्नताको मेसो रहँदैन । प्रान्त छुट्याउँदा यसलाई अङ्गभङ्ग पार्ने होइन, अरू ठाउँमा पनि उत्तर–दक्षिणको मोडल लागू गर्नुपर्छ ।

तपाइँ जातीय राज्यको विरोधी ?

पहिचान र सामेलीकरणका लागि कुनै जातिविशेषले राजनीतिक अधिकार पाउँदा शान्ति र प्रगतिका आधारहरू तोडिनुहुँदैन भन्ने मेरो मान्यता हो । प्रान्त हुँदा अवश्य पनि विकास चाँडो हुन्छ, तर आर्थिक विकासका भौगोलिक अन्तरनिर्भरता भत्क्यो भने सबैको अधोगति हुन्छ ।

पूर्वाञ्चललाई अझ समृद्ध बनाउन के गर्न सकिन्छ ?

सबैले इमानदारी साथ आ–आफ्नो जिम्मेवारी पूरा गरे देशकै विकास हुन्छ । जस्तो, शिक्षकहरूले आत्मविश्वास भएका जनशक्ति उत्पादनको जिम्मेवारी लिनुप¥यो । कर्मचारीले जनताको काममा दिनको तीन घण्टा मात्र मन लगाइदिए धेरै सजिलो हुन्छ । संसारमा सुन भन्दा महङ्गिदै गएको पानी र विद्युत्को भण्डार हाम्रै नेपालमा छ । म त आगामी २० वर्षमा पहाडका पनि घरघरमा सडक पुग्ने सम्भावना देख्छु ।


विद्युत् भण्डार

पाँचथरको फेमे खोला हाइड्रोको पावर हाउस ।
नेपालले जति मेगावाट विद्युत् उत्पादन गर्ने योजनामा काम गरे पनि त्यसको ठूलो हिस्सा पूर्वाञ्चलकै पानीले दिनेछ । काम शुरु भइसकेका र सम्भाव्यता अध्ययन भएका यस क्षेत्रका केही आयोजनाबाट चार हजार मेगावाट भन्दा बढी बिजुली निस्किँदैछ । मेची अञ्चलका ताप्लेजुङ, पाँचथर र इलाममा ९३.५ मेगावाट क्षमताका विभिन्न आयोजना चालू छन् । पाँचथर पावर कम्पनीका निर्देशक बसन्तकुमार नेम्वाङ मेचीबाट उत्पादित विद्युत्ले आउँदो चार वर्षमा पूर्वाञ्चलको लोडसेडिङ हटाउने बताउँछन् ।

जलविद्युत् विज्ञहरूका अनुसार सबैभन्दा बढी पानीको बहाव भएको सप्तकोशीमा २० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । पूर्वाञ्चलका तमोर, कावेली, माईलगायतका नदीहरूमा पनि जलविद्युत्को प्रचुर सम्भावना छ । ८८० मेगावाट बिजुली चाहिएको बेला त्यसको आधा मात्रै उपभोगमा रहेको अवस्थामा पूरै नेपाललाई उज्यालो पारेर बेच्नसमेत सकिने जलविद्युत्को भण्डार पूर्वाञ्चलमा नै छ ।


माटोमा पैसा

२०२६ सालको महामारीमा बाबुआमा गुमाउँदा सुम्बेक–४, इलामका ओविन्द्रबहादुर याक्खा २० वर्षका थिए । त्यसबेला उनीसँग खेती गर्न ६ रोपनी जमिन र हुर्काउनका लागि ६ जना भाइबहिनी थिए । यिनै ओविन्द्रले गत वर्ष दूधबाट रु.८५ हजार, सुन्तलाबाट रु.२ लाख ६५ हजार, अम्रिसोबाट रु.१ लाख २५ हजार, अदुवाबाट रु.१ लाख ५० हजार र अकबरे खुर्सानीबाट रु.५० हजार कमाए । उनी मेहनत गरे पहाडको माटोमा वर्षैभरि पैसा फल्ने अनुभव सुनाउँछन् । केही वर्ष अगाडि तीन जना भाइलाई ३५–३५ रोपनी जमिन अंश दिएका ओविन्द्रसँग अहिले ८० रोपनीमा व्यावसायिक खेती छ । इलाम बजारमा रु.१४ लाखको घर बनाइरहेका छन् । जिल्ला कृषि कार्यालयबाट पटक–पटक पुरस्कृत ओविन्द्र भन्छन्, “यो सब नगदेबालीको देन हो ।


चियाको चमत्कार

२०५९ सालमा कतार पुगेका इलाम, साखेजुङ–७ का मोतीराम दाहाल त्यहाँ बगाएको पसिनाले मासिक रु.१० हजारभन्दा माथि नतानेपछि २०५६ सालतिर रोपेको चियाका बुटा सम्झ्ँदै गाउँ फर्के । उनलाई अहिले कारोबारको हिसाब राख्न भ्याई–नभ्याई छ । चियालाई आकर्षक प्याकिङमा बजार पु¥याउँदा उनको दाहाल बन्धु अर्थोडक्स चिया ब्राण्डको रूपमा स्थापित छ । आफन्त टङ्क दाहालसँग मिलेर रु.६ लाखको लगानीमा काम थालेका मोतीराम अहिले वार्षिक ४ हजार केजी चिया बेचेर रु.१० लाख नाफा कमाउँछन् । २०६४ मा स्थापित पाथीभरा अर्थोडक्स चिया उद्योगका यी प्रमुख साझ्ेदार अहिले रु.४९ लाखमा नयाँ मेसिन किन्ने तयारीमा छन् । विदेश जान खुट्टा उचालिसकेका भाइ नवराज र आफन्त मोहन दाहालको भिसा नै फिर्ता गराइदिएका उनी भन्छन्, “आफ्नै खेतबारीमा यति राम्रो कमाइ हुन्छ भने किन जानुप¥यो विदेश ?”

comments powered by Disqus

रमझम